पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि छ्याप्छ्याप्ती
गण्डकी । पोखरामा सञ्चालित आयुर्वेद अस्पताल/क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध रूपमा बिक्रीवितरण भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–१० बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्याप्छ्याप्ती भेटिएका हुन् । औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 'अधिकांश अस्पताल र क्लिनिकमा गैरकानुनी औषधि बिक्रीवितरण भइरहेको पाइएको छ', उनले भने, 'आयुर्वेद उपचारका नाममा विकृति मौलाउँदै गएपछि अनुगमनमा कडाइ गरिएको हो, गलत गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ ।' अनुगमनका क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दररेट नराखेका, चिकित्सक र स्वास्थ्यकर्मीलाई नियुक्तिपत्र नदिई काममा लगाएका अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्रसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ बरालले बताए । सञ्चालन अनुमतिपत्र नदेखिएपछि फेमिली आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमतिपत्र लिन सचेत गराइएको उनको भनाइ छ । अनुगमन टोलीमा रहनुभएका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिनबन्धु आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नलिई उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताए । 'कानुनी मान्यता नपाएका र गुणस्तरहीन आयुर्वेद औषधि बजारमा भित्रने गरेको छ, औषधि किन्ने बेलामा अस्पताल स्वयं सचेत हुनुपर्छ', उनले भने, 'औषधि व्यवस्था विभागमा दर्ता छरछैन निश्चित गरेरमात्र औषधि खरिद गर्नुपर्छ ।' क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेकोसमेत पाइएको चिकित्सक आचार्यले बताए । पोखरामा हेल्दी होम्सका कविराज अस्मिना बञ्जराले अनुमति नलिई आयुर्वेद औषधि उत्पादन र बिक्रीवितरण गर्ने कम्पनीलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 'कतिपय कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता छ भनेर झक्याउन सक्छन्, अबदेखि अस्पताल र क्लिनिकहरू यसमा सचेत हुनुपर्छ', उनले भने । धेरैजसो आयुर्वेद अस्पताल र क्लिनिक पोखरा–१० बुद्धचोक, अमरसिंहचोकलगायत क्षेत्रमा सञ्चालित छन् । अस्पताल भनेर सञ्चालन गरे पनि कतिपयमा अस्पतालको न्यूनतम पूर्वाधार पनि नरहेको पाइएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल ‘अथक’ले बताए । अनुगमनलाई थप कडाइ गर्दै दोषी भेटिएका जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । यस्तै मापदण्डविपरीत अनावश्यक रूपमा होर्डिङ बोर्ड राखेका क्लिनिकलाई त्यस्ता बोर्ड तत्काल हटाउन भनिएको जिल्ला प्रशाससन कार्यालयले जनाएको छ । बुद्धचोकको नेचर केयर आयुर्वेद अस्पताल, साधना आयुर्वेद क्लिनिक, आरोग्य होमियो फार्मेसी, आरोग्य होमियोप्याथिक अस्पताल, पञ्चम आयुर्वेद, पोखरा हेल्दी होम्स, रश्मी आयुर्वेद क्लिनिक र फेमिली आयुर्वेदिक क्लिनिकको अनुगमन गरिएको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, गण्डकी आयुर्वेद अस्पताल, प्रोदशिक जनस्वास्थ्य केन्द्र, वडा प्रहरी कार्यालय बैदाम, उपभोक्ता मञ्चका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ
काठमाडौं । फेसबुक र ह्वाट्सएप ग्रुपबाट कक्षा १२ को प्रश्नोत्तर सार्वजनिक गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । सोमबार ३७ वर्षीय निराजन शाही र ३० वर्षीय प्रेम कुमार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले चाबहिलबाट पक्राउ गरेको हो । उनीहरूले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु अगावै प्रश्नोत्तर विभिन्न ह्वाट्सएप र फेसबुक ग्रुपबाट सार्वजनिक गरेका थिए । परीक्षा हुनुभन्दा केही समय अगाडि बाहिरिएको प्रश्नोतर अनुसन्धानको गर्न राष्ट्रिय परीक्षा बोर्डले निवेदन दिएको थियो । ब्यूरोले गरेको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट क्लास १२ म्यानेजमेन्ट वान्ली भन्ने ह्वाट्सएप र मेसेन्जर ग्रुपबाट उनीहरूले प्रश्नोतर बाहिर ल्याउने गरेका थिए । प्रश्न पत्रको गोपनीयता भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत, काठमाडौंको आदेशले दिन चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
डीडीसीका कर्मचारीले अब सित्तैमा दूध-घ्यू खान नपाउने, २ करोड ८५ लाख जोगिने
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घ्यूको सुविधा अब खोसिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले उक्त सुविधा तत्काल रोक्न निर्देशन दिएकी हुन् । डीडीसीका कर्मचारीहरूले दैनिक दूध र मासिक रूपमा घ्यू सित्तैमा घर लैजाँदै आएका थिए । मन्त्री चौधरीले निर्देशन दिएसँगै अब संस्थानको वार्षिक २ करोड ८५ लाख जोगिनेछ भएको छ । ‘संस्थान कर्मचारी पाल्नका लागि मात्र होइन, किसान र उपभोक्ताको सेवाका लागि हो,’ मन्त्री चौधरीले भनिन् । कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो २ करोड ८५ लाख रुपैयाँ अब किसानहरूको बाँकी बक्यौता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ ।
हर्कराज राई पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त भएका हुन् । सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय लिएका हुन् । संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बहुविवाह गरेर फरार रहेका श्रेष्ठ पक्राउ
काठमाडौं । बहुविवाह गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । मंगलबार ललितपुर प्रहरीले बहुविवाह मुद्दा गरेर रहेका ३५ वर्षीय सुदीप कुमार श्रेष्ठलाई पक्राउ गरेको हो । अदालतले श्रेष्ठलाई २ वर्ष ६ महिना कैद र पच्चिस हजार रुपैयाँ तोकेको थियो । धनुषा गणेशमान चारनाथ नगरपालिका ५ का ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ७ चाँगाथली बस्ने श्रेष्ठ पक्राउ परेका हुन् । प्रहरीले उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेर फैसला कार्यन्वयनको लागि अदालतमा पेश गरिसकिएको छ ।
नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । यो अवार्ड न्यू बिजनेश एज लिमिटेड ले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६ समारोहमा प्रदान गरिएको हो । आयोजकका अनुसार बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, ग्राहक–केन्द्रित सेवा तथा व्यवसायिक उत्कृष्टताका आधारमा कम्पनीलाई सम्मान गरिएको हो । कम्पनीले पछिल्लो समय दाबी भुक्तानी प्रक्रियामा सुधार, डिजिटल प्रविधिको प्रयोग, सेवा विस्तार तथा ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ । निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव र विश्वसनीय सेवाका कारण कम्पनीले बजारमा बलियो पहिचान बनाएको दाबी गरेको छ । कम्पनीका अनुसार यस सम्मानले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता तथा दीर्घकालीन व्यवसायिक दृष्टिकोणलाई थप पुष्टि गरेको छ । साथै आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्दै नवीन योजना र आधुनिक सेवा विस्तारमा केन्द्रित रहने जनाएको छ । कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकिङ, बीमा, उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । न्यू बिजनेश एज लिमिटेड ले सन् २०१३ देखि निरन्तर ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड’ आयोजना गर्दै आएको छ ।
कृषि विकास बैंकका सेवाग्राहीलाई काठमाडौं मेडिकल कलेजमा छुट
काठमाडौं । कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेजबीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । २०८३ साल वैशाख ७ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, कर्मचारी, पूर्व कर्मचारी तथा उनीहरूका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरूमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । छुट सुविधा लिन बैंकको चेकबुक, वैध डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा खातासम्बन्धी प्रमाण पेश गर्नुपर्नेछ । कर्मचारी तथा परिवारका सदस्यका हकमा भने फोटोसहितको परिचयपत्र, नाता खुल्ने कागजात वा जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । काठमाडौं मेडिकल कलेजले चिकित्सा, नर्सिङ, डेन्टललगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरूलाई सहुलियत प्रदान गर्दै आएको जनाएको छ । यस सहकार्यले कृषि विकास बैंकसँग आबद्ध सेवाग्राही तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच मिल्ने विश्वास गरिएको छ । यसका साथै केएमसी दुवाकोटले सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटि स्क्यान र एमआरआई बाहेकका सेवामा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेका छन् : राई
काठमाडौं । प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो जिकिर गरेका हुन् । उनले भने, ‘जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन् यो बेला । जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्र ?’ अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहको विगतमा जस्तै आलोचना गर्दै संसदलाई सम्बोधन गर्न पर्छ कि पर्दैन ? भनी प्रश्न गरे । उनले प्रधानमन्त्री साह जनताको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र असक्षम बन्ने भएको हो ? भनी जिज्ञासासमेत राखे । राईले भने, ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नु पर्छ कि पर्दैन ? सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखको हैसियतले उत्तर दिनु पर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु हो भन्ने बुझिन्छ ।’ उनले प्रधानमन्त्री साहले जनताको जीउधनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने भन्दै सरकारलाई सफल भन्न नमिल्ने तर्क समेत गरे ।