काठमाडौं । एमाले र काँग्रेसबीच सत्ता गठबन्धन गर्ने सहमति भएसँगै काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
यस्तै, माओवादीले समेत आकष्मिक पदाधिकारी बैठक डाकेको छ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको हो । माओवादीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ ।
यसतै, नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।
नयाँ समीकरण बनेसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।