सरकारले क्यासिनोमा नेपाली प्रवेशको कडाइ गर्दै

काठमाडौं । सरकारले क्यासिनोमा नेपाली प्रवेशको रोक लगाउन कडा निर्देशन दिएको छ । १२ वटा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोमा नेपाली नागरिकको प्रवेशमा कडाइ गर्न निर्देशन दिएको हो ।

विभागले एक परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी एवं स्थलगत अनुगमन गर्न  जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ ।

पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको र इजाजतपत्रमा उल्लेख भएबाहेकका अन्य अवैध खेलहरू समेत सञ्चालन गरिरहेको भन्ने गुनासो बढेपछि विभागले यो कदम चालेको स्पष्ट पारेको छ । 

विभागले झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरलाई पत्र पठाएको छ ।

कानुनी प्रावधान के छ ?  

पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ ले क्यासिनो सञ्चालनको व्यवस्था गरेको छ । साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा नियमावली, २०८१ लगायतका कानुनको समेत पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ ।

उल्लिखित कानुनी प्रावधानअनुसार नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गर्न र क्यासिनो खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको विभागले जनाएको छ । पर्यटन विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रचलित कानुनविपरीत नेपालीहरूको अवैध प्रवेशलगायतका कुनै पनि गतिविधि हुन नपाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । 

अनुगमनका क्रममा कानुनविपरीतका यस्ता गतिविधि भएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही अगाडि बढाई विभागलाई जानकारी गराउनसमेत भनिएको छ ।  

Share News