विकासन्युज

सिटिजन्स बैंक : सरकारलाई डेढ अर्ब, सेयरधनीलाई ७७.७३ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा (एजीएम) आज बस्दैछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै संस्थापक समूहबाट १ र सर्वसाधारण समूहबाट ३ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । मजबुत वित्तीय स्थिति  गत वर्ष बैंकको कुल सम्पत्ति १०.१९ प्रतिशतले वृद्धि भएर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षको २ अर्ब २२ अर्ब ८६ करोड रुपैयाँ कुल सम्पत्ति थियो ।  समीक्षा वर्षमा बैंकको निक्षेप संकलन ११.७९ प्रतिशत बढेर २ खर्ब १४ अर्ब ८ करोढ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  बैंकको तथ्याङ्क अनुसार कुल निक्षेपमा सर्वसाधारण ग्राहकको २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाको २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस्तै, कुल निक्षेपमा चल्तीतर्फको ५.३२ प्रतिशत, बचतको ३४.२६ प्रतिशत, मुद्दतीको ५१.८३ प्रतिशत, मागेको बखत तिर्नुपर्ने ८.०५ प्रतिशत र बाँकी अन्य निक्षेप रहेको बैंकले जनाएको छ ।  बैंकका अनुसार गत वर्ष कुल कर्जा १.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवमा बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमध्ये १ खर्ब ७३ अर्ब ८९ करोड रुपैयाँ सर्वसाधारणलाई र १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ । २०८२ असारसम्ममा कुल कर्जामध्ये रियल स्टेटमा २.७७ प्रतिशत, हाउजिङ्गमा ६.३८ प्रतिशत, मार्जिन लेन्डिङ्गमा ४.०१ प्रतिशत, अधिविकर्ष कर्जामा ३.१३ प्रतिशत, आवधिक कर्जामा ४४.४६ प्रतिशत, डिमाण्ड तथा चालु पुँजी कर्जामा ९.८७ प्रतिशत, हायर पर्चेजमा २.५७ प्रतिशत, विपन्न वर्ग लक्षितमा ६.८१ प्रतिशत र अन्य कर्जामा १९.७० प्रतिशत लगानी रहेको बैंकले जनाएको छ ।  साथै, प्राथमिकता प्राप्त क्षेत्रमा ३३.६ प्रतिशत लगानी गरेको छ, जसमध्ये कृषि क्षेत्रमा ११.७७ प्रतिशत छ । यस्तै, हाइड्रोपावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा ४३ अर्ब ८ करोड रुपैयाँमध्ये २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पु¥याएको बैंकले जनाएको छ । करिब १ हजार २२७.०८ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनामा कर्जा लगानी गरेको दाबी सिटिजन्स बैंकको छ ।  २०८२ असार मसान्तसम्ममा ६ हजार ६७१ वटा साना तथा मझौला कर्जा शीर्षक अन्तर्गत कुल १५ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । कृषि तथा साना व्यवसायलाई लक्षित ९ हवार २९७ वटा फास्ट ट्रयाक लोन शीर्षक अन्तर्गत कुल कर्जा ६ अर्ब ५० करोड रुपैयाँ र कृषि तथा उद्यम कर्जामा १८ अर्ब ९६ करोड रपैयाँ तथा कृषि ऋणपत्र तर्फ ६६ करोड ९० लाख रुपैयाँ सहित बैंकले कृषि क्षेत्रमा कुल १९ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । कृषिलाई थप योगदान पु¥याउने उद्देश्यले ‘एक क्षेत्र एक उत्पादन/एक जिल्ला एक उत्पादन’ को रणनीति तयार पारी १ हजार ९२२ वटा ऋणीलाई २ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७६ अन्तर्गतका विभिन्न क्षेत्रमा कुल २ हजार ५४८ ऋणीलाई १ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष ५.७२ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको गत वर्ष १२.०८ प्रतिशत बढेर ६.४१ अर्ब रुपैयाँ गरेको जनाएको छ । अघिल्लो वर्ष गैह्र ब्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत वर्ष २८.१८ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ गरेको छ ।  कुल सञ्चालन खर्च अघिल्लो वर्ष ३ अर्ब ४३ करोड रुपैयाँ थियो भने गत वर्ष शाखा सञ्जाल वृद्धि, घर भाडा, बीमा शुल्क, स्टेशनरी, पोशाक खर्च, सुरक्षा खर्च, इन्टरनेट जडान जस्ता खर्चले कुल सञ्चालन खर्च ६.८४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा पुँजी कोष अनुपात १२.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष पुँजी कोष अनुपात १३.०६ प्रतिशत थियो । बैंकको उपस्थिति नभएको स्थानमा व्यवसाय विस्तार गर्न गत वर्ष बैंकले काठमाडौंको पानीपोखरी, ललितपुरको हरिसिद्धि र खोटाङको दिक्तेलमा नयाँ शाखा विस्तार गरी २ सय शाखा पुर्याएको छ । यस्तै, बैंकले थप ६ वटा एटीएम सञ्चालनमा ल्याएसँगै कुल एटीएमको संख्या १६८ वटा र पीओएसको संख्या ५१६ वटा पुगेको जनाएको छ । बैंकका अनुसार डेबिट कार्डको संख्या ४ लाख २ हजार २ सय वटा, क्रेडिट कार्डको संख्या ५ हजार १३४ वटा र प्रिपेड कार्डको संख्या ५ हजार २६६ वटा रहेको छ । सेवा सुविधालाई सरल, सहज र सुरक्षित रुपमा ग्राहक समक्ष पु¥याउन बैंकले नविन प्रविधिको प्रयोगमा जोड दिइरहेको छ । बैंकले आफ्नो डाटा सेन्टरलाई थप सबल भौतिक पूर्वाधार भएको स्थानमा स्थानान्तरण गरेको छ । जसले गर्दा डाटा सेन्टरमा हुने विद्युतीय तथा अन्य भौतिक जोखिमहरु पनि न्यूनीकरणमा सहयोग भई बैंकको आन्तरिक तथा ग्राहक केन्द्रित सेवाहरुलाई सदैब सुचारु अवस्थामा राख्न थप टेवा मिल्ने बैंकले जनाएको छ । बैंकिङ्ग सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनको लागि इन्फोसिसले विकास गरेको विश्वकै उत्कृष्ट बैंकिङ्ग सफ्टवेयरमा पर्ने फिनाकल कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आएको छ र साथै फिनाकल भर्जन तथा फिचरलाई अद्यावधिक गर्ने कार्य भइरहेको बैंकले जनाएको छ ।  विदेशमा रहेका नागरिकलाई सेवा प्रदान गर्न उद्देश्यका साथ बैंकको सिटिजन्स रेमिट सेवा सञ्चालनमा छ । उक्त सेवामार्फत बैंकले विप्रेषण कारोबार सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले गत वर्ष कुल ३ करोड २६ लाख २० हजार ५ सय ६६ अमेरिकी डलर बराबरको विप्रेषण भित्र्याएको छ । जसबाट बैंकलाई २ करोड ६५ लाख ६८ हजार १९१ रुपैयाँ आम्दानी भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही बमोजिम गत वर्ष बैंकले स्वास्थ्यमा २१ लाख ४३ हजार रुपैयाँ, शैक्षिक क्षेत्रमा २८ लाख ८४ हजार रुपैयाँ, वातावरण संरक्षणमा ६ लाख ३९ हजार रुपैयाँ, वित्तीय साक्षरताका निम्ति २६ लाख रुपैयाँ, मानवीय सहयोग तथा राहतमा ४८ लाख ८ हजार रुपैयाँ, दिगो विकासका लक्ष्यमा ६ लाख २५ हजार रुपैयाँ गरी विभिन्न संघ संस्थालाई १ करोड ४७ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  बैंकको तथ्याङ्क अनुसार २०८२ असारसम्म कुल १ हजार ८०७ जना कर्मचारी कार्यरत छन् । गत वर्ष १६८ जना नयाँ कर्मचारी थपिएका छन् भने १४५ जना कर्मचारी नै बैंकबाट बाहिरिएका छन् । कुल कर्मचारीमध्ये ७७२ जना (४२.७२ प्रतिशत) महिला रहेको बैंकको दाबी छ । गत वर्ष कर्मचारीको दक्षता अभिवृद्धि गर्न २ करोड ६८ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । गत आव २०८१/८२ मा बैंकले अग्रिम आयकर बापत ५० करोड रुपैयाँ, विभिन्न भुक्तानीमा कर कट्टी गरेबापत ९१ करोड ९८ लाख १६ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा र २ करोड ३५ लाख ९८ हजार रुपैयाँ अन्य आन्तरिक राजस्व कार्यालयमा गरी कुल १ अर्ब ४४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ ।  बैंकमा चुनौती सिटिजन्स बैंकले बैंकिङ क्षेत्रका लागि जेनजी आन्दोलनदेखि साइबर सुरक्षासम्मको खतरा देखाएको छ । नेपालको बैंकिङ क्षेत्र अहिले जटिल र बहुआयामिक चुनौतीको घेरामा परेको बैंकले जनाएको छ । जसले आगामी दिनमा बैंकिङ सञ्चालन थप कठिन बन्न सक्ने बैंकको निष्कर्श छ । परम्परागत आर्थिक तथा वित्तीय जोखिम मात्र नभई सामाजिक, राजनीतिक र प्राविधिक पक्षबाट उत्पन्न हुने नयाँ र गम्भीर खतराहरू बैंकले समावेश गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमहरूलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बन्दै गएको छ । आर्थिक, मौद्रिक तथा वित्तीय नीतिमा हुने आकस्मिक परिवर्तन, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दी, विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा आउने उतार चढाव र विदेशी विनिमय दरमा हुने परिवर्तनले बैंकको कारोबारमा सीधा असर पार्ने देखिएको छ । यस्तै, तरलतामा हुने उतार चढावका कारण निक्षेप तथा कर्जाको ब्याजदरमा हुने परिवर्तन र लगानीयोग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमले बैंकहरूलाई दबाब दिएको छ । यसको विपरीत, अत्यधिक तरलताका कारण बढेको तीव्र बैंकिङ्ग प्रतिस्पर्धाले नाफामा असर पारेको देखिन्छ ।  समयमै कर्जा असुली नभई उत्पन्न हुने जोखिम र गैरकोषीय सेवा (प्रतीतपत्र/जमानतपत्र) जारी गर्दा हुन सक्ने जोखिम प्रमुख छन् । पुँजी बजारमा आउन सक्ने उतारचढाव र वैकल्पिक लगानी क्षेत्रको अभावले बैंकको लगानी पोर्टफोलियोलाई जोखिममा राखेको बैंकले जनाएको छ । आम्दानीको स्रोत साँघुरिएको बेला पनि लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने चुनौतीले बैंकको व्यवस्थापनमा ठूलो दबाब सिर्जना गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बनेको छ । सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्याङ्क र पर्याप्त प्रविधिहरूको अभावले नेपाललाई अन्तर्राष्ट्रिय अनुपालनको चुनौतीमा पारेको छ । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जोखिमलाई समेत प्रमुख खतराको सूचीमा राखिएको छ, जसले बैंकिङ क्षेत्रमा उदीयमान जोखिमको आयामलाई स्पष्ट पारेको छ । कुन कोषमा कति छुट्यायो ?  बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त नाफाको २० प्रतिशत अर्थात् २५ करोड ७४ लाख १५ हजार रुपैयाँ साधारण जगेडा कोषमा छुट्याइएको छ । यस्तै, नाफाको २५ प्रतिशत अर्थात् १४ लाख १५ हजार रुपैयाँ सटही समीकरण कोष, १ प्रतिशत अर्थात १ करोड २८ लाख ७० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको छ । यस्तै, कर्मचारी क्षमता अभिवृद्धि कोष अन्तर्गत १ करोड २४ लाख ५ हजार छुट्याइएको छ भने २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गरिएको छ । गैह्रबैंकिङ्ग सम्पत्तिको निमित्त जम्मा गरिएको नियमनकारी कोष रकममा समेत यस वर्षको समायोजन अनुसार १० करोड ९९ लाख ६७ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ भने बिमाङ्किक लाभको निमित्त नियमनकारी कोषमा ३९ लाख २ हजार रुपैयाँ र स्थगन कर सम्पत्ति बापत ३ करोड २ लाख ६१ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । यसैगरी, नाफा नोक्सान मार्फत उचित मोलमा मापन गरिएका व्यापारिक सम्पत्तिको प्राप्त भइ नसकेको यस वर्षको नाफा रकमको निमित्त २ करोड ६ लाख ११ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । साथै, पुँजीकृत ब्याज आम्दानीको निमित्त जम्मा गरिएको नियमनकारी कोषबाट चालु आ.व. को समायोजन पश्चात् सञ्चित मुनाफामा ६१ लाख ३९ हजार रुपैयाँ फिर्ता गरिएको छ ।  बैंक अफ द इयर २०२४ को अवार्ड पाएको सिटिजन्स बैंकका सिटिजन्स क्यापिटल र सिटिजन्स सेयर ब्रोकर गरी २ वटा सहायक कम्पनी छन् । २० करोड रुपैयाँ पुँजी रहेको सिटिजन्स क्यापिटलमा बैंकको ५८.६० प्रतिशत अर्थात् ११ करोड ७२ लाख रुपैयाँ लगानी रहेको छ । क्यापिटलले गत वर्ष ३ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा गर्दा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सतप्रतिशत लगानी रहेको ब्रोकरको पुँजी २० करोड रुपैयाँ छ । गत वर्ष २ करोड १० लाख रुपैयाँ नाफा गर्दा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । 

सिटि होटलको सेयरको कटअप मूल्य अधिकतम ४३६ रुपैयाँ, शुक्रबारदेखि रकम फिर्ता

काठमाडौं । सिटि होटलको कटअफ मूल्य निर्धारण गरिएको छ । होटलले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य अधिकतम ४३६ रुपैयाँ निर्धारण भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फको लकईनमा रहेको सेयरको प्रतिकित्ता ३०६.१० र सर्वसाधारण समूहतर्फको लकईनमा नरहेको सेयरको प्रतिशत ४३६ रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाको छ । सिटि होटलले गत कात्तिक २३ गतेदेखि कात्तिक ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फको लकईनमा ६ हजार कित्ता र सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता थियो ।  प्राप्त शिलबन्दी बोलपत्र मंसिर ५ गते खोली मंसिर ११ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर बापतको रकम मंसिर १२ गते शुक्रबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत मार्फत रकमान्तर गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

पूर्वीनाकाबाट १ अर्ब ३७ करोडको चिया निर्यात

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।  गत आवको उक्त अवधिमा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।

युरोपले अन्तरिक्ष कार्यक्रममा २२ अर्ब युरो बजेट खर्च गर्ने

काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले आगामी ३ वर्षको आफ्ना कार्यक्रमहरूको लागि २२.१ अर्ब युरोको बजेट सुरक्षित गरेको बिहीबार जनाएको छ। महाद्वीपले आफ्नो अन्तरिक्ष प्रयासलाई तीव्र पार्ने लक्ष्यसहित योजनाहरूको घोषणा गरेको हो । यो रकम इएसएका २३ सदस्य राष्ट्रहरूले सन् २०२२ मा प्रतिबद्धता गरेको भन्दा ५ अर्ब युरो बढी हो । ‘यो पहिले कहिल्यै भएको थिएन,’ जोसेफ एशबाकरले जर्मन शहर ब्रेमेनमा इएसएको मन्त्रीस्तरीय परिषद्को बैठकमा भने ।  बैठकअघि विज्ञहरूले करिब २० अर्ब युरोको बजेट हुने अपेक्षा गरेका थिए ।   ‘नयाँ प्रतिज्ञाले अन्तरिक्ष एक ‘आर्थिक क्षेत्र हो जुन धेरै छिटो बढिरहेको छ,’ भन्ने यूरोपको बुझाईलाई प्रष्ट पारेको छ,’ एशबाकरले भने, ‘यो सुरक्षा र रक्षाका लागि पनि अधिक महत्त्वपूर्ण छ । यो युरोपले समात्नु पर्ने एउटा अति आवश्यकीय क्षेत्र हो ।’ यस वर्ष ५० वर्ष पुरानो इएसएले आफ्ना सदस्य देशहरूबीच नागरिक अन्तरिक्ष परियोजनाहरूलाई अघि बढाउन युरोपेली संघका निकायहरूसँग समन्वय गर्नेछ । अर्बपति एलन मस्कको स्पेसएक्सजस्ता निजी कम्पनीहरूले अन्तरिक्ष प्रक्षेपण क्षेत्रमा प्रभुत्व जमाएका कारण हालैका वर्षहरूमा अन्तरिक्ष उद्योगमा उल्लेखनीय परिवर्तन आएको छ।   सन् २०२२ मा मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसले आफ्नो रकेट हटाएपछि युरोपले अन्तरिक्षमा आफ्ना परियोजनाहरू प्रक्षेपण गर्ने स्वतन्त्र बाटो पनि गुमाएको छ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा ह्वाइट हाउस फर्केयता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको बजेट कटौती लक्ष्य अङ्गालेका थिए ।  नासाले मङ्गल ग्रहको सतहमा अलौकिक जीवनको सङ्केतको खोजी गर्ने रोभर रोजालिन्ड फ्र्याङ्कलिन परियोजनालाई सहयोग गर्ने बताएको छ । यो मिसन सन् २०२८ मा प्रक्षेपण गर्ने योजना छ ।

१९ करोड ८१ लाखको क्रिप्टो कारोबार गर्ने मोहम्मद सेफ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो । कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ को अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

काठमाडौं । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका-९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो ।  म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो । ९ लाख ७४ हजार रूपैयाँ खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । ‘गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटीलगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ती जडान गरिएको हो । रातको समयमा पनि उज्यालो भएपछि भक्तजनलाई सहज, सुरक्षा व्यवस्थापनमा सहयोग पुग्नुका साथै गलेश्वर मन्दिर परिसर पनि रमणीय देखिएको छ,’ उनले भने ।  १६ मिटर अग्लो विद्युत्को पोलको टुप्पामा चारैतिर फर्काएर ४/४ सय वाट क्षमताका ८ वटा बत्ती राखिएको छ । अग्लो पोलमा राखिएको बत्तीले मन्दिर परिसरलाई उज्यालो बनाएको छ । रातको समयमा मात्र बत्ती बल्ने र दिउँसो बन्द हुने स्वचालित उपकरण जडान भएको छ । कोषका संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बत्तीको स्वीच थिचेर बिहीबार साँझ उद्घाटन गरे । कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामी लगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि टोलीको उपस्थिति थियो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । गलेश्वर मन्दिरमा दाताले चढाउने भेटी र दाताको सहयोग पूर्वाधार निर्माण, स्थानीय विकास र सामाजिक क्षेत्रमा परिचालन गरिएको छ ।  यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले बताए । उनका अनुसार गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौं । नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन आयोगले साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेसन (साफिर) अर्थात दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्ने भएको छ । सदस्यता प्राप्तिका लागि सरकारले आयोगलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ८ गतेको बैठकले सो संस्थाको सदस्यताका लागि स्वीकृति दिएको छ ।  आयोग विगत केही वर्षयता उक्त मञ्चमा सदस्यता प्राप्त गर्ने प्रक्रियामा सक्रिय रूपमा संलग्न हुँदै आएको थियो । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नियामक निकायसँग अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यासको अङ्गीकरण तथा नियामकीय सीप र क्षमता विकासको दृष्टिले साफिरको सदस्यता आयोगका लागि महत्त्वपूर्ण उपलब्धि हुने आयोगले जनाएको छ । आयोगले साफिरको सदस्यता प्राप्त गरेसँगै विद्युत् क्षेत्रको सुधारका लागि आवश्यक हुने विविध नियामकीय अभ्याससम्बन्धी जानकारी प्राप्त हुनेछ । यस्तै, विभिन्न देशका नियामक सङ्घसंस्था तथा निकायबीच अनुभव तथा ज्ञान आदानप्रदान गर्न तथा ऊर्जासम्बन्धी खोज अनुसन्धानलाई प्रोत्साहन गर्न सहज हुनेछ । नियामक संस्थाहरूबीच क्षमता अभिवृद्धि, उत्कृष्ट अभ्यास र ज्ञानको आदानप्रदान तथा प्राविधिक दक्षताको प्रवाहबाट समुचित राष्ट्रको मानव स्रोत क्षमतामा अभिवृद्धि हुने विश्वास लिइएको छ । अन्त्यमा साफिरको सदस्यता प्रदान गर्ने प्रक्रियाका क्रममा साथ र सहयोग प्रदान गर्नुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका साथै आयोगका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आयोग हार्दिक कृतज्ञता व्यक्त गर्दछ । आयोगको कार्यसञ्चालन तथा नियामकीय जिम्मेवारीमा आवश्यक प्राविधिक र संस्थागत दक्षता अभिवृद्धि गर्ने हेतु क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नियामक संस्था तथा निकायहरूसँग समन्वय र सहकार्य गर्नु अपरिहार्य रहेको ठहर गरेको छ ।  विद्युत् नियमन आयोग नियमावली, २०७५ को नियम २० को उपनियम २ बमोजिम अध्यक्षले आयोगको तर्फबाट स्वदेश वा विदेशका नियमनकारी सङ्घसंस्था, निकायहरूसँग सम्पर्क गर्न र कुनै सम्झौता गर्नुपर्ने भएमा आयोगको स्वीकृति लिई सम्झौता गर्न सक्ने कानुनी आधार रहेको छ ।

माइनस २० डिग्री हुँदा पनि बेँसी झरेनन् मुस्ताङी, कोरलामा दैनिक १० हजारसम्म आम्दानी

काठमाडौं । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानव विहीन अवस्थामा हुन्थ्यो । हिउँद यामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार-व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँद याममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल-चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ । यसरी हिउँद याममा अत्यधिक चिसो र हिमपातले जनजीवन कष्टकर हुने र हिउँद याममा कुनै काम गर्न नसकिने भएकाले त्यहाँका नागरिकहरू बाध्य भएर बेँसी झर्ने प्रचलन रहँदै आएको थियो । यहाँका सबै शैक्षिक संस्था पनि जाडो छल्न र घुम्ती कक्षा सञ्चालन गर्न कात्तिक अगावै बेँसी झर्छन् । यसपालि पनि माथिल्लो मुस्ताङका सबै शैक्षिक संस्था बेँसी झरिसकेका छन् । अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुन नसक्ने, चिसोका कारण विद्यार्थीलाई रूघाखोकी र निमोनियाजस्ता समस्या देखिने र अभिभावकहरू पनि बेँसी झर्ने गर्दा विद्यालय पनि बेँसी झार्ने गरिएको छ ।  अत्यधिक चिसो र हिमपातको जोखिम टार्न माथिल्लो मुस्ताङका अधिकांश नागरिक घरमा ताल्चा मारेर बेँसी झर्दथे । गाउँमा केही ज्येष्ठ नागरिक र याक चौँरी तथा भेडा च्याङ्ग्रा रेखदेख गर्ने गोठालाबाहेक सबै मुस्ताङीहरू यो समय पूरै पोखरा, काठमाडौँलगायत स्थानमा झर्थे । केही नागरिकहरू ‘स्वेटर’को व्यापारका लागि भारतका विभिन्न सहरसम्म पुग्थे । यसैगरी कात्तिक अगावै बेँसी झरेका माथिल्लो मुस्ताङीहरू चैत-वैशाखमा मात्र साविक स्थानमा फर्किन्थे । तर अहिले माथिल्लो मुस्ताङको अवस्था निकै फेरिएको छ । सदिँयौदेखि बेँसी झर्ने परम्परा रहेको यहाँको ऐतिहासिक प्रचलनमा परिवर्तन आउन थालेको छ । यहाँको नेपाल-चीन उत्तरी कोरला नाका कोभिड अघि अल्पकालीन अन्तर्देशीय व्यापार मेलाका रूपमा बर्सेनि असार र भदौमा सीमित समयका लागि चल्थ्यो । कोभिडपछि २०८० साल कात्तिक २७ गते यहाँको कोरला नाका माथिल्लो मुस्ताङीका लागि बाह्रै महिना चीनले खुला गरिदियो । तर नाका आंशिक रूपमा खुला भए पनि माथिल्लो मुस्ताङीले राम्ररी व्यापार-व्यवसाय चलाउन अझै सकिरहेको अवस्था थिएन । तैपनि नाकामा केही नागरिकले त्रिपाल टाँगेर व्यापार चलाएका थिए ।  जब कोरला नाका गत ३० भदौमा पूर्ण रूपमा सञ्चालनमा आयो, तब माथिल्लो मुस्ताङीका लागि वैकल्पिक रोजगारी ढोका खुल्न पुग्यो । बाढी पहिरोले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकामा नेपाल-चीन व्यापारको मार्ग पूर्ण रूपमा खुला भयो । यो नाकाबाट हालसम्म मुस्ताङ भन्सार कार्यालयले झन्डै ४ अर्ब रुपैयाँको राजस्व योगदान गरिसकेको छ । कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै माथिल्लो मुस्ताङका धेरैजसो नागरिकले नाकाबाट व्यापार व्यवसायका साथै अस्थायी वैकल्पिक रोजगारी पाएका लोमान्थाङ-२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिए । गत वर्षसम्म माथिल्लो मुस्ताङका ९० प्रतिशत नागरिक यतिबेला जाडो छल्न बेँसी झरिसक्नेमा यस वर्ष आंशिक नागरिकमात्र बेँसी झरेको उनको भनाइ छ । कोरलानाकाको नेपाल-चीन दसगजा क्षेत्रमा माथिल्लो मुस्ताङी करिब तीन दर्जन बढीले त्रिपालको टहरा निर्माण गरी व्यापार व्यवसाय चलाएर बसेको वडाध्यक्ष गुरुङले बताए । कोरला नाकामा व्यापार गर्ने, कोरलास्थित चीनको हाटबजारमा व्यापार गर्न बस्ने, नेपाल-चीन आयात निर्यातका मालवस्तु ‘लोडअनलोड’ गर्ने र चीनबाट पैठारी गरिएका विद्युतीय कार (ईभी) चिनियाँ भन्सारबाट नेपाली भन्सारसम्म ल्याउन स्थानीय युवाले राम्रो रोजगारी प्राप्त गरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।  कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँका युवायुवतीले दैनिक ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका उनले जानकारी दिए । नाकाको भित्र र बाहिर सबै गरी झन्डै ५ सयभन्दा बढी व्यक्तिले रोजगारी प्राप्त गरेको बताए ।  दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाकामा व्यापारिक तथा पर्यटकीय चहलपहल बढेपछि माथिल्लो मुस्ताङका दुई तिहाइ नागरिक साविककै स्थानमा रहेका छन् । मार्ग खुलेसँगै मुस्ताङीहरू यथास्थानमै बसेर रमाइरहेका छन् । गत वर्ष यसबेलासम्म ८० प्रतिशत नागरिक जाडो छल्न बेँसी झर्ने गरेकामा यस वर्षमा लोमान्थाङ गाउँपालिकाबाट ३० प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट ५० प्रतिशत नागरिक बेँसी झरेका छन् । त्यसैगरी, कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि जोमसोम-कोरला सडक मार्गमा सञ्चालनमा रहेका होटल यथा अवस्थामा खुलेका छन् भने लोमान्थाङ बजारका पूरै होटल सञ्चालनमा रहेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । ‘केही घरमा ताल्चा मारेर बेँसी झरेका छन्, अधिकांश होटल र केही घरमा मानिस बसेका छन्, कोरला नाका बन्द भएमात्र यहाँका नागरिक झर्ने वाला छन्, नत्र यही बसेर व्यापार चलाएर बस्ने मनस्थितिमा छन्,’ कार्यालय प्रमुख पौडेलले भने । प्रमुख पौडेल उपल्लो मुस्ताङमा हिउँद यामसँगै चिसो अत्यधिक बढेका कारण दैनिक जनजीवनमा समेत प्रतिकूल असर पारेको बताए ।  ‘बिहान बेलुका माइनस २० डिग्रीसम्म पुग्छ, कुलो, धारा र सेफ्टीट्याङ्की जम्छ भने दिउँसो घाम लाग्दा हिँडडुल गर्न सकिने भए पनि बिहान र बेलुका बाहिर निस्कन सक्ने अवस्था हुँदैन,’ कार्यालय प्रमुखले भने ।  यस्तै, नेपाल-चीन कोरला नाकामा मालवस्तु ढुवानीका लागि झन्डै ३ सय बढी कन्टेनर लोड अनलोडको पर्खाइमा बसेको भन्सारका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए । चिनियाँ भन्सार, कोरला नाका र मुस्ताङ भन्सार कार्यालयमा मालवस्तु ढुवानीका साधन पैठारी र भन्सार जाँचपासका लागि लामबद्ध रहेको भन्सार प्रमुख पौडेलले सुनाए ।