काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ
काठमाडौं । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौं सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो । ती महिलाले छवटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ । उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैंक हुँदै राति ११ः२५ बजे काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौंबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौँ लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ । ‘ती महिला पाँचरछपटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भने, ‘काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेकी महिला मलेसियाको भाषा मात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उनको भनाइ छ । ती महिलाले कोकिन काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशङ्का गरिएको छ । उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । अहिले ठूलो परिणामको लागुऔषधसँगै पक्राउ परेकी ती महिलाले यसअघि पनि पटकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए ।
काँग्रेसभित्रका ६ भाईको बैठक : चार मन्त्री पाउनु पर्ने दाबी
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला नेतृत्वको गुट बैठक बसेको छ । आफ्नो समूहबाट क–कसलाई मन्त्रीका रुपमा सरकारमा पठाउने भन्ने विषयमा छलफल गर्न सो बैठक बसेको हो । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएसँगै कांग्रेसको शेखर समूहले सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन छलफल गरेको हो । बैठकमा कांग्रेसले पाउने कुल सिटमध्ये चार मन्त्री शेखर पक्षले माग गर्ने निर्णय गरेको छ । बैठकमा कोइरालासहित महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी सहभागी थिए ।
गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने
काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए । आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको बताउनु भयो । उहाँले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको जिकिर गरे । उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए । गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताए । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भएपनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए । आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए । सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गरे । उनले भने, ‘सरुवा, बढुवाका कुराहरु छन् । कहिले कहीँ प्याब्सनको आधारमा मान्छेलाई यता उति सार्ने बाहेक हामीले विधि मिच्ने काम गरेका छैनौँ । मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’ उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए । दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको जानकारी दिए ।
भोटेकोसीमा मृत्यु हुने कामदारका परिवारलाई ३० लाख दिइने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको हो । लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आयोजनामा कार्यरत थिए । पराजुलीका अनुसार सम्झौतामा कम्पनीले मृतक परिवारलाई कामदारको जीवन बीमा वापतको २० लाख रुपैयाँ परिवारको मुद्दति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ । प्रतिपरिवार नगद सात लाख रुपैयाँ र डेढ लाख काजकिरिया खर्चवापत उपलब्ध गराउने छ । मृतकका छोराछोरीको १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने तलब परिवारको खातामा जम्मा गरिदिनेसमेत सम्झौतामा उल्लेख छ । मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने सम्झौता भएको छ । आयोजना प्रबन्धक पराजुलीका अनुसार मृतक परिवारमध्ये एक परिवारको दुई वर्षकी छोरी र अर्को परिवारमा मृतककी श्रीमति गर्भवती भएकाले गर्भवतीलाई पौष्टिक आहार तथा स्याहार सुसारका लागि आयोजनाले थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आयोजनाको ‘डिसेन्डर बेसिनको कभर स्ल्याब’ ढलान भत्किँदा उनीहरु यही असार २१ गते थिचिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकैबीच उनीहरूको खोजी सुरु गरेको थियो । शनिबार बिहान मात्र उनीहरु मृत अवस्थामा फेला परेका थिए । उक्त दुर्घटनामा घाइते भएका १० जनामध्ये एक जनाको ढाडको हाड भाँचिएकोले उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य रहेको आयोजनाले जनाएको छ । रासस
बैंकमा ६ खर्ब रकम थुप्रिँदा कर्जा प्रवाह हुन सकेको छैन : घरजग्गा महासंघ
काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ । महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष भेषराज लोहनीले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिनेगरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अलिहेको अवश्यकता रहेको बताए । उनले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने जानकारी दिए । उनले राष्ट्र बैंक घरजग्गा कारोबारप्रति कठोर नभई उदार भएर मौद्रिक नीति तर्जुमा गर्न आवश्यक रहेको बताए । घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पुर्याउन माग गरे । अध्यक्ष लोहनीले घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्नेमा जोड दिए । उनले घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने बताए । घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउन माग गरे । कसिलो मौद्रिक नीति कायम हुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुुन नसकेको भन्दै आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउनुपर्ने बताए । बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिँदा पनि कर्जा प्रवाह हुन नसकेको जानकारी दिए । ‘राष्ट्र बैंकले उदार ढङ्गले मौद्रिक नीति ल्याउनुपर्छ, घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पुर्याउनुपर्छ, घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्छ’, उनले भने, ‘कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउनुपर्छ भन्ने राष्ट्र बैंकलाई हाम्रो सुझाव हो, बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिएर बसेको छ कर्जा प्रवाह हुन सकेको छैन ।’ उनले लचिलो कर्जा प्रवाहमा कठोर नीति लिँदा चालु आर्थिक वर्षमा १३ प्रतिशत कर्जा प्रवाहको अपेक्षा गरे पनि अहिलेसम्म ५० प्रतिशत पनि हुन नसकेको जानकारी दिए ।
ओली ५ बजे प्रधानमन्त्रीमा नियुक्त हुँदै, अर्थमा विष्णु र गृहमा रमेशकाे सम्भावना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमामा ओलीले दाबी गरेपछि उनी आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् । नेपाली कांग्रेसको समर्थनमा उनी प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति पौडेलले साँझ ५ बजे उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार पेस गरेका थिए । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । ओलीको क्याबिनेटको अर्थमन्त्री को बन्छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । अहिले धेरेले अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा छ । एमालेबाट अन्य को-को मन्त्री बन्छन् भन्ने विषय खुल्न सकेको छैन ।तर, काँग्रेसले भने केही मन्त्रीको टुङ्गो लगाइसकेको बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने तयारी गरेका छन् । काँग्रेसले गृहमन्त्रीमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई पठाउने चर्चा छ । देउवा-पत्नी आरजु राणा देउवालाई परराष्ट्रको जिम्मेवारी दिने सम्भावना रहेको पनि बुझिएको छ ।
ट्रम्पमाथि गोली प्रहारपछि बाइडेन : यस्तो हिंसाको लागि कुनै ठाउँ छैन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् । बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताए । यस्तथा गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताए । ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको र्यालीमा कानमा गोली लागेको बताइएको छ । भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्यालीमा पपिङको आवाज आएको सुनिएको थियो । भीडमा चिच्याएको सुन्न सकिन्थ्यो । ट्रम्पलाई गुप्त सेवा एजेन्टहरूले तुरुन्तै स्टेजबाट बाहिर निकालेका थिए । एकजना र्याली सहभागी र संदिग्ध बन्दुकधारीको मृत्यु भएको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
काजुको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै मोरङका किसान
काठमाडौं । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजुदेखि ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोली मोरङको पथरी शनिश्चरे ३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ । पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन् । उमेरले ७५ वर्षे पुगे पनि उनको जोश भने युवाको झैँ छ । करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जादा ऋषीकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायिक बनाएको छ । तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाएको छ । पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुर सम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुशी हुनुभएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थालिसकेको बताए । पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गरे । तिनै बिरुवावाट अहिले उत्पादन शुरु हुन थालेको छ । नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बनेको छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायीक रुपमा काजुको खेती गराउन बिरुवा उत्पादन गरी विक्रीवितरण थालेको उनको भनाइ रहेको छ । सामुन्द्रिक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ । काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल बार्षिक ५ सय भन्दा बढी बिरुवा उत्पादन गर्दै आएका पोख्रेलले स्थानिय क्षेत्रमा ७५ रुपयाँको दरले बिक्री वितरण गर्दै आएका छन् । नर्सरीवाटै झापा, मोरङ्ग र सुनसरी सम्म बिरुवा बिक्री भएपछि पोख्रेलको मुहारमा खुशी छाएको छ । बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ । बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ । वर पिपलको जस्तै ठूलो झाङ्गिने भएकाले ५० केजिसम्म फल्ने पोख्रेलले आशा लिएको छ । पोख्रेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ । ‘व्यावसायीक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेल बताउँछन् । पथरी शनिश्चरे नगरमा नयाँ नयाँ कृषि खेति शुरु भएको कृषि शाखा प्रमुख सविना राई बताउनु हुन्छ । नगरमा काजु, अंगुर र ड्रागन खेती शुरु भएको र यसबाट कृषकले राम्रो आम्दानी भएको राईको भनाई छ । नगरले कृषकलाई प्रोसाहान गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषकको मागमा आधारीत कार्यक्रम ल्याएको राईले बताए । नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो । बजारमा पाइने भारतीय काजु भन्दा नेपालमा आफैँले उत्पादन गरेको ठूलो रकम बाहिरीनबाट रोकिन्छ । भारतमा मात्रै व्यावसायिक रुपमा उत्पादन हुदै आएको काजुका बारेमा नेपालमा अध्यायन भए आम्दानी र रोजगारी बढ्ने देखिन्छ । काजु स्वास्थ्यवद्र्धक, पोषिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ । काजु प्रतिकेजी १ हजार ६ सय देखि २ हजारसम्म बिक्री हुने गरेको छ । यसको बाहिरी फल पनि वाइन बनाउन केजिको ११ सयका दरले बिक्री हुने गरेको छ ।