विकासन्युज

म्यानमारमा बौद्ध पर्वका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । सेन्ट्रल म्यानमारमा एक धार्मिक पर्व र प्रदर्शनका क्रममा जनसमूहमाथि मोटरचालित प्याराग्लाइडरबाट आक्रमण भएको छ । यस आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । निर्वासित नेशनल युनिटी गभर्नमेन्टका प्रवक्ताले बीबीसी बर्मिजलाई यो जानकारी दिएका हुन् । पीपल्स डिफेन्स फोर्ससँग सम्बन्धित एक स्थानीय अधिकारीका अनुसार सोमबार साँझ करिब १०० जना व्यक्ति चाउङ-यु टाउनसिपमा आयोजित थाडिङयुत पर्वमा सहभागी भएका थिए । यो पर्व बौद्ध परम्परासँग सम्बन्धित छ । अधिकारीका अनुसार उक्त अवसरमा मोटरचालित प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम फ्यालिएका थिए । यस पर्वमा सैन्य जुन्ताको नीतिको विरोधस्वरूप बत्ती बालेर प्रदर्शन पनि गरिएको थियो । म्यानमार सन् २०२१ मा भएको सैनिक शासनपछि गृहयुद्धको अवस्थाबाट गुज्रिरहेको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार हालसम्म यस संघर्षमा ५ हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

कारोबार खुलेको साढे २ घण्टामै ६६ अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १ बजेर ३० मिनेटसम्ममा नेप्से ६६.९४ अंकले घटेर २५३८.०१. विन्दुमा झरेको हाे ।  १ बजेर ३० मिनेटसम्ममा ३१९ कम्पनीको ३८ हजार ७८० पटक कारोबारमा ७६ लाख ४१ हजार १२६ सेयर खरिद बिक्री हुँदा  ३ अर्ब ४६ कराेड १९ लाख रुपैयाँकाे काराेबार भएकाे नेप्सेले जनाइकाे छ ।  उक्त अवधिमा सिनर्जी पावर डेभलपमेन्टको सबैभन्दा धेरै १६ करोड ८७ लाख ५८ हजार ७३६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै युनियन हाइड्रोपावरको १६ करोड ५१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ । 

संघर्षपूर्ण खेलमा नेपालले जित्यो मलेसियाविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज

काठमाडौं । नेपालले मलेसियाविरुद्ध महिला टी २० अन्तर्राष्ट्रिय सिरिज सिरिज जितेको छ । ‍पाँचौं तथा अन्तिम निर्णायक खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।  नेपालले मलेसियालाई ३–२ ले जितेको हो । निर्णायक खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग‍र्‍यो । नेपालको जितमा नायक बनेकी रुबी पोदारले सर्वाधिक २६ रन बनाएर नेपालको जितलाई सहज बनाइन् । पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् ।  बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए । यसभन्दा अगाडिको खेलमा कप्तान इन्दु वर्माले अन्तर्राष्ट्रिय एक हजार रन पूरा गरिसकेकी छन् । 

रामेश्वर र कुलमानको सम्पत्ति छानबिन गरौं : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले अर्थमन्त्री रामेश्वर खनाल र उर्जामन्त्री कुलमान घिसिङको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । उनले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्री खनाल र घिसिङबाट सुरु हुनुपर्ने बताएका हुन् ।  बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताएका हुन् ।  ‘सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,’ रामेश्वर खनालको सम्पत्ति छानबिन गरौं,’ उनले भने, पीएसओ नलिने, अन्य सुविधा नलिने, उनीहरुसँग यो किसिमको सम्पत्ति कहाँबाट आयो ?’

सरकारलाई महेश बस्नेतको चेतावनी - मलाई पक्राउ गरेर देखाउनुस्

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिएका हुन् ।  नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए ।  उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् । नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।   

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सबैभन्दा धेरै हिस्सा ओगट्दै आएको मोटर बीमाको व्यवसाय घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो को दुई महिना अर्थात भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा मोटर बीमालेखमार्फत मात्रै २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । यो कुल व्यवसायको २७.८१ प्रतिशत हिस्सा हो । गत वर्षको यस अवधिसम्म निर्जीवन बीमकहरूले कुल ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा मोटर बीमाबाट मात्रै २ अर्ब २० करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । गत वर्ष मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । निर्जीवन बीमा व्यवसाय धान्ने प्रमुख क्षेत्र मोटर बीमा नै मानिन्छ । तर पछिल्लो समय अर्थतन्त्रमा छाएको संकुचनको कारण भनेजस्तो सवारीसाधन बिक्री हुन नसकेको र यसले बीमा कम्पनीको व्यवसायसमेत खुम्चिने गरेको बीमा कम्पनीहरू बताउँछन् ।  त्यस्तै, पछिल्लो केही वर्षयता नेपालमा विद्युती सवारीसाधन (ईभी) बढी भित्रिन थालेको छ । ग्राहकको रोजाइ पनि ईभी बन्दै गएको छ । ईभीको लागि पनि छुट्टै बीमादर निर्धारण हुन सकेको छैन । विद्युतीय सवारीको लागि छुट्टै निर्देशिका पनि बनिसकेको छैन ।  नेपाल बीमा प्राधिकरणले मोटर बीमादर निर्देशिका, २०७३ मा एक नयाँ च्याप्टर बनाएर ईभीको पोलिसी बनाउने कुरा यसअघि गरेको भएपनि कार्यान्वयन हुन सकेको छैन । मोटर बीमा दरसम्बन्धी निर्देशिका,२०७३ अनुसार बीमा गरिएका विद्युतीय सवारीसाधनको डिप्रेसिएसन वा क्षतिपूर्ति कम आउने सवारीसाधनकर्ताहरूको तर्क छ ।  त्यस्तै, बीमा कम्पनीहरूले उक्त प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन परेमा उक्त प्रिमियम रकमले नधान्ने तर्क राख्दै आएका छन् । सम्पत्ति बीमाको हिस्सा बढ्दै निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा घट्दै गएको भएपनि सम्पत्ति बीमाको भने हिस्सा बढ्दै गएको छ । चालु आवमा  दुई महिनामा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले सम्पत्ति बीमामार्फत ८५ हजार ६१५ बीमालेख जारी गरी २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेको थियो । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २९.६८ प्रतिशत थियो ।

दोषी सबैलाई कारबाही होस् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्ने तर्फ सचेत गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने दाबी गरेका छन् । एमाले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप समेत लगाएका छन् । बस्नेतले पत्रकार सम्मेलनमार्फत आफूलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन् । अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाहलगायतका विरुद्ध उजुरी परेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् । बस्नेतले एमाले पार्टी कार्यालय र नेताहरूका घर जलाउने मानिसहरू चिनेको बताउँदै त्यसको हिसाब गरिने समेत बताएका छन् ।

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको बुधबार अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।   'यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना  छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ । निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु', सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, 'यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।'  उनले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको उल्लेख गरे ।