काठमाडौं । जेनजी आन्दोलनका क्रममा पीडित बनेकी तथा सांसद रचना खतिवडाले खतिवडाले न्याय प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै न्यायालय फोहोर भएको र अब सफा गर्नुपर्ने भन्ने धारणा राखेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरू अझै पनि खुलेआम हिँडिरहेको आरोप लगाइन् । घटनापछि सरकारले आन्दोलन र पीडितको पीडा बिस्तारै बिर्सिएको जस्तो अनुभूति भएको उनले बताइन् ।
आन्दोलनमाथि भएको दमनको घटनामा संलग्न व्यक्तिमाथि अझै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गर्दै उनले घाइते र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिन् ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू र घाइते भएका व्यक्तिहरूले अझै न्यायको अनुभूति गर्न नसकेको भन्दै राज्यले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने आवश्यकता औंल्याइन् ।