बङ्गलादेशले थप २० मेगावाट बिजुली लैजाने, नेपाललाई चार्जिङ स्टेसन, रूफटप सोलार दिने
रमेश लम्साल काठमाडौं । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौं बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युतका अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको छ । आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले जानकारी दिए । निर्देशक समितिको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सह अध्यक्षतामा ढाकामा सम्पन्न भएको हो । सो बैठकमा बुधबार (मङ्सिर १०) मा सम्पन्न संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसमा छलफल गरेको थियो । संयुक्त कार्यदलको बैठकमा ऊर्जा मन्त्रालयका सहसचिव देव र बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अलि रेजाको सह अध्यक्षता रहेको थियो । निर्देशक समितिको बैठकमा विभिन्न छवटा विषयमा छलफल भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव देवले जानकारी दिए । बैठकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी समझदारीपत्रमा आ-आफ्नो प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति भएको छ । सो सम्झौता अन्तर्गत बङ्गलादेशले नेपाललाई ऊर्जा परीक्षण, विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्नेछ । यस्तै दुई देशबीच क्षमता अभिवृद्धि कार्यक्रमसमेत अगाडि बढाइनेछ । विसं २०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो । सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बङ्गलादेश निर्यात भइरहेको छ । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतका तर्फबाट एनटिपीसी विद्युत् निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । प्राधिकरणले बङ्गलादेशलाई ६.४ सेन्टमा प्रतियुनिटका दरमा बिजुली बिक्रीका लागि सम्झौता गरेको थियो । ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन, भारतीय प्रसारण प्रणाली र बहरामपुर (भारत) भेरामारा (बङ्गलादेश) अन्तरदेशीय प्रसारण लाइन हुँदै बिजुली प्रवाह भइरहेको छ । त्यसअघि २०८१ जेठ ११ गते नेपाल बङ्गलादेशबीच जलस्रोत क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्र, विज्ञ समितिको बैठकले जलस्रोत क्षेत्रको विकासमा साझा सहकार्य गर्ने सहमति भएको थियो । विसं २०८० जेठ २ गते सम्पन्न पाँचौँ बैठकले नेपालमा उत्पादित ४० मेगावाट बिजुली निर्यातका लागि विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो । प्राधिकरणले भारतीय एजेन्सी एनभिभीएनलाई बिजुली उपलब्ध गराएको छ । सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बङ्गलादेश पुर्याइरहेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात भइरहेको छ । कुल ४ सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिँदै आएको छ । मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर भेरामारा) ४ सय केभी बिजुली बङ्गलादेश गइरहेको छ । प्राधिकरणले वर्षायामको ५ महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बङ्गलादेश बिजुली निर्यात गर्र्न गरी यसअघि नै सम्झौता भएको थियो । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने सम्झौतामा हस्ताक्षर भएको थियो । विसं २०८० जेठ २ को ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच छ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सम्झौता भएको थियो । त्यसपछि हरेकजसो संयुक्त निर्देशक समितिको बैठकमा दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका बारेमा पनि उल्लेख हुने गरेको छ । यसपटक पनि निर्देशक समितिको बैठकमा सो आयोजनाको बारेमा उल्लेख गरिएको छ । यसपटक पनि बैठकपछि जारी गरिएको वक्तव्यमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउनका लागि बङ्गलादेशले आयोजना मूल्यङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अगाडि बढाउने र संयुक्त उपक्रम निर्माणसम्बन्धी समझदारीलाई शीघ्र निष्कर्षमा पुर्याउने उल्लेख छ । यसअघि नै दुई देशबीच सहकार्यपूर्ण सहभागिताका आधारमा सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठकअगावै टुङ्गो लगाउने सहमति भएको थियो । नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तर्देशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति यसअघि भएको थियो । यस्तै, नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गर्ने सहमति पनि भएको थियो । यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तर्देशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ-आफ्नोतर्फबाट पहल गर्ने सहमति भएको थियो । बिहीबार सम्पन्न बैठकमा समेत नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने उल्लेख छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्ने सम्बन्धी दीर्घकालीन सम्झौता यसअघि नै भइसकेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । संयुक्त निर्देशक समितिको पाँचौँ बैठकमा नै दुई देशबीच विद्युत् व्यापारका लागि अन्तर्देशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो । सोही बैठकमा नेपालको बिजुली बङ्गलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो । सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ । सो संयन्त्रमार्फत ऊर्जा क्षेत्रको विकास, ऊर्जा सहकार्य, यस क्षेत्रमा भएको विकासको अनुभव आदानप्रदान हुँदै आएको छ । रासस
एनपीएल क्रिकेटः आज २ खेल हुँदै, कर्णालीलाई जित्नैपर्ने दबाब
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि २ खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपरान्ह ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन ४ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा २ अङ्क मात्र बटुलेको छ । ३ खेलबाट २ अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेलबाट ६ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।
काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा
काठमाडौं । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गरे । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ । त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ । कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रुपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य शहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए । सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिनेछ ।
प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनेगरी कानुनी संरचना बनाउँछौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले खानीहरुको उत्खनन तथा प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने अधिकार पूर्णतः प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् । बिहीवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् । ठूलो प्रभाव पार्ने खानीको जिम्मेवारी केन्द्र सरकारले लिने र साना खानी तथा अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन प्रदेश तथा स्थानीय तहले गर्ने व्यवस्था कानुनमै सुनिश्चित गरिने उनको भनाइ छ । मन्त्री खनालले भने, ‘विगतमा पटक पटक खोल्ने प्रयत्न गर्दाखेरि थुप्रै विरोध भइरहने हुनाले अहिलेको सरकारले प्राकृतिक स्रोतहरुको व्यवस्थापन गर्ने अधिकार प्रदेशहरूलाई नै दिन चाहन्छ । खुला खानीहरू जसले ठूलो क्षेत्रमा प्रभाव पार्छ त्यस्ता खानीहरू प्रदेश सरकारले हेर्छ । तर साना खानीहरू तथा अन्य प्राकृतिक स्रोतहरूको व्यवस्थापन गर्ने कुरा छ भने प्रदेश र स्थानीय तहले हेर्नुपर्छ ।’ उनले आफ्नो कार्यकालको बाँकी कार्यावधिमै आवश्यक कानुनी संरचना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । फरक प्रसंगमा बोल्दै उनले प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषित मितिमै हुने पनि बताए ।
लोसपा अध्यक्ष ठाकुरले गरे प्रधानमन्त्री कार्कीसँग भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् । अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए । उनले भने, ‘हामी स्पष्ट छौं । चुनावमा भाग लिनुपर्छ, लिन्छौं नै । चुनाव नै अबको एक मात्र निकास हो ।’ उनले तराई-मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरे । आजै प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमालेका नेताहरूसँग पनि छलफल गरेकी थिइन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दिनेश सरियाले लिए शपथ
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए । शपथ ग्रहण समारोहले कम्पनीको नेतृत्वमा नयाँ व्यवस्थापनद्वारा अघि बढाइने जिम्मेवारी र दायित्वको औपचारिकता पुष्टि गरेको बताइएको छ ।
राहदानी फारम भर्ने नाममा मनपरि शुल्क असुल्नेलाई उपभोक्ता संरक्षण विभागले कारवाही गर्ने
काठमाडौं । सरकारले राहदानी फारम भर्ने नाममा मनपरी शुल्क असुल्नेलाई कारबाही गर्ने भएको छ । राहदानी विभाग बाहिर रहेका सेवा प्रदायक व्यावसायिक संस्थाहरूले अनलाइन फारम भर्दा अनियमित तथा अस्वाभाविक शुल्क लिएको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तत्काल कडा अनुगमन गर्दै आवश्यक कारबाही प्रक्रिया सुरु गरेको हो । विभागका अनुसार नागरिकले सिधै सेवा लिन जाने जिल्ला प्रशासन कार्यालय, मालपोत, यातायात व्यवस्था, वैदेशिक रोजगार जस्ता सरकारी कार्यालय बाहिर गतिविधि सञ्चालन गर्ने व्यवसायिक संस्थाहरूले व्यावसायिक मर्यादा मिची उपभोक्तामाथि आर्थिक भार परेको पाइएको छ । विभागले सूचना जारी गर्दै मर्यादा बाहिर सेवा दिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार तुरुन्तै कारबाही गरिने चेतावनी दिएको छ । विभागले अब सेवा प्रदायक संस्थाले अनिवार्य नियमहरूको पालना गर्नुपर्ने बताएको छ । जसमा फर्मरसेवा सञ्चालन अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने, राजश्व कार्यालयमा दर्ता अनिवार्य, सेवा तथा मूल्यसूची सबैले देख्ने गरी प्रष्ट रूपमा टाँस्नुपर्ने तथा लिएको शुल्कको बिल/बिजक अनिवार्य रूपमा प्रदान गर्नुपर्ने जनाएको छ । विभागले यी मध्ये कुनै पनि प्रावधान नमान्ने व्यवसायलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
एनएमबि बैंकले पायो एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस अवार्ड
काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलबाट हालै आयोजित 'लिडरसीप कन्केलभ नेपाल २०२५' सम्मेलनमा 'एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस' अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न गरेको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो । एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । बैंकले यस उपलब्धिलाई डिजिटल भुक्तानी सेवाको सुधार र व्यावसायिक कार्ड क्षेत्रमा अझ प्रगतिशील कदम चाल्न उत्प्रेरकका रूपमा लिने जनाएको छ ।