विकासन्युज

आज मात्रै हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत आज ४ जना गर्भवतीको उद्धार गरिएको हाे । इलामको माइजोगमाई-५ सिरसिरे, इलामको सन्दकपुर-१ छाँगे, पाँचथरको फिदिम-१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला-३ हुङगुङबाट ४ जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौं आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ । निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन लागिएको हो । वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ । उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए । उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य सङ्ख्याका यात्रु उडानको प्रतीक्षामा छन् । 'विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पु¥याउन विमानस्थल लागिपरेको छ,' महाप्रबन्धक तिवारीले भने । रासस

ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आवश्यक छ । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको 'प्यान अपडेट' विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । यसका साथै, ग्राहकहरूले बैंकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकका अनुसार, प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण ईडीटीएसमा सो प्यानमा स्वतः प्रविष्ट हुनेछ, जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण कर विवरण ईडीटीएसमा दाखिला नभएमा, बैंक त्यसको जिम्मेवार हुनेछैन । यसैगरी, पहिले प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएमा, ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

ग्यास लिक भएर बागबजारस्थित शान्तिश्री ब्वाइज होष्टेलमा आगलागी (तस्बिरहरु)

काठमाडौं । बागबजारस्थित शान्तिश्री ब्वाइज होस्टेलमा आगलागी भएको छ । होष्टेलको छैठौं तलामा रहकाे किचनमा ग्यास लिक भएर आगलागी भएको हो ।  साेमबार दिउँसो २:४५ बजे भएको आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासबाट नियन्त्रणमा आएको हो ।  होस्टेलको किचनमा खाजा पकाइरहेको अवस्थामा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । किचनमा भएका सबै सामान जलेर नष्ट भएका छन् ।  होस्टेलका सञ्चालक धर्मप्रसाद बजगाईं दशैं मनाउन घर गएको बेला आगलागी भएको हो । कसमस श्रेष्ठ घरधनी हुन् । होस्टेलमा ८/९ विद्यार्थी छन् । उनीहरु सबै सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । 

बाढीबाट ३२ जलिवुत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् । विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफाल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।  सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरु पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ ।  जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका रहेका छन् । बाँकी दुई आयोजना मध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।  निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए । यहि वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए । निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ । पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ । सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।  रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५।५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत उत्पादन मिति पर सरेको छ । सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरुसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।  

सरकार निजी क्षेत्रको मनोबल बढाउन सक्रिय : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र विमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी सन्दर्भमा मूल्य खारेज गरी भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरिएपछि बजारमा पारदर्शी कारोबारले प्रोत्साहन पाउनेछ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा गरे । निजी क्षेत्रको माग बमोजिम जडित नयाँ डेटाबेस प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्छ । भेटका क्रममा सकारात्मक परिवर्तनका लागि युवाहरूको आन्दोलनका क्रममा भएको घुसपैठले अर्थतन्त्रमा ८१ र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएको र यसले उद्यमी व्यवसायी निरुत्साहित भएको उनीहरूले बताए । यस्ता घुसपैठ, लुटपाट तथा आगजनीमा संलग्नमाथि कारवाही हुन नसके निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारवाही गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । निजी क्षेत्र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने बताउँदै अध्यक्षहरूले सरकारले पनि उद्यमी व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने बताए । सरकारले निजी क्षेत्रका माग सम्भव भएसम्म तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारितापूर्वक व्यवसायिक आचारसंहिता अनुरूप व्यवसाय गर्न अध्यक्षहरूले उद्यमी व्यवसायीलाई आग्रह गरे । वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि भएको उल्लेख गर्दै उनीहरूले लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नु पर्नेमा जोड दिए । उनीहरूले निर्वाचनले नै खुला बजार र लोकतान्त्रिक व्यवस्था बलियो हुने हुँदा समयमै निर्वाचन गर्न सहयोग र सहकार्य गर्न निजी क्षेत्र तयार रहेको जानकारी दिए  ।

नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत

काठमाडौं । नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ ।      सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान गरिएको छ, जसअन्तर्गत २२९ जना विज्ञहरू पुरस्कृत भइसकेका छन् ।      गत वर्ष अमेरिकी वैज्ञानिक आदरणीय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा सम्मान गरिएको थियो । माइक्रोआरएनए भनेको आनुवंशिक सामग्रीका साना अणुहरू हुन्, जसले कोशिकाभित्र स्विचहरू अन र अफ गरेर तिनका गतिविधि र समय नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछन् ।      यसपछिका नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ हुनेछन् । नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार आगामी अक्टोबर १३ मा घोषणा गरिनेछ ।      पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । यो दिन महान् आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक आदरणीय अल्फ्रेड नोबेलको पुण्यतिथिसँग मेल खाने दिन हो । नोबेल स्विडेनका धनी उद्योगपति तथा डायनामाइटका आविष्कारक थिए । सन् १८९६ मा उनको निधन भएको थियो । रासस

सहकारी साधारणसभामा अब मितव्ययिता : भोजभतेर र महँगो सजावटको चलन अन्त्य

कञ्चनपुर । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् ।   सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गथ्र्यो ।  शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका प्रबन्धक गणेश भट्टले यस वर्षको साधारणसभा कुनै भव्य सजावटविना, भोजभतेरको कार्यक्रमविना नै सम्पन्न गरेको बताए ।  ‘सभाको उद्घाटन परम्परागत ढङ्गले दियो बालेर गर्यौँ,’ उनले भने ‘तीन जना सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई अतिथि बनाएर आधा घण्टामा नै उद्घाटन कार्यक्रम सम्पन्न गरी सदस्यका सरोकारका विषय बचत, ऋण, संस्थागत नीतिहरू र आगामी रणनीतिमा छलफल केन्द्रित गरी साधारणसभा सम्पन्न गर्यौँ ।’  उनका अनुसार यो अभ्यास आकस्मिक रूपमा नभएर हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा सम्पन्न गरिएको उनले बताए । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि विना तडकभडक साधारणसभा सम्पन्न गर्ने सोच बनाएको छ । प्राधिकरणको निर्देशनअनुसार साधारणसभा सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको सहकारीका प्रबन्ध निर्देशक मदन भट्टले बताए ।  सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार प्राधिकरणले सहकारी संस्थामा भड्किलो र गैरसदस्य–केन्द्रित साधारणसभाको प्रवृत्ति अन्त्य गर्न हालै निर्देशन जारी गरेको थियो । साधारणसभामा गैरसदस्य व्यक्ति वा अतिथिलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी साधारणसभाको सिधै ‘एजेन्डा’मा प्रवेश गरी कार्यक्रम सञ्चालन गर्ने प्राधिरणको सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ ।  राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशी यस्तो मितव्ययी अभ्यासले सहकारी सुशासनलाई सुदृढ बनाउन मद्दत पुर्याउने बताउँछन् । ‘भोजभतेर, उपहार, अथिति सत्कारमा पैसा खर्च गर्नुभन्दा सदस्यको हितमा लगानी गर्ने संस्कार सुरु भएको छ,’ उनले भने ‘यसलाई सहकारी सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएका छौँ ।’  उनका अनुसार, सहकारी ऐन २०७४ को दफा ३९(२) ले साधारणसभाको व्यवस्था गरेको छभने दफा १०३(ज)(१) ले प्राधिकरणलाई नियमन र निर्देशन दिने अधिकार दिएको छ । यही कानुनी आधारमा सहकारीहरूलाई नयाँ अभ्यास गर्न निर्देशन गरिएको हो ।  ‘विगतमा साधारणसभालाई उत्सवका रूपमा मनाउने चलनले धेरै सहकारीमा आर्थिक भार बढाएको थियो,” उनले भने, “सदस्य केन्द्रित, मितव्ययी र प्रभावकारी सभा गर्ने अभ्यासले पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याउने अपेक्षा गरेका छौँ ।’ ​​​​​​​ नेफ्सकुन (नेसनल फेडेरेसन अफ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ्स युनियन अफ नेपाल) का महेन्द्रनगर फिल्ड कार्यालय प्रमुख धर्मराज जोशीले प्राधिकरणको यस निर्देशनलाई सकारात्मक अभ्यासका रूपमा लिएका छन् । ‘साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैरसदस्य बोलाउनु अनुशासन विपरीत हुन्छ,’ उनले भने, ‘यस अभ्यासले सहकारीभित्र सुशासन र वित्तीय अनुशासनको संस्कारलाई बल पुर्‍याउनेछ ।’  ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनले सहकारी साधारणसभालाई वास्तविक उद्देश्यतर्फ फर्काएको छ,’ कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिँह सोवले भने, ‘सदस्यको आवाज सुन्ने, नीतिगत छलफल गर्ने र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने परिपाटीको विकास भएको छ ।’ मितव्ययी तर प्रभावकारी सभाको अभ्यासले सहकारीलाई आर्थिक रूपमा जिम्मेवार र नैतिक संस्थाका रूपमा पुनःस्थापित गर्ने उहाँको भनाइ रहेको छ । रासस