घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान
काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो । फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ । ती चुनौती समाभान गर्दै फेस्टले ती कमी–कमजोरीलाई सम्बोधन गर्ने जनाइएको छ । प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्याउन सक्ने अपेक्षा राखिएको छ । चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ । यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजित पक्षले व्यक्त गरेको छ । आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो । आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी भएको जनाएको छ। हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २.९४ मिटर तथा चौडाइ र उचाइ ०.९९ मिटर थियो । दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ । घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ । तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ । नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ । फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श पाउने व्यवस्था गरिएको छ । इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ ।
मल्कवाङमा पहिलोपटक बस पुग्यो, जिपभन्दा सस्तो भाडामा यात्रा
म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो । बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् । वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उनले बताए । सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता थियो । बसका लागि प्रतिव्यक्ति भाडादर सात सय ५० रुपैयाँ कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिए । 'बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्', उनले भने । असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताए । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ । यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ । भडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा एक करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर पाँच करोड रुपैयाँ स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उनले जानकारी दिए । रासस
सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँ र चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : उपाध्यक्ष डाँगी
काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपालको ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो । नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ५ सदस्यीय टोलीले सम्मेलनमा भाग लिएको थियो । सरकारी अधिकारीहरुका तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं विद्युत विकास विभागका उपमहानिर्देशक नुतन कुमार शर्मा नेतृत्वको टोली सहभागी भएको थियो । सहसचिव शर्माले भारतीय उद्योग परिसंघ र परराष्ट्र मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै दक्षिण एसियाको विद्युत माग धान्न आवश्यक स्वच्छ ऊर्जा उत्पादनका लागि नेपाल सक्षम रहने बताएका थिए । एक्सेलरेटिङ इन्भेस्टमेन्ट इन पावर सेक्टरस् इन्टरभेन्शन रिक्वायर्ड विषयक सत्रमा धारणा राख्दै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रमा तीब्र लगानी बढाउन बिआईएन देशहरुमा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । नेपाल सरकारले सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्याउने लक्ष्य लिएर अघि बढेको स्मरण गराउँदै वरिष्ठ उपाध्यक्ष डाँगीले त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले बिटुबी लगानी लिएर नेपाल आउनको लागि आग्रह गरेका थिए । उनले विद्युत उत्पादन, वितरण, खुला पहुँच र पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक रहेकोले बिआईएन राष्ट्रहरुले दीर्घकालीन र छोटो अवधिमा अन्तरदेशिय विद्युत व्यापारलाई सहयोग पुर्याउने क्षेत्रहरुमा लगानी बढाउने सम्भावित रणनीतिहरुमा जोड दिनुपर्ने बताए । डाँगीले भारत र बंगलादेशमा स्वच्छ ऊर्जाको ठूलो माग रहेको र नेपालमा जल ऊर्जा उत्पादनको अपार सम्भावना रहेकोले बिआईएन देशहरुको आपसी सहकार्यबाट भारत र बंगलादेशको स्वच्छ ऊर्जाको माग पूरा गर्न नेपाली ऊर्जा उत्पादकहरु सक्षम रहेको बताए । उनले नेपालमा अहिले ४ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुगिसकेको, ५ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु निजी क्षेत्रको अगुवाइमा निर्माणाधिन रहेको र अर्को ३ हजार मेगावाट क्षमताका आयोजनाहरु वित्तिय व्यवस्थापन गरेर निर्माणमा जाने अन्तिम तयारीमा रहेको पनि बताए । त्यसबाहेक निजी क्षेत्रले अर्को २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाकोहरुको अध्ययन गरिरहेको पनि डाँगीले बताएका थिए । स्ट्राटेजाइजिङ फोर इनह्यान्सिङ इनर्जी कोअपरेसन थ्रु क्रस–बोर्डर पावर ट्रेड सत्रमा बोल्दै इप्पानका उपाध्यक्ष आशिष गर्गले विगत दुई वर्षमा यस क्षेत्रमा बिजुलीको माग बढ्दो क्रममा रहेकोले विद्युत व्यापार बढाउनु आवश्यक रहेको बताए । यसै सत्रको छलफलमा भाग लिएका नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाश कुमार मिश्रले बिआईएन विद्युत व्यापारमा केही चुनौतीहरू भएपनि योजना र विशिष्ट रणनीति बनाएर अघि बढेमा विद्युत व्यापारलाई तीव्रता दिन सकिने बताएका थिए । खुला पहुँच र विद्युत व्यापारलाई प्रवर्द्धन गर्न उत्पादन, वितरण र प्रसारणमा उचित योजना हुनुपर्ने, यसको लागि संरचनात्मक, व्यावसायिक र नियामक पक्षहरूले नीतिगत हस्तक्षेपहरू गरेर वृहद विद्युत व्यापार परिदृश्यको लागि तयार हुनुपर्ने गर्गको धारणा थियो । क्रिएटिङ अ फ्रेमवर्क टु प्रमोट पावर एक्सचेन्जेज्स् च्यालेन्जेज् एन्ड अपर्चुनिटिज् सत्रमा बोल्दै इप्पानका उपाध्यक्ष उत्तम भ्लोन लामाले पहिले विद्युत व्यापार दीर्घकालीन आधारमा हुने गरेको भएपनि अहिले भारतले ल्याएको नयाँ क्रस बोर्डर विद्युत व्यापार निर्देशिका अनुसार डे अहेड मार्केटमा दैनिक रुपमा पनि अन्तरदेशिय विद्युत व्यापार सम्भव भएको बताए । नेपालबाट अहिले भारतमा १ हजार मेगावाटभन्दा बढी र बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ । बंगलादेशमा निर्यात भइरहेको विद्युतको महसुल स्थिर रहेको र भारतीय बजारमा स्थिर र डेअहेड दुवै तरिकाले विद्युत आयात/निर्यात भइरहेको पनि लामाले बताए । उनले यस क्षेत्रमा अहिले नेपालको सरकारी तवरबाट मात्रै विद्युत व्यापार भइरहेको र निजी क्षेत्रले विद्युत व्यापारका लागि सम्पूर्ण तयारी पुरा गरेर अनुमति पर्खिरहेको धारणा राखेका थिए । अझै पनि, क्रस बोर्डर विद्युत एक्सचेन्जमा व्यापार प्रारम्भिक चरणमा रहेकोले यस क्षेत्रमा विद्युत एक्सचेन्जहरूको प्रवेश बढाउन उचित रणनीति बनाउनु आवश्यक रहेको लामाको भनाई थियो ।
आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०१ पैसा र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ११ पैसा र बिक्रीदर २२ रुपैयाँ २० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ५७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पुँजी र सञ्चित नाफाभन्दा बढी ऋण, घोराही सिमेन्टले डाक्यो मंसिर १२ गते पाँचौ सभा
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैंक तथा वित्तीय संस्थाबाट चुक्ता पुँजी र सञ्चित नाफाभन्दा बढी लिएको ऋण रकम अनुमोदन गर्ने भएको छ । हाल कायम रहेको चुक्ता पुँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ) को जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले पुस १४ गते बिहान ९ बजे दाङको होटल पौवामा पाँचौं वार्षिक साधारण सभा डाकेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले ऋण रकम सहित गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, कम्पनीले गरेको कारोबार विवरणलाई स्वीकृत गरी अनुमोदन गर्ने, सहज सञ्चालन तथा तरलता व्यवस्थापनको लागि संस्थापक सेयरधनीहरूबाट सापटी रकम माग गरी उपभोग गर्ने, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण र संस्थापक सेयरधनी समूहबाट कायम हुने सञ्चालकको निर्वाचन गर्नेछ । चौंथो वार्षिक साधारण सभाबाट कम्पनीको कायम रहेको चुक्ता पुँजीबाट ७५ प्रतिशत अर्थात् प्रति १ सेयर बरावर ०.७५ सेयरका अनुपातले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । साथै, विसं २०८१ चैत २६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिका लागि निवेदन दिएको थियो । अब पाँचौं सभाबाट १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५ अर्ब २ करोड ४४ लाख ५४ हजार रुपैयाँ चुक्ता पुँजी कायम हुनेछ । साथै, हकप्रद सेयर निष्काशन पछि कम्पनीको जारी तथा चुक्ता पुँजी ८ अर्ब ७९ करोड २७ लाख ९४ हजार रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्ध पत्र शंसोधन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
सबैभन्दा सस्तो स्कुस, यस्तो छ अन्य सागसब्जी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १६०, गाजर (तराई) प्रतिकिलो रु १४०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १८५, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८० र पिँडालु प्रतिकिलो रु ११०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकेजी रु १८०, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ७०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु १५५, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १५०, हरियो लसुन प्रतिकिलो रु २२०, हरियो धनियाँ प्रतिकिलो रु १६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक मर्जरमा जाने, पुस ७ गतेको सेयरधनी भेलाले पारित गर्ने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो । साथै, बैंक सञ्चालक समितिले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस ७ गते काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ । सभाले गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशतका दरले १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजन सहितका लागि ५.३५ प्रतिशतका दरले १९ करोड ५ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल १०.३५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्ष २००१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न डि.एस एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्टसलाई पुनः नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । बोनस सेयर वितरण पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुयाउने, संचालकहरुलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गर्ने रकम वृद्धि गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।