डीडीसीको लुटतन्त्र बन्द, जोगियो पौने ३ करोड
काठमाडौं । सरकारी संस्थानहरूमा वर्षौंदेखि चल्दै आएको लुटतन्त्र र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले कडा कदम चालेकी छन् । दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिएकी हुन् । के थियो सेटिङ ? डीडीसीका कर्मचारीहरूले नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा घर लैजाने गरेका थिए । एकातिर संस्थान घाटामा जाने र अर्कोतिर किसानले दूधको भुक्तानी नपाएर सडकमा दूध पोख्नुपर्ने अवस्था रहेको बेला कर्मचारीहरूले भने राज्यको सम्पत्तिमा रजाइँ गरिरहेका थिए । मन्त्री चौधरीको यो एकै निर्देशनले अब संस्थानको वार्षिक २ करोड ८५ लाख रुपैयाँ जोगिने भएको छ । ‘संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि हो’ , मन्त्री चौधरीले निर्देशनका क्रममा भनिन् । कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो वार्षिक २ करोड ८५ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ । वर्षौंदेखि किसानको पसिनाको मूल्य नतिर्ने तर कर्मचारीले सित्तैमा घिउ दूध खाने प्रवृत्ति अन्त्य भएको छ ।
हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फुटबल हेर्न पाइने, यस्तो छ ग्राहक शुल्क
काठमाण्डौ । एक महिनापछि सुरु हुन लागेको ‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने भएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो । अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ । नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय स्पोर्टस् र हिमालय टेलिभिजन तथा मोबाइल एपतर्फ डीगो एपसँग एक्सक्लुसिभ प्रसारण सम्झौता गरेको हो । सम्झौतापछि एसप्रो मिडियाका अध्यक्ष सोम धितालले नेपाली दर्शकले अब नेपाली टेलिभिजन र मोबाइल एपमै विश्वकप हेर्न पाउने वातावरण बनेको बताए । उनले विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको उल्लेख गरे । सोही अवसरमा हिमालय टेलिभिजनको खेलकुद विशेष च्यानल ‘हिमालय स्पोर्टस्’को औपचारिक शुभारम्भ पनि गरिएको छ । हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल तथा हिमालय स्पोर्टस्‌का प्रमुख कार्यकारी अधिकृत सुरज गिरीले च्यानलको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष भुसालले हिमालय टेलिभिजनले सब्सक्रिप्सन मोडलमार्फत विश्वस्तरीय कन्टेन्ट नेपालमा प्रसारण गर्ने नयाँ अध्याय सुरु गरेको बताए । त्यस्तै, कार्यकारी निर्देशक श्याम कँडेलले खेल अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित उत्कृष्ट गुणस्तरमा खेलसम्बन्धी कन्टेन्ट प्रसारण गर्न हिमालय स्पोर्टस् च्यानल सुरु गरिएको जानकारी दिए । सोही समारोहमा डीगो मोबाइल एपको पनि शुभारम्भ गरिएको थियो । यसअघि ‘डिसहोम गो’ नाममा रहेको मोबाइल एपलाई नयाँ प्रविधि र नयाँ स्वरूपसहित ‘डीगो’ नामबाट सार्वजनिक गरिएको हो । डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकाल, निर्देशक सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेलले एपको शुभारम्भ गरे । अध्यक्ष ढकालले प्रविधि, बजार र दर्शक एकैसाथ तयार रहेको अवस्थामा लगानीका हिसाबले यो सुनौलो अवसर भएकाले डीगोलाई फिफा विश्वकपसँगै नयाँ स्वरूपमा सार्वजनिक गरिएको बताए । उनले विश्वभर रहेका नेपालीलाई कन्टेन्टमार्फत जोड्ने उद्देश्यसहित डीगो अघि सारिएको उल्लेख गरे । यस्तो छ ग्राहक शुल्क फिफा विश्वकप हेर्न दर्शकले टेलिभिजनमा हिमालय स्पोर्टस् च्यानल सब्सक्राइब गर्नुपर्नेछ । टेलिभिजनमा विश्वकप हेर्न प्रति सेटअप बक्स ९ सय ९९ रुपैयाँ (करसहित) शुल्क लाग्नेछ। हाल अर्ली बर्ड अफरअन्तर्गत डीगो एपमार्फत सीमित अवधिका लागि ७ सय ९९ रुपैयाँमा ग्राहक पास खरिद गर्न सकिने जनाइएको छ । मोबाइलबाट मात्रै हेर्न चाहने दर्शकका लागि ५ सय ४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ । उल्लेखित शुल्क तिरेपछि दर्शकले विश्वकपका सबै १ सय ४ खेल हेर्न पाउनेछन् । टेलिभिजनको ग्राहक बन्न सम्बन्धित केबल अपरेटर वा टेलिभिजन सेवा प्रदायकसँग सम्पर्क गर्नुपर्ने जनाइएको छ ।
सुनवलमा ‘सर्वोत्तम इमर्जेन्सी अस्पताल’ निर्माण सुरु, लगानी ४ करोड
काठमाडौं । सर्वोत्तम सिमेन्टले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधा सम्पन्न ‘सर्वोत्तम इमर्जेन्सी अस्पताल’ निर्माण कार्य सुरु गरेको छ । सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सुनवल नगरपालिका-५ मा अस्पताल भवनको शिलान्यास सम्पन्न गरिएको हो । कोभिड-१९ को समयमा सर्वोत्तम सिमेन्ट र सुनवल नगरपालिका बीच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन नगरप्रमुख भीमबहादुर थापाको कार्यकालमा सुरु गरिएको उक्त प्रतिबद्धताले अब मूर्त रूप लिन थालेको हो । सर्वोत्तम सिमेन्टले महामारीको समयमा नगरपालिकालाई १७ वटा भेन्टिलेटर समेत उपलब्ध गराएको थियो । निर्माण सम्पन्न भएपछि ती उपकरणहरूको आवश्यक सर्भिसिङ गरी अस्पतालमै व्यवस्थापन गरिने कम्पनीले जनाएको छ । लिफ्टसहितको तीनतले अस्पताल करिब ४ करोड रुपैयाँ लागतमा निर्माण गरिनेछ । निर्माणको सम्पूर्ण खर्च सर्वोत्तम सिमेन्टले नै बेहोर्नेछ । कम्पनीका महाप्रबन्धक नेत्र प्रसाद घिमिरेका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गरी अस्पताल सुनवल नगरपालिकालाई हस्तान्तरण गरिनेछ । बालमैत्री तथा अपाङ्गमैत्री डिजाइनमा निर्माण गरिने अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरू समेत उपलब्ध गराइनेछ । साथै अस्पताल सञ्चालनपछि मर्मत-सम्भारको जिम्मेवारी समेत कम्पनीले नै लिने जनाएको छ । सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले यसअघि जग्गा अभावका कारण परियोजना अघि बढ्न नसकेको उल्लेख गर्दै हाल आवश्यक जग्गा उपलब्ध भएपछि निर्माण प्रक्रिया सुरु गरिएको बताइन् । स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण हुन लागेको यस अस्पतालले सुनवल क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ जनाले पाए उपचार तथा परामर्श
काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं शाँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई नि:शुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ । बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपचार तथा परामर्श पाएका थिए । यस्तै, गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।
हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि
काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित अन्तरिम वित्तीय विवरणअनुसार उल्लेखनीय व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुलीका कारण नाफा तथा कर्जा लगानी दुवैमा उत्साहजनक वृद्धि हासिल गरेको जनाएको छ । कम्पनीले समीक्षा अवधिसम्म २४ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो । यसै अवधिमा कम्पनीको कुल कर्जा पोर्टफोलियो १० अर्ब पुगेको छ । जुन व्यवसायको आकारमा ७५.१० प्रतिशतको वृद्धि हो । कम्पनीका अनुसार सशक्त व्यवसायिक विस्तार तथा प्रभावकारी रिकभरी व्यवस्थापनका कारण निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको छ । कर्जा लगानी उल्लेखनीय रूपमा बढाउँदै लैजाँदा पनि सम्पत्ति गुणस्तर सुधार हुनु कम्पनीको वित्तीय व्यवस्थापनको सकारात्मक संकेत भएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
जबरजस्ती मुद्दामा मिलापत्र गराउने पूर्ववडाध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । जबरजस्ती करणीसम्बन्धी मुद्दामा मिलापत्र गराउने प्रयास गरेको आरोपमा कपिलवस्तुमा चार जना पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा अनुसन्धान भइरहेका बेला मिलापत्रका नाममा अनुचित प्रभाव पार्ने काम गरेपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पीडितकी आमा (परिवर्तिन नाम ५१), यशोधरा गाउँपालिका–५ का ५५ वर्षीय नइम भन्ने लईस पठान (पूर्ववडाध्यक्ष), मोहम्मद सफिक पठान र ४५ वर्षीय लेखन्दास राम वृक्ष कोहार रहेका छन् । कपिलवस्तु यशोधरा ५ का वर्ष २६ का इलियास पठानले २१ गते आफ्नै घरको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडितकी आमाले २३ गते जाहेरी दर्ता गराएपछि मुद्दा अघि बढाइएको थियो । २७ गते मिलापत्र कागज र मुद्दा फिर्ता गरिपाऊँ भन्ने निवेदनसहित पीडितकी आमा र अर्का एक व्यक्ति कार्यालयमा उपस्थित भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रारम्भिक सोधपुछका क्रममा जग्गा सम्बन्धी विवादलाई झुट्टा कारण देखाई मिलापत्र गराउने कार्यमा प्रतिवादीका बुवा मोहम्मद सफिक पठानको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनको साथबाट १ लाख ३ हजार ५५० रुपैयाँ बरामद गरिएको छ । प्रहरीका अनुसार पीडितलाई अनुचित प्रभावमा पारी जबरजस्ती करणीसम्बन्धी फौजदारी कसूरमा मिलापत्र गराउने कार्यमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ । साथै मिलापत्र कागज लेखेको आरोपमा राम वृक्ष कोहारलाई पनि पक्राउ अनुमति जारी भई अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।
नेपाल–भारत पारस्परिक सहायता सम्झौता संसद्मा पेस
काठमाडौं । सरकारले प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता पेस गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त सम्झौता पेस गरेकी हुन् । सम्झौता संसद्मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सहज हुने बताइन् । अपराधीलाई सजाय दिन र अपराधबाट कमाएको सम्पति फिर्ता ल्याउन सहज हुने बताएकी हुन् । यसले सम्पति शुद्धीकरणको कार्यमा समेत सहयोग पु‍र्याउने उनले बताइन् ।
ग्लोबल आउटसोर्सिङ सूचकांकमा नेपाल विश्वकै शीर्ष २० भित्र, फिलिपिन्स पहिलो नम्बरमा
काठमाडौं । ग्लोबल आउटसोर्सिङ सूचकांकमा नेपाल शीर्ष २० भित्र परेको छ । ‘ग्लोबल आउटसोर्सिङ टयालेन्ट इन्डेक्स २०२६’ को रिर्पोटअनुसार नेपाल शीर्ष २० भित्र परेको हो । रिपोर्टअनुसार १९३ देशमध्ये नेपालले १७४ देशलाई पछि पार्दै विश्वकै उत्कृष्ट २० देशभित्र स्थान बनाएको छ । रिपोर्टमा आउटसोर्सिङ प्रतिस्पर्धात्मकता मापन गर्न पाँच आधार प्रयोग गरिएको छ । नेपालले श्रम लागत, अंग्रेजी प्रोफेसेन्सी, ट्यालेन्ट अभाइलेवलिटी, डिजिटल इन्फ्रास्ट्रक्चर र बिजनेस स्टाविलिटी श्रम लागत, अंग्रेजी दक्षता, दक्ष जनशक्ति उपलब्धता, डिजिटल पूर्वाधार र व्यापार तथा राजनीतिक स्थायित्वगरी कुल ७९.६५ प्रतिशत अंक प्राप्त गरेको छ । सूचकांकमा फिलिपिन्स पहिलो नम्बरमा रहेको छ । दोस्रोमा मलेसिया र तेस्रो स्थानमा भारत रहेको छ । नेपालले श्रम लागतमा ९६, अंग्रेजी दक्षतामा ८०, प्रतिभा उपलब्धतामा ५०, डिजिटल पूर्वाधारमा ४० तथा व्यापार स्थायित्वमा ५०, डिजिटल पूर्वाधारमा ४०, व्यापार तथा राजनीतिक स्थायित्वमा ४० अंक प्राप्त गरेको रिर्पोटमा उल्लेख गरिएको छ । उत्कृष्ट २० देशहरुमा फिलिपिन्स, मलेसिया, भारत, चिली, साउथ अफ्रिका, नाइजेरिया, पेरु, इन्डोनिसिया, अर्जेटिना, रोमनिया, केन्या, डोमिनकन रिपब्लिक, ब्राजिल, पोल्याण्ड, इजिप्ट, पाकिस्तान, घना, नेपाल र बंगलादेश रहेका छन् ।