रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने
काठमाडौं । रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव युज कुमार भैलले बताए । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने पनि निर्णय गरेको छ । संस्थाको चुक्ता पुँजी हाल १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ ।
तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सोही विद्युत प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत उत्पादनका सुरु गर्न संरचना तथा उपकरण परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएकाे छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोशीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोशीबाट उत्पादित विद्युत प्रवाहका लागि समस्या नरहेको उल्लेख गरे । घिसिङले भने, ‘सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोशीको विद्युत जोड्न नसकिने हो कि भन्ने अवस्था थियो, अब २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत जोड्न विभिन्न विकल्पहरु तयार भएका छन्, चुहिएको सुरुङ मर्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारण लाइन तथा सबस्टेसन अभावमा आयोजनाको विद्युत खेर नजाने अवस्था बनेको छ ।’ मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको छैन । मध्यभोटेशीको विद्युत प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिने छ । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती-बाह्रबिसे वा बाह्रबिसे-काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत प्रवाह हुने छ । तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण १ वटा टावर निर्माण हुन सकिरहेको छैन । सोही क्षेत्रमा प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीहरुले जग्गाको सत्प्रतिशत क्षतिपूर्तिको माग गरेका कारण १.३ किलोमिटर तार तान्न समस्या छ । ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ५ वटा टावर निर्माण बाँकी छ । अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले बताए । ‘४६ किलोमिटर प्रसारण लाइनमध्ये ४२ किलोमिटर तार तानिसकिएको छ, अवरोध भएको ठाउँको मात्र काम बाँकी छ’, उनले भने । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।
संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन
काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सहभागी थिए । मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि बैठकमा उपस्थित थिए । सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरिरहेो उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलको राजीनामा स्वीकृत
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक तथा अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । शुक्रबार साँझ ५ बजे बसेको संस्थाको २१८औं सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव दिपित श्रेष्ठले बताएका छन् । उनका अनुसार पौडेलले असार ६ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजीनामा दिएका थिए ।
असार २७ देखि एकीकृत कारोबार सुरु गर्दै किसान र जाल्पा सामुदायिक लघुवित्त
काठमाडौं । असार २७ गतेबाट जाल्पा सामुदायिक र किसान लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुनेछ । गत चैत १८ गते यी दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलाली लम्कीचुहा–४ मा रहने छ ।
सुनको मूल्य तोलामा २७ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा आइतबार पहेँलो धातुको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ ।
नेको इन्स्योरेन्सले हस्तान्तरण गर्यो एम्बुलेन्स
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स सहयोग गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एउटा एम्बुलेन्स सहयोग गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला, प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको उपस्थिति रहेको थियो । उक्त एम्बुलेन्स नेपाल सरकारद्वारा राजस्व छुट प्राप्त हो । कम्पनीले तीन वर्षअघि सातै प्रदेशमा एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको थियो । तर बाणगंगा नगरपालिकाको अथक प्रयासले एम्बुलेन्स हस्तान्तरण गर्न सफल भएको कम्पनीले जनाएको छ । देशको बीमा बजारमा विगत २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्सले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय योगदान गर्दै आएको छ । कम्पनीले व्यवसायसँगै समाज सेवामा सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ । यसअघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र–उपकरणको लागि सहयोग, बन्दीपुर तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको थियो ।
विभिन्न व्यक्तिका नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलामका लागि ३५ दिनको समय दिएको छ । बैंकले आइतबार सूचना जारी गर्दै यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिनभित्र चुक्ता नभए लिलामी गरिने जानकारी दिएको छ । कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र त्यसले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ, सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको बैंकले जनाएको छ । बैंकका अनुसार गोप्य शिलबन्दीमार्फत घरजग्गा खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको १५ दिनमा बोलपत्र पेस गर्न सक्नेछन् ।