विकासन्युज

सरकारका कारण सुशासन समितिको कामकारबाही ठप्प भएको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण राज्य व्यवस्था तथा सुशासन समितिको कामकारबाही ठप्प भएको आरोप लगाएको छ ।  कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको बैठक बस्न नसकेको बताएका हुन् ।  । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा विकसित पछिल्ला दर्दनाक घटनाहरूका विषयमा संसदमा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको आङदेम्बेले उल्लेख गरे । समितिका सभापतिले बैठकका लागि पटक–पटक आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको उनको प्रष्टीकरण छ ।  सत्तापक्षलाई जस्तो आफूहरूलाई सुविधा नरहेको उल्लेख गर्दै उनले जनताका आवाज र समस्याका बारेमा सम्बन्धित मन्त्रीबाटै जवाफ खोज्नुपर्ने बाध्यता रहेको बताए ।  प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिले समितिको बैठकमा अवरोध सिर्जना भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए ।  एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्रीसमेत नियुक्त गर्न नसक्ने सरकारले जनताका गम्भीर समस्या र जिम्मेवारीलाई कसरी सम्बोधन गर्छ भन्दै उनले सरकारको आलोचना गरेका छन् । उनले भने, ‘मुलुकमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ, तर जवाफ दिने मन्त्री नै हुनुहुन्न । यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफै समितिमा उपस्थित हुनुप¥यो, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ ।’ सांसदहरूले राखेको चासोमा जनताको अभिव्यक्ति लुकेको हुने चर्चा गर्दै नेता आङदेम्बेले समितिलाई बन्धक नबनाई तत्काल निकास दिन सरकार र सत्तारुढ दलको ध्यानाकर्षण गराएका छन् ।

बालेनको उदय क्रान्तिकै जित हो, बलिदान बिर्से यो भवन ढल्नेछ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिवर्तन र समावेशी प्रतिनिधित्वलाई जनयुद्ध र क्रान्तिको उपजको रूपमा व्याख्या गरेका छन् । मंगलबार संसदलाई सम्बोधन गर्दै उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतालाई ‘क्रान्तिको संकल्पको जित’ का रूपमा टिप्पणी गरे । सम्बोधनका क्रममा प्रचण्डले काठमाडौंको मेयर हुँदै देशको प्रधानमन्त्री बन्न सफल हुनुभएका बालेन्द्र शाह र झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्वमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विशेष बधाई दिए । ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो,’ प्रचण्डले भने । विगतमा सत्ता र प्रतिपक्ष दुवै भूमिकामा रास्वपासँग सहकार्य गरेको स्मरण गर्दै उनले नयाँ शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिए । प्रचण्डले संसदमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको उपस्थिति तथ्यांकसहित प्रस्तुत गर्दै यसलाई ठूलो उपलब्धिका रूपमा चित्रण गरे । उनले आजको समावेशिता ‘पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरू’ को बलिदानले सम्भव भएको दाबी गरे । सामन्तवादविरुद्ध उठाइएको हतियारले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू मन्त्री बन्ने अवस्था नआउने उनको भनाइ छ । संसदमा जो प्रवेश गरे पनि आफू नै प्रवेश गरेजस्तो महसुस हुने र यसमा गर्व गर्ने अधिकार आफूलाई भएको जिकिर प्रचण्डले गरे । नयाँ सांसदहरूलाई बधाई र शुभकामना दिँदै प्रचण्डले इतिहास र बलिदानप्रति सचेत रहन आग्रह गरे ।   उनले परिवर्तनको जगलाई अवमूल्यन नगर्न चेतावनी दिँदै भन्नुभयो, ‘मलाई लाग्छ, त्यो महान बलिदानलाई बिर्सेको दिन यो भवन आफै ढल्नेछ ।’ सम्बोधनको अन्त्यमा उनले क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गर्दै परिवर्तनको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्नेमा समेत जोड दिए ।

‘भन्सारमा १०० रुपैयाँमा कर लाग्ने व्यवस्था हटाउनुपर्छ, प्रधानमन्त्री अहकांरी बने’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेटप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले आकर्षक शब्दावली प्रयोग गरे पनि अधिकांश घोषणा सस्तो प्रचारमै सीमित हुने खतरा रहेको टिप्पणी गरे । ३० दिनभित्र पूरा गर्ने भनिएका प्रतिबद्धतासमेत व्यवहारमा कार्यान्वयन हुन नसकेको उनको आरोप थियो । आङ्देम्बेले सरकारको १०० दिने कार्यसूचीमाथि संसदमा विस्तृत छलफल गरिने चेतावनी दिँदै प्रि–बजेट छलफललाई समेत सरकारले बेवास्ता गरेको बताए ।  संसदले समय माग्दा पनि पर्याप्त अवसर नदिइएको भन्दै उनले सरकार आदेश र घोषणाबाट शासन चलाउन खोजेको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा नयाँपनको अभाव रहेको उल्लेख गर्दै आगामी बजेट सपनाभन्दा परिणाममुखी हुनुपर्ने धारणा राखे। स्रोत सुनिश्चिततामा सरकार कमजोर देखिएको भन्दै नीति तथा कार्यक्रम र बजेट भ्रामक दस्तावेज बन्न नहुने उनको भनाइ थियो ।  ‘विज्ञ अर्थमन्त्रीले स्रोत र साधनको दायरा बढाएर प्रभावकारी बजेट ल्याउनुहुन्छ भन्ने अपेक्षा छ, तर नीति तथा कार्यक्रममा त्यस्तो आशा जगाउने आधार देखिएको छैन,’ उनले भने ।  संविधान संशोधनलाई सामान्य प्रक्रियागत विषयका रूपमा लिन नहुने उल्लेख गर्दै उनले यो अत्यन्त संवेदनशील र जटिल विषय भएकाले सुरुदेखि नै गम्भीर छलफल आवश्यक पर्ने बताए । सीमित स्रोत र साधन हुँदाहुँदै पनि सरकार अत्यधिक उत्साहित र हतारिएको जस्तो देखिएको उनको टिप्पणी छ ।  भन्सारमा १०० रुपैयाँमै कर लाग्ने व्यवस्थाले सर्वसाधारणमा अन्योल र असन्तोष सिर्जना गरेको उल्लेख गर्दै उनले उक्त नीतिलाई व्यवहारिक बनाउन माग गरे । साथै गृहमन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालय लामो समय मन्त्रीविहीन हुनु विडम्बनापूर्ण रहेको बताए ।  प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि उनले कटाक्ष गरे। नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाहिरिनुलाई उनले गम्भीर र दुःखद घटना भने । ‘प्रधानमन्त्री कुनै एक दलको मात्रै होइन, सम्पूर्ण देशको प्रधानमन्त्री हो,’ उनले भने, ‘उहाँको स्वास्थ्य वा अन्य कुनै समस्या भए संसदलाई जानकारी गराइनुपर्छ ।’ प्रधानमन्त्रीको व्यवहार अहंकारी र अमर्यादित भएको आरोप लगाउँदै आङ्देम्बेले त्यसले देशको गरिमा कमजोर बनाएको दाबी गरे । उनले संसदलाई थप मर्यादित र जिम्मेवार बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए ।   

सुदूरपश्चिमका २ पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।      कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोमैला व्यवस्थापन केन्द्र शीघ्र  सञ्चालनमा आउने दाबी गरे ।      तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका–७ पटेलामा बनिरहेको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरेपनि सञ्चालनमा आउन सकेको छैन् ।      थप गरेर एक अर्ब नौ करोड रुपैयाँ लगात अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो । 'भिओको लागि माथिल्लो निकायमा पेस गरेका छौँ ' सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भने, 'फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारीसाधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो ।'      धनगढीको फोहरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहर व्यवस्थापन गर्न सकिने छ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन ।      सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहरमैलला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । 'तीन वर्षसम्म व्यवस्थापन केन्द्र निर्माण कम्पनी आफैले सञ्चालन गर्नुपर्ने हुन्छ', उनले भने, 'त्यसपछि सम्बन्धित पालिकालाई हस्तान्तरण हुन्छ ।'      सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनौट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् । सञ्चालनमा आएका फोहरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ । शुक्लाफाँटा नगरपालिकामा फोहरमैला रु ३० करोड २५ लाख लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।      शुक्लाफाँटा नगरपालिका–११ श्रीकृष्ण सामुदायिक वन क्षेत्र (वनहरा खोलाको पश्चिम किनार)मा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ । शुक्लाफाँटा नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्टले फोहरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारी रुपमा भइरहेको बताए । 'सबै वडामा फोहर राख्ने कन्टेनरहरु राखेको छ', उनले भने, 'सहरी वडाहरुमा प्रत्येक दिन फोहर सङ्कलन गरेर व्यवस्थापन केन्द्रमा लैजाने काम भएको छ ।' फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए पनि शुक्लाफाँटा नगरपालिका सरसफाइमा जोड लिइएको उनको भनाइ छ । रासस  

न्यायालय धेरै फोहोर भयो, सफा गर्नुपर्यो : सांसद खतिवडा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पीडित बनेकी तथा सांसद रचना खतिवडाले खतिवडाले न्याय प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायालय फोहोर भएको र अब सफा गर्नुपर्ने भन्ने धारणा राखेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरू अझै पनि खुलेआम हिँडिरहेको आरोप लगाइन् । घटनापछि सरकारले आन्दोलन र पीडितको पीडा बिस्तारै बिर्सिएको जस्तो अनुभूति भएको उनले बताइन् ।  आन्दोलनमाथि भएको दमनको घटनामा संलग्न व्यक्तिमाथि अझै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गर्दै उनले घाइते र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिन् ।  उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू र घाइते भएका व्यक्तिहरूले अझै न्यायको अनुभूति गर्न नसकेको भन्दै राज्यले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन् । 

कांग्रेसले भन्यो :  राष्ट्रपतिको सम्बोधनकै बिच प्रधानमन्त्री किन हिँडेको ?

नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उठेर हिँडेको विषयमा प्रश्न उठाएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्पराविपरीत भएको धारणा राखिन् । प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने उनले माग गरिन् । लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाइ छ । उनले यस विषयमा सरकारले जवाफ दिनुपर्ने धारणा राखिन् । 

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ की ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका–३० बस्ने नवलपरासीपूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् ।        पक्राउ परेकामध्ये शैलेन्द्रले सर्विया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जनाबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै एक जनाबाट सात लाख ५० हजार रूपैयाँ, धनबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख रूपैयाँ र नौमायाले साइप्रस पठाइदिन्छु भन्दै छ लाख चार हजार ५०० रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।      पक्राउ मध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उल्लेख छ ।  

श्रममन्त्री यादवको सवारी चालक अपहरण गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सवारी चालक रहेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो। महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका- ३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ । आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् । पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबरजस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरू गरिएको बताए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी तीव्र पारिएको छ । आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको छ ।