पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरले गर्यो स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो । अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयनमा लैजान माग गरेको हो । अर्थमन्त्रीमा खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि जसरी अग्रसरतार देखाए त्यसले नेपालको पुँजी बजार सुधारमा कोशेढुंगा सावित हुने स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिदबिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ नयाँ औजार भित्र्याउने, नेप्सेको पुर्नसंरचना सहित निजीकरण गर्नेलगायत दर्जनौं सुझाव दिएको छ त्यो एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायलाई तत्काल कार्यान्वयनमा लैजान हाम्रो माग छ ।' यसअघि कुनैपनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भएपनि कार्यान्यनमा आउन कठिनाई भएको भन्दै हाल पुँजी बजार सुधारका लागि दिइएको सुझावलाइ तत्काल कार्यान्वनयमा ल्याउनुपर्ने ढकालको भनाई छ । ‘अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि जसरी अग्रसरता देखाउनुभयो उहाँलाई ब्रोकर एशोसिएशनको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ उनले भने, ‘अब त्यसैगरी द्रुत गतिका कार्यान्यनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविष्य एकदमै उज्वल हुनेछ ।’
१६ हिमालबाट १७ करोड रोयल्टी संकलन
काठमाडौं । नेपाल पर्यटन विभागले विभिन्न हिमालहरूबाट १७ करोड रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको छ । विभागका अनुसार सेप्टेम्बर महिनासम्ममा २३ हिमालबाट १७ करोड ७ लाख ८९ हजार ९३४ रुपैयाँ रोयल्टी संकलन गरेको हो । सेप्टेम्बरसम्ममा मनास्लुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । त्यस्तै, धौलागिरीबाट ५० लाख ७१ हजार २ सय रुपैयाँ जम्मा भएको छ । विभागका अनुसार सगरमाथाबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ, हिमलुङ हिमालबाट ८ लाख ९९ हजार २४० रुपैयाँ, नुप्सेबाट ७ लाख ५० हजार, मकालु ४ लाख २१ हजार ६५० रुपैयाँ, लोत्सेबाट ४ लाख १६ हजार ८५० रुपैयाँ, सारेबुङ हिमालबाट ३ लाख ६९ हजार ६६९ रुपैयाँ, कुम्भकर्ण (जन्नु) हिमालबाट १ लाख ३९ हजार ५५० रुपैयाँ संकलन भएको छ । उक्त अवधिसम्ममा सगरमाथासहित २३ हिमाल आरोहणको लागि ५१६ जनाले आरोहण अनुमति लिएका छन् । जसमा पुरुष ३९३ र महिला १२३ जना छन् । सबैभन्दा बढी चीनबाट ६२ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।
औषधी व्यवस्था विभागको चेतावनी - दर्ता बिनाको ‘कोल्डरिफ कफ सिरफ’ नकिनौ
काठमाडौं । भारतका विभिन्न राज्यमा खोकीको औषधी (कोल्डरिफ कफ सिरफ) प्रयोगपछि बालबालिकाको मृत्यु भएको घटनामा नेपाल औषधी व्यवस्था विभागले ध्यानाकर्षण गराएको छ । भारतको स्रेसन फर्माले उत्पादन गरेको कोल्डरिफ कफ सिरफको प्रयोगले भारतमा १८ बालबालिकाको मृत्यु भएको छ । विभागले भारतको स्रेसन फर्माले उत्पादन गरेको कोल्डरिफ कफ र अन्य औषधी नेपालको औषधी विभागमा दर्ता नभएको भन्दै दर्ता बिनाका यस्ता औषधी नकिन्न आग्रह गरेको छ । भारतमा विगतमा पनि यस्ता घटना हुँदै आएको स्मरण गर्दै विभागले औषधी किन्दा ध्यान दिनुपर्ने बताएको छ । औषधी व्यवस्था विभागले नेपालमा झोल बनावटको औषधी उत्पादनत तथा आयात गर्ने सबै उद्योगलाई आफ्ना उत्पादनमा प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोललगायतका रासायनिक पदार्थहरू प्रयोग गरिएका कफ सिरफ र अन्य औषधिहरूमा इथाइलिन ग्लाइकल र डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा परीक्षण गरी मात्र सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने भन्दै उत्पादकहरुलाई समेत आग्रह गरेको छ । विभागले भनेको छ, ‘हामीले औषधीमा प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोललगायतका रासायनिक पदार्थहरू मिसावट भए नभएको आवश्यक परीक्षण गर्न भन्दै २०७९ सालमा सूचना निकालेका थियौं, त्यसपछि यो वर्षको साउनमा पनि सूचना निकालेका थियौं, फेरि पनि सचेत रहन अनुरोध गर्दछौं ।’ विभागले औषधी उत्पादकका लागि कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरूबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्नुपर्ने, कच्चा पदार्थ तथा समिश्रित झोल बनावटको औषधीको निर्धारित विधी बमोजिम प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकलको परीक्षण गरे पश्चिात मात्र उत्पादन तथा बिक्रीवितरण गर्नुपर्ने बताएको छ । यस्तै औषधी आयातकर्ताका लागि आयात हुने कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधीको प्रत्येक ब्याचको प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकलको मिसावट नभएको सुनिश्चितगरे पश्चातमात्र आयता तथा विक्री वितरण गर्नुपर्ने भनेको छ भने फार्मेसीका लागि विभागमा दर्ता भएका औषधीमात्र बिक्रीवितरण गर्न भनेको छ । विभागले चिकित्सकहरूलाई औषधी प्रस्क्राइब गर्दा पनि विभागमा दर्ताभएका मात्र गर्न,दुई वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधी सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र सिफारिस गर्न आग्रह गरेको छ । विभागले सर्वसाधारणलाई पनि चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्न, विभागमा दर्ता भएका औषधीमात्र खुवाउन र औषधीको लेबलमा उल्लेखित जानकारी बमोजिम मात्र प्रयोग गर्न भनेको छ ।
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिए । आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ । आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा तुलाधरले बताए ।
रोशी खोलाको बाढीले बिपी राजमार्ग ठप्प, यात्रु तीन दिनदेखि पैदल यात्रामा
काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बाढीपहिरोले सडक बगाउँदा यातायातका साधन रोकिएपछि तीन दिनदेखि गन्तव्यमा पुग्नुपर्ने खोलाको तिर, खोलैखोला र भिरपाखाबाट हिँड्नुपर्ने बाध्यता बनेको हो । वर्षाका कारण राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डको विभिन्न स्थानमा क्षति पुगेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । राजमार्गको चौकीडाँडा हुँदै काभ्रेपलाञ्चोकको डाँडापारिलगायत स्थानबाट दसैँ मनाउन घर गएकाहरु ग्रामीण सडकसमेत अवरुद्ध हुँदा घण्टौँ हिँडेर आ–आफ्ना गन्तव्यतर्फ लागिरहेका छन् । यही सडक भएर जिल्लाको नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, महाभारत, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य भएका छन् । राजमार्गको धुलिखेलदेखि चौकीडाँडासम्म भने यातायातका साधन चलेका छन् । चौकीडाँडा आइपुग्न नै निकै कठिन भएको पैदल यात्री बताउँछन् । 'हातगोडा टेकेर चौकीडाँडा आएर गाडी चढियो', मङ्गलबार बनेपा आइपुग्नुभएका भिमखोरीका राजेन्द्र श्रेष्ठले भने । उनका अनुसार सडकको नामोनिशान नभएको स्थानमा भिर चढेर पार गर्नुपरेको छ । 'महिला, बुढापाका र बालबालिकालाई निकै अप्ठेरो भइरहेको छ, गोरेटो बाटो बनाउन सके निकै राहत मिल्नेछ', श्रेष्ठले भने । केही सुरक्षाकर्मीले सहयोग गरे पनि हिँड्दा ध्यान नपुर्याए खोलामा खस्नेसमेत डर भएको श्रेष्ठको भनाइ छ । उक्त राजमार्गमा लामो दूरीका यात्रुले वैकल्पिक मार्ग प्रयोग गरे पनि काभ्रेपलाञ्चोक तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीको जोडिएका स्थानीय तहका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता बनेको हो । पैदलै हिँड्न पनि ठाउँठाउँमा रोशी खोला तर्नुपर्ने अर्को बाध्यता रहेको छ । स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजार यात्रु यहाँबाट पैदल हिँडेका छन् । सुरक्षाकर्मीले बिरामीलाई स्टेचरमा राखेर चौकीडाँडासम्म ल्याउने गरेका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको हो । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलाको बहाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले रोशी र नमोबद्धको समन्वयमा बगाएको राजमार्गको सडकखण्डमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । यसअघि गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन/चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गर्ने डिभिजनले योजना बनाएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए । उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले खोलाको बहावभन्दा थप उचाइमा सडकको डाइभर्सन पुनर्निर्माण गर्नुपर्ने बाध्यता रहेको छ । यस्तै शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि आजैदेखि पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा स्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । रासस
दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री
कर्णाली । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैँ अवधिमा एक करोड रुपैयाँ बढीको खाद्यान्न बिक्री गरेको छ । भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको व्यापार कम्पनीले दुई सातामा एक करोड १३ लाख पाँच हजार ७९१ रुपैयाँ मूल्य बराबरको खाद्यान्न बिक्री गरेको हो । यस अघि हरेक दिन करिब एक लाख रुपैयाँको दरले बिक्री गरेकोमा दसैँ अवधिमा दैनिक १५ लाख रुपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए । उनका अनुसार दसैँ तथा तिहारलाई लक्षित गरेर सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेपछि दश गुणाले कारोबार वृद्धि भएको छ । बुढाले भने, 'दसैँ तथा तिहारका लागि १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ । आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायत पौष्टिक तत्वयुक्त सुदृढ चामलमा पछिल्लो समयमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।' सरकारले कर्णालीका नागरिकहरुको कुपोषण घटाउने उद्देश्यका साथ फोर्टिफाइड (सुदृढ) चामल वितरणमा जोड दिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कर्णालीका नौ जिल्लामा पुग्ने गरी एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याएको उनले बताए । व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीले भदौ ३० गतेयता ८३५ क्विन्टल चामल, १३१ दशमलव ११ क्विन्टल चिनी र अठार हजार ६६० लिटर तेल बिक्री भएको बताए । नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कात्तिक १० गतेसम्मका लागि प्रवाह गरिने कम्पनीले जनाएको छ ।
सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार
बेइजिङ । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ । हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए । तर सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पु¥याएका छन् । सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ । छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ । यसैबीच, नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरूले दुर्गम पहाडी बस्तीहरूमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन् । रासस
म्यानमारमा बौद्ध पर्वका क्रममा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु
काठमाडौं । सेन्ट्रल म्यानमारमा एक धार्मिक पर्व र प्रदर्शनका क्रममा जनसमूहमाथि मोटरचालित प्याराग्लाइडरबाट आक्रमण भएको छ । यस आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । निर्वासित नेशनल युनिटी गभर्नमेन्टका प्रवक्ताले बीबीसी बर्मिजलाई यो जानकारी दिएका हुन् । पीपल्स डिफेन्स फोर्ससँग सम्बन्धित एक स्थानीय अधिकारीका अनुसार सोमबार साँझ करिब १०० जना व्यक्ति चाउङ-यु टाउनसिपमा आयोजित थाडिङयुत पर्वमा सहभागी भएका थिए । यो पर्व बौद्ध परम्परासँग सम्बन्धित छ । अधिकारीका अनुसार उक्त अवसरमा मोटरचालित प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम फ्यालिएका थिए । यस पर्वमा सैन्य जुन्ताको नीतिको विरोधस्वरूप बत्ती बालेर प्रदर्शन पनि गरिएको थियो । म्यानमार सन् २०२१ मा भएको सैनिक शासनपछि गृहयुद्धको अवस्थाबाट गुज्रिरहेको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार हालसम्म यस संघर्षमा ५ हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।