काठमाडौं । पोखरामा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौला ‘सरोज’ अध्यक्षमा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनमा सिटौलाले १ हजार ३० मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी हरिशरण केसी (४६४ मत) लाई भारी मतान्तरले पराजित गरेका हुन् ।
यस जितसँगै करिब ४ लाख सार्वजनिक यातायात व्यवसायीको छाता संस्थाको नेतृत्व गर्ने जिम्मेवारी सिटौलाको काँधमा आएको छ ।
सिटौलाको नेतृत्वमा पोखरेली व्यवसायीहरूको समेत केन्द्रमा बलियो उपस्थिति देखिएको छ, जसमा वरिष्ठ उपाध्यक्षमा ऐनकुमार साई र केदार पौडेल तथा उपमहासचिवमा भानुभक्त बराल विजयी भएका छन् ।
महाधिवेशनले अन्य महत्वपूर्ण पदहरूमा पनि नयाँ नेतृत्व चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सानु काजी प्रजापति ८२६ मतका साथ विजयी भएका छन् भने महासचिवमा डेकनाथ गौतम ६९८ मतसहित निर्वाचित भएका छन् ।
यसैगरी, ७ जना उपाध्यक्षका लागि भएको प्रतिस्पर्धामा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्माराम थापा, कान्छाराम थिङ, कान्छाराम बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी बनेका छन् भने मालवाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ चुनिएका छन् ।
महासंघको कार्यसमितिमा उपमहासचिवमा देवीन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा तथा सचिवमा उमेश केसी, चेतप्रसाद गौतम ‘अर्जुन’ र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी हुँदा खुला सदस्यतर्फ समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ र गोपाल कार्कीसहित १४ जना चयन भएका छन् ।
निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रमा गरिएको १३ खर्ब रुपैयाँ लगानीको सुरक्षालाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन् ।
हाल ११ लाखलाई प्रत्यक्ष र ४५ लाखलाई अप्रत्यक्ष रोजगारी दिइरहेको यस क्षेत्रलाई प्रविधिमैत्री बनाउनुका साथै २०४९ को ऐन परिमार्जन गर्न आफू सक्रिय रहने उनको भनाइ छ ।
यसका साथै दुर्घटना न्यूनीकरण, बीमा नीतिमा स्पष्टता र राज्यले व्यवसायीका लागि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिँदै सिटौलाले आफ्नो कार्यसमिति व्यवसायीको हकहितका लागि पूर्ण रूपमा सिर्जनशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।