काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीले आइतबार पनि आन्दोलन जारी राखेका छन् ।
कर्मचारीको माग सम्बोधन गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको तीन सदस्य समिति गठन गरेकाे भए पनि कर्मचारीले भने आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
तलब, अतिरिक्त भत्तालगायतका सेवा सुविधा वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कर्मचारीले लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
उनीहरूले संसद् भवन नयाँबानेश्वरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
कानुनमन्त्रीको नेतृत्वम बनेको समितिले एक/दुई दिनभित्रै कर्मचारीसँग छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ । समितिमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् ।