विकासन्युज

सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्र र सञ्चालकमा नारायणराज नियुक्त

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन् । सिटिजन्स बैंकको तर्फबाट मनोनीत भई सिटिजन्स क्यापिटलको अध्यक्ष रहेका पारसकुमार काफ्लेको निधनका कारण रिक्त पदमा यही १३ गतेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । साथै, उक्त बैठकले नारायणराज अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको छ । उक्त बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेडको तर्फबाट अन्य सञ्चालक प्रमेशराज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवास खड्का, स्वतन्त्र सञ्चालकहरू अभिजित मुल, ज्योत्सना बोहरा पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रर्वद्धन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको सह-लगानी छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरूले पूँजीबजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या समाधानका लागि संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरका शाखा कार्यालबाट प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

अध्यक्षको घरबाट सीईओ पदमुक्त, प्राधिकरण पुगे विजय

काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनी पनि असारे चटारोमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ सकिन करिब दुई साता बाँकी रहँदा वित्तीय संस्थाका कर्मचारी तथा व्यवस्थापन तहका कर्मचारीहरूलाई भ्याइनभ्याई छ । कम्पनीको व्यवस्थापकीय प्रमुखलाई एकातर्फ वार्षिक हिसाब किताब मिलाउन दबाब छ भने अर्कोतर्फ आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण गर्न तनाब छ । यो रस्साकस्सी र प्रतिस्पर्धा विभिन्न कम्पनीका व्यवस्थापकीय नेतृत्वमा छ । तर, यो असारे चटारोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहलाई पदमुक्त गरेर आफ्नो साहसीपन देखाएको छ । सीईओ शाहको कार्यकाल बाँकी रहँदै कम्पनीको सञ्चालक समितिले उनलाई पदमुक्त गरेको हो । असारे चटारो र कार्यकाल बाँकी रहँदै सीईओ शाहलाई पदमुक्त गरेपछि बीमा बजार, सञ्चार माध्यम र सरोकारवालाहरुले पनि यो विषयलाई गम्भीरताका साथ चासो दिएका छन् । बीमासँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी हुन सीईओ शाह केही दिनअघि अमेरिका पुगेका थिए । सञ्चालक समितिले निर्णय गरेर बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले समेत उनलाई अमेरिका जान अनुमति दिएको थियो । यो अवधिसम्म सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र अन्य सञ्चालकसँग सीईओ शाहको सम्बन्ध राम्रै थियो । तर, सीईओ शाह अमेरिका पुगेपछि माहोल परिवर्तन भयो । कम्पनी स्रोतका अनुसार अध्यक्ष श्रेष्ठसामू केही कर्मचारी र सञ्चालक समितिकै सदस्यले सीईओ शाहमाथि गम्भीर आरोप लगाएका छन् । सो कुरा सुनेपछि अध्यक्ष श्रेष्ठले तत्काल आफ्नै घरमा सञ्चालक समितिको बैठक बोलाएर उनलाई सीईओबाट पदमुक्त गर्ने निर्णय गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ र सीईओ शाह साथीजस्तै थिए । उनीहरू उमेरले पनि एउटै समूहका हुन् । बीमासँग सम्बन्धित कुनै ठूलो निर्णय वा डिल गर्नु पर्यो भने सीईओ शाह अध्यक्षको घरमै पुग्ने गरेका थिए । तर, एकाएक फेरिएको माहोलले हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीमा पनि तरङ्ग मच्चिएको छ । अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ । ‘अध्यक्ष र सीईओबीच राम्रो सम्बन्ध थियो, धेरै विषयमा सरसल्लाह गर्न घरमै बोलाउनुहुन्थ्यो, ठूल्ठूला डिल गर्न सीईओ शाह कहिले घरमा जानुहुन्थ्यो भने कहिले अध्यक्षज्यू नै कार्यालयमा आउनु हुन्थ्यो,’ कम्पनी स्रोतले भन्यो, ‘तर, सीईओ अमेरिका हुँदा उहाँका बारेमा नकारात्मक कुराहरू अध्यक्षलाई सुनाएपछि अचानक अध्यक्षज्यूले सञ्चालक समिति बैठक आफ्नै घरमा बोलाएर पदमुक्त गर्ने निर्णय गर्नुभएछ ।’ नेपाल बीमा प्राधिकरणमा परेको उजुरीका आधारमा सीईओ शाहलाई हटाइएको जवाफ सञ्चालक समितिले दिने गरेको कम्पनी स्रोतको भनाइ छ । ‘यो समय धेरै काम हुने हो, किन यस्तो भयो भन्ने प्रश्नमा प्राधिकरणमा उजुरी धेरै परेपछि सीईओलाई हटाइएको भन्ने घुमाउरो उत्तर दिइएको छ । तर, ठूलो स्क्याण्डल उजुरी प्राधिकरणमा परेको छैन,’ स्रोतले भन्यो, ‘दैनिक काम गर्दा चित्त नबुझेपछि कम्पनीका विरूद्द उजुरी परेका छन्, प्राधिकरणले सामान्य रूपमा मौखिक निर्देशन दिएर गल्ति नदोहोर्याउनु भनिरहेको हुन्छ, जबकी अन्य कम्पनीका सीईओलाई प्राधिकरणले पत्र नै काट्ने गरेको छ ।’ प्राधिकरण पुगे शाह सीईओ शाह पदमुक्त भएपछि नियामक नेपाल बीमा प्राधिकणमा पुगेका छन् । प्राधिकरण स्रोतका अनुसार सीईओ शाहले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलावल र कर्मचारीहरूलाई भेटेर आफूलाई सञ्चालक समितिले गैरकानुनी रूपमा पदमुक्त गरेको भन्दै मौखिक जानकारी गराएका छन् । बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ३ मा सञ्चालक समितिले सीईओको कार्यसम्पदान सन्तोषजनक नभएमा जुनसुकै बखत पदबाट हटाउन सक्ने व्यवस्था छ । तर, पदबाट हटाउनुअघि सफाइ पेस गर्ने मौका दिनुपर्ने प्रावधान छ । कम्पनी सञ्चालक समितिले सीईओ शाहको कार्यसम्पादन सन्तोषजनक नभएकाले पदबाट हटाइएको बताएको छ । तर, सञ्चालक समितिले सफाइको मौका नदिई आफूलाई पदबाट अचानक हटाइएको गुनासो सीईओ शाहले प्राधिकरण समक्ष गरेका छन् । सीईओ विजय बहादुर शाह । ‘कुनै पनि सफाइको मौका दिइएको छैन, एकाएक हातमा चिठ्ठी थमाएर पदमुक्त गरियो, लिखित रूपमा निवेदन नदिएपनि मौखिक जानकारी गराउनु भएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘सञ्चालक समितिले सीईओलाई गरेको नियुक्तिलाई प्राधिकरणले अनुमोदन गर्छ, सीईओलाई बीमा ऐनले चिन्छ, हटाउनुअघि सफाइको मौका दिनुपर्ने भएपनि उहाँले आफूलाई मौका नदिएको गुनासो गर्नु भएको छ ।’ सीईओ शाहले कानुनी लडाईं लड्ने र प्राधिकरणमा पनि लिखित निवेदन दिने विषय अध्यक्ष सिलवाल समक्ष राखेका छन् । स्रोतका अनुसार हालसम्म सीईओ शाह विरुद्ध प्राधिकरणमा उजुरी परेको छैन । दैनिक काम गर्दा त्रुटी भएपछि कम्पनीका विरुद्ध उजुरी पर्नु स्वाभाविक रहेको प्राधिकरण स्रोतको भनाइ छ । ‘सीईओ शाहले निवेदन दिनुभयो भने प्राधिकरणले सञ्चालक समितिलाई के कति कारणले पदमुक्त गरेको हो भनेर जवाफ माग्छ, जवाफका आधारमा हामीले निर्णय लिन्छौं,’ प्राधिकरण स्रोतले भन्यो, ‘कार्यसम्पादनप्रति असन्तुष्टि रहेको खण्डमा निकाल्न पाइने भनिए पनि सो व्यक्तिलाई सफाइको अवसर दिनुपर्छ, जे मनमा लाग्यो त्यही गरेर निकाल्न पाइँदैन भनेर ऐनले नै भनेको छ ।’

सुनसरी-झापा सडक दुई वर्षमा २९ किलोमिटर कालोपत्रे

झापा । वन क्षेत्रका रुखहरू हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट अभावका कारण मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डमा २९ किलोमिटर सडक मात्र कालोपत्रे भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार ठेक्का व्यवस्थापन भएको ९८.८ किलोमिटर सडकमध्येबाट दुई वर्षमा २९.५ किलोमिटर सडक कालोपत्रे भएको हो । विसं २०७९ मा सडकको ठेक्का व्यवस्थापन भई चालुरहेका ठेक्कामा सुनसरीमा सात किलोमिटर, मोरङमा सात किलोमिटर, झापामा तीन किलोमिटर र इलाममा छ किलोमिटर गरी २३ किलोमिटर सडक वन क्षेत्रका कारण निर्माणमा कठिनाइ भएको उनले बताए । उनले सुनसरीको सर्दुखोला र झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १२७ दशमलव आठ किलोमिटर लम्बाइको बन्ने सडकमध्ये ९८.८ किलोमिटर मात्र ठेक्का व्यवस्थापन भएको बताए । जिल्लाको कमल खोलादेखि इलामको सहादत्तस्थलसम्मको ३२ किलोमिटर र चतरादेखि सार्दुखोलासम्मको ६ किलोमिटर सडक व्यवस्थापन गर्न अझै बाँकी रहेको उनले बताए । ‘एकातिर सडक निर्माणका लागि पर्याप्त बजेट छैन,’ सडक निर्माणमा ढिलाइ हुने कारणबारे प्रष्ट पार्दै प्रवक्ता दत्तले भने, ‘अर्कातिर वन तथा वातावरण मन्त्रालयमा पटक–पटक रुख कटान अनुमतिका लागि पत्राचार गर्दा अनुमति पाइएको छैन ।’ उनले हालसम्म सडकको भौतिक प्रगति ५२ प्रतिशत र वित्तीय प्रगति ४८.८१ प्रतिशत रहको जानकारी दिए । उनका अनुसार ६ वटा ठेक्का सम्झौता गरिएमध्ये विभिन्न स्थानमा गरी २९ किलोमिटर सडक कालोपत्रे भएको हो ।

स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ

पर्सा । प्रहरीले स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ नगदसहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ । बिहीबार दिउँसो भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई जगरनाथपुर गाउँपालिका–५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र ५ सय दरको १ सय थान रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

जानकी । नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा ६ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताए । ‘यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिकाज्येष्ठ नागरिक हुनुहुन्छ,’ उनले भने, ‘यो पालिका बाँकेको दुर्गम पालिकाअन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।’ गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्यूरो लगायतका रोगहरूको जाँच गरिएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । उनले उक्त शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित बिरामीले गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताए । उक्त शिविरमा तीन सय ३८ महिला, दुई सय ८२ ज्येष्ठ नागरिक र ५० बालबालिकाले स्वास्थ्य जाँच गराएको गणपति श्रेष्ठले जानकारी दिए । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायकरथी रोशन शम्शेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पुर्‍याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरहरूलाई प्रसंशा पत्र प्रदान गरेका थिए ।

‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्वर भूमि’

महोत्तरी । मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्वर भूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् । बिहीबार होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मधेस चुरे पर्वत श्रेणीबाट भारतीय सीमासम्म फैलिएको भौगोलिक विविधतायुक्त प्रदेश रहेको बताएका हुन् । ‘हामीले पर्यटन प्रवर्द्धन गर्न प्रदेशका आठ जिल्लालाई चार समूहमा राखेर काम गर्ने निर्णय गरेका छौँ,’ मुख्यमन्त्री सिंहले भने, ‘सम्भावित नयाँ ठाउँको पहिचान र यसअघि नै विशिष्ट महत्व बोकेका स्थलको संरक्षण र प्रवर्द्धन गरिनेछन् ।’ मुख्यमन्त्री सिंहले मधेसका वन, भूगोल, धार्मिकस्थल, कृषि र स्वास्थ्य पर्यटनका मुख्य क्षेत्र बन्नसक्ने उल्लेख गरे । ‘आँखा र सर्पदंशको उपचार लिन भारतको बिहारबाट मान्छे आउँछन्, हामीले यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सक्नुपर्छ,’ उनले भने । चुरे शृङ्खलाका चनौटे, बेसारेसहितका उच्च डाँडालगायतका स्थान पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको उनको भनाइ छ । जनकपुरधाम, राजविराज र सिमरासहित तीन विमानस्थललाई  मुलुकका विभिन्न ठाउँसँग हवाई मार्गमा जोडेर व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ । ‘पर्वतीय क्षेत्र अवलोकन गर्न चाहने पर्यटकलाई हाम्रा विमानस्थलबाट १० मिनटमै अवलोकन गराउन सक्छौँ,’ सिंहले भने, ‘हामीले यसका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ ।’ विकासका सन्दर्भमा जनतामा पलाएको आशा मर्न नदिने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा आयोजकका तर्फबाट मुख्यमन्त्री सिंहलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमले अभिनन्दनपत्र प्रदान गरे । कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकी र महासंघका संरक्षक सल्लाहकार विजय झुनझुनवालागायतको उपस्थिति रहेको थियो ।

आफ्नै स्रोत नभएका स्थानीय तहलाई शतप्रतिशत समानीकरण अनुदान दिन्छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नै स्रोत नभएका स्थानीय तहहरूलाई समानीकरण अनुदान आगामी आर्थिक वर्षमा शतप्रतिशत बनाउने योजना रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री पुनले सरकारले आफ्नै स्रोत नभएका स्थानीय तहहरुलाई ९३ प्रतिशत समानीकरण अनुदान दिँदै आए पनि आगामी वर्षदेखि शतप्रतिशत बनाउने कोशिश भइरहेको बताएका हुन् । स्थानीय तहलाई बजेट अनुमान र खर्च गर्न सजिलो बनाउने गरी समानीकरण अनुदान संघीय सरकाले उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले अहिले पनि धेरै स्थानीय तहहरूको आफ्नो स्रोत नभएको तर कर्मचारी तलब, भत्ता, शिक्षा, स्वास्थ्यमा खर्च गर्नुपर्ने अवस्था रहेको बताए । सरकारले त्यस्ता स्थानीय तहलाई ९३ प्रतिशत समानीकरण अनुदान रकम पठाउँदै आएको उनले बताए । प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सूत्रअनुसार नै समानीकरण अनुदान रकम स्थानीय तहहरूमा पठाउने र सशर्त वा विशेष अनुदानमा पछाडि परेका पालिकालाई क्षमता विकास गर्ने हिसाबले आवश्यकता भएका स्थानीय तहहरूलाई मात्रै पठाउने योजना रहेको जानकारी दिए । उनले स्थानीय तहलाई सकेसम्म सशर्त रकम घटाउने र समानीकरण अनुदानमा वृद्धि गर्ने योजना रहेको बताइन् । अर्थ मन्त्रालयबाट धेरैभन्दा धेरै बजेट समानीकरण अनुदानमा पठाउने योजना रहेको बताए । समानीकरण अनुदान वित्त आयोगको सिफारिस लिएर मात्रै घटाउने/बढाउनुपर्ने सुझाव सकारात्मक रहेको भन्दै सरकारले पनि प्रस्तावअनुसार नै पठाउने योजना रहेको बताए । प्रदेश र स्थानीय तहका बजेटहरूलाई अनुमानयोग्य बनाउन सकियोस भन्ने सरकारको प्रतिबद्धता रहेको जानकारी दिए । उनले राजस्व संकलनको आधारमा समानीकरण अनुदान पठाउने भएकाले राजस्व संकलनका आधारमा त्यही बराबरको समानीकरण रकम पठाउने गरिएको दाबी गरे । चालु आर्थिक वर्षमा ७५ प्रतिशतको हाराहारीमा समानीकरण रकम स्थानीय तहमा पठाए पनि गुनासो आएकाले ९३ प्रतिशत पुर्याएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा विनियोजन कुशलता रहेको भन्दै बजेट विनियोजन अनुसारको कार्यान्वयन गरिने बताए । संघीय सरकारले प्रदेश र स्थानीय तहमा रकम पठाउने तर खर्च नहुने अवस्था रहेको जानकारी दिए ।

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीले काठमाडौं बर्नहार्ट कलेजमा पूर्णछात्रवृत्ति पाउने

काठमाडौं । काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजले २५ जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति दिने घोषणा गरेको छ । विद्यालयले आगामी शैक्षिक सत्र कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति दिने घोषणा गरेको हो । कलेजले २५औं वर्षमा प्रवेश गरेको अवसर पारेर कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरेर याे योजना बनाएको कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले बताए । कक्षा ११ र १२ दुबैमा लागु हुने पूर्णछात्रवृत्ति योजना प्राप्त गर्नका लागि माध्यमिक शिक्षा, एसईई परीक्षामा ४ जीपीए अनिवार्य गरिएको छ । कलेजको यो घोषणासँगै ४ जीपीए ल्याएका पहिला भर्ना हुन आउने २५ जनाले काठमाडौं बर्नहार्ट विद्यालय तथा कलेजमा कक्षा ११ र १२ निःशुल्क अध्ययनको अवसर पाउने छन् ।