सुनसरी-झापा सडक दुई वर्षमा २९ किलोमिटर कालोपत्रे

<p>झापा । वन क्षेत्रका रुखहरू हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट अभावका कारण मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डमा २९ किलोमिटर सडक मात्र कालोपत्रे भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार ठेक्का व्यवस्थापन भएको ९८.८ किलोमिटर सडकमध्येबाट दुई वर्षमा २९.५ किलोमिटर सडक कालोपत्रे भएको हो । [&hellip;]</p>

झापा । वन क्षेत्रका रुखहरू हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट अभावका कारण मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डमा २९ किलोमिटर सडक मात्र कालोपत्रे भएको जनाइएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार ठेक्का व्यवस्थापन भएको ९८.८ किलोमिटर सडकमध्येबाट दुई वर्षमा २९.५ किलोमिटर सडक कालोपत्रे भएको हो ।

विसं २०७९ मा सडकको ठेक्का व्यवस्थापन भई चालुरहेका ठेक्कामा सुनसरीमा सात किलोमिटर, मोरङमा सात किलोमिटर, झापामा तीन किलोमिटर र इलाममा छ किलोमिटर गरी २३ किलोमिटर सडक वन क्षेत्रका कारण निर्माणमा कठिनाइ भएको उनले बताए ।

उनले सुनसरीको सर्दुखोला र झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १२७ दशमलव आठ किलोमिटर लम्बाइको बन्ने सडकमध्ये ९८.८ किलोमिटर मात्र ठेक्का व्यवस्थापन भएको बताए । जिल्लाको कमल खोलादेखि इलामको सहादत्तस्थलसम्मको ३२ किलोमिटर र चतरादेखि सार्दुखोलासम्मको ६ किलोमिटर सडक व्यवस्थापन गर्न अझै बाँकी रहेको उनले बताए ।

‘एकातिर सडक निर्माणका लागि पर्याप्त बजेट छैन,’ सडक निर्माणमा ढिलाइ हुने कारणबारे प्रष्ट पार्दै प्रवक्ता दत्तले भने, ‘अर्कातिर वन तथा वातावरण मन्त्रालयमा पटक–पटक रुख कटान अनुमतिका लागि पत्राचार गर्दा अनुमति पाइएको छैन ।’

उनले हालसम्म सडकको भौतिक प्रगति ५२ प्रतिशत र वित्तीय प्रगति ४८.८१ प्रतिशत रहको जानकारी दिए । उनका अनुसार ६ वटा ठेक्का सम्झौता गरिएमध्ये विभिन्न स्थानमा गरी २९ किलोमिटर सडक कालोपत्रे भएको हो ।

Share News