कामना सेवा विकासले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने
काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेच्यूअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३५ लाख इकाई अर्थात ३५ करोड रुपैयाँ बराबरको ९ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले यस्ताे सेयरमा मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने तथा कुनै पनि सुरक्षण नराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूका लागि मात्र बिक्री गरिने निर्णय गरेकाे बैंकले जनाएको छ ।
एक महिना सरकारमै बस्ने प्रचण्डको रणनीति, विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन भए पनि राजीनामा नदिएर संसदको सामना गर्ने योजना उनले बनाएका हुन् । आज बिहान नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले राजीनामा नदिने जानकारी गराएका हुन् । उनले अझैं पनि एमाले र काँग्रेससँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएका छन् । उनले राजीनामा नदिएर संसदमा विश्वासको मत लिने तयारी गरेका हुन् । यस्तै, माओवादीले मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने निष्कर्ष पनि निकालेको छ ।
शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म एक सय १८ महिला र दुईजना बालिकाले सेवा पाएका हुन् । सेफ हाउसमार्फत हिंसाजन्य घटनामा परेका महिला र बालिकालाई आश्रय दिई न्यायका लागि पहल हुँदै आएको छ । सेफ हाउस सञ्चालक समितिका अध्यक्ष पुष्पा केसीका अनुसार घरेलु हिंसामा परेका ६५, जबर्जस्ती करणीका दुई, बहुविवाहका तीन, अलपत्र परेका १२, गालिगलौज र लेनदेनका २४ र अंशसम्बन्धी विवादका दुईजनालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ । ‘सेफ हाउसमा मद्दत माग्न आएका हिंसापीडित महिला र पीडकलाई प्रहरीको रोहवरमा छलफल गरी मेलमिलाप पद्धतिबाट मिलापत्र गराउने कार्य गरिएको छ’, उनले भने, ‘मिलापत्र गर्न नमिल्ने विवादलाई प्रहरीको सहयोगमा न्यायका लागि अदालतसम्म पुर्याएर पीडित महिलालाई न्याय दिलाउने कार्य गरेका छौँ ।’ हिंसाजन्य घटनामा परेर मानसिक तनावमा रहेका २४ जना महिलालाई मनोविमर्श दिने कार्य गरिएको उनले उल्लेख गरे । इलाका प्रहरी कार्यालय झलारीमा महिलालाई राख्ने ठाउँ अभाव हुँदा सेफ हाउसमै ल्याएर राख्दै आइएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले घरेलु हिंसामा परी अलपत्र परेका महिलालाई न्याय नपाउँदासम्म आश्रय दिने स्थलका रूपमा सेफ हाउस रहेको बताए । ‘सेफ हाउसमा अल्पकालीन रूपमा पीडित महिलालाई एक हप्तासम्म राख्न सकिने व्यवस्था छ’, उनले भने, ‘त्यस्ता महिलालाई खान, बस्न, सामान्य उपचारको व्यवस्था सेफ हाउसले गर्दै आएको छ ।’ नगरपालिकाले विनियोजन गर्ने बजेट थोरै हुँदा सेफ हाउस बन्द हुने अवस्थामा पुगेको सेफ हाउस सञ्चालक समितिका सचिव मधु बोहराले बताए । ‘बजेटकै कारण सेफ हाउस बन्द हुनबाट जोगाउन नगरपालिकाले आवश्यक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘पीडित महिलाको आश्रयस्थल बन्द हुनबाट जोगाउन आवश्यक छ ।’ सेफ हाउसका कानुनी सल्लाहकार उद्धवराज भट्टले सेफ हाउस सञ्चालनको सम्पूर्ण जिम्मा नगरपालिकाले लिएर सेफ हाउस सहज रूपमा सञ्चालन गर्नुपर्ने बताए । नगरउपप्रमुख कल्पना पन्तले सेफ हाउस बन्द नहुने दाबी गर्दै आवश्यक बजेटका लागि पहल भइरहेको बताए । स्वास्थ्योपचार र औषधिका लागि स्वास्थ्य शाखासँग समन्वय गरी व्यवस्था गरिने उनको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले सेफ हाउसका लागि ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । रासस
एमाले र काँग्रेसको गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको छ । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन, यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, बैठकपछि नेता सन्तोष परियारले भने ।
इजिप्ट र ईयूबीच ३३ अर्ब डलरको लगानी सम्झौता
काठमाडौं । दुई दिने इजिप्ट-युरोपियन लगानी सम्मेलन आइतबार कायरोमा सम्पन्न भएको छ । दुवै पक्षले दशौं अर्ब अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । कायरोमा इजिप्ट-ईयू लगानी सम्मेलनको छेउमा इजिप्टको सार्वभौम कोष र स्वेज नहर आर्थिक क्षेत्र (एससीजोन) ले युरोपेली र अन्य विकासकर्ताहरूसँग हरित अमोनियाको क्षेत्रमा करिब ३३ अर्ब डलर बराबरको चार सम्झौतामा हस्ताक्षर गरेकाे इजिप्टको मन्त्रिपरिषद्ले बताएको छ । ११ अर्ब डलरको पहिलो सम्झौता जर्मन कम्पनीसँग र दोस्रोमा ४ अर्ब २५ करोड डलरको भारतको ओसियर इनर्जीसँग हस्ताक्षर भएको थियो । ३ अर्ब ४६ करोड डलर बराबरको तेस्रो सम्झौता इजिप्टको अरेबिया र फ्रान्सेली कम्पनी भोल्टालियासँग र चौथोमा १४ अर्ब डलरको बेलायतको बीपी, संयुक्त अरब इमिरेट्सको मस्दार, इजिप्टको हसन अल्लाम युटिलिटीजसँग हस्ताक्षर भएको थियो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्मेलनको उद्घाटनमा आफ्नो भाषणमा युरोपेली कम्पनीहरूले इजिप्टका साझेदारहरूसँग २० वटा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताए ।
२ मिनटेमै सेयर बजार ‘हल्ट’, नयाँ गठबन्धनसँग लगानीकर्ता उत्साहित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको केही मिनेटमै हल्ट (बन्द) भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बन्ने भएपछि नेप्से परिसूचक ४ प्रतिशत बढेर केही समयका लागि बन्द भएको हो । नेप्से सूचक ४ प्रतिशत बढ्दा पहिलो सर्किटमा २० मिनेटको लागि कारोबार बन्द हुने व्यवस्था छ । बजार खुलेको २ मिनटेमा ८२.४८ अंकले बढेको हो । काँग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । साथै अर्थमन्त्री एमालेले पाउने भएपछि पनि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । २ मिनटेको अवधिमा २२२ कम्पनीको २ लाख २४ हजार ६६ कित्ता सेयर १ हजार ४९९ पटक खरिदबिक्री हुँदा ८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । साथै कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सत्ता सहकार्य गर्न प्रचण्डलाई ओलीको आग्रह, के भने प्रचण्डले ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता सहकार्य गर्न प्रस्ताव गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका ओलीले यस्तो प्रस्ताव गरेका हुन् । ओलीले प्रचण्डसँग नेपाली कांग्रेससँगको नयाँ सत्तागठबन्धनबारे जानकारी पनि गराएका छन् । एमाले र काँग्रेसबीच भागबण्डा मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न प्रचण्डलाई आग्रह गरेका हुन् । एमाले र काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको बुझिएको छ । पहिलो चरणमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको बुझिएको हो । प्रचण्डले भने सहकार्य गर्ने विषयमा ओलीलाई कुनै जानकारी गराएका छैनन् । तर, उनले तत्काल राजीनामा दिने योजना नबनाएको स्रोतको दाबी छ ।