काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको सवारी चालक रहेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् ।
सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो।
महादेवा गाउँपालिका-१ घर भई हाल राजविराज नगरपालिका- ३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको सप्तरी प्रहरीले बताएको छ ।
आलम मन्त्री यादवको सचिवालयमा रही हलुका सवारी चालकको रूपमा कार्यरत छन् ।
पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबरजस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरू गरिएको बताए । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार छन् र उनीहरूको खोजी तीव्र पारिएको छ ।
आलमलाई सप्तरी जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भइसकेको छ ।