१५ अर्बको बिजुली निर्यात, छिनछिनमा बत्ति जान थालेपछि कुलमानले गरे अनुगमन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देश भरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरू लगायतका विषयमा जानकारी लिए । देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवं प्राविधिक सुधारका विषयमा छलफल गरे । बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत सम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै घिसिङले छिनछिनमा बत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे । उनले विद्युतगृह, प्रसारण लाइन तथा सब स्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी, हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँद यामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराए । कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही बमोजिम काम भइरहेको बताए । दैनिक १ हजार मेगावाट विद्युत निर्यात, १५ अर्बको विद्युत निर्यात देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म अवधिमा करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी १ हजार १६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।
मुद्दा हार्ने भएपछि गोली हानी न्यायाधीशको हत्या
काठमाडौं । अल्बानियाको राजधानी तिरानाको एक अदालतमा सोमबार वयान दिन अदालतमा पुगेका एक व्यक्तिले गोली चलाउँदा मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणबाट अन्य दुई जना घाइते भएको बताइएको छ । पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाले ती व्यक्तिको मुद्दाको सुनुवाइ गरिरहेका बेला अभियुक्तले गोली चलाएको बताइएको छ । प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै पक्राउ गरिएको बताएको छ । ‘गोली लागी घाइते भएका न्यायाधीशलाई अस्पताल लगिएको तर बाटोमै उनको मृत्यु भएको थियो,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मुद्दाको अर्को पक्षका एक बाबुछोरालाई पनि गोली हानिएको थियो जसबाट उनीहरू घाइते भएका थिए । उनीहरूलाई अस्पताल लगिएको उनीहरूको स्वास्थ्य अवस्था स्थिर भएको प्रहरीले चिकित्सकलाई उद्धृत गरी जानकारी गराएको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार यो मुद्दा सम्पत्तिको विवादबारे थियो र ती व्यक्तिले आफुले मुद्दा हार्ने देखपछि न्यायाधीशलाई गोली हानेका थिए । अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई ‘दुखद’ भन्दै बन्दुकसँग सम्बन्धित अपराधका लागि कडा सजाय हुने बताए । उनले यस्ता अपराधका लागि आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरिएको बताए । राष्ट्रपति बजराम बेगजले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणलाई ‘सम्पूर्ण न्याय प्रणालीमाथि भयानक आक्रमण’ को संज्ञा दिए । अल्बानियाली कानून अनुसार अवैध रूपमा बन्दुक राख्नेलाई तीन वर्षसम्मको जेल सजाय हुन्छ।
जुम्लामा १० करोड रुपैयाँको खसी र भेडाको कारोबार
काठमाडौं । यस वर्षको दसैँको अवधिमा जुम्लामा करिब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजार लगायतका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो । चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीर बहादुर रावतले भने, ‘तीमध्ये स्थानीय भेडा ९ करोड ३४ लाख ८८ हजार रुपैयाँ, खसी ३७ लाख ४० हजार रुपैयाँको खरिद बिक्री भएको हो । जिल्लाभर करिब २ करोड अन्य भेडा बिक्री भएको अनुमान गरिएको छ । यस्तै, नगरपालिका क्षेत्रबाट २६ लाख ७७ हजार रुपैयाँको राँगो, भैँसी खरिद बिक्री भएको छ ।’ यस वर्ष दसैँका लागि मात्र ५ हजार ८४३ भेडा, २५६ खसी र ६३ राँगो खरिद बिक्री भएको बिक्री भएको तथ्याङ्क छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार रुपैयाँ, न्यूनतम् मूल्य ९ हजार रुपैयाँ र औसत मूल्य १६ हजार रुपैयाँ तोकिएको पशुपन्छी विकास शाखा प्रमुख रावतले बताए । खसीको अधिकतम मूल्य २२ हजार रुपैयाँ, न्यूनतम् मूल्य ८ हजार रुपैयाँ, औसत मूल्य १५ हजार रुपैयाँ रहेको छ । यस्तै, राँगो भैँसीको अधिकतम मूल्य ६१ हजार रुपैयाँ, न्यूनतम् मूल्य २४ हजार रुपैयाँ र औसत मूल्य ४२ हजार ५०० रुपैयाँ रहेको छ । यहाँ मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा र राँगो भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको काराेबार भएकाे नगरपालिकाले जनाएको छ । गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औषत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारीले बताएका छन् ।
मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम-म्याङलुङ-धनकुटा-धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् । पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङलुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो । सोमबार दिउँसो तेह्रथुमको म्याङलुङ बसपार्कमा भेटिएकी काठमाडौंकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङलुङ आइपुगेको बताइन् । उनले म्याङलुङबाट बसन्तपुर-हिले-धनकुटा-धरान हुँदै काठमाडौं फर्किने बताइन् । पाँचथर याङवरकका राजकुमार सेलिङले पनि वैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिँडेको बताए । पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र राजधानी काठमाडौं फर्किनेका लागि वैकल्पिक मार्गले सहज भएको छ । म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमिबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन म्याङ्लुङ हुँदै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार यो मार्ग भएर सोमबार २ सय को हाराहारीमा सवारीसाधन आवतजावत गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालीगुराँस नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै सडक पक्की छ । फेदाप गाउँपालिका-२ ओयाक्जुङदेखि वडा नं ५ इसिबुसम्मको १४ किलोमिटर खण्ड कच्ची छ भने फेदाप-२ स्थित खोरङ्वा-यावरा १० किलोमिटर कच्ची सडक छ । सवारी साधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको पनि मर्मत गरेको छ । तेह्रथुमको सडक अहिलेको अवस्थामा सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेकाले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ । ताप्लेजुङ, पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्गको पनि इलाम र माइखोला लगायत स्थानमा अवरुद्ध रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।
क्षतिग्रस्त बीपी राजमार्गमा डाइभर्सन बनाउन सुरु
काठमाडौं । असोज १८ र १९ गतेको वर्षापछिको रोसी खोलाको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी सडक-डाइभर्सन बनाउन सुरु गरिएको छ । २ दिनको बाढीपछि रोसी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो । डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडक खण्ड शनिबार र आइतबारको बाढी पहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो । राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाको एक स्थान तथा सिन्धुली तर्फको अन्य ३/४ स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए। उनका अनुसार रोसी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनः निर्माण गरिनेछ । शनिबार र आइतबारको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत सिन्धुली तर्फबाट पनि सोमबारदेखि नै पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार सिन्धुली स्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो । सिन्धुलीबाट काभ्रेपलाञ्चोक तर्फको नमोबुद्धको चौकी डाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट-मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली-हेटौंडा हुँदै काठमाडौं आवतजावत भइरहेका छन् । बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा, घुमाउने, मम्ती लगायतका क्षेत्रमा रोसी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोसी खोला तथा मङ्गलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्से कुनामा हिँड्ने बाटोसमेत छैन । सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मङ्गलटार तथा सुरक्षित स्थानमा राखिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बीपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । शुक्रबार देखिको निरन्तरको वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा लेदाेसहितको साना साना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारीसाधन होल्ड सवारी साधन ‘होल्ड’ गरिएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधन आवतजावत हुने गर्छन् ।
असामान्य मौसमी परिवर्तन, खुम्बुमा असोजमै हिमपात
काठमाडौं । सगरमाथा क्षेत्रमा शरद ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चे बजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्मे भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् । गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्मे बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो । ‘नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ । दिङ्बोचे क्षेत्रमा ५ वटा होटल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन,’ अधिकारीले भने । दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भासिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले भने, ‘हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ ।’ पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उनको भनाइ छ । असामान्य मौसमी परिवर्तन खुम्बुमा असोजमै हिउँ पर्नु असामान्य मानिन्छ । सामान्यतया मङ्सिरदेखि माघमा मात्र यहाँ बाक्लो हिमपात हुन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘हिउँ असोजमा पर्नु जलवायु परिवर्तनको सङ्केत हो । मैले असोज महिनामा हिउँ परेको घटना कमै मात्रामा देखेको छु । यो दुर्लभ घटना हो ।’ उनका अनुसार, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिने क्रम हुन्थ्यो, अहिले त्यो तालमेल हराएको उनको भनाइ छ । जीवनशैली र कामकाज प्रभावित हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ । असोज २० गते बिहान मौसम खुलेपछि केही हिउँ पग्लिए पनि चिसोले जनजीवन सुस्त बनेको स्थानीयको भनाइ छ । हिउँ परेपछि तापक्रम घटेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । हिउँका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत आयोजनाको काम पनि रोकिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार कामदारहरू चिसोका कारण नाम्चे झरेका छन् । मौसम अनुकूल भएपछि मात्रै काम सुरु हुनेछ उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभावमा हिमाली जीवन खुम्बु क्षेत्रमा पछिल्ला वर्षमा मौसममा अप्रत्यासित परिवर्तन देखिएको छ । कहिले असोजमै हिउँ पर्ने, कहिले माघमा हिउँ नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरुका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गएको छ । तर छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् । ‘पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने, होटल खाली हुने समस्या छ,’ स्थानीय व्यवसायी तोय कुमार श्रेष्ठले भने । हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ खुम्बुका बासिन्दाले असोजमै हिमपातपछि जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । “हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ,’ नाम्चेका सुमन मोक्तानले भने, ‘अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।’ स्थानीय जनप्रतिनिधिले पनि जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । ‘हिउँ असामान्य समयमा परेपछि ढुवानी, पर्यटन र जनजीवन सबै प्रभावित हुन्छ,’ खुम्जुङका वडाध्यक्ष लक्ष्मण अधिकारीले भने, ‘हाम्रो आर्थिक जीवन हिउँसँगै बाँधिएको छ, त्यसैले राज्यले पनि यस क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ ।’ कोरियाली आरोहीको मृत्यु महाकुलुङ गाउँपालिका-३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा यही असोज २० गते कोरियाली नागरिक टेजुन पार्कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । डिएसपी मनोजित कुँवरका अनुसार पार्क असोज १८ गते मेरापिक हिमाल आरोहणका क्रममा छ हजार ४६० मिटर उचाइमा पुगेका थिए । मौसम प्रतिकूल भएपछि पार्क र नेपाली गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए । खोजतलास गर्दा तेम्बा शेर्पा ६ हजार १०० मिटर उचाइमा जीवित फेला परेका थिए भने पार्क मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पार्कको शव हेलिकप्टरमार्फत लुक्ला ल्याई आवश्यक प्रकृया पूरा गरी काठमाडौंको शिक्षण अस्पतालमा शव परीक्षणका लागि पठाइएको कुँवरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण पार्कको ज्यान गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दसैँ सौहार्दपूर्ण वातावरणमा सम्पन्न हिमपात, दुर्घटना र आरोहणका घटनाबीच पनि सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुनै ठूलो अप्रिय घटना भएको छैन । ‘छिटफुट घटनाबाहेक दसैँ शान्तिपूर्वक बित्यो,’ डिएसपी कुँवरले भने । यद्यपि यही असोज १५ गते माप्य दूधकोसी गाउँपालिका-१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका थिए । प्रहरीका अनुसार ४९ वर्षीय मंगलमान राईले मादक पदार्थ सेवन पश्चात आफ्नी श्रीमती र दुई छिमेकीलाई खुकुरी प्रहार गरेका थिए । हाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । साथै शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका-३ फलाम खानीका प्रवीण विश्वकर्माको घर बगाएको छ । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाका अनुसार रातको समयमा आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याएको भने परिवारका सदस्य सकुशल छन् । उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन् । स्थानीयले बिहान पहिरोको अवस्था स्थलगत अवलोकन गरी राहतको पहल थालेका छन् ।
पहिरोले बेनी-जोमसोम-कोरला सडकमा यातायात प्रभावित
काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बीचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात व्यवसायी भोज बहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए । ‘सामान्य बर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सवारी साधन गुडिरहेको र यात्रु हिँडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौ ।’ सडक मुनी कालीगण्डकी नदी छ भने करिब ८ सय मिटरमाथि र २ सय मिटर चौडाइको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरूले पनि यही सडक प्रयोग गर्छन् । मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले बताए । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन । बेनी-जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । बर्खायामभरी पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए । बर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाइ गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए । ‘सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ । तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ,’ उनले भने । बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिए ।
आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यी प्रदेशमा वर्षा हुने
काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार आज राती कोशी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।