स्टार्टअप वर्ल्ड कप फाइनल असार १३ गते, विश्व विजेता बने १३ करोड पुरस्कार
काठमाडौं । स्टार्टअप वर्ल्ड कप नेपालको चौथो एडिसनको फाइनल असार १३ गते हुने भएको छ । स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडाैंसँगको सहकार्यमा विश्वभरिका १०० देशहरूमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरू सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नाे सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत् स्टार्टअप वर्ल्डकप नेपाल भित्र्याएको हो । स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपमध्येबाट असार १३ गते नेपाल च्याम्पियन छानिने स्टार्ट वर्ल्डकप नेपालका अध्यक्ष डा.शम्भु पोखरेलले बताए । उनका अनुसार नेपाल च्याम्पियन १ जना स्टार्टअपलाई अमेरिकाको सान-फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर मिल्नेछ । स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रूपमा जिल्ला समन्वय समिति काठमाडौं रहेको समिति प्रमुख शन्तोष बुढाथोकीले बताए । त्यस्तै अन्य सह-आयोजकहरूमा आइसिटी एसाेसियसन नेपाल र रोबोटिक एसाेसियसन नेपाल लगायतका यस क्षेत्रमा कार्यरत संगठनहरू रहेका छन् । स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ बराबर लगानी पुरस्कार पाउने उनले बताए । ‘कुनै पनि विधामा नयाँ आइडिया भएका व्यक्तिहरूका साथै केही नयाँ तरिकाबाट नेपालमा लगानी भित्र्याउन सक्छु भन्ने सोच राख्ने जो कोहीले यसमा सहभागी हुन सक्नेछन्,’ उनले भने, ‘सरकारले स्टार्टअपहरूलाई बेवास्ता गरिरहेको छ अन्य क्षेत्रमा गर्ने लगानी यता गर्ने हो भने स्टार्टअपबाट राम्रो प्रतिफल पाउन सकिन्छ ।’ नेपालमा राम्रो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सके नेपालको अर्थतन्त्रदेखि विश्व मानचित्रमा नेपालको हैसियत समेत उच्च बनाउन सहज हुने पोखरेलको भनाइ छ ।
सेबोन अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने संकेत पाएपछि ३ उम्मेदवारले दिएनन् अन्तर्वार्ता, प्रक्रिया रद्द होला ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रियामा विवाद सिर्जना भएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्ष नियुक्तिको विषय थप पेचिलो र विवादित बनेको हो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । दिउँसो १२:४५ भित्र उपस्थित हुनुपर्नेमा २ जना मात्रै उपस्थिति भएको बुझिएको छ । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् । उनीहरूले सल्लाह गरेर नै अनुपस्थित भएको बुझिएको छ । स्रोतका अनुसार अर्कै उम्मेदवारलाई अध्यक्ष बनाउने राजनीतिक सहमति भएपछि तीन जनाले अन्तर्वार्ता बहिस्कार गरेको बुझिएको हो । उनीहरू तीनै जना माओवादी निकट उम्मेदवारका रुपमा धेरैले बुझेका छन् । बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अब अध्यक्षको नियुक्ति प्रक्रिया नै रद्द हुन सक्ने अनुमान धेरैले गरेका छन् । सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि उपस्थित भएको बुझिएको छ । स्रोतका अनुसार श्रेष्ठलाई नै अध्यक्ष बनाउने आन्तरिक सहमति नेताहरुबीच भएको छ । तर, त्यो बदमासीलाई रोक्न अन्य तीन जना उम्मेदवार सहमतिमै सहभागी नभएका हुन् । सेबोन विगत ५ महिनादेखि नेतृत्वविहीन छ । राजनीतिक दलका नेतृत्वबीच नै आफ्नो मान्छेलाई बोर्डको अध्यक्ष बनाउने संघर्ष चलिरहेको छ । पुस २० गतेदेखि तत्कालीन अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकेर बाहिरिएपछि बोर्ड नेतृत्वविहीन छ । अध्यक्ष नियुक्तिका लागि माघको पहिलो साता सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । राजनीतिक शीर्ष नेतृत्व नै बोर्ड अध्यक्ष नियुक्तिमा खुलेर अघि आएपछि पाँच महिनादेखि अध्यक्ष नियुक्त हुन सकेको छैन । ओलीसँग ठोक्कियो विवाद अहिले धितोपत्र बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने विषयलाई लिउर राजनीतिक दलका शीर्ष नेताहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । अहिले विभिन्न व्यावसायिक घराना नै आफ्नो मान्छे बनाउनु पर्ने लविङ गर्दै नेताको दैलो चाहारिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मान्छे अध्यक्ष बनाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई आग्रह नै गरेको स्रोतको दाबी छ । तर, अर्थमन्त्री पुनले उनको आग्रहलाई नमानेपछि ओलीले बजेटको नै विरोध गर्न सुरु गरेको बुझिएको हो । उनले आफ्नो मान्छे अध्यक्ष नभएमा वर्तमान गठबन्धनमा नै समस्या हुन सक्ने अभिव्यक्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष राखेको बुझिएको छ । उसो त अध्यक्ष ओलीले नै शनिबार एक कार्यक्रममा आफूलाई ५ अर्ब रुपैयाँ खाएर बोर्डको अध्यक्ष राख्न लागेको भनेर हल्ला भइरहेको विषय सार्वजनिक गरेका छन् । हल्ला फैलाउने काम विरोधीहरुको भएको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षमा चाहेको विषय बाहिर आएको छ । बोर्डको अध्यक्ष नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा परेको छ । सो मुद्दामा पनि ५ अर्बको चलखेल हुन थालेको आरोप लागेको छ ।
बीमा प्राधिकरणमा बोर्ड सचिवको जिम्मेवारी सुवेदीलाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी दिइएको छ । प्राधिकरणका निर्देशक सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् । प्राधिकरणका प्रवक्ता समेत रहेएका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी तोकिएको सह-प्रवक्ता पुनम ज्ञवालीले जानकारी दिइन् ।
निजी उद्योगले १९ हजार मेट्रिक टन चिनी आयात गर्न पाउने
काठमाडौं । निजी क्षेत्रले १९ हजार मेट्रिक टन चिनी आयात गर्न पाउने भएका छन् । उद्योग विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने भएको हो । उद्योगहरूलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको विभागले उल्लेख गरेको छ । इच्छुक उद्योगहरूले ७ दिनभित्र विभागमा आवेदन दिन सक्नेछन् ।
३२ जना सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो । सरुवा सूचीअनुसार अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, प्रदेश मन्त्रालय, स्थानीय तह लगायतमा सरुवा भएको छ । यस्तै, भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएकाे छ । भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
हिमालयन बैंकको शाखा स्थानान्तरण, त्रिपुरेश्वर शाखाको सेवा अब थापाथलीबाट
काठमाडौं । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।
शिवम् सिमेन्टले गर्यो उत्कृष्ट ३१ डिलरलाई सम्मान
काठमाडौं । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तरालपछि ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरमध्ये उत्कृष्ट ३१ डिलरलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो । रिजनल अवार्डअन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो भने नेशनलअन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिइएको थियो । साथै, उत्कृष्ट मध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र एक्यबद्धतालाई आधार मानेर उक्त शीर्षक राखिएको जानकारी दिए । जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिलकुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका थिए । त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ट विक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए । शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।
सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १७.०४ अंकले घटेको छ । नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आइतबार ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले वृद्धि भएर ६६१ रुपैयाँ १० पैसा कायम भएको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । ६४ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।