विकासन्युज

२२ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २५८२ बिन्दुमा पुगेको छ । आज २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बिहीबार ३१३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको २७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २७ करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड, नेपाल रिइन्स्योरेन्सको २० करोड र हिमालयन डिस्टीलरीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशतले घटेको छ । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशतले बढेका छन् ।

कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार (आज) २ बजेबाट बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।  साथै बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयमा छलफल हुने उनले बताए । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो ।  प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । स्वास्थ्य लाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।  उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।  

ग्राहकसँग व्यक्तिगत गोप्य विवरण मागिएको छैन : राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  त्यस्ता अनाधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुटा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको उल्लेख गरेको छ ।   बैंकद्वारा बिहीबार प्रेस विज्ञप्तिमा भनिएको छ,  'बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा कहिल्यै कुनैपनि प्रयोजनका लागि फोन, इमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग एटिएम् पिन, मोबाइल बैंकिङ तथा ई– बैंकिङका ओटिपि, इमेल, पासवर्ड वा अन्य व्यक्तिगत गोप्य विवरण मागिएको छैन ।'     बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीद्वारा जारी सो विज्ञप्तिमा अनाधिकृत रुपमा आउने यस किसिमका फोन, इमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत अनुरोध गरिएको छ ।   

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका संस्थाहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यसहित चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरूलाई लक्षित गर्दै र्‍याडिसन होटल लाजिम्पाटसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले विमानस्थल लाउन्ज सेवासहित र्‍याडिसन होटलका विभिन्न सेवामा छुट पाउनेछन् । ग्राहकले विमानस्थल लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पा सेवामा १५ प्रतिशत र र्‍याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ । बैंकले यस सहकार्यबाट आफ्ना कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको छ । साथै, बैंकले हालै सुरु गरेको अर्को योजनाअनुसार ग्राहकले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद रकम ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा भुक्तान गर्न सक्ने सुविधा पनि पाउनेछन् ।

नक्कली आयोग एमालेलाई स्वीकार्य छैन : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन आयोगमाथि नै प्रश्न उठाएका छन् ।  जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या, हिंसा, आगजनी लगायतका फौजदारी अपराधका घटनाको छानबिन गर्न जाँचबुझ आयोगलाई उनले नक्कली आयोग भएको बताएका हुन् ।  एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उनले अहिलेका मन्त्रीहरूको पनि सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने धारणा राखे । उनले अहिलेका मन्त्रीहरूले गज्जबको नाटक गरेको बताए ।  ‘यस्तो नाटक एमालेलाई स्वीकार्य छैन, एमालेलाई नक्कली आयोग मञ्जुर छैन,’ उनले भने ।

‘यो नेपालीको सरकार होइन, म सुशीला कार्कीसँग डराउँदिनँ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीको नभएको बताएका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान अन्तरिम सरकार नेपाली र नेपालले नचुनेको र अन्य कसैले चुनेको भए थाहा नभएको बताएका हुन् ।  सुशीला कार्कीले प्रधानमन्त्री बनेपछि संसद भंग गर्ने पूर्व सर्त राखेर संसद विघटन गर्ने काम लोकतन्त्रको जग भत्काउने काम भएको ओलीको भनाइ छ ।  नेपालको संविधानले सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको व्यक्ति सरकारी पदमा बस्न सक्दैन भन्ने व्यवस्था भए पनि कार्कीले त्यसलाई उल्लंघन भएको धारणा उनको छ ।  ‘केपी ओलीलाई गिरफ्तार गर्न राति ३ बजेसम्म बैठक राखिरहेका छन् । केपी ओली लगायत केही व्यक्तिको पासपोर्ट रोक्का गर्ने काम गरेको छ, यो हाहुबाट बनेको सरकार हो, यसको व्याख्या गरेको छैन, समय आएपछि गरौंला,’ उनले भने ।  ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई बाबु भन्दै धेरै नचम्किन पनि चेतावनी दिए । उनले आफू चुनौतीको भाषा बोल्न तयार नभएको बताउँदै तर कहिलेकाहीँ यस्तो भोग्नुपर्ने दिन आउने बताए ।  उनले देश कानुनीराजको बाटोमा देशलाई फर्काइने बताए । उनले पछिल्लो विध्वंश जेनजीले नगरेको धारणा राखे ।  उनले अहिलेका मन्त्रीहरूको पनि सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने धारणा राखे । उनले अहिलेका मन्त्रीहरूले गज्जबको नाटक गरेको बताए ।  ‘यस्तो नाटक एमालेलाई स्वीकार्य छैन, एमालेलाई नक्कली आयोग मञ्जुर छैन,’ उनले भने । 

क्षमता भन्दा तीन गुणा बढी पर्यटक अन्नपूर्णमा, बसोबास र खानेपानीमा समस्या

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।      आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रय स्थलको भवनमा एक दिनमा ५० जना सम्म बास बस्ने क्षमता रहेको छ । दैनिक एक सय ५० जना भन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास ब्यवस्थापनमा कठिनाई भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए । 'अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत बसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,' उनले भने 'क्षमता भन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।'  फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत बैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्के व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै संख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको संख्या थप गर्न लागिएको पुर्जाले बताए ।  होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दिप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताए ।  मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत अभाव र आवास व्यवस्थापनमा समस्या भएको उनले बताए । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महशुस गरेको अनुभव सुनाए ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।  पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउदै वि.स. २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाईमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा मौरिस हर्गोज नामारण गरि खुलाएको थियो ।  अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाईमा रहेको आधार शिविरमा खुल्ला संग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख रुपैयाँ सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पुर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताए । रासस

राप्ती प्रतिष्ठानका पूर्वउपकुलपति सहित १३ जनामाथि भ्रष्टाचार मुद्दा, १२ करोडभन्दा बढी अनियमितता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीकी तत्कालीन उपकुलपति प्राडा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले दायर गरेको मुद्दामा प्रतिवादीहरूलाई कम गुणस्तरको एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता गरी सरकारी कोषलाई १२ करोड ७ लाख रुपैयाँभन्दा बढी क्षति पुर्‍याएको आरोप लगाइएको छ । मुद्दामा उपकुलपति भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी लगायत अन्य ८ जनालाई पनि संलग्न देखाइएको आयोगले जनाएको छ । अख्तियारका अनुसार प्रतिष्ठानले एमआरआई मेसिन खरिद गर्दा मापदण्डविपरीत प्रक्रिया अपनाएर मूल्य र गुणस्तर दुवैमा अनियमितता गरेको पाइएको हो । यसका कारण राज्यकोषलाई करोडौंको नोक्सानी भएको आयोगको दाबी छ । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय, बिगो र जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।