विकासन्युज

तीन महिनासम्म इलाम संकटग्रस्त जिल्ला घोषणा, सुहाङको माग पूरा

काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको हो ।  केही दिनअघिको बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति इलाममा भएको थियो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।  नेकपा एमालेका नेता सुहाङ नेवाङले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । 

आइसिटी अवार्ड २०२५ को छनौट प्रक्रिया जारी : ४ विधामा छानिए उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्ट

काठमाडौं । आइसिटी अवार्ड २०२५ का लागि केही विधामा नोमिनेशन खुला रहेको र केही विधामा बहुपर्यायी छनोट प्रक्रिया जारी छ । क्याटेगोरी ‘ए’ अन्तर्गत दोस्रो चरणको मूल्यांकन पश्चात् चार विभिन्न विधामा उत्कृष्ट १२ र १३ सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ । स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२-१२ सेमिफाइनलिस्ट चयन गरिएका छन् भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा उत्कृष्ट १३-१३ सेमिफाइनलिस्ट चयन भएका छन् । १४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनहरूको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गर्दै सेमिफाइनलिस्टहरूको छनोट गरेका हुन् । अब सेमिफाइनलिस्टहरूले उत्कृष्ट ५ फाइनलिस्ट छनोटका लागि विभिन्न प्री–इभेन्ट, ग्राण्ड जूरी प्रस्तुती र स्पीड डेटिङ चरणहरू पार गर्नुपर्नेछ । पहिलो चरणमा प्राप्त आवेदनहरू सर्टलिस्ट गरी १५ दिनभित्र विज्ञ जूरीले ग्राण्ड जूरीको लागि सेमिफाइनलिस्टहरू सार्वजनिक गरेका हुन् । यी चार विधामा ३०० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । यी विधाहरू बाहेक क्याटेगोरी ‘सी’ अन्तर्गतका संस्थागत अवार्डहरूको छनोट प्रक्रिया जारी छ भने क्याटेगोरी ‘बी’ अन्तर्गतका व्यक्तिगत अवार्डहरूको नोमिनेशन अझै खुला रहेको छ । यसैगरी दक्षिण एसियाली देशहरूलाई लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको नोमिनेशन पनि अन्तिम चरणमा पुगेको छ ।  

कांग्रेस पनि मंसिरमै महाधिवेशन गर्ने तयारीमा

काठमाडौं । नेपाली कांगेसको पन्ध्रौं महाधिवेशन मंसिरमा गर्ने तयारी बिहीबार बसेको पदाधिकारी बैठकले गरेको छ ।  बहुसंख्यक नेताहरू विशेष महाधिवेशनको पक्षमा रहे पनि पदाधिकारी बैठकले नियमित महाधिवेशनको प्रस्ताव २६ गते बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो । पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो ।  यसभन्दा अगाडि नेकपा माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ भने नेकपा एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने तयारी गरेको बुझिएको छ ।  गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि  पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बसेको हो । प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थिति थिएनन् । असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो ।  उक्त प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन र बिक्री व्यवस्थापकको भूमिका निर्वाह गर्नेछ । एक औपचारिक कार्यक्रममा दूधपोखरी चेपे हाइड्रोपावरका अध्यक्ष सबिन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे हाइड्रोपावर आयोजनाको हालसम्म ७८ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । बाँकी काम २०८२ साल चैत्र महिनासम्म सक्ने लक्ष्य लिइएको छ । कम्पनीले आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् २० करोड २० लाख रुपैयाँको २० लाख २० हजार कित्ता साधारण सेयर (प्रति कित्ता अंकित मूल्य १०० रूपैयाँ) सर्वसाधारणका लागि बिक्री गर्न तयारी गरेको छ । सम्झौताले आयोजना र लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्नका साथै पूँजी बजारमा जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्ष प्रधानाङ्गले व्यक्त गरेका छन् ।

गगनको प्रस्ताव : देउवालाई हटाएर महाधिवेशन गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले पद छाड्नु पर्ने धारणा राखेका छन् । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले देउवालाई सभापतिबाट हटाएर नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।  ‘अहिलेको नेतृत्वबाट अगाडि बढ्न सकिँदैन, उहाँलाई विश्राम दिएर नियमित महाधिवेशनमा जाऔं,’ थापाले बैठकमा भने ।  देउवा अनुपस्थित रहेको बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् । आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले अध्यक्षता गरेका छन् ।  बैठकमा असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे पनि छलफल भइरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।   

मन्त्रिपरिषद् बैठकअघि सुरक्षा निकायका प्रमुखसँग यी चार विषयमा छलफल, बैठकले के गर्ला निर्णय ?

काठमाडौं । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद् बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । गृहमन्त्री अर्यालले बिहीबार दिउँसो नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए ।  मन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध आएको जाहेरीको काउन्टरमा परेको निवेदनले ल्याउने चुनौतीसहितका विषयमा छलफल भएको बुझिएको छ ।  यस्तै, निर्वाचन मिति घोषणा भएको अवस्थामा सुरक्षामा आइपर्न सक्ने चुनौती, नेताहरूले दिइरहेको अभिव्यक्तिले ल्याउन सक्ने जोखिम र जेनजीका नाममा विभिन्न समूहले गर्न खोजिरहेको प्रदर्शनका विषयमा समेत छलफल भएको बुझिएको छ ।  मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायका प्रमुखसँग भएको छलफलकै आधारमा रहेर केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको दाबी छ । 

जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छ : शहीद तथा घाइते परिवार

काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएका हुन् ।  जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरुको भनाई छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए ।   उनीहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न पनि उनीहरुले माग गरे । जेनजीको समूह फरक-फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरे ।  जेनजी आन्दोलनका उपलब्धीहरुको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।   

टाटा समूहमा नेतृत्व संकट : रतन टाटाको निधनपछि विवाद र आन्तरिक कलह

काठमाडौं । टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटालाई आज उनको पहिलो पुण्यतिथिमा व्यापारिक जगतले सम्झिरहेको छ । गत वर्ष ९ अक्टोबरमा उनको निधन भएको थियो । रतन टाटाजस्ता व्यवसायी जसको दूरदर्शिता र नैतिकताले भारतमा व्यापार र समाजसेवा दुवैलाई सही आकार दिएको थियो ।  उनको ठूलो समूह टाटा ट्रस्ट्सले आन्तरिक कलहको सामना गरिरहेको छ । टाटा ट्रस्ट्सले टाटा सन्समा ६६ प्रतिशत हिस्सेदारी राखेको छ । यो विवाद रतनको निधनको एक वर्षपछि पनि जारी रहेको हो । रतन टाटाको निधनको एक वर्षमै टाटा समूहमा धेरै विवाद देखा परेका छन् । रतन टाटाको निधनपछि उनका भाई नोएल टाटाले नेतृत्व गरेको टाटा ट्रस्ट्समा ट्रस्टीहरूबीच बोर्ड नियुक्ति र व्यवस्थापन सम्बन्धी विवाद भइरहेको छ । नोएल टाटासँग जोडिएका एक समूह र चार ट्रस्टीहरूको समूहबीच मतभेद उत्पन्न भएको हो । दोस्रो समूहको नेतृत्व मेहली मिस्त्रीले गर्दैछन् जो शापूरजी पल्लोनजी परिवारसँग सम्बन्धित छन् । यस परिवारको टाटा सन्समा १८.३७ प्रतिशत हिस्सेदारी छ ।   यो विवाद बोर्डका सदस्यहरूको नाम तय गर्ने सम्बन्धमा छ । अक्टोबर २०२४ मा रतन टाटाको निधनपछि टाटा ट्रस्ट्सले नयाँ नीति बनायो, जसअनुसार ७५ वर्षभन्दा माथि उमेर भएका नामनिर्दिष्ट निर्देशकहरूको टाटा सन्स बोर्डमा हरेक वर्ष फेरि नियुक्ति हुनेछ । यसपछि विजय सिंहले स्वयं टाटा सन्स बोर्डबाट राजीनामा दिए । सरकारसम्म पुग्यो विवाद ट्रस्ट्स र शापूरजी पल्लोनजी समूहबीच अर्को ठूलो विवाद टाटा सन्सलाई अपर लेयर कोर इनभेस्टमेन्ट कम्पनी (सीआईसी) का रूपमा सूचीबद्ध गर्ने बारेमा छ । एसपी समूहका लागि आफ्नो हिस्सेदारी बेचेर पैसा जुटाउन जरुरी छ किनभने उनीहरूको ऋण लगातार बढ्दैछ । यसै वर्षको सुरुमा उनले लगभग ३० हजार करोड भारु ऋणलाई लगभग २० प्रतिशत उच्च ब्याजदरमा पुनःवित्त पोषण (पुरानो ऋण वा कर्जालाई नयाँ सर्तमा फेरि व्यवस्थापन गर्नु) गरेका थिए । यदि समूहको हिस्सेदारी आंशिक रूपमा टाटा ट्रस्ट्स र टाटा सन्सले खरिद गर्छ भने ऋण लगभग ५० प्रतिशत घट्न सक्छ । १० अक्टोबरमा हुने अर्को टाटा ट्रस्ट्स बोर्ड बैठकलाई ध्यानमा राख्दै आशा गरिएको छ कि दुबै विरोधी समूहबीच विवाद सुल्झिनेछ । देशको सबैभन्दा प्रतिष्ठित समूहका ट्रस्टीहरूले आन्तरिक मुद्दा समाधान गर्न सरकारको सहयोग लिनुपरेको छ । गृहमन्त्री अमित शाहले मंगलबार ट्रस्टीहरूसँगको बैठकमा दुबै समूहलाई ‘टाटाको तरिका’ अनुसार काम गर्न निर्देशन दिएका छन् ताकि समूहको सञ्चालनमा कुनै नराम्रो असर नपरोस् । यस आन्तरिक कलहले १८० अर्ब डलर मूल्यको ठूलो समूहको कामकाजमा असर पार्न सक्ने भारतीय विश्लेषकहरू बताउँछन् । समूहको विरासत बचाउन सरकारको हस्तक्षेपको विकल्पमा पनि विचार भइरहेको छ।  रतन टाटाले सन् १९६२ मा टाटा ग्रुपमा काम सुरु गरेका थिए । दशकौंको मेहनतपछि उनी समूहको नेतृत्वमा उभिए र १९९१ मा टाटा सन्सका अध्यक्ष भए । उनी केवल व्यवसायिक दृष्टिले मात्र होइन, मानवीयता र समाजसेवाका लागि पनि चर्चित थिए ।  उनको नेतृत्वमा टाटा समूहले व्यापारिक सफलता मात्र नभई स्वास्थ्य, शिक्षा र ग्रामीण विकासमा पनि ठूलो योगदान दिएको छ ।  रतन टाटालाई २००८ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो ।  रतन टाटाको स्मृति केवल व्यापारमा सफलता मात्र होइन, समाज र मानवताको सेवामा पनि उनको योगदान सम्झाउने प्रकारको छ।