विकासन्युज

केन्द्रीय सदस्य मनोनयनप्रति डा. शेखर कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिको हालैको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।  सभापति गगनकुमार थापाले गरेको १९ जनालाई केन्द्रीय सदस्य मनोनयनपछि सार्वजनिक धारणा राख्दै कोइरालाले पार्टीभित्र सामूहिक भावना र साझा विचार कमजोर बनेको संकेत गरेका हुन् । उनले कांग्रेसको समग्र एकताविना राष्ट्रिय राजनीतिमा पार्टीले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गर्दै पद र व्यक्तिभन्दा पार्टीको एकता ठूलो विषय भएको बताएका छन् ।  विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै उनले विभाजित कांग्रेसले केवल राजनीतिक क्षति मात्र नभई जनविश्वाससमेत गुमाएको टिप्पणी डा. कोइरालाले गरेका छन् । कोइरालाले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि निर्णायक अवसरका रूपमा व्याख्या गर्दै नागरिकको भरोसा जित्न नसके कांग्रेसको राष्ट्रिय औचित्यमाथि नै प्रश्न उठ्नसक्ने चेतावनीसमेत दिए । उनले पार्टीसँग आबद्ध युवा, संघर्षशील र त्यागी समूहको राजनीतिक भविष्य सुनिश्चित गर्न कांग्रेस भावनात्मक रूपमा एकताबद्ध र राजनीतिक रूपमा नागरिकमैत्री बन्नुपर्ने धारणा राखेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संविधानवाद र लोकतान्त्रिक मूल्यहरूमाथि पपुलिज्मको नाममा आक्रमण भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको बताए ।  गुटीय राजनीतिका कारण पार्टी कमजोर बनेको संकेत गर्दै उनले यसको अन्त्य छिटो हुनुपर्नेमा जोड दिएका छन्। कोइरालाले वैशाख २८ गते गरिएको १९ जनाको मनोनयनले पार्टी एकताको भावनालाई कमजोर बनाएको स्पष्ट टिप्पणी गरेका छन् । साथै उनले १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशन एकता महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

'केही समूहले इन्साइडर ट्रेडिङ गरेर १६ अर्ब दुरुपयोग गरे, अर्बौं कमाए'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजारमा सीमित समूहको प्रभाव बढ्दा सर्वसाधारणको अर्बौं रुपैयाँ जोखिममा परेको बताएका छन् । उनले इन्साइडर ट्रेडिङ र बजार हेरफेरमार्फत केही व्यक्तिले करिब१६ अर्ब रुपैयाँसम्म दुरुपयोग गरेको आरोप लगाएका हुन् ।  मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले विगतका वर्षहरूमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको नियन्त्रणमा पुगेको स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा कृत्रिम चलखेल गरेर राजनीतिक नेतृत्वसमेत प्रभावित पार्ने प्रवृत्ति बढेको टिप्पणी गरे । उनका अनुसार केही समूहले पुँजी बजारलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेका छन् । यस्तो अवस्थाले आर्थिक संस्थामात्र होइन, राजनीतिक संरचनामाथि समेत प्रभाव पार्ने वातावरण बनेको उनको भनाइ छ ।  मन्त्री वाग्लेले सरकारले पुँजी बजार सुधारका लागि विभिन्न कदम अघि बढाइरहेको जानकारी दिए । स्टक एक्सचेन्जको पुनःसंरचनाका लागि गठित समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी भइरहेको उनले बताए । उनले आगामी दिनमा नेपालको पुँजी बजारलाई अझ व्यावसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा समेत पुँजी बजारप्रति उदार नीति समावेश भइसकेको भन्दै आगामी बजेटमार्फत त्यसलाई थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे ।  ‘पुँजी बजारलाई विश्वस्तरीय अभ्यासअनुसार अघि बढाउने गरी सरकारले सुधारका कार्यक्रम ल्याइरहेको छ,’ मन्त्री वाग्लेले बैठकमा भने ।   

काठमाडौंमा दुई दिने सांगीतिक उत्सव सम्पन्न

काठमाडौं ।  राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो ।  महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न भएको हो । महोत्सवको पहिलो दिन रुट्स् एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो । मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्ड मार्फत कार्यक्रमको सौम्य सुरुवात गरेका थिए ।  हिमालयन सिङ्गिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न अवस्थामा पु¥याएको थियो । त्यसलगत्तै गायिका सुगमा गौतम, सलिना बिक, तबला वादक जगन्नाथ धौगोडा र बाँसुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योंग र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पारेका थिए । कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्रचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाएको थियो । सोही अवसरमा काठमाडौं युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो । महोत्सवको दोस्रो दिन साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गरेका थिए । महोत्सवको समापन भने निकै उल्लासमय रह्यो । डा. जोन शाप्र्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो । उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, ’कान्छी मट्याङ ट्याङ’, राजमती कुमती’, ’उकाली ओरालीहरूमा’, ’सीलु’ जस्ता मौलिक धुनहरूलाई अर्केस्ट्राको शैलीमा प्रस्तुत गरिएको थियो । त्यतिबेला हलमा उपस्थित दर्शकहरू हर्षविभोर भएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो । सन् २०१८ मा सिङ्गापुरबाट यात्रा सुरु गरेको युनिभर्स अफ साउन्ड अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो । सेकरेड हिमालयज २०२६ का परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शाप्र्ली र सिङ्गापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताए  । डा. शाप्र्लीले भने, ‘सारा ब्रह्माण्ड नै एउटा कम्पन हो र ध्वनि भनेको अनुभवमा ढालिएको ऊर्जा हो ।’ अमेलिया काङले आफ्नो सन्देशमा यो उत्सव प्रश्नहरूको उत्तर खोज्न नभई स्वयंलाई महसुस गर्नका लागि भएको बताए ।  आयोजक संस्था काठमाडौं युथ अर्केस्ट्राका संस्थापक सबिन मुनिकारले यस महोत्सवलाई नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा नयाँ ढंगले चिनाउने एक ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे ।

सेनाद्वारा खाँदबारी-किमाथांका सडक हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले कोशी कोरिडोरको खाँदवारी-किमाथांका सडक खण्ड निर्माण सम्पन्न गरेको छ ।  संखुवासभा, भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले निर्माण सम्पन्न गरेर वैशाख २८ गते उत्तर-दक्षिण (कोशी) सडक आयोजनाका प्रमुखलाई हस्तान्तरण गरेको गरिसकेको छ ।  

मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । खल्ती एपमार्फत उपलब्ध हुने यो योजनाले जीवन र स्वास्थ्य बीमा सेवालाई सरल, छिटो र सहज बनाउने लक्ष्य राखेको छ । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत विवरण भरेर मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया घटाउँदै र चरणहरूलाई सहज बनाउँदै, दैनिक रूपमा प्रयोग हुने डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समेटिएको छ । एउटै योजनाभित्र विभिन्न सुरक्षण समावेश गरिएकाले ग्राहकले फरक–फरक बीमा व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । ‘सुरक्षा ३६०’ सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीन प्रकारका प्याकेजमा उपलब्ध छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन् । यस योजनामा २३ लाखदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध छ भने वार्षिक बीमाशुल्क ३ हजार ८१० रुपैयाँबाट सुरु हुने बताइएको छ । १८ देखि ५० वर्ष उमेर समूहका लागि लक्षित यो योजना किफायती र पहुँचयोग्य हुने विश्वास गरिएको छ । मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले ‘सुरक्षा ३६०’ ले जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षण प्रदान गर्ने विश्वास व्यक्त गर्दै डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई अझ सहज बनाउने उद्देश्य रहेको बताए ।

कोसी प्राइड लिगको तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । कोसी प्राइड लिग (केपीएल) को तेस्रो संस्करण एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराज भण्डारीले हस्ताक्षर गरेका छन् । आयोजक कोसी प्राइड प्रालिका अनुसार जेठ ९ गतेदेखि सुरु हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिनेछ । यसअघि प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सञ्चालन गर्ने योजना रहे पनि विभिन्न कारणले दुईपटक सारिएको थियो । अब प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीहरूले अक्सनमार्फत समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् भने प्रत्येक टोलीले ड्राफ्टमार्फत तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । लिगमा एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।  

तस्करी नियन्त्रणमा निर्मम तर आम नागरिकप्रति उदार बन्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा हुने संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार निर्मम रूपमा प्रस्तुत हुने स्पष्ट पारेका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले आम नागरिकले दैनिक उपभोगका लागि गर्ने किनमेलमा सरकार लचिलो हुने तर व्यावसायिक रूपमा गरिने अवैध कारोबारमा भने शून्य सहनशीलता अपनाइने बताए । १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था दशकौंदेखि कायम रहेको स्मरण गराउँदै उनले यसको कार्यान्वयनमा विगतमा भएका कमजोरी वा लापरबाहीलाई अब सुधार गरिने उल्लेख गरे । तराई–मधेसका सीमावर्ती क्षेत्रका नेपाली नागरिकको दैनिक जीवन सहज बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले सीमापारि गएर साबुन, चिनी जस्ता अत्यावश्यक वस्तु खरिद गर्ने सर्वसाधारणलाई कुनै सास्ती नदिइने स्पष्ट पारे । यद्यपि दिनमा पटक–पटक सीमा वारपार गरेर सामान भित्र्याउने र स्वदेशी उत्पादनलाई धराशायी बनाउने संगठित गिरोहविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी अर्थमन्त्रीले दिएका छन् । राजस्व चुहावट नियन्त्रणका लागि संघीय, प्रादेशिक र स्थानीय तहका सबै संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिने जानकारी दिँदै उनले गृहमन्त्री र अर्थमन्त्रीको संयुक्त नेतृत्वमा रहेको उच्चस्तरीय राजस्व परिचालन समितिलाई समेत सक्रिय बनाइने बताए ।  सीमा सुरक्षा र निगरानीलाई थप प्रभावकारी बनाउन सरकारले यसपटक आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको छ । अर्थमन्त्री वाग्लेका अनुसार सीमा क्षेत्रमा सीसीटीभी क्यामेरा, फेस रिकग्निसन डिभाइस, नाइट भिजन उपकरण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रणाली जडान गर्न गृह मन्त्रालयलाई उल्लेख्य बजेट विनियोजन गर्ने तयारी गरिएको छ।  सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बललाई स्रोत–साधन सम्पन्न बनाउन बोर्डर पोस्ट सुदृढीकरण र आधुनिक उपकरण खरिदमा ठूलो लगानी गरिने उनको भनाइ छ।  ‘सिमाना भनेको सिमाना हो’ भन्दै उनले अवैध गतिविधिमा कठोर हुने तर मानवीय र वैध कार्यमा सरकारले हदैसम्मको उदारता देखाउने प्रतिबद्धता व्यक्त गरे ।

सांसदहरू स–साना प्रोजेक्ट बोकेर बजेट माग्न आउनुभएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरू बजेट निर्माण प्रक्रियामा नीतिगत बहसभन्दा पनि साना–साना आयोजना बोकेर बजेट माग्न आइरहेको बताएका छन् । मंगलवार अर्थसमितिमा भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले पनि सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका सडक, खानेपानी, सिँचाई तथा अन्य खुद्रा योजनाका लागि बजेट माग आइरहेको बताएका हुन् । उनले अहिलेको अभ्यासअनुसार कुनै पनि आयोजना सम्बन्धित मन्त्रालयबाट प्रस्ताव भएर मात्रै अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा आउने व्यवस्था रहेको स्पष्ट पारे । उनले सडक आयोजना भए भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी आयोजना भए खानेपानी मन्त्रालय तथा अन्य विषयगत आयोजना सम्बन्धित मन्त्रालयमार्फत नै अघि बढ्नुपर्ने सिद्धान्तमा सरकार अघि बढिरहेको बताए ।  अर्थमन्त्री वाग्लेले संघीय बजेट अब ठूला नीतिगत प्राथमिकता, १६ औं आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा शासकीय सुधारको रोडम्यापसँग मेल खाने योजनामा केन्द्रित हुनुपर्ने धारणा राखे ।  उनले सांसदहरूले उठाएका मागलाई साधन–स्रोतको सीमाभित्र रहेर न्यायोचित रूपमा सम्बोधन गर्ने प्रयास भइरहेको पनि जानकारी दिए । उनका अनुसार धेरै साना तथा स्थानीय प्रकृतिका आयोजना प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्नुपर्ने भएकाले संघीय बजेटमा समेट्न कठिन हुने गरेको छ । यद्यपि मन्त्रालयहरूले सांसदहरूले पठाएका प्रस्ताव र सुझावहरूलाई कुन हदसम्म संघीय बजेटमा समावेश गर्न सकिन्छ भन्नेबारे अभ्यास गरिरहेको उनले जानकारी दिए । अर्थमन्त्री वाग्लेले वैशाख ३१ पछि बजेट निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्ने र त्यसपछि अर्थ मन्त्रालयले अन्तिम रूप दिने काम तीव्र बनाउने पनि बताए।