विकासन्युज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरिने भएको छ ।   बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा परिवर्तन गर्ने तयारी गरेको छ । नेपाल सरकार (कार्यविभाजन) नियमावली-२०८३ स्वीकृत गरेसँगै मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय हुनेछ । त्यसो त नियमावली स्वीकृत हुँदा संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटेर १८ मा सिमित भएको छ ।   

नेपाल एसबिआई बैंकद्वारा वीरगञ्जको विद्यालयमा शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको वीरगञ्जस्थित श्री महानगरपालिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी ले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, मधेश प्रदेश प्रमुख रितेश अर्याल लगायत बैंक तथा विद्यालयका अन्य पदाधिकारी र शिक्षकहरूको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ । 

एसईईको पूरक परीक्षा असार १ गतेदेखि हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड भएका विद्यार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले परीक्षा तालिका सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गतेदेखि सुरु हुने जनाएको हो । बोर्डका अनुसार असार १ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । साथै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा पनि सोही दिन सञ्चालन गरिनेछ । असार २ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीहरूका लागि अतिरिक्त अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी असार ३ गते अनिवार्य गणित विषयको परीक्षा सञ्चालन गरिनेछ । असार ४ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा हुनेछ । संस्कृत वेदविद्याश्रमतर्फ शुक्लयजुर्वेद, सामवेद, ऋगवेद, अथर्ववेद तथा नीतिशास्त्र विषयको परीक्षा पनि सोही दिन हुनेछ । यस्तै, असार ५ गते अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिक धारतर्फ ऐच्छिक गणित, संस्कृत वेदविद्याश्रमतर्फ संस्कृत भाषा तथा व्याकरण, साथै साधारण तथा संस्कृत वेदविद्याश्रमतर्फ ऐच्छिक प्रथमपत्रका सबै विषयहरूको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ । असार ६ गते शनिबार प्राविधिक धारतर्फका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ । असार ७ गते साधारण तथा संस्कृत वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीयपत्रका सबै विषय तथा प्राविधिक धारतर्फका विषयहरूको परीक्षा हुनेछ ।  त्यसैगरी असार ८ र ९ गते पनि प्राविधिक धारतर्फका विषयहरूको परीक्षा सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । सोमबार राति प्रकाशित एसईई परीक्षाफलअनुसार १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी ननग्रेडेड भएका छन् भने ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । चैत्र २९ गते सम्पन्न एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए ।   

स्वदेश तथा विदेशमा लुकाइएको सम्पत्ति खोज्दै आयोग

काठमाडौं । सरकारले सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीले विदेशमा राखेको तथा नाता सम्बन्ध नपर्ने नाममा सम्पत्ति राखिएको पाइएमा सूचना दिन आग्रह गरेको छ ।  सम्पत्ति छानबिन आयोग, २०८३ ले जारी गरेको सूचनामा राजनीतिक पदाधिकारी तथा कर्मचारीले अस्वाभाविक किसिमले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफू र आफ्ना परिवारका सदस्य, आफन्त वा नाता सम्बन्ध नपर्नेको अन्य व्यक्तिका नाममा स्वदेश तथा विदेशमा राखेको सूचना पाइएमा जानकारी गराउन अनुरोध गरिएको हो । आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरिएको सूचना, जानकारी वा प्रमाण भएमा उपलब्ध भएमा प्रमाण समेत उल्लेख गरी कार्यालयमा पठाउन अनुरोध गरेको छ ।  ‘कार्यालय समयमा सम्भव भएसम्म त्यस्ता व्यक्तिको सम्पर्क नम्बर तथा इमेल ठेगाना सहितको विवरण जो-सुकैले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर समेत खुलाई यस आयोगमा स्वयं उपस्थित भई वा हुलाक मार्फत् वा आयोगको ईमेल ठेगानामा उजुर गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘उजुरी गर्ने उजुरीकर्ताको नाम, थर र वतन समेतको विवरण आयोगमा गोप्य रहने बेहोरासमेत सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

सुनको मूल्य तोलामा ३ लाख २ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ ।  हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो  । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

आज पनि संसदमा जवाफ दिने छैनन् प्रधानमन्त्री, अर्थमन्त्रीले दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा दिएको जिज्ञासमा बिहीबार पनि प्रधानमन्त्रीले जवाफ नदिने भएका छन् । बुधबार सांसदरुको जिज्ञासाहरुमा प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची थियो । तर, पछि  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताब टेबुल गरे । त्यसपछि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरुले संसद बैठक अवरुद्द गरेपछि बैठक नै स्थगित भएको थियो ।  प्रधानमन्त्रीले बिहीबार जवाफ दिने अपेक्षा गरिएकोमा आज पनि उनले जवाफ नदिने भएका हुन् । प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।  बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । अर्थमन्त्री डा. वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका पनि छ ।   

लामो मौनतापछि सक्रिय हुँदै ओली, एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आगामी शनिबार बस्ने तय भएको छ । बैठकको स्थान भने अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पछि निर्धारण गरिने बताइएको छ । निर्वाचनपछि ओली पहिलो पटक पार्टीको औपचारिक बैठकमा सहभागी हुन लागेका हुन् । गत चैत १३ गते जेनजी आन्दोलनका क्रममा लापरबाहीपूर्वक मानिसको ज्यान गएको अभियोगमा पक्राउ परेका ओली चैत २६ गते रिहा भएका थिए । रिहाइपछि स्वास्थ्य समस्याका कारण उनी पार्टी गतिविधिबाट टाढा रहेका थिए । ओली हिरासतमा रहँदा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिइएको थियो ।  बादलकै नेतृत्वमा यस अवधिमा एमाले सचिवालयका दुई बैठक सम्पन्न भएका थिए ।  पछिल्ला दिनमा एमालेभित्र शक्ति सन्तुलनको विषयले नयाँ मोड लिएको छ । उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेललगायत ओली निकट मानिने नेताहरूले समेत वैकल्पिक नेतृत्वबारे छलफल थालेको चर्चा छ । पार्टीभित्र बढ्दो असन्तुष्टि र समीक्षाको दबाबका बीच ओलीले बैठक टार्दै आएको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएका थिए । निर्वाचनपछिको समीक्षा प्रक्रिया समेत अघि बढ्न नसकेको अवस्थामा सचिवालय बैठक बोलाइएपछि एमालेभित्र देखिएको अन्योल र गतिरोध हट्ने अपेक्षा गरिएको छ ।  

सरकारले क्यासिनोमा नेपाली प्रवेशको कडाइ गर्दै

काठमाडौं । सरकारले क्यासिनोमा नेपाली प्रवेशको रोक लगाउन कडा निर्देशन दिएको छ । १२ वटा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोमा नेपाली नागरिकको प्रवेशमा कडाइ गर्न निर्देशन दिएको हो । विभागले एक परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी एवं स्थलगत अनुगमन गर्न  जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ । पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको र इजाजतपत्रमा उल्लेख भएबाहेकका अन्य अवैध खेलहरू समेत सञ्चालन गरिरहेको भन्ने गुनासो बढेपछि विभागले यो कदम चालेको स्पष्ट पारेको छ ।  विभागले झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरलाई पत्र पठाएको छ । कानुनी प्रावधान के छ ?   पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ ले क्यासिनो सञ्चालनको व्यवस्था गरेको छ । साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा नियमावली, २०८१ लगायतका कानुनको समेत पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ । उल्लिखित कानुनी प्रावधानअनुसार नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गर्न र क्यासिनो खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको विभागले जनाएको छ । पर्यटन विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रचलित कानुनविपरीत नेपालीहरूको अवैध प्रवेशलगायतका कुनै पनि गतिविधि हुन नपाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।  अनुगमनका क्रममा कानुनविपरीतका यस्ता गतिविधि भएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही अगाडि बढाई विभागलाई जानकारी गराउनसमेत भनिएको छ ।