काठमाडौं । गत वर्षको फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एशियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ ।
संस्थाले बुधवार राजधानीमा एक कार्यक्रम गर्दै गत चुनावमा मतदाता शिक्षा कमजोर रहेको देखि निर्वाचन पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो ।
संस्थाकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले गत निर्वाचनमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताइन् ।
उनले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत उल्लेख गरिन् ।
निर्वाचन प्रक्रियामा समावेशीता र पारदर्शिता नभई पहुँच र सहभागितामा बाधा सिर्जना भएको उनको भनाइ छ ।
कार्तोसले मतदाता शिक्षाका कार्यक्रम प्रभावकारी र पहुँचयोग्य बन्न नसकेको आफूहरुले देखेको दावी गरिन् । उनका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामग्री तथा सहजीकरणको अभाव देखिन्थ्यो ।
मानव अधिकार तथा अपाङ्गता अधिकारसम्बन्धी संस्थासँग गरिएको छलफलमा निर्वाचन सामग्रीहरू सबै वर्गका मतदातामैत्री नरहेको निष्कर्ष आएको समेत उनले सुनाइन् ।
सरकारले चुनावमा विशेषगरी सांकेतिक भाषाका दोभासे, श्रव्य-दृश्य सामग्रीमा ‘सबटाइटल्स’ तथा अन्य सहायक प्रविधिमा यस पटक पर्याप्त ध्यान नदिइएको उनको भनाइ छ ।
निर्वाचनको दिन पर्यवेक्षकहरूले मतदान केन्द्रमा सहज पहुँच नपाएको विषय पनि सो संस्थाले उठाएको छ । कार्तोसका अनुसार कतिपय सुरक्षाकर्मीलाई निर्वाचन पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो ।
कतिपय स्थानमा प्रवेश पाए पनि पर्यवेक्षकलाई १० मिनेटभन्दा बढी मतदान केन्द्रभित्र बस्न नदिइएको र स्वतन्त्र रूपमा अवलोकन गर्न अवरोध सिर्जना गरिएको उनले बताइन् । यस्तो व्यवहारले निर्वाचनको निष्पक्ष अनुगमनमा असर पुगेको सो संस्थाको निष्कर्ष छ ।