सेयर बजारमा ३ अर्ब २९ रुपैयाँको कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.०७ अंकले घटेर २७३० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३७ कम्पनीको ७९ लाख कम्पनीको ३ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, साहस ऊर्जाको १८ करोड ७७ लाख, एसवाई प्यानलको १८ करोड ५४ लाख, युनियन हाइड्रोपावरको १४ करोड र माउन्टेन इनर्जीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.२२ प्रतिशत र झपा इनर्जीको सेयर मूल्य ४.१४ प्रतिशतले बढेको छ । १३ वटा उपसूचक मध्ये ३ वटाको सूचक बढेका छन् । लाइफ इन्स्योरेन्स ०.०१ प्रतिशत, म्युचल फन्ड ०.०८ प्रतिशत र ट्रेडिङको ०.३२ प्रतिशतले बढेका छन् ।
विद्युत नियमन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौं । सरकारले विद्युत नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् । समितिले विद्युत नियमन आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको छ । यसका लागि १५ दिनको समय सीमा राखेर सार्वजनिक सूचना जारी गरिने मन्त्रालयले जनाएको छ । यसअघि आयोगका अध्यक्ष र चार सदस्य सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो । विद्युत् नियमन आयोग ऐनअनुसार समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी दरखास्त दिने अन्तिम मिति समाप्त भएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
सहमति कार्यान्वयन नभए फेरि संसद् अवरोध गर्ने विपक्षी दलको चेतावनी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भएर सरकारको ‘नीति तथा कार्यक्रम’माथि उठेका प्रश्नहरूको जवाफ नदिए विपक्षी दलहरूले पुनः संसद् अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बिहीबार बिहान सभामुखको पहलमा भएको दलहरूबीचको सहमतिअनुसार विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने र उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिने समझदारी भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभए सदन अवरोध गर्ने तयारी विपक्षी दलहरूले गरेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सहमतिअनुसार विपक्षी दलहरूले छलफलमा भाग लिएको उल्लेख गर्दै अब प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए । उनले भने, ‘हामीले सहमतिअनुसार नीति तथा कार्यक्रमको छलफलमा भाग लिएका छौं । प्रधानमन्त्री आएर जवाफ दिने समझदारी भएको छ । यदि सहमति पालना भएन भने विपक्षी दलहरू विकल्पमा जान बाध्य हुनेछन्।’ नेपाली कांग्रेसका सांसद प्रकाश कार्कीले पनि दलहरूबीच भएको सहमति कार्यान्वयन हुने अपेक्षामा विपक्षी दलहरू रहेको बताए । उनका अनुसार सभामुखले दलहरूसँग गरेको समझदारीअनुसारनै संसद् अगाडि बढ्नुपर्नेमा विपक्षी दलहरूको जोड छ । ‘सहमतिको सम्मान हुनु आवश्यक छ । सभामुखले गरेको सहमतिअनुसार सदन सञ्चालन हुन्छ भन्ने अपेक्षा गरेका छौं,’ कार्कीले भने । एमाले सांसद क्षितिज थेवेले पनि संसद् सञ्चालनलाई प्रभावकारी बनाउन सभामुखको भूमिका जिम्मेवार हुनुपर्ने बताए । उनले सहमति उल्लंघन भए विपक्षी दलहरू थप कडा कदम चाल्न तयार रहेको संकेत गरे । थेवेले भने, ‘यदि सभामुखले जिम्मेवार भूमिका निर्वाह गर्नुभएन र प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाइएन भने विपक्षी दलहरू विकल्पमा गएर भए पनि प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन अघि बढ्नेछन् ।’ श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई सदनको गरिमा बढाउनेगरी प्रधानमन्त्री प्रस्तुत हुने आशा रहेको बताउँछन् । यदि त्यस्तो भएन भने विपक्षले छलफल गरेर तुरुन्तै कुनै निर्णय गर्ने उनले चेतावनी दिए । विपक्षी दलहरूको चेतावनीसँगै प्रतिनिधिसभाको बैठक पुनः तनावपूर्ण बन्ने संकेत देखिएको छ ।
सिप्रदी र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता
काठमाडौं । टाटा मोटर्सका लागि नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार अब टाटा गाडीका ग्राहकहरूले सवारी दुर्घटनाको अवस्थामा बीमा दावी प्रक्रिया सहज र छिटो रूपमा गर्न सक्नेछन् । यसले ग्राहकलाई नगद भुक्तानीको झन्झटबाट मुक्त गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसअघि पनि सिप्रदीले शिखर, सगरमाथा लुम्बिनी (सलिको), एनएलजी, नेको, सानिमा तथा ओरियन्टल इन्स्योरेन्स कम्पनीहरूसँग यस्तै प्रकारका नगदरहित बीमा दावी सम्झौता गरिसकेको छ । कम्पनीका अनुसार, हालसम्म ३ हजारभन्दा बढी ग्राहकले यस सेवामार्फत छिटो र सहज दावी सुविधा प्राप्त गरिसकेका छन् । आगामी दिनमा थप ग्राहकलाई यस्तो सेवा विस्तार गर्ने योजना सिप्रदीले बनाएको छ । यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान हुने विश्वास दुवै कम्पनीले व्यक्त गरेका छन् ।
अनलाइन बेटिङमा शिक्षक, ६ खातामा २ करोड ४६ लाख रुपैयाँको शंकास्पद कारोबार
काठमाडौं । अनलाइन बेटिङ खेलाउने र बैंक खाताको दुरुपयोग गरी ठगी गरेको आरोपमा शिक्षकसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतबाट खटिएको टोलीले गोप्य सूचना र प्राविधिक विश्लेषणका आधारमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका पञ्चपुरी नगरपालिका वडा नं ९ बस्ने ३९ वर्षीय शिक्षक महेन्द्रकुमार बोहोराले मात्र विभिन्न बैंकमा ६ वटा खाता खोलेर २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार गरेको खुलेको छ । ४२ वर्षीय व्यवसायी यामलाल विक र ४४ वर्षीय होटल व्यवसायी डम्बरबहादुर विकलाई समेत पक्राउ परेका छन् । विकले पाँचवटा र डम्बरले नौवटा विभिन्न बैंकमा खाता खोली शंकास्पद कारोबार गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई प्रलोभनमा पारेर अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने उद्देश्यले उनीहरूले ती बैंक खाता खोलेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पक्राउ परेका उनीहरूविरुद्ध बैंकिङ कसुर, जुवा सट्टेबाजी र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथापाले जानकारी दिए । प्रहरीले अनलाइन ठगी र जुवाजन्य गतिविधिमा संलग्न हुनु वा सहयोग गर्नुलाई गम्भीर अपराध भन्दै आफ्नो बैंक खाता, पिन कोड र ओटीपीजस्ता गोप्य विवरणहरू कसैलाई पनि सेयर नगर्न र ठगिनबाट बच्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
४९ लाख ९९ हजार रुपैयाँमा सुजुकी ई-भिटारा पाइने, देशभर डेलिभरी सुरु
काठमाडौं । सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई-भिटाराको औपचारिक डेलिभरी सुरु गरेको छ । कम्पनीले यो मोडललाई सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित विद्युतीय सवारीका रूपमा नेपाली बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार विश्वसनीय जापानी इन्जिनियरिङ, अत्याधुनिक विद्युतीय सवारी प्रविधि, उच्च सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनका कारण ई–भिटाराले सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । हाल बुकिङ गरिएका सवारीहरू सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकलाई हस्तान्तरण भइरहेको कम्पनीले जनाएको छ । लन्च अफरअन्तर्गत कम्पनीले ई–भिटाराको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो विशेष मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने बताइएको छ । नेपालभर रहेका २५ आधिकारिक बिक्री केन्द्र र ४० सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्रशिक्षित प्राविधिक, सहज स्पेयर पार्ट्स उपलब्धता तथा विद्युतीय सवारी सेवा पूर्वाधारले दीर्घकालीन रूपमा कम लागत र विश्वसनीय स्वामित्व अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । ई–भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ । यी संस्करणले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटसम्म शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो आफ्नो मूल्य वर्गमा सबैभन्दा शक्तिशाली विद्युतीय एसयूभीमध्ये एक हो । यसमा १०.१ इन्चको डिजिटल डिस्प्ले, १०.२५ इन्चको बहु–सूचना डिस्प्ले, ‘इन्फिनिटी बाइ हार्मन’ ध्वनि प्रणाली, वायरलेस कनेक्टिभिटी, स्थिर काँचयुक्त सनरुफ, हावायुक्त सिट तथा बहुरङ्गी वातावरणीय प्रकाशजस्ता प्रिमियम सुविधा उपलब्ध छन् । साथै, इको, नर्मल र स्पोर्ट्स ड्राइभिङ मोडसँगै ‘स्नो टेरेन मोड’ र पुनःऊर्जा उत्पादन गर्ने ब्रेकिङ सुविधा पनि समावेश गरिएको छ । कम्पनीले ई–भिटाराले ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने जनाएको छ ।
विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्य बनाउन मौलिकता जोगाउन आग्रह
काठमाडौं । नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताएका छन् । उनले सन् २०२७ लाई ‘वेलनेस पर्यटन वर्ष’ घोषणा गरिसकिएको उल्लेख गर्दै त्यसको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियाले नीति तथा योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । 'आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त हुने सुझावहरूले आगामी योजना निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छु,' उनले भने । त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए । उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्न सक्ने धारणा राखे । 'नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिन सक्छ । नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका उत्कृष्ट स्रोत हुन्,' उनले भने । कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एन्ड टुरिजम म्यानेजमेन्टकी सहायक डिन प्रा. डा. डेनिज क्युचकुस्ताले ‘नेपालः सेक्रेड ल्यान्ड टु वेलनेस डेस्टिनेसन’ विषयमा प्रस्तुति दिएकी थिइन् । उनले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् । उनले आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी तथा डिजिटल डिटक्स अहिलेका प्रमुख विश्वव्यापी प्रवृत्ति भएको बताइन् । 'नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्छ,' उनले भनिन् । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् । त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको बताए । 'योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,' उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए । वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याइन् । 'हाम्रो संस्कृति, खानपान र दैनिक जीवनशैलीमै मौलिक वेलनेस अभ्यास छ । हामीले अन्य देशको नक्कल गर्नु पर्दैन, आफ्नै मौलिकता जोगाउनुपर्छ,' उनले भनिन् । कार्यक्रमको सुरुवात ‘साउन्ड हिलिङ’ सत्रबाट गरिएको थियो, जहाँ विभिन्न ध्वनिमार्फत मानसिक शान्ति र ऊर्जाको अनुभूति गराइएको थियो । कार्यक्रमको सहजीकरण बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले गरेका थिए । उनले नेपाल सरकारले प्राथमिकतामा राखेको वेलनेस पर्यटन प्रवर्द्धनमा बोर्ड सक्रिय रहेको उल्लेख गर्दै विश्वले शान्ति र आरोग्य खोजिरहेको वर्तमान अवस्थामा नेपाल उत्कृष्ट वेलनेस गन्तव्य बन्न सक्ने बताए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेसहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
रेड कर्नर नोटिस जारी गरिएका लावती दुबईबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । बिहीबार पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय लावतीलाई एनसीबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न समयमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार थिए। खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।