विकासन्युज

व्यावसायिक बेसारखेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरान । धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेको बताए । उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यस वर्ष बेसारको राम्रै मूल्य रहेकाले आम्दानी पनि राम्रै भइरहेको उनी सुनाउँछन् । उनले वर्षमा चारदेखि पाँच क्विन्टलसम्म बेसार उत्पादन गर्दै आएका छन् । जसबाट वार्षिक दुई लाख रुपैयाँदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । अहिले बजारमा बेसार खुद्रा मूल्य प्रतिकेजी दुई सय ८० रुपैयाँदेखि तीन सयसम्ममा बिक्री हुने गरेको छ । बेसार उत्पादक तुलसिङले भने, ‘मैले चार कठ्ठा जग्गामा बेसारखेती गरेको छु, तीन/चार पटक गोडमेल गर्नुपर्छ, मेहनतअनुसारको आम्दानी पाएकाले खुसी छु ।’ यहाँ उत्पादित बेसार धरान–१७ को मङ्गलबारे बजार, धरान कृषि बजारदेखि पोखरा, काठमाडौं, लहान तथा छिमेकी मुलुक भारतलगायतका ठाउँहरुमा जाने गरेको छ । व्यावसायिक रूपमा बेसारखेती गर्दै आएका अर्का किसान धरान उपमहानगरपालिका–२० का तिलक राई मौसमले साथ दिएको अवस्थामा बेसारखेतीबाट राम्रै आम्दानी हुने गरेको बताउँछन् । ‘चार/पाँचकठ्ठा जमिनमा बेसारखेती गर्दै आएको छु, वार्षिक चार क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने गरेको छ, यसबाट रु तीन लाखभन्दा बढी आम्दानी हुन्छ’, उनले भने । धरानको  विष्णुपादुकामा यस क्षेत्रमै सबैभन्दा धेरै बेसारखेती हुन्छ । ४१ वर्षदेखि बेसारखेती गर्दै आएका राईले भने, ‘बेसार उत्पादन गर्दा मेहनत धेरै लाग्छ, हलोले जोत्न मिल्दैन, आफैँले कुटो, कोदालो लगाएर खन्नुपर्ने हुन्छ । पहाड जस्तो ठाउँमा गिटी, ढुङ्गा र बालुवा मात्र हुन्छ, खन्न निकै साह्रो हुन्छ, तर मेहनतअनुसार मूल्य राम्रै भएकाले दुःख बिर्सन्छु, खुसी हुन्छु ।’ सोही ठाउँका अर्का किसान पदम राईले पनि बेसारखेती गरिरहेका छन् । यस क्षेत्रका उनी पुराना किसान हुन् । उनी पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँ यसै खेतीबाट आम्दानी गर्न सफल भएका छन् । बढीमा १० क्विन्टल बेसार उत्पादन गरेर उपभोक्ताको घरसम्म बेसार पुर्याउने काम सजिलो छैन, यो मेरो पुख्र्यौली खेती हो, उनको प्रतिक्रिया छ । विष्णुपादुकामा उत्पादित बेसार बजारीकरणका लागि धरानको कृषि बजारलाई दिएको र त्यहाँबाट भारतसम्म निर्यात हुने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बुले बताए । अध्यक्ष लिम्बुका अनुसार हाल विष्णुपादुकामा बेसारखेती गर्ने दुईसयको हाराहारीमा किसान छन् । उनीहरुले गर्ने बेसार, अदुवाखेतीमा किरा लाग्ने, कुहिने समस्या देखापर्न थालेपछि त्यसको समस्या समाधानका लागि कृषि विज्ञको सल्लाहअनुसारको कीरा र रोग नियन्त्रण गर्ने औषधि किसानलाई प्रदान गरिँदै आएको जानकारी दिए । विष्णुपादुकाबाट धरान बजार पुग्न केही समय लाग्ने भएकाले विष्णुपादुका नजिकै रहेको बजार भञ्ज्याङ भन्ने ठाउँमा बजारको व्यवस्था गरेर किसानको सहजताका लागि छिट्टै सुरु गरिने वडा अध्यक्ष लिम्बुको भनाइ छ । विगतको तुलनामा चालु आर्थिक वर्षमा बेसारको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले भने, ‘विशेषगरी बेसार धरान उपमहानगरपालिका–२० बाट धेरै आउने गरेको छ भने पहाडी जिल्ला तेह्रथुम, पाँचथर, खोटाङ, धनकुटा लगायतबाट पनि बेसार बोकेर किसान आउने गरेका छन् । बेसार चैत, वैशाखमा सिजन हुने भएकाले त्यो समयमा धेरै आउने र यही सिजनमा वार्षिक दुई हजार चार सय मेट्रिकटनसम्म बेसार बिक्री हुने गरेको तथ्यांक छ ।’ विसं २०८० असार मसान्तदेखि गत जेठ सम्ममा धरान उपमहानगरपालिका–१३ कृषि बजारबाट जम्मा ४५ करोड रुपैयाँको बेसार बिक्री भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताउँदै यसको निर्यातमा सरकारको सहयोगको आवश्यकता रहेको जानकारी दिए । पछिल्लो समयमा बेसार भान्सामा मात्र सीमित नरहेर सौन्दर्यकरण, बिहेमा हल्दी लगाई कार्यक्रममा पनि खपत भइरहेको पाइएको छ । रासस

असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद यादव पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा मुछिएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । हत्या प्रकरणमा उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए । यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ। यादव लोकतान्त्रिक समाजवादी पार्टीका नेतासमेत हुन् । अदालतमा मुद्दा चलिरहेकै बेलादेखि यादव फरार थिए । उनीविरुद्ध महोत्तरी जिल्ला अदालतले असई बिक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाएको छ । उक्त प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई पनि अदालतले जन्म कैदको सजाय सुनाएको छ । हत्या प्रकरणमा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका छन् ।

संसद बैठकमै माननीयज्युहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् । ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यि अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ’, उनले भनिन् । उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।

प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले भिजा बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो । बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको जानकारी दिएको छ । बैंकका अनुसार प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरीएको हो । यो बिजनेस डेबिट कार्ड विशेषगरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । ‘व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पाेरेट र व्यापारिक घरानाहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन्’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्डमार्फत गरिएको भुक्तानी सुरक्षित रहने बैंकको दाबी छ । बिजनेस डेबिट कार्डको मद्दतले निम्नलिखित भुक्तानी आवश्यकतालाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिनेछ । यात्रा र मनोरञ्जन आवश्यकताहरू बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्नेछन् । यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलमार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिन्छ । यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीहरूलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नुपर्दैन र पछि हिसाब मिलान गर्न र अपरेशन झन्झट कम गर्दै अग्रिम भुक्तानहरू व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिन्छ । कार्यालय खर्च र खरिद आवश्यकताहरू बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आफ्नो आपूर्ति र खरीदको लागि भुक्तानी गर्न सक्दछन् । उनीहरूले विक्रेताहरूसँग राम्रो छुटको लागि सिधै कुराकानी गर्न सक्दछन् किनकि विक्रेताले उनीहरूको बैंक खातामार्फत तुरुन्तै सुरक्षित् रूपमा भुक्तानी प्राप्त गर्दछन् । प्रशिक्षण आवश्यकताहरू भुक्तानी प्रविधिमा तीव्र परिवर्तन र विश्वव्यापी रूपमा सहजताका साथ यसलाई अपनाउँदै, बिजनेस डेबिट कार्डहरूले संगठनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको लागि भुक्तानी गरेर उनीहरूको प्रशिक्षण आवश्यकताहरू पूरा गर्न मद्दत गर्न सक्छ । ई–कमर्स र पीओएस टर्मिनलहरू मार्फत भुक्तानी को स्वीकृतिसँग, व्यापारिक घरानाहरूले पारदर्शी र सजिलैसँग प्रशिक्षणको लागि भुक्तानी व्यवस्थित गर्न र भुक्तानी गर्न सक्दछन् । व्यवसाय डेबिट कार्डको साथ लाभ र मुल्य अभिवृद्धि ई–कमर्स, कन्ट्याक्टलेस पेमेन्ट र ओम्नी–च्यानल खरिदको वृद्धिसँगै व्यापारिक घरानाहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि डिजिटल पेमेन्ट सोलुसनहरू अपनाइरहेका छन् । बिजनेस डेबिट कार्डले व्यापारिक घरानाहरूका लागि सुरक्षित, भरपर्दो र प्रभावकारी तरिकाले डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दछ । प्रभु बैंकद्वारा सञ्चालनमा आएको यो बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रर्वद्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले विश्वास लिएको छ ।

बन्द हुँदै कोकाकोलाकाे बोटलिङ कम्पनी

काठमाडौ । विश्वको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनीमध्ये एक कोकाकोलाले आफ्नो बोटलिङ इन्भेस्टमेन्ट ग्रुप (बीआइजी) बन्द गर्ने भएको छ ।  थप सुव्यवस्थित रूपमा बाँकी बोटलिङ लगानीहरूको निरीक्षण गर्ने उद्देश्यले बीआइजीको मुख्यालय बन्द गर्न लागिएकाे बताइएकाे छ । यो अमेरिकी कम्पनीले नेपाल, भारतलगायत विश्वभरि आफ्नो बोटलिङ सञ्चालन गर्दछ । कोकाकोलाका अन्तर्राष्ट्रिय विकास अध्यक्ष हेनरिक ब्राउनले एक नाेट जारी गर्दै बीआइजीको कर्पोरेट कार्यालय जुन ३० (आज ) देखि बन्द हुने बताएका छन् । उनले बीआइजीको मुख्यालय बन्द गर्न र थप सुव्यवस्थित रूपमा बाँकी बोटलिङ लगानीहरूको निरीक्षण गर्न याे समय सही भएको बताएका छन् । नोटमा भारत, नेपाल र श्रीलंका कोकाकोलाको आन्तरिक बोर्डको निगरानीमा रहने उल्लेख छ । कोकाकोला भारतको पूर्णस्वामित्वमा रहेको बोटलिङ कम्पनी हिन्दुस्तान कोकाकोला बेभरेज (एचसीसीबी) सिधै बीआइजीको नियन्त्रणमा रहेकोले यो कदमले भारतलाई प्रत्यक्ष असर गर्नेछ । इटीले जुन १८ मा कोकाकोलाले एचसीसीबीमा अल्पसंख्यक हिस्सेदारी बेच्न कम्तीमा चार ठूला भारतीय व्यापारिक घराना र तिनीहरूको पारिवारिक कार्यालयहरूलाई सम्पर्क गरेको थियो । यो कदम कम्पनीको आईपीओअघि मूल्य अनलक गर्नु हो । आइतबारदेखि कोकाकोलाको बोटलिङ लगानी र सञ्चालन आन्तरिक बोर्डद्वारा व्यवस्थित गरिनेछ । यो बोर्डले बोतल व्यवसायको कार्यसम्पादन र रणनीतिको अनुगमन गर्नेछ । ब्राउनले बोर्डको अध्यक्षता गर्नेछन् । यसमा विश्वव्यापी सञ्चालन प्रबन्ध गर्ने वरिष्ठ अधिकारीहरू समावेश हुनेछन् । यसमा मोनिका हावर्ड डगलस, मुराट ओजेल, एनरिक रापेटी, तपस्वी चन्डेल र जोन मर्फी पर्छन् । ब्राउनले नोटमा भने कि यो निर्णयको उद्देश्य निर्णय प्रक्रियालाई अझ सरल बनाउन र सबै बजारहरूमा क्षमताहरू बलियो बनाउनु हो । हालका महिनामा कोकाकोलाले लेनदेनको श्रृंखला घोषणा गरेको छ, जसले बीआइजीको प्रभावलाई उल्लेखनीय रूपमा घटाएको छ । कम्पनीले ब्रान्ड निर्माण, बजार प्रवेश, नवप्रवर्तन र प्रतिस्पर्धी रणनीतिमा बढी ध्यान दिने योजना बनाएको छ । सोही कारण कम्पनीले बोटलिङ सञ्चालन बिक्री गर्ने तयारी गरेको हो । जनवरीमा एचसीसीबीले देशको उत्तरी, पूर्वी र उत्तर–पूर्वी भागहरूमा कम्पनीको स्वामित्वमा रहेका केही बोटलिङ सञ्चालनहरू आफ्ना तीन फ्रान्चाइजी बोटलर्स मून बेभरेज, एसएलएमजी बेभरेज र कन्धारी ग्लोबल बेभरेजलाई बेचेकाे थियाे । कम्पनीले यी बोटलिङ अपरेसनहरू रिफ्रेन्चाइज गरेर २९३ मिलियन डलर कमाएको बताएको थियो । एचसीसीबीले अब १६ प्लान्टहरू सञ्चालन गर्दछ । यो मुख्यतया पश्चिम र दक्षिण भारतमा फैलिएको छ । सन् २००६ मा कोकाकोलाले आफ्नो कम्पनीको स्वामित्वमा रहेको बोटलिङ सञ्चालनलाई बोटलिङ इन्भेस्टमेन्ट ग्रुप बनाउन एकीकृत गर्यो । त्यतिखेर यसले बोटलिङ सञ्चालनलाई उपयुक्त लगानी र विशेषज्ञता प्राप्त गर्न सुनिश्चित गर्ने उद्देश्य रहेको बताएको थियो । सन् २०२२/२३ मा एचसीसीबीको राजस्व ४० प्रतिशतले बढेर १२ हजार ८ सय ४० करोड भारु पुगेको थियाे । यस अवधिमा कम्पनीको खुद नाफा ८०९.३२ करोड रहेको छ जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो । कोकाकोलाको विश्वभरिका बोटलिङ सञ्चालनहरू सूचीबद्ध र निजी स्वामित्वमा रहेका कम्पनीहरूको मिश्रणको स्वामित्वमा छन् । विश्वभरिका यसका शीर्ष पाँच बोटलिङ साझेदारहरूले २०२२ मा यसको कुल एकाइ केस मात्राको ४२ प्रतिशत योगदान दिए । एजेन्सी

डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक छ : निर्देशक घिमिरे

काठमाडौं । डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्यांकअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेंगु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेंगु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश : डेंगु देखिन सुरु भइसकेको छ, अहिले सङ्क्रमणको अवस्था के छ ? नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो । पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ । डेंगु सङ्क्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ । पानी पर्न सुरु भएसँगै अब सङ्क्रमणको सम्भावना पनि सुरु भइसक्यो । हाल तथ्यांक हेर्दा भने ७२ वटा जिल्लामा एक हजार तीन सय ४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । विशेषगरी डेंगु कहिलेदेखि बढी देखिने गर्दछ ? जुनबेला तापक्रम बढ्छ, पानी पर्छ, अनि पाँच सात दिन पानी जम्मा भएर लामखुट्टेको जीवनचक्र पूरा भएपछि त्यो लामखुट्टेको सङ्ख्या बढी हुन्छ । जब मनसुन अगाडि बढ्छ त्यसरी नै सङ्क्रमण बढ्ने हो । लगातार पानी परिराख्यो भने सङ्क्रमण त्यति बढ्न पाउँदैन किनकी पानी एकै ठाउँमा जम्मा भइरहने अवस्था हुँदैन । नेपालमा असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको सम्भावना बढी हुन्छ । दुई तीन वर्षको अन्तरालमा महामारी देखिने भन्नुभयो ? तर २०२२ मा ८८ जना र २०२३ मा डेङ्गुले २० जनाको ज्यान लियो, यस वर्ष महामारीको सम्भावना कस्तो रहन्छ ? केही अघिल्ला वर्षको ट्रेन्ड हेर्दा दुई तीन वर्षको अन्तरालमा देखिन्छ । तर त्यो समग्रमा भनेको होइन । जस्तो कुनै ठाउँमा पहिले नै महामारी फैलिसकेको छ भने अर्को पटक त्यहाँ देखिन नसक्ला । तर हामीले रोकथामका उपायहरु कति अपनाउछौँ भन्ने विषय पनि जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । कुन ठाउँमा बढी देखिन सक्छ भनेर ‘म्यापिङ’ गरेका छौँ । कसैलाई लक्षणरहित पनि डेंगु देखिन सक्छ । लक्षण देखिएर समस्या भएपछि जाँच गराउन आउने हुन्छन् त्यसैले पनि सबै सङ्क्रमितको सङ्ख्या गणना हुँदैन । डेंगुका पाँच वटा प्रकार हुन्छन् । पहिला एउटा देखिसक्यो भने अर्को पटक अर्के प्रकार देखिन सक्छ जुन घातक हुन सक्दछ । डेंगु नियन्त्रण रोकथामका लागि कस्तो तयारी भएको छ ? लामखुट्टे नियन्त्रण गर्न सचेतना फैलाउन उत्तिकै महत्वपूर्ण छ । नियन्त्रण गर्न कस्ता उपयाहरु अपनाइरहेका छौँ भन्ने मुख्य विषय हो रु सचेतनाका कुरा हेर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिल गरिरहेको छ । हामीले पनि विभिन्न माध्यमबाट सचेतना फैलाइरहेका छौँ । सातै वटा प्रदेशका सचिवहरु तथा स्वास्थ्य निर्देशनालयसँग विभिन्न अभियानकालागि छलफल भएको छ । स्थानीय निकायले लामखुट्टेको बासस्थान ‘खोज्ने र नष्ट’ गर्ने अभियानमा बढी जोड दिनुपर्छ । साथै टायर, गमलाको फुलदानीमा जमेका पानी हटाउनेलगायतका कुराहरु पनि छन् । यस्ता यावत अभियान सञ्चालन गर्नका लागि स्थानीय तहसम्म पुग्ने गरी प्रदेशसँग समन्वय गरेका छौँ । बिरामी भएपछि जति छिटो उपचार भयो सर्ने सम्भावना कम हुन्छ । उपचारमा पनि कमी हुन दिने छैनाैँ । विज्ञहरुसँग छलफल गरेर अगाडि कसरी बढ्ने भन्न विषयमा पनि राय लिने काम पनि गरिरहेका छौँ । समन्वयात्मक तरिकाले अगाडि बढिरहेका छौँ । डेङ्गु मात्र नभई अरु किटजन्य रोगहरुमा पनि हामीले नियमित अभियान सञ्चालन गरि नै रहेका छौँ । डेंगु परीक्षणका लागि किटको उपलब्धता कत्तिको छ ? किटको कुरा गर्दा सबैलाई परीक्षण गरेर सकिँदा पनि सकिँदैन । लक्षण देखिएपछि मात्र परीक्षण गर्न आउने हुन्छन् । सबै स्वास्थ्य संस्थामा आवश्यकताअनुसार किट पठाएका छाैँ । अभाव भयो भने खरिद प्रक्रियाबाट पनि हामी पूरा गर्छौं । डेंगु नियन्त्रणमा कसको बढी जिम्मेवारी छ ? हाल ७२ जिल्लामा डेङ्गु पुगिसकेको हुँदा आउदा दिनमा सङ्क्रमण बढ्ने सम्भावना अधिक नै छ । खोज र नष्ट गर्ने अभियान, र्यापिड रेस्पोन्स टिम, प्रदेश र स्थानीय तहसँगको पनि सजगकताका हिसाबले यस वर्ष महामारी नियन्त्रण गर्ने सकिँदैन भन्ने होइन । बढ्दै जान सक्ला तर बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने र मृत्यु हुने गरी उपचार गर्ने नसकिने अवस्थामा नपुगौँला भन्ने अपेक्षा गरेका छौँ । तयारी पनि गरेका छौँ । नीतिगत र लजिस्टिकका कुरामा सङ्घको बढी महत्वपूर्ण भूमिका हुन्छ । व्यवस्थापनमा प्रदेश र स्थानीय तहको भूमिका बढी रहन्छ । स्थानीय तहले खोज र नष्ट अभियानमा बढी केन्द्रित रहनुपर्छ । बजेट जहाँजहाँ समस्या बढी हुन्छ भनेर म्यापिङ गरेर सोहीअनुसार बजेट पनि गएको छ । समन्वयात्मक हिसाबले काम अघि बढाएका छौँ । डेंगु नियन्त्रणमा तीन तहको समन्वय अभावले रोकथाम हुन नसकिरहेको हो त ? एउटाले अर्कालाई दोष दिने कुरा पनि गर्नुहुन्न । हाम्रो जिम्मेवारी समन्वयात्मक हिसाबले जति सकिन्छ गर्ने हो । स्थानीय तहसँग जोड्न पुलका हिसाबमा प्रदेशको भूमिका धेरै हुन्छ । सङ्घबाट हामी महामारी र आपतकालीन अवस्थामा रेस्पोन्स गर्ने जिम्मा इडिसिडीको भएको हुनाले हामीले सातवटै प्रदेशको मन्त्रालय र निर्देशनालयसहित जिल्ला पनि समन्वय गरेर समीक्षा गरेका छाैँ । रिपोर्ट ल्याउने कुरामा पनि निरन्तर संवाद हुन्छ । हरेक हप्ता छलफल गरिरहेका छौँ । रिपोर्टिङ पनि नियमित आउँछ भनेर आशावादी छाैँ । हरेक पक्षबाट समन्वयलाई गर्न सक्यौँ भने स्वास्थ्य प्रणालीको विकास गर्न सक्छाैँ । डेंगुबाट बच्न के मा ध्यान पुर्‍याउनुपर्छ ? म सुरक्षित छु, मेरो घर सफा छ, पानी पनि त्यस्तो छैन भनेर सुरक्षित भएर ढुक्क बस्नु हुँदैन । वातावरणमा भएका ‘रिस्क फ्याक्टर’ जस्तै बट्टा, टायर, गमलाका फुलदानी, पातमै पानी जम्मा भएर लामखुट्टेले अण्डा पार्न सक्छ । सबैले मिलेर सरसफाइ नियमित गरौँ । परिवारका सदस्यले पनि आफ्नो घरमा नियमित सफाइ गरौँ । अव्यवस्थित सहरी ठाउँमा यसको झन् बढी जोखिम छ । लामखुट्टे घरभित्र नजान दिन जाली, झुलको प्रयोग गर्न सकिन्छ । बाहुला पूरा भएको लुगा लगाउँदा लामखुट्टेले टोक्ने सम्भावना कम हुन्छ । बिहान र साँझ बढी टोक्ने भएकाले सजग रहनुपर्छ । व्यक्तिगत हिसाबमा सबैले जोगिँदा पनि समुदाय जोगिन सक्छ । डेंगुबाट बच्नका लागि लक्षण पनि थाहा पाउनुपर्ने हुन्छ । ज्वरो, टाउको दुख्ने, आँखाको गेडी निस्केला जस्तो हुने, हड्डी भाँचिएला जस्तो हुनेलगायत लक्षण देखिन सक्छन् । जटिल भएको खण्डमा स्वास्थ्य संस्था गइहाल्नुपर्छ । राजनीतिकर्मी, के शिक्षक, विद्यालय, सामाजिक अगुवा, सर्वसाधारण सबैको डेंगु नियन्त्रणमा भूमिका हुन्छ । रासस

लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित

काठमाडौं । सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सगंठन (इन्टोसाई)द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् । महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे । दीक्षित हुने कर्मचारीमा महालेखापरीक्षक कार्यालयका नायव महापरीक्षक श्यामप्रसाद भण्डारी, (सर्टिफाइड पर्फेमेन्स अडिटर), निर्देशक टीकानाथ अर्याल (सर्टिफाइड कम्प्लायन्स अडिटर) र निर्देशक सिर्जना रिमाल (सर्टिफाइड पर्फेमेन्स अडिटर) रहेका छन् ।

बैतडीमा घरको छतमा ट्रयाक्टर खस्यो, दुई बालिका घाइते

बैतडी । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ढुंगा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।