विकासन्युज

हेटौंडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।  सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए । उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।  भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।  यस्तै हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।   

वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौंका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ । शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौंको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौंका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा  गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।'      काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए ।      वर्षा रोकिएसँगै काठमाडौंका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।     वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौंमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन् । उनले भने, 'शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।'      जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।       आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस  

विभिन्न राजमार्गका १८ स्थानमा यातायात अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोशी राजमार्ग, मकालु गाउँपालिका-३ स्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यसैगरी, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग, उदयपुरको कटारी नगरपालिका-१४ दलदलेमा रहेको सिद्धिचरण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका-५ ढिकुरेस्थित मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँगुरीगढी गाउँपालिका-१ स्थित कोशी लोकमार्ग, इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन् ।  यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित नेपाल चीन मितेरी पुल, सोही गाउँपालिका-५ स्याप्रुबेँसीलगायतका ४ स्थानमा पूर्णरुपमा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ माम्तीखोलास्थित बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । वर्षाका कारण आएको बाढीपहिरोबाट मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेखोलास्थित कान्ति लोकपथ, मकवानपुरकै भीमफेदी गाउँपालिका-८ स्थित कान्ति लोकपथ, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका-३ स्थित कुलेखानी दक्षिणकाली सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए । यसैगरी, सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ नेपालथोकस्थित बिपी राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ  ।

अवरुद्ध रिडी-तम्घास सडक खुल्यो

काठमाडौं । सुख्खा पहिरोले अवरुद्ध मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-तम्घास सडक खण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

सुनको मूल्यले आज पनि बनायो ऐतिहासिक रेकर्ड, तोलामै २ लाख ३३ हजार नाघ्यो

काठमाडौं । सुनचाँदीको भाउले आज सोमबार पनि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । साेमबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएर ऐतिहासिक रेकर्ड कायम गरेको हाे ।  नेपाल सुनचाँदी व्यवसायी महास‌घका अनुसार आज सुनकाे मूल्य प्रतिताेला २ लाख ३३ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार  सुन २ लाख ३० हजार ६० सय रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तै साेमबार चाँदीकाे मूल्य प्रतिताेला  ३० रुपैयाँले वृद्धि भएर चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साेमबार चाँदी  प्रतिताेला २ हजार ९ सय ६० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

गण्डकीमा आज सार्वजनिक बिदा

पोखरा ।  गण्डकी प्रदेश सरकारले  गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएकाे छ । साेही अनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।  

आज सेयर बजार नखुल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय आजदेखि खुल्ने भएको छ । शेयर कारोबार भने आज पनि नखुल्ने नेप्सेले जनाएको छ । नेप्सेले एक सूचना जारी गर्दै सेयर बजार  भने आज असोज २० गतेबाट खुल्ने जानकारी गराएको हो । सरकारले निरन्तर वर्षालाई ध्यानमा राखेर असोज १९ र २० गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो राति १० बजे सूचना जारी गर्दै हाल मौसममा सुधार हुँदै भएको र जोखिमको अवस्था कम हुँदै गएकाले आजबाट सार्वजनिक कार्यालय, संस्थान र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुलाउन निर्देशन दिइसकेको छ ।  सार्वजनिक विदा खारेज भएसँगै आजबाट धेरैजसो सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।   

अलपत्र पर्यटकलाई होटल सङ्घको पहलमा निःशुल्क खाना र बस्ने व्यवस्था

काठमाडौं । बाढी पहिरो र सडक अवरुद्ध हुँदा पोखरामा अलपत्र परेका पर्यटकलाई व्यवसायीले निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने भएका छन् । होटल सङ्घ पोखराले पोखरा र वरपरका क्षेत्रमा समस्यामा परेका पर्यटकका लागि निःशुल्क खाना र बस्ने सुविधा उपलब्ध गराउने घोषणा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।  उनले विपत्तिमा केही पर्यटक अलपत्र परेको भन्ने खबर पाएसँगै तत्काल राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको बताए ।  ‘असहज परिस्थितिमा सामाजिक उत्तरदायित्व बहन गर्दै होटल सङ्घले यस्तो निर्णय गरेको हो । यसले पर्यटकको सुरक्षा र सहजतामा सहयोग पुग्ने विश्वास छ,’ सुवेदीले भने ।  हाल पोखरा भ्रमणमा रहेका अन्य पर्यटकलाई पनि होटलको प्रचलित दरमा २५ प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरिएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरो र प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उद्धार र निःशुल्क उपचारमा सरकारको ध्यानाकर्षणसमेत गराइएको छ ।