सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले विपद् सुरक्षा संस्कृति निर्माणका लागि विद्यालयसँग समन्वय गरेर विपद् सुरक्षा संस्कृति सम्बन्धि कार्यक्रम सुरु गर्न लागेको बताएका छन् । आइतबार हेटौंडामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सुरु भएको स्वयंसेवक तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले हाललाई पालिका स्तरसम्म स्वयंसेवक गठन गरी परिचालन गर्ने उद्देश्यले स्वयंसेवक तालिम कार्यक्रम सुरु गरेको बताए । उनले प्रदेश सरकारले आगामी दिनमा विपद् सम्बन्धि विषयगत स्वयंसेवकहरू वडावडासम्म गठन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइसकेको पनि जानकारी दिए । मन्त्री श्रेष्ठले सरकारले मनसुनजन्य सम्भावित जोखिमको आँकलन गरी पूर्वतयारीका लागि विभिन्न जिल्लाका २६ वटा पालिकामा बजेट पठाइएको बताए । उनले हेटौंडा, विदुर र धुलिखेलमा विपद् सामाग्रीहरू भण्डारण गरेको जानकारी दिए । त्यस्तै प्रदेश, जिल्ला र पालिकाहरूमा आपतकालीन कार्यसञ्चालन केन्द्रहरूलाई व्यवस्थित र सक्रिय बनाएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले प्रदेशवासी सबैलाई मनसुनजन्य जोखिमबाट बच्न तयारी अवस्थामा रहनका लागि अपील समेत गरे । उनले प्रदेश सरकारले प्रतिकार्यका लागि पूर्वतयारी कार्य पुरा गरेकाले नआत्तिन अनुरोध गरे । उनले स्वयंसेवकहरूलाई स्वयंसेवक गठन तथा परिचालन कार्यविधि भित्र रही आधुनिक प्रबिधि र रैथाने ज्ञान, सीप र अनुभवको फ्युजन गरी उच्च स्तरको सेवा प्रदान गर्न आग्रह गरे ।
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने
फाइल फोटो चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले काठमाडौं-भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ । धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । बस्नेतका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ । अहिले बुद्धको एटिआर-४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौं-भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । अब सञ्चालन गर्न लागिएको जहाज एटिआर-७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ । साना जहाज उडान हुँदा एकतर्फी भाडा चार हजार सात सय रुपैयाँ भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।
एनआईसी एसिया बैंक बन्यो पीक्याफको सदस्य
काठमाडौं । एनआईसी एसिया बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) को सदस्य बनेको छ । पीक्याफ विश्वका वित्तीय संस्थाहरूले सहकार्य गरेको एउटा ग्लोबल इनिसिएटिभ हो । पीक्याफले ग्रिन हाउस ग्यास उत्सर्जनसँग सम्बन्धित कर्जा र लगानीको अध्ययन र अवस्थालाई सुनिश्चित गर्छ । पीक्याफमा विश्वभरि ६ महादेशका ४ सय ८० वित्तीय संस्था जोडिएका छन् । यसको सदस्य बनेसँगै बैंकले पनि पर्यावरणीय दिगोपनामा कार्बन फुटप्रिन्टको पारदर्शी मूल्यांकन गर्ने प्रतिबद्धता जनाएको छ । बैंकका सीईओ रोशनकुमार न्यौपाले भने, ‘संसार वातावरणमैत्री अभ्यासतर्फ आधारभूतरूपमा रूपान्तरण भइरहँदा एनआईसी एसिया पनि यसका लागि प्रतिबद्ध छ । जलवायुमैत्री रणनीतिसाथ विश्व समुदायसँगै दिगो अर्थतन्त्रको विकासका लागि प्रतिबद्ध रहेको बैंकको भनाइ छ ।
यम बराल साँझबाट उठेको रकम क्यान्सर पीडित गायिका थापालाई हस्तान्तरण
काठमाडौं । लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले ‘यम बराल साँझ’बाट उठेको रकम क्यान्सर पीडित गायिका जमुना थापालाई हस्तान्तरण गरेको छ । गायन क्षेत्रमा लागेकी थापा अहिले क्यान्सरले थलिएकी कारण उपचारमा ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले सहयोग गरेको हो । अहिले केही रकम क्यान्सर पीडित गायिका थापालाई प्रदान गरिएको अध्यक्ष कल्पना बस्नेतले बताइन् । ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले १८ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा गरेको यम बराल एकल साँझबाट उठेको रकममध्ये केही सहयोग गरेको हो । सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरूप यम बराल साँझ गरिएको थियो ।
प्रधानमन्त्रीलाई मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट तत्काल डेरा सरे हुन्छ : गगन थापा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन् । प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरुले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न आग्रह गरेका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौति नगर्न पनि सरकारलाई सचेत गराए । ‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व । तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ । तर दिने अनुदानमा ७ प्रतिशत जति घटाउनु अरे भन्ने कुरा सुनियो । वडाको क्षेत्र भित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने । अनि स्रोत छैन भनेर अनुदान कटौति गर्ने ? यो अस्विकार्य छ । यो असंवैधानिक छ’, उनले भने । महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजविजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
प्रतिनिधिसभा बैठक : सहकारी ठगी प्रकरणमा जोडिएका राईलाई पक्राउ गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गरेका छन् । उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गरे । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै आकस्मिक समयमा सांसद शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गरे । उनले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गरे । यस्तै प्रतिनिधिसभामा नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा यही असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गरे । उनले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे । आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गरे । सांसद प्रदीप पौडेलले सङ्घीय संसद्का कर्मचारीले राखेका माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका नागरिकको माग पूरा गर्न सदन र सरकारको ध्यानाकर्षण गराए । सांसद पौडेलले चुरे संरक्षण गर्न देशभर वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्ने बताए । सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमा दर्ता सहयोगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रोशन कार्कीले सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न जोड दिए ।
लिखित सहमति नभएसम्म संघीय संसदका कर्मचारीले आन्दोलन जारी राख्ने
काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीले आइतबार पनि आन्दोलन जारी राखेका छन् । कर्मचारीको माग सम्बोधन गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको तीन सदस्य समिति गठन गरेकाे भए पनि कर्मचारीले भने आन्दोलनलाई निरन्तरता दिएका हुन् । तलब, अतिरिक्त भत्तालगायतका सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कर्मचारीले लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनीहरूले संसद् भवन नयाँबानेश्वरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् । कानुनमन्त्रीको नेतृत्वम बनेको समितिले एक/दुई दिनभित्रै कर्मचारीसँग छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ । समितिमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् ।
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उनको भनाइ छ । उद्योगमा अहिले पटकपटक गरी करिब चार हजार पाँच सय मेट्रिकटन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार केही महिनाअघि आर्थिक सकंटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो । स्थापनाकालदेखि केही वर्षअघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहका २९ जना कर्मचारीले अवकाश पाएपछि निजहरुले नियमअनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करिब १७ करोड पाँच लाख रुर्पयाँ रकम दिनुपर्नेमा आर्थिक सकंटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताए । उद्योगका महाप्रबन्धक पाण्डेले आज सङ्क्षिप्त कुराकानी गर्दै उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याई सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताए । ‘अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दिपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सकंटबारे जानकारी गराएका छौँ’, उनले भने, ‘सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौँ ।’ उद्योग मन्त्रालयले सरकारकोतर्फबाट सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थमन्त्रालयमा पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकाले अवकाश प्राप्त कर्मचारीलाई दिइने बताए । तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन समयमा उद्योग निर्माणका लागि एक अर्ब ५० करोड रूपैयाँ रकम सरकारले उपलब्ध गराएको थियो । विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौंलगायत विभिन्न सहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ । उद्योगमा अहिले प्रशासन, लेखा, प्रविधिक, चुनढुङ्गाखानी एवं कामदार मजदुर गरी करिब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन् । उद्योगमा अहिले पटकपटक गरी एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । रासस