विकासन्युज

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुदन गुरुङ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवा प्रहरी समक्ष पुगेका छन् ।  हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै जाहेरी दिन जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेका हुन् ।  तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनिसकेको भन्दै प्रहरीले जाहेरी लिन नमानेको प्रहरी स्रोतले बताए । 

बालेनले कात्तिक ३० भित्र नयाँ पार्टी खोल्न सम्भव छ ?

काठमाडौं । अहिले नेपाली राजनीतिमा सबैभन्दा बढी चासोका रुपमा हेरिएका पात्र हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेद्वार बनेर महानगरको मेयरमा विजयी बनेका बालेन नेपाली राजनीतिमा थप बलियो र प्रभावशाली बन्दै गएका छन् ।  सञ्चार माध्यम र सार्वजनिक मञ्चमा देखिन खासै नरुचाउने उनी सामाजिक सञ्जाललाई प्रमुख हतियार बनाएर सर्वसाधारण सामु आफ्ना मत र धारणाहरु राख्दै आएका छन् ।  विशेषगरि भदौ २३ र २४ को जेनजी आन्दोलन हुनुमा बालेनको प्रमुख हात रहेको भन्नेहरू पनि प्रशस्त छन् । उनले जेनजीहरुलाई खुलेरै अगाडि बढ्न समेत सामाजिक सञ्जालमार्फत ढाडस दिएका थिए । जेनजीहरुले भदौ २४ गते विध्वंश मच्चाएपछि अब नगर, सार्वजनिक संरचना नजलाउ भनेर सामाजिक सञ्जालमा पोष्ट राखेर फर्काउने पनि उनै बालेन थिए ।  जेनजी आन्दोलनपछि उनै बालेनको थप चर्चा हुन थालेको छ । धेरैले उनले अब नयाँ पार्टी खोलेर अगाडि बढ्न सक्ने विश्लेषण गरिरहेका छन् भने कतिपयले उनी आफ्नो कार्यकालभर महानगरकै मेयर भएर बस्न सक्ने अनुमान पनि गरिरहेका छन् ।  जेनजीहरुले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा उनले फोन स्विच अफ गरेर बसे । धेरैले ६ महिनापछि हुने संघीय चुनावमा उनी पार्टी खोलेर अगाडि बढ्ने तयारी गरिरहेकोले अहिले ६ महिनाका लागि प्रधानमन्त्री नबेको टिप्पणी पनि गरिरहेका छन् । तर, यसबारे बालेनले भने मुख खोलेका छैनन् । बालेनको नजिक रहेर काम गर्नेहरु भने उनले पार्टी खोलेर अगाडि बढ्न सक्ने सम्भावना रहेको सुनाउँछन् । अहिले जेनजीहरुबाट पनि उनलाई नयाँ पार्टी खोलेर अगाडि बढ्न दबाब आइरहेको बुझिएको छ ।  अहिले बालेनकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । त्यसैले पनि वर्तमान अन्तरिम सरकार रहेको बेला हुने चुनावमा उनले पार्टी खोलेर अगाडि बढेमा आफूलाई सरकारबाट सहयोग मिल्न सक्ने आशामा बालेन देखिन्छन् ।  त्यसैले पनि उनलाई पार्टी खोल्ने यो सुनौलो अवसर हो । तर, समय धेरै छैन । अन्तरिम सरकारले आगामी पाmगुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ ।  निर्वाचन आयोगले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । यदि अब बालेनले पार्टी खोलेमा पनि फागुन २१ को चुनावमा भाग लिन कात्तिक ३० गते अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्नेछ । त्यसका लागि धेरै समय छैन । किनकी नयाँ दलका लागि गर्नुपर्ने तयारी धेरै नै हुन्छ ।  आयोगको कार्यतालिकाले बालेनलाई दबाब परेको छ । अब उनले नयाँ पार्टी खोल्छन् वा खोल्दैनन् भन्ने विषय ठूलो चासोका रुपमा हेरिएको छ । बालेनको सचिवालयमा रहेर काम गरिरहेका एक सदस्यले पार्टी खोल्ने विषयमा चर्चा भए पनि आफूसँग पूर्ण सूचना नभएको जानकारी दिए ।  ‘उहाँले अहिलेसम्म पार्टी खोल्नेबारे कुनै कुरा भन्नु भएको छैन, जेनजीहरुबाटै दबाब भने आइरहेको छ, जनताले पाँच वर्षका लागि मेयरमा निर्वाचित गरेको हुनाले बिचमै छोड्नु होला जस्तो मनसाय म देख्दिनँ,’ उनले भने । 

१५७ जना बोकेर काठमाडौं फर्कियो वायुसेवा निगमको विमान

काठमाडौं । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।  नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५:४० बजे १५७ जना यात्रु बोकेर काठमाडौं फर्किएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।  उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए । 

प्रदेश सरकारको सक्रियताले खुले हेटौंडा-काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्ग

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौंडा-काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन् । प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेकका सवारीसाधनलाई ३ दिनसम्म काठमाडौं प्रवेशमा रोक लगाउने सूचना जारी गरेपछि त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा फाखेल र सिस्नेरीका वैकल्पिक मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।  इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा लेदोसहितको पहिरोले फाखेल-काठमाडौं सडक खण्ड तथा सिस्नेरी हुँदै काठमाडौं जाने बाटो बन्द भएपछि अवरोधहरू हटाएर तत्काल खुलाउन पहल गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताए । मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीन कुमार सिंह नेतृत्वको टोलीले स्थानीय प्रशासनसँग समन्वय गरी फाखेल सडक खण्ड ३ घण्टाभित्रै पहिरो पन्छाएर सञ्चालनमा ल्याएको थियो । सिस्नेरी खण्डमा भने वर्षा रोकिए लगत्तै स्काभेटर सहित सुरक्षाकर्मीको टोली परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ ।  निर्देशक सिंहका अनुसार सवारी आवागमनमा रोक लगाएको भए पनि केही आकस्मिक अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने १०३ नागरिक तथा पर्यटकहरू सवार १५ वटा सवारी साधनलाई काठमाडौं पठाइएको थियो । उक्त मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहठ्ठाका अनुसार बाढी पहिरोका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ४ स्थानमा जेसिबी, स्काभेटरलगायत उपकरणसहित टोली तयारी अवस्थामा राखिएको थियो । पूर्वतयारी राम्रो हुँदा सडक अवरोध हटाउन सम्भव भएको उनले बताए । उनका अनुसार सम्भावित अवरोधलाई ध्यानमा राख्दै कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली, मातातीर्थ र भैँसे-भीमफेदी खण्ड गरी ४ रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको ‘क्विक रेस्पोन्स टिम’ लाई ‘स्ट्यान्डबाई’ राखिएको छ । कुनै पनि स्थानमा नयाँ पहिरो वा अवरोध सिर्जना भएमा तत्कालै परिचालन हुने गरी तयारी अवस्थामा रहेको उनले बताए । 

फागुनको चुनावमा भाग लिन कात्तिकभित्र नयाँ दल खोल्नुपर्ने, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका सार्वजनिकसँगै स्वीकृत गरेको हो ।  कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने उल्लेख गरेको छ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।  समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।

मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेष गरी आज र मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ । ती प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार ४ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ । मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी आजदेखि मात्रै बारिन थालेको विभागले जनाएको छ । ‘यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट बाहिरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बहिर्गमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए ।  ‘सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिर्गमन भएको छ,’ उनले भने । 

मन्त्रिपरिषद् घोषणा गरेकाे केही घण्टामै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् । उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका हुन् ।  उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः राजनीतिक गतिरोधमा पुर्याएको छ ।  राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । तर, आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद्ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो । लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसद्बाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो । संसद्मा सांसदहरू गहिरो रूपमा विभाजित छन् । उनका दुई तत्काल पूर्ववर्तीहरू, फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाइएको थिए । फ्रान्सको सार्वजनिक ऋण अहिले ऐतिहासिक उच्चतम स्तरमा पुगेको गत हप्ताको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको ऋण– कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात अहिले युरोपेली सङ्घमा ग्रीस र इटालीपछि तेस्रो उच्च रहेको छ । यो युरोपेली सङ्घ (इयु) नियमले अनुमति दिएको ६० प्रतिशतको झण्डै दोब्बर नजिक छ । अघिल्ला तीन वर्षमा सरकारले संसद्मार्फत मतदानबिना नै वार्षिक बजेट पारित गर्ने विधि अपनाएको थियो । संविधानले यस्तो प्रक्रिया अनुमति दिए पनि विपक्षीहरूले यसको कडा आलोचना गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका थिए । तर लेकोर्नुले गत हप्तामात्र सांसदहरूलाई बजेट विधेयकमा प्रत्यक्ष मतदान गर्न सक्षम बनाउने आश्वासन दिएका थिए । राष्ट्रपति म्याक्रोनले आफ्नो राजनीतिक शक्ति सुदृढ गर्ने उद्देश्यले गत वर्ष मध्यतिर आकस्मिक संसदीय निर्वाचनको घोषणा गरेका थिए । तर उक्त कदम उल्टो साबित भयो । परिणामस्वरूप विधानसभामा म्याक्रोन–समर्थक गठबन्धन अल्पमतमा रह्यो । यसले आजको राजनीतिक अस्थिरता झनै गहिरो बनाएको छ ।

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छौं : माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । बैठकले विपद् प्रतिकार्यमा खटिएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताए ।  बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए ।  ‘चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दैछन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ,’ संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘निर्वाचन सम्पन्न गरेर मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।’ बैठकमा महाधिवेशनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, सङ्गठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए ।