काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहाल आफैँले मन्त्रीहरुले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न आग्रह गरेका हुन् । आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै महामन्त्री थापाले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौति नगर्न पनि सरकारलाई सचेत गराए ।
‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व । तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ । तर दिने अनुदानमा ७ प्रतिशत जति घटाउनु अरे भन्ने कुरा सुनियो । वडाको क्षेत्र भित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने । अनि स्रोत छैन भनेर अनुदान कटौति गर्ने ? यो अस्विकार्य छ । यो असंवैधानिक छ’, उनले भने ।
महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजविजी अधिकारको रुपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।