विकासन्युज

क्वान्टम मेकानिकल टनेलिङमा योगदानका लागि ३ वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

स्टकहोम । जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरेका छन् । क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गरेका हुन् भने मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गरेका थिए । 'सामान्य शब्दमा भन्नुपर्दा यो मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य हो', क्लार्कले आफ्नो जितबारे पत्रकारहरूसँग फोनमा प्रतिक्रिया व्यक्त गरे । नोबेल समितिका अनुसार तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ । नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भने, 'शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कारहरू प्रदान गर्दै आएको छ । यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ ।' यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो । गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि फिजिक्स पुरस्कार प्राप्त गरेका थिए । यसअघि सोमबार मेरी ई. ब्रन्को, फ्रेड रामस्डेल र डा. शिमोन सकागुचीले कसरी मानव शरीरको प्रतिरक्षा प्रणालीले रोगजनकहरूलाई आक्रमण गर्छ र आफैँलाई पहिचान गर्छ भन्ने खोजीका लागि चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए । नोबेल पुरस्कारको घोषणा बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि हुँदै जानेछ । अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिनेछ । पुरस्कार वितरण समारोह डिसेम्बर १० मा स्विडेनका उद्योगपति तथा पुरस्कारका संस्थापक, डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको (निधन सन् १८९६) को पुण्यतिथिमा आयोजना हुनेछ । विजेताहरूलाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान प्रदान गरिनेछ । रासस

दोलखामा भीषण पहिरो

काठमाडौं । दोलखामा भीषण पहिरो गएको छ । दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।  लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी आएको प्रहरीले जनाएको छ ।  पहिरो बिहान ९ बजे गएको प्रहरीले जनाएको छ । दोलखा जिल्लाका आन्तरिक सडकहरु अवरुद्ध भएपनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । पहिरोको थप विवरण आउन बाँकी छ ।

जाँचबुझ आयोगले भन्यो - अपराध अनुसन्धानका लागि प्रतिवेदन कुर्नु पर्दैन

काठमाडौं । जेनजी प्रदर्शनमा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले फौजदारी अपराधका अनुसन्धानका लागि आफ्नो प्रतिवेदन पर्खिनु नपर्ने स्पष्ट पारेको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन गृहमन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले अनुसन्धान तत्काल नगर्न भनिएको थियो । तर आयोगले भने उक्त निर्देशनविपरीत अपराध अनुसन्धान तत्काल सुरु गर्न सकिने जनाएको हो । आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।' आयोगले आफ्नो भूमिकालाई तथ्यसंगत छानबिन, प्रतिवेदन तयार पार्ने र सिफारिस गर्नेमा सीमित राख्दै नियमित प्रहरी अनुसन्धान र कानुनी प्रक्रिया अबिलम्ब अघि बढाउन सकिने उल्लेख गरेको छ ।

बालेन्द्र र सुदन विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीकोमा पुग्यो अनेरास्ववियु

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीकोमा पुगेको छ । मेयर बालेन शाह र गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।  बालेन र सुदनमाथि सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीहरूको हत्या गरेको आरोप लगाइएको छ ।  अखिलका महासचिव दीपक धामीले जेनजी आन्दोलनलाई योजनाबद्ध राजनीतिक हिंसा भन्दै निष्पक्ष छानबिनको माग गरे । न्यायिक प्रक्रियामार्फत दोषीलाई कारबाही गर्नुपर्ने र राजनीतिका नाममा अराजक गतिविधि सह्य नहुने उनको चेतावनी छ । 

भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि मंगलबारदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ ।      आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको छ । हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिएको  छ ।              जलेका सवारीसाधनको व्यवस्थापन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा गरिएको छ । सिंहदरबारभित्र जलेका सवारीको व्यवस्थापन पूरा भएपछि अन्य स्थानका जलेका सवारी उठाइने विभागका कर्मचारी विष्णुकुमार महर्जनले जानकारी दिए ।   

बीमामा सानो गल्ती ठूलो समस्या, ध्यान दिनैपर्ने यी १० कुरा

काठमाडौं । बीमा अनिश्चित जोखिमबाट सुरक्षित हुने माध्यम हो । तर, धेरैले बीमाको वास्तविक फाइदा के हो भनेर बुझेका छैनन् । अरूले भनेको र सुनको आधारमा बीमा गर्ने धेरै जना छन् । धेरैजसो बीमितले नबुझीकन पोलिसी किन्छन् । तर सर्त, विवरण र दाबी प्रक्रिया बुझ्दैनन् । यसले पछि समस्यामा पार्छ । बीमाबाट वास्तविक फाइदा लिनको लागि बीमा गर्दा नै बीमित सचेत हुनुपर्छ । सही जानकारी र सावधानीले मात्रै बीमाबाट फाइदा लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणले आफ्नै वेबसाइटमा बीमा सचेतनासम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनामा बीमितले बीमा गर्नुअघि ध्यान दिनुपर्ने थुप्रै विषय स्पष्ट गरिएको छ ।  प्रस्ताव फाराम स्पष्ट र सही भर्नुपर्ने  बीमा प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले सम्पूर्ण विवरण  स्पष्टसँग खुलाई भर्नुपर्छ । फाराममा पेसा, व्यवसाय, उमेर, स्वास्थ्य अवस्था र आम्दानीका स्रोतहरू खुला रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि गलत वा अपूर्ण जानकारी फारममा उल्लेख गरेको छ भने बीमा दाबी अस्वीकृत हुन सक्छ । बीमा सम्बन्धी प्रस्ताव फाराम स्वयंले भर्ने  प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले स्वयंले सही र पूर्ण विवरणसहित भर्नुपर्छ । यदि बीमित निरक्षर छ वा फाराम भर्न सक्दैन भने, तोकेको व्यक्तिले मात्र फाराम भर्न सक्ने व्यवस्था हुन्छ । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमालेखमा उल्लेखित सर्त एवं सुविधा बुझेर मात्रै बीमा गर्ने  धेरै जनाले बीमा गर्दा बीमा पोलिसी नबुझीकन बीमा गर्ने गरेको पाइन्छ । कस्तो अवस्थामा दाबी पाइन्छ, पाइँदैनदेखि लिएर सबै सर्तहरु पोलिसीमा उल्लेख गरिएको हुन्छ । तर, बीमितले कुन-कुन अवस्थामा के-के जोखिम कभर हुँदैन भन्ने कुरा नबुझ्दा पछि समस्या आउने गरेको थुप्रै उदाहरणहरू छन् । प्राधिकरणले बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा बुझेर मात्र बीमा गर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यकता र आम्दानीअनुसार बीमा गर्ने बीमितले आफ्नो आवश्यकता, पेशा व्यवसाय एव आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गर्नुपर्दछ, प्राधिकरणले भनेको छ, ‘ अन्यथा समय अवधि नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन्छ ।’ धेरैले बीमालाई नाफा कमाउने माध्यमको रुपमा बुझ्ने गरेका छन् । वास्तवमा बीमाको उद्देश्य जोखिम कभर हो । नाफा कमाउने माध्यमको रुपमा बुझेर कतिपय बीमितले आफ्नो आर्थिक हैसियत भन्दा माथि रहेर बीमा गर्ने गर्छन् र पछि निरन्तरता दिन नसक्दा बीचमै पोलिसी सरेण्डर गर्ने गरेका छन् । यसलाई न्यूनीकरण गर्नकै लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो । बीमा शुल्क, नवीकरण र दाबीबारे स्पष्ट जानकारी बीमा गरेपछि बीमितले आफ्नोतर्फबाट सबै काम सकियो भनेर चुपचाप बस्ने गरेको पनि पाइन्छ । तर बीमा शुल्क बुझाउने समय, नवीकरण, दाबी प्रक्रियाबारे भने राम्रोसँग बुझेका हुँदैनन् । प्राधिकरणका अनुसार बीमालेख खरिद गर्नु अघि बीमा शुल्क बुझाउने समय, नवीकरण मिति, इच्छाएको व्यक्तिको नाम र दाबी रकम पाउने वा नपाउने अवस्था बारे स्पष्ट हुनुपर्छ । त्यस्तै बीमा शुल्क बुझाएपछि अनिवार्य रुपमा आधिकारिक रसिद लिनु बिर्सनु हुँदैन । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ । प्राधिकरणका अनुसार बीमा अभिकर्ता वा अरूले भनेको आधारमा मात्रै विश्वास गरेर पोलिसी लिनु हुँदैन । आफूले कुन कम्पनीमा बीमा गर्न लागेको हो त्यसबारे बीमित आफै स्पष्ट हुनुपर्छ ।  सम्पूर्ण कागजातहरू सुरक्षित राख्ने बीमा सम्बन्धी नीति-नियमबारे सामान्य जानकारी बीमितले राखि राख्नुपर्छ । प्राधिकरणका अनुसार बीमालेख, भुक्तानी रसिद र सम्पर्क विवरणहरू सुरक्षित रूपमा राख्नुपर्दछ । प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सो सम्बन्धी यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्ने प्राधिकरणको सल्लाह छ । परिवारलाई जानकारी  बीमा गरेपछि आफ्नो परिवार वा इच्छाइएको व्यक्तिलाई बीमाको प्रकार, कम्पनीको नाम, पोलिसी नम्बर र दाबी प्रक्रिया बारे जानकारी गराउनुपर्छ । कतिपय अवस्थामा परिवार वा इच्छाएको व्यक्तिले यसबारे जानकारी नपाउँदा बीमाबाट पाउने सुविधा गुमाइरहेका हुन्छन् । 

आइजीआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर प्रालि) बीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, आइजीआई प्रुडेन्सियलका बीमितहरूले अस्पतालमा उपचार गर्दा नगद रकम तिर्नु नपर्ने र बीमा कम्पनीले सो रकम सिधै अस्पताललाई भुक्तानी गर्ने व्यवस्था हुनेछ । यसले बीमितहरूलाई आकस्मिक अवस्थामा सहज उपचार प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट जनरल म्यानेजर तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) शरण रेग्मी  र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन् । आइजीआई प्रुडेन्सियलले देशभरका विभिन्न अस्पतालहरूसँग यस किसिमका सम्झौताहरू गर्दै आएको छ । जसको उद्देश्य बीमित ग्राहकहरूलाई सहज, द्रुत र विश्वासिलो स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइएको छ ।

राजनीतिक निष्क्रियता र बेथिति विरुद्ध २८ जनाको सामूहिक अपिल, वैकल्पिक शक्ति निर्माणको आह्वान

काठमाडौं । वर्तमान राजनीतिक अन्योल, भ्रष्टाचार, गैरजिम्मेवारी र सत्ताको भागबण्डाले निराश नेपाली नागरिक समाजका विभिन्न क्षेत्रमा सक्रिय २८ जना व्यक्तिहरूले संयुक्त अपिल जारी गरेका छन् । ‘हाम्रो आह्वान’ शीर्षकको अपिलमार्फत उनीहरूले पुराना दलहरूप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक विकल्प निर्माणको आह्वान गरेका हुन् । उनीहरूले नेपालको राजनीतिक नेतृत्वले जनताको भावना अनुसार देशको दिगो भविष्यको दिशा तय गर्न नसकेको बताएका छन् । अपिलमा दलहरूबीचको सत्ताको हानथाप, भ्रष्टाचार र अनैतिक अभ्यासहरूको आलोचना गर्दै अब नयाँ सोच, नेतृत्व र संरचनाको खाँचो रहेको उल्लेख गरिएको छ । अपिलमा कलाकार, लेखक, पत्रकार, अधिवक्ता, अधिकारकर्मी, अभियन्ता, प्राध्यापकलगायत विभिन्न पेशाका व्यक्तिहरूको हस्ताक्षर रहेको छ । अपिलको अन्त्यमा उनीहरूले भनेका छन्, 'हामी समयले तेस्र्याएका प्रश्नहरूलाई टारेर होइन, जुझेर भविष्यको बाटो बनाउने प्रयत्नमा छौँ ।'