प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते
काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाई हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाई गर्ने मिति तय गरेको हो । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाई गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए । उनले भने, ‘निर्वाचन आयुक्तका लागि प्रश्तावित व्यक्ति प्रधानमाथिको सुनुवाई गर्ने सचिवालयको प्रश्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’
गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोईरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व. कोईराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए । गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे । आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे । गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको जानकारी दिए । ‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो, त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो, उहाँ कहिल्यै नथाक्ने मान्छे हो’, उनले भने । प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रुमपा चित्रण गरे ।
कन्सल्टेन्सी नवीकरणका लागि शिक्षा मन्त्रालयद्वारा आवेदन माग
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सी तथा भाषा शिक्षण सञ्चालन गर्ने संस्थाहरू नवीकरणका लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरण गर्न आवेदन आह्वान गरेको हो । यी संस्थाहरूले नवीकरणका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । पहिलो चरणमा १६ असारदेखि ५ साउनसम्म संस्थाहरूले भरेका विवरण ६ साउनदेखि १२ सम्म भेरिफिकेसन कार्य मन्त्रालयले गर्नेछ । सूचनामा उल्लेख गरिएअनुसार उक्त सूचना भेरिफिकेसन भएपछि २७ साउनसम्म संस्थाहरुले इमेलमार्फत कागजात पेस गर्नुपर्ने हुन्छ । नवीकरणवापत प्रतिवर्ष ३ हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई, वार्षिक ६ लाख आम्दानी
धरान । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाखदेखि छ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाएका छन् । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ’, उनले भने, ‘शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।’ राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उनले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहेका छन् । राई शिक्षण पेसामा रहेका बेला उनको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिए । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिए। ‘पहिले मेरो परिवारमा फूर्सदको समयलाई सदुपयोग गर्दै बाख्रापालन गर्ने गरिएको थियो, त्यसैलाई मैले व्यवसायिक रुप दिएको हुँ । नजिकै जङ्गल भएकाले धेरै सहज भएको छ । यसका साथै आफ्नो जग्गामा अम्म्रिसो खेती पनि गरिरहेको छु’, उनले भने । राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाए । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन । राई भन्छन्, ‘परिवारका सदस्यले पनि सहयोग गरिरहेका छन् । विशेषगरी श्रीमतीबाट राम्रो सहयोग पाएको छु । कुनैबेला विदेश जाने सोचसमेत नआएको होइन तर विदेश गएर दुःख गर्नु भन्दा आफ्नो देशमा केही गर्ने भनेर व्यवसाय सुरु गरेको थिए, अहिलेसम्म पछुताउनु परेको छैन । बरु परिवारसँगै बसेर राम्रो आम्दानी र त्योभन्दा बढी आत्मसन्तुष्टि मिलिरहेको छ ।’ रासस
सलमान खानलाई मार्न २५ लाखको सुपारी
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई मार्न २५ लाखकाे सुपारी दिइएकाे खुलेको छ । खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले लरेन्स समूहले उनलाई मार्न २५ लाखमा सम्झौता भएकाे खुलासा गरेको हो । यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले मुद्दा दायर गरेको छ । यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए । यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए, जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो । साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो । आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुंगा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीले दायर गरेको आरोपपत्रमा सलमानको हत्याका लागि १८ वर्ष मुनिका केटाहरूलाई काममा लिएको आरोप लगाएको छ । प्रहरीले सबै गोली हान्नेहरू गोल्डी बरार र अनमोल बिश्नोईको आदेशको पर्खाइमा रहेको पनि बताएको छ । आदेश पाएलगत्तै उनले पाकिस्तानबाट ल्याइएको आधुनिक हतियार प्रयोग गरेर सलमानमाथि हमला गर्ने तयारीमा थिए । यी सबै शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेका थिए । एजेन्सी
मधेस प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना आग्रह
काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धता जाहेर गर्दै ७५ वटा जिल्लाका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, अर्ध छात्रवृत्ति र पूर्ण शुल्क गरी तीन किसिमका कम्तीमा ५० प्रतिशत छात्रा भर्ना गरी बालबालिकाको शिक्षा पाउने अधिकारलाई प्रत्याभूति गराउने कटिबद्धता रहने पत्रमा उल्लेख गरेका छन् ।
एसईई पूरक परीक्षा तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुनेछ । दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि सरकारले पुनः परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ। परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन नपाउने जनाएको छ। पूरक परीक्षाको बोर्डको वेबसाइट www.see.gov.np बाट आवेदन दिन सक्नेछन् । साथै, ग्रेडवृद्धि पूरक परीक्षाका लागि विद्यार्थीले ५ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने बोर्डले जनाएको छ। बोर्डले २०८० चैत १५ गतेदेखि संचालन गरेको एसईई परीक्षाको नतिजा गत बिहीबार सार्वजनिक गरेको थियो । यस वर्षको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका थियो । तालिका
ड्रागन फल खेती गर्ने बढ्दै, एक पटक लगानी गर्दा २५ वर्षसम्म आम्दानी गर्न सकिने
बेलबारी । ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ । प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरबाट एक हजार दुई सय १९.२२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताए । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय छन् । बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका छन् । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फ ड्रागन फलको खेती गरिरहेका छन् । खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ । कूल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ । वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उनले बताए । हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिए । बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उनले बताए । उनले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गरेका थिए । खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उनको भनाइ छ । कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लागेका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताउँछन् । तत्कालीन समयमा ठूलो जोखिम लिएर एक करोड रुपैयाँको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेको बताउँछन् । उनको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिन्छन् । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाएका छन् । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उनको भनाइ छ । एकपटकमा करिव तीन क्विन्टल फल टिप्दै गरिएको उनले बताए । सुरु थोकमा प्रतिकेज तीन सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी तीन सय रुपैयाँका दरले बिक्री भइरहेको उनको भनाइ छ । राईले भने, ‘ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ’, उनले भने । मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताए । उनका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । रासस