धनुषामा धान रोपाइँ सुरु, मल अभाव
जनकपुरधाम । केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ । असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन् । संघीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल प्रयाप्त मात्रामा भए पनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गरे । उनका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म २४ करोड ४१ लाख ७३ हजार ५ सय ५० रुपैयाँ बराबरको ९३ हजार ३ सय ३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ । ९ करोड ३३ लाख ७६ हजार १ सय ३० रुपैयाँ बराबरको ५ हजार ५ सय १३ मेट्रिक टन युरिया, १६ करोड ४३ लाख ४५ हजार रुपैयाँ बराबरको ३ हजार ५ सय ७२ मेट्रिकटन डिएपी, ५७ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको १ सय ७० मेट्रिकटन पोटास तथा ६ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए । उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया दुई हजार दुई सय ६२ मेट्रिकटन, डिएपी एक सय १४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ । ‘धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ,’ उनले भने । यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइँने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए । ‘जनकपुर शाखाबाट धनुषा तथा महोत्तरीका २७ पालिकाअन्तर्गत रहेका दुई सय नौ सहकारी संस्थामार्फत मल जाने गरेको छ, जिल्लाका सम्बन्धित पालिकाको ढिलासुस्तीका कारण किसानलाई मलको अभाव देखिएको हो,’ उनले भने । स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा बिक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन् । भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमिनको उत्पदान क्षमतामा ह्रास आउँदै गएको किसान यादवले बताए । कृषि सामग्री संस्थाबाट मल नपाउँदा सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उनले जानकरी दिए । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकता अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । सहजरूपमा मल पाउन गाह्रो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताए । स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शिता लागु नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उनको बुझाइ छ । प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन् । कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रति बोरा आठ सय ५०, डिएपी ५० किलोको प्रतिबोरा दुई हजार तीन सय ५०, पोटास प्रतिबोरा एक हजार सात सय ५० मा बिक्री गर्दै आएको छ । स्थानीय बिक्रेताले जथाभावीरूपमा बिक्री गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खरिद गर्नुपरेको गुनासो गरेका छन् ।
टेस्ला डायग्नोस्टिक क्लिनिकमा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच समझदारी भएको छ । बैंक र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द
चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए । निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको पुर्जा पुनले जानकारी दिए । निकुञ्जभित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्नेसक्ने छन् । रासस
रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग
काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिवपार्वती वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पुर्याउने हेतुले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । वृद्धवृद्धा जिवनमा लामो अनुभव बटुलेर हुने अवस्था हो, त्यसैले यस अवस्थामा सहयोग गर्नु सबैको जिम्मेवारी रहेको भन्दै उनले नेपाल टेलिकमले सोही जिम्मेवारीलाई बहन गरेको बताए । प्रादेशिक निर्देशनालय पोखराका व्यापार प्रमुख महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वको बहन गर्दै समाजमा आश्रित रुपमा रहेका वृद्धवृद्धालाई सहयोग गर्दा प्रेरणा प्राप्त हुने बताए । वृद्धाश्रममा उपाध्यक्षको भूमिका निर्वाह गरेका अर्जुन प्रसाद खनालका अनुसार वृद्धाश्रममा कोही पनि छोराछोरी नभएका असहाय वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन् । उनिहरुलाई आवश्यक पर्ने खाद्यन्न सामग्री लगायतका विभिन्न सामानहरु वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा नेपाल टेलिकम दुरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्याय, वृद्धाश्रमका सञ्चालक सुनिल श्रेष्ठ, प्रादेशिक निर्देशनालय पोखराका व्यापार अधिकृतद्वय रजनिश पौड्याल, भरत बास्तोला लगायतले वृद्धाश्रमको सहयोगका लागि सबैले आ–आफ्नो ढंगले सहयोग गर्नुपर्ने बताउँदै सामग्री वितरणमा सहयोग गरे ।
खस्कियो एसईईको नतिजा, पासभन्दा फेल बढी
काठमाडौं । यस पटक राष्ट्रिय परीक्षा बाेर्डले एसईईका विद्यार्थी पास फेल भएको प्रष्ट पारेको छ । लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको सावर्जिनक गरेको हो । बाेर्डले २०८० सालको एसईई परिक्षा सार्वजनिक गर्दै विद्यार्थी फेल र पास भएको प्रष्ट जानकारी गराएको हो । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । याे भनेकाे २ लाख २२ हजार ४७२ जना हो । नियमिततर्फ २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । उत्तीर्ण भएकामध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२. १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनु पर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । विगतको तुलनामा एसईईको नतिजा यस पटक नतिजा खस्किएको छ । २०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको विषय पढ्न पाउने व्यवस्था थियो । कति ल्याए जीपीए ? राष्ट्रिय परीक्षा बोर्डका अनुसार ६ जनाले २ जीपीएसम्म ल्याएका छन् । २ हजार ९५० विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् । यस्तै, ४१ हजार १७७ जना विद्यार्थीले २.४० देखि ३.८० जीपीए ल्याएका छन् । यस्तै, ७८ हजार ८७४ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए ल्याएका छन् भने ६८ हजार २५६ जना विद्यार्थीले ३.२० देखि ३.६० प्रतिशत जीपीए ल्याएका छन् । बोर्डका अनुसार ३१ हजार २०९ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् । १ लाख १५ हजारले परीक्षा दिन पाउने ननग्रेड ल्याउने मध्ये दुई विषयमा अनुतिर्ण भएर अबको एक महिनाभित्र सञ्चालन हुने परिक्षा सहभागी हुन पाउने छन् । त्यसमा १ लाख १५ हजार ८ सय ३४ छ ६७ हजार ७ सय ९३ विद्यार्थी एक विषयमा अनुतिर्ण भएका छन् भने ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुर्तीण भएका छन् । उनीहरूले एक महिनापछि अथवा साउन १८ र १९ गते हुने मौका परिक्षा दिन पाउने छन् । अन्य समूहका ४ जना पास एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका १२ जना सहभागी भएकोमा ४ जना मात्र उत्तीर्ण भएका छन् भने ८ जना फेल भएका छन् । बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १–१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् । २ सय २० जनाको परिक्षा रद्द २०८० सालमा एसईई दिएका २ सय २० जनाको परिक्षा रद्द भएको छ । बाेर्डका अनुसार भोजपुर १, सप्तरी १सय ५४, सर्लाही ६, धनुषा ४, खोटाङ ३, महोत्तरी ३९,रौतहट, दैलेख १, १, बारा, बझाङ, इलाम, काभ्रे २,२ र जाजरकोटमा ३ जनाको गरी विभिन्न १३ जिल्लाका २ सय २० जनाको परिक्षा रद्द भएको छ । कुन विषयमा कति एनजी ? बाेर्डका अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा नन ग्रेड अर्थात् एनजी आएको छ । बाेर्डका अनुसार गणितमा एक लाख ७७ हजार नौ सय ८५ जना, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ जना, अंग्रेजीमा एक लाख एक हजार तीन सय ८३ जना र सामाजिकमा ७३ हजार आठ सय ७७ जना विद्यार्थीकाे नन ग्रेड अर्थात एनजी देखिएकाे छ । यस्तै, नेपालीमा ६९ हजार पाँच सय ३२ जना, अर्थशास्त्रमा ६९ हजार चार सय १६, ऐच्छिक गणितमा २० हजार तीन सय ५२काे एनजी देखिएकाे छ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ । प्रदेशगत नतिजा बाेर्डका अनुसार कर्णाली प्रदेशमा कुल ३५ हजार ३४ विद्यार्थी सहभागी भएकाेमहा २० हजार ३ सय ८० जना विद्यार्थी अनुतीर्ण भएका छन् ।सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ६ सय ४ सय ४६ जना विद्यार्थी सहभागी भएकाेमा ३६ हजार ४ सय १० जना अनुतीर्ण र गण्डकी प्रदेशबाट ४० हजार ५२६ जना सहभागी भएकाेमा २० हजार २७५ जना अनुतीर्ण भएका छन् । यस्तै, लुम्बिनीबाट ८० हजार ३२७ सहभागी भएकाेमा ४९ हजार २२४ जना फेल भएका छन् भने मधेश ७९ हजार ५९२ जना सहभागी भएकाेमा ४२ हजार २८६ जन विद्यार्थी फेल भएका छन् । बागमतीबाट ९९ हजार ८७२ सहभागी भएकाेमा ३३ हजार ८४२ फेल र कोशीबाट ७५ हजार ९८८ जना सहभागी भएकाेमा ३९ हजार ८९५ जना फेल भएका छन् । चित्त नबुझे निवेदन दिन मिल्ने बिहीबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा चित्त नबुझे निवेदन दिन सकिनेछ । यसका लागि नतिजा प्रकाशन भएको दिनदेखि १५ दिन भित्र निवदेन दिइसक्नुपर्ने छ । नतिजा नखुलेमा,नम्बर नदेखाएमा , अनुपस्थित देखिएमा पनि निवेदन दिन सकिने बोर्डले जनाएको छ । यसका लागि विद्यार्थीले अनलाईनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था रहेको जनाइएको छ ।
साताको अन्तिम कारोबार दिन नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३३३ स्टकको ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सेयर घटेसँगै कारोबार रकम पनि क्रमश घट्दै गएको छ । मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ । विकास बैंकिङ उपसमूह ९ अंकले र म्युचुअलफण्ड ०.०७ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको परिसूचक बुधबार सर्वाधिक १.०३ प्रतिशत घटेको थियो । त्रिशूली जलविद्युतको सेयर सर्वाधिक ७.०९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार पनि कारोबार रकमको आधारमा सोही कम्पनी शीर्ष स्थानमा रहेको थियो । सो दिन कम्पनीको १६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् । उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् । स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान सुुरु गर्नुपर्ने बताइन् । ‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस्, जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया सुरु गर्नुपर्छ’, उनले भनिन् । त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरुमा प्रमुख प्रकाशकिय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताए । कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताइन् । उनले स्थानीय सरकारहरु आर्थिक अनुशासनमा बस्न नसकेका बताइन् ।
पथलैया-हेटौँडा खण्डमा २ किलोमिटर ‘नमुना सडक’ एक साताभित्र तयार हुने
वीरगञ्ज । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दुरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किमी खण्डमा नमुना सडकका रूपमा स्तरोन्नति गर्न लागेको बताए । ‘यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिँदै आइरहेको छ । पहिलो चरणमा पथलैया–हेटौँडा खण्डको आधाभार क्षेत्रमा नमुना सडक स्तरोन्नति अगाडि बढाएका थियौं,’ सूचना अधिकारी पाण्डले भने, ‘अहिलेसम्म दुई लेनको एक हजार दुई सय मिटर सडक तयार भइसकेको छ, बाँकी आठ सय मिटर पहिलो चरणमा कालोपत्र ९डिबिएम० भइसकेको छ, दोस्रो चरणको अस्फास्ट कालोपत्र गर्ने काम दुईरतीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँं ।’ उनले वर्षा सुरु भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए । यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको लागत ४ करोड १२ लाख १७ हजार तीन सय ४८ रुपैयाँ रहेको छ । ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका केही समय ढिला भएको सूचना अधिकारी पाण्डको भनाइ छ । उनले यो प्रविधिको कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे । ‘हामीले परीक्षणको क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गर्दैछौँ, यो सडक कालोपत्र राम्रो भएको खण्डमा अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ,’ सूचना अधिकारी पाण्डले भने, ‘यो खण्डको सडक पहिलो चरणमा डिबिएम कालोपत्र र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरिनेछ, यो प्रविधिले सडक भासिने समस्याको पनि अन्त्य गर्ने विश्वास गरेका छौँ ।’