५ वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
चितवन । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चार सय ९५ र मध्यम चार सय ७० रुपैयाँ पाउन थालेका छन् । नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए । ‘विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेको थियो ।’ त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ । विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर संघ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट दुई सय ३० रुपैयाँ थियो । उक्त मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए । उनका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसानै छाडेको अवस्था थियो । उनले भने ‘हामी सङ्गठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।’ नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताए । पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उनको भनाइ छ । हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको सङ्ख्या घटेको उनले बताए । चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान सगंठित भइ प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउँछन् । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो । उनले भने ‘हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेसा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।’
जनशक्ति अभावले रोग नियन्त्रण गर्न चुनौती छ-डा. यदुचन्द्र घिमिरे
काठमाडौं । याे समय वर्षायामको हो । वर्षायाममा विभिन्न किसिमका सरुवा रोगहरूको जोखिम हुन्छ । झाडापखाला, आउँ, हैजा जस्ता रोग पनि यही समयमा देखिन्छन् । यस्तै, लामखुट्टेको टोकाइबाट लाग्ने, डेंगी, मलेरिया, कालाजार लगायतका रोगहरू पनि यही समयमा बढी लाग्छन् । हाम्रो जस्तो वातावरणको सफाइ राम्रो नभएको देशमा वर्षाको समयमा झन विभिन्न रोग सार्ने माध्यम बाहकको संख्या पनि बढ्ने र त्यसका कारण रोग पनि विभिन्न राेगहरू पनि थपिँदै जाने हुन्छ । यस्ता रोगहरू कतिपय खानाबाट, पानीबाट र रगत चुस्ने जिवहरूको टोकाइबाट सर्ने हुन्छन् । डेंगीको कुरा गर्ने हो भने अहिले नेपालमा यसको संक्रमण फैलिसकेको छ । रैथाने हिसाबमा लगातार हाम्रो देशमा पनि यो सिजनमा बढी देखिन्छ । यसको निगरानीका लागि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गरिरहेको छ । हामीले प्रदेश र स्थानीय तहमा यस विषयमा छलफल गरिरहेका छौँ । यतिखेर हाम्रो मुख्य ध्यान डेंगीमा गइरहेको छ । डेंगी किटजन्य रोग हो । एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यो हाम्रो देशमा सन २००४ देखि फाट्टफुट्ट देखा परेको थियो । २००९ पछि देशका विभिन्न ठाउँमा फैलन सुरु गरेको थियो । अहिलेसम्म आइपुग्दा डेंगीको संक्रमण भेटिन थालेको छ । तर, ७७ जिल्लामै यो रोग सार्ने लामखुट्टे देखा परेको छ कि छैन भन्ने विषयमा अध्ययन हुन सकेको छैन । अन्तबाट संक्रमण भएर रिपोर्ट भएको पनि हुन सक्छ । तर, धेरैजसो जिल्लामा रैथाने अर्थात त्यही ठाउँमा टोकेर त्यही ठाउँमा बिरामी भएर त्यही ठाउँबाट अरु स्वस्थ मान्छेलाई सारेको प्रमाण देखिएको छ र महामारी भएको पनि छ । काठमाडौ, चितवन, पोखरा, धरानमा महामारी नै भएको छ । यी ठाउँहरूमा रैथाने रूपमै रहेको छ । र, यी ठाउँमा यस्तो समस्या आउँछ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । यस्तो महामारी ति ठाउँमा आउँछ कि आउँदैन भनेर हामी चनाखो पनि भएका छौँ । यस्तो हुन नदिन सबैभन्दा महत्वपूर्ण रोकथामका कुराहरूमा ध्यान दिएका छौँ । त्यो भनेको बाहिरी वातावरण व्यवस्थापन हो । लामखुट्टेले फुल पार्ने, लर्भा निकाल्ने जुन ठाउँ छन् त्यस्तो ठाउँलाई नियन्त्रण गर्न सक्यौँ भने यसको नियन्त्रण हुन्छ । घरभित्र वरिपरि पनि यसको जोखिम हुन्छ । घरभित्र रहेको थोरै पानीमा पनि लामखुट्टेले अण्डा पार्न सक्छ । कुलर, गमला, एसीको पानी,ट्वाइलेट, बाथरुममा रहेको पानीमा पनी लामखुट्टेले अण्डा पार्छ । यस्ता विषयमा जानकारी गराउन हामीले स्वास्थ्यकर्मीलाई तालिम पनि दिरहेका छौँ । स्वास्थ्यकर्मीसहित जनसमुदायलाई सचेत गराउन अभियान नै सञ्चालन गर्ने योजना छ । लार्भा नष्ट पार्ने, रोग परीक्षणका कुरा र बिरामीको व्यवस्थापनका कुरामा हामीले ध्यान दिएका छौँ । यो वर्ष ७२ जिल्लामा डेंगी फैलिसकेको रिपोर्ट भएको छ । कुनै जिल्लामा भयावह अवस्था अहिले सम्म आएको छैन । यो वर्षको अहिलेसम्म १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । यसको मतलब नेपालमा यति जनामा मात्र संक्राण छ भन्ने होइन । कतिपय लक्षणबिहीन पनि हुन्छ । लक्षण देखा नपरेर पनि संक्रमण भएको हुन सक्छ । कुनै पनि व्यक्तीलाई एक पटक संक्रमण भएपछि चार किसिमको सेरोटाइप हुन्छ । नेपालमा कुन कुन टाइपको सेरोटाइप छ भन्ने गहन अध्ययन पनि भएको छैन । अहिलेसम्मको अध्ययन अनुसार एकजना मान्छेमा चार पटक सम्म चारवटा सेरोटाइप भएपछि एकपटक संक्रमण भएपछि त्यसलाई जीवनभरिलाई प्रतिरक्षा प्रणाली विकास हुन्छ । तर, यहाँ चार वटै सेरोटाइप छ या छैन भन्ने एकिन छैन । जनसमुदायमा धेरै व्यक्तिलाई विगतका वर्षमै संक्रमण भइसकेको छ । हाम्रो तयारी र नेपालमा भएको विगतको संक्रमणदर हेर्दा ठूलो महामारी होला भन्ने देखिँदैन । विशेषगरी प्रदेशले पनि यो विषयमा तयारी गरिरहेको छ । हामीले तीनै तहलाई जिम्मेवारी तोकेर रणनीति बनाइएको छ । लामखुट्टेजन्य रोग पहाडमा पनि सर्दै १० वर्ष अगाडि र अहिलेको तापक्रम फरक छ । पहिलो चिसो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । तातो भइसकेपछि लामखुट्टेको लागि उपयुक्त ठाउँ हिमाल पहाड पनि हुन थाले । हामीले हिमाल पहाडमा डेंगी देखियो भन्छौ त्यहाँ पनि कुन ठाउँमा देखिएको हो भन्ने कुरा हुन्छ । मनाङ, मुस्ताङमा पनि कतिपय ठाउँ यस्ता छन् जहाँ गर्मी हुन्छ । रुकुमको चौरजहारी तराई जस्तै छ । यस्ता ठाउँ हिमाल पहाडका धेरै ठाउँमा छन् । ति ठाउँमा लामखुट्टे देखिने र यसको टोकाइबाट डेंगी देखिन्छ भने अर्को अब लामखुट्टले पनि कुन ठाउँमा कसरी बाँच्ने भन्ने कुरा सिकिसक्यो । वातावरण परिवर्तन भयो अर्को त्यही वातावरणमा कसरी बाँच्ने भन्ने कुरा लामखुट्टेले पनि जान्यो यिनै कारण हिमाल पहाडमा पनि यसको संक्रमण फैलियो । कतिपय कुराहरू पत्ता नलागेको पनि हुनसक्छ साँचो कुरा के हो भने लामखुट्टे नभएको ठाउँमा पनि पुगेका छन् । वषौँसम्म अण्डा जिवित रहन्छ अचम्मको कुरा के छ भने लामखुट्टेले यो वर्ष पारेको अण्डा वर्षौँसम्म जिवित रहन्छ । पाइप, टायर,गाडी र सामानको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका अण्डा पानी परेपछि फेरि लामखुट्टेमा परिणत हुन्छन् । यो वर्ष लामखुट्टेले अण्डा पारेको ठाउँमा अर्को वर्ष पानी पर्दा त्यसबाट पनि बच्चा बन्न सुरु हुन्छ । यसको साइकल १० दिनसम्म हुन्छ । तीन–चार दिनमा फुलबाट लार्भा बन्छ, लार्भाबाट प्युपा बन्छ र त्यसबाट एडल हुन्छ । यसरी १० दिनमा लामखुट्टे बन्छ । त्यसरी बनेको लामखुट्टे त्यो ठाउँ उसका लागि सुहाउँदो छ भने बाँच्छ र छैन भने मर्छ । यो सरुवा रोग पनि हो डेंगी सरुवा रोग हो कि हैन भन्नेमा धेरै मान्छे अनविज्ञ छन् । यो एक प्रकारको सरुवा रोग नै हो । सरुवा रोग फरक फरक किसिमका हुन्छन् । एउटा मान्छेबाट मान्छेमा स्वासप्रस्वासको माध्यमबाट सर्छ भने अर्को सार्न माध्यम चाहिन्छ । डेंगी एकबाट अर्कोमा सर्न माध्याम चाहिन्छ । यो एकबाट अर्को मान्छेमा सर्न लामखुट्टे चाहिन्छ । एउटा डेंगी संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्यो भने डेंगी सर्छ । यसलाई हामी किटजन्य सरुवा रोग भन्छौँ । अध्ययन भएको छैन समुदायमा कति जनामा संक्रमण देखिएको छ । त्यसमध्ये कस्ता व्यक्तिमा यसको लक्षण देखपर्छ र कस्तो व्यक्तिमा लक्षण देखा पर्दैन । कुन सेरोटाइप नेपालमा छ भन्ने विषयमा गहन अध्ययन हुन सकेको छैन । यसका लागि ठूलो लगानी चाहिन्छ । र आवश्यक जनशक्ति पनि । हामीसँग दुवैको अभाव छ । सरकारले पनि सिमित मात्रामा बजेट छुट्याएको हुन्छ । यसका लागि हामीले विभिन्न अन्तरार्ष्ट्रिय संघसस्था सम्म पनि सहयोग माग्न कुरा गरिरहेका छौँ । डेंगी नियन्त्रणका लागि मुख्य कुरा भनेको सरसफाइ र जनचेतना हो । जनचेतनाको काम मुख्यतया स्थानीय तहको हो । यसमा कस्ता मापदण्ड बनाउने भन्ने विषयमा हामीले सहयोग गर्छौ र प्रदेशले यसमा समन्यवको भूमिका निर्वाह गर्छ । संविधानले नै यस्ता विषयमा संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै अधिकार दिएकाे छ । यसमा हाम्रो काम भनेको नीति निर्माण र मापदण्ड बनाउने , प्रदेशको काम उपचार कहाँ पुगेको छ , छैन, नपुगेको ठाउँमा के गर्ने, केन्द्र र सथनीयसरकारसँग कसरी सहकार्य गर्ने भन्ने हो भने, स्थानीय तहको काम भनेको नागरिकको घरदैलोमा पुगि कहाँ के छ , के गर्नुपर्छ भनेर सचेतना जगाउने काम हो । हामी तयारी अवस्थामा छौँ लामखुट्टेसँग जोडिने अनयरोग मलेरिया, कालाजार देखापर्छ । यी रोगहरूबाट बच्न एउटै विधि अपनाउनुपर्छ । त्यो हो लामखुट्टेको टोकाइबाट जोगिने । त्यसको लागि घरभित्र बस्दा जाली, झुलको प्रयोग गर्ने घर विरिपरि पानी जम्न नदिने, सरसफाइ गर्ने, बाहिर निस्कदा लामो बाउला भएको लुगा अथवा पुरै जिउ ढाकिने गरक कपडा लगाउनुपर्छ । यति गर्न सक्यो भने यि र यस्ता रोगहरूबाट बच्न सकिन्छ । त्यसैले हामीले यस्ता विषयमा चेतना जगाउन कार्यक्रम गर्ने भन्ने योजना अनुसार काम गर्ने तयारी गरेका छौँ । उपचार विधि के हुन्छ ? यो एक किसमको भाइरसबाट लाग्ने भाइरल रोग हो । भाइरस स्पेसेफिक खालको उपचार हुँदैन । यसले धेरै किसिमका समस्या ल्याउँछ । ति समस्यालाई हामीले विशेषगरी हेर्छौ यसका लागि यो नै उपचार हुन्छ भन्ने हुँदेन । यसले ल्याएको समस्या र जटिलतालाई हेरेर उपचार गरिन्छ । तर एउटा महत्वपूर्ण कुरा के हो भने स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह बेगर औषधी खान हुँदैन । टायर, बट्टा, थोरै पनि पानी जम्ने आर्टिफिसियल भाँडामा यो रहन्छ । यस्ता चिज घरपरीपरी हुन्छन् । यस्तोमा हप्तामा एक पटक त्यो पानी फाल्नुपर्छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको काम देशभरि फैलिएका विभिन्न किसमका रोग नियन्त्रण गर्ने हो । यसका लागि कस्ता नीति नियम र मापदण्ड आवश्यक पर्छन भन्ने विषयमा हामी काम गर्छौं। म यो महाशाखाको प्रमुख भएर आएको केही समयमात्र भएको छ । अहिले कस्ता रोगको संक्रमण फैलिरहेको छ यसको नियन्त्रणका लागि के गर्ने भन्ने विषयमा म छलफल गरिरहेको छुँ । काम गर्न दक्ष जनशक्ति चाहिन्छ । तर, हामीसँग जनशक्ति अभाव छ । यो महाशाखामा मात्र हैन । स्वास्थ्य क्षेत्रमै जनशक्तिको अभाव भएका बेला काम गर्न चुनौती पक्कै छ तर कुनै पनि रोग नियन्त्रणका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयासरत रहने छु । (इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेसँग गरिएको कुराकानीमा आधारित)
वारेन बफेटले दान गरे ५.३ बिलियन डलरको सेयर
काठमाडौं । विश्वका १०औं धनी व्यक्ति वारेन बफेटले आफ्नो सम्पत्तिको ठूलो हिस्सा दान गरेका छन् । उनको वार्षिक चन्दा योजनाअन्तर्गत यो दान गरिएको हो । यस पटक बफेटले आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ५.३ बिलियन डलरबराबरको सेयर बिल र मेलिन्डा गेट्स फाउन्डेशनसहित आफ्नो परिवारसँग सम्बन्धित ४ परोपकारी ट्रस्टहरूलाई दान गर्ने घोषणा गरेका छन् । बफेटले यस पटक आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ९.९३ मिलियन क्लास–बी सेयर गेट्स फाउन्डेशनलाई दान गर्ने घोषणा गरेका छन्, जसको मूल्य करिब ४ अर्ब डलर हुनेछ । वारेन बफेटले अहिलेसम्म गेट्स फाउन्डेशनलाई ४३ बिलियन डलरको सेयर दान गरिसकेका छन् । यससँगै उनले सुसन थमसन बफेट फाउण्डेशनलाई ९.९३ लाख क्लास–बी सेयर पनि दान गर्नेछन् । यो संस्था उनको स्वर्गीय प्रथम श्रीमतीको नाममा राखिएको हो । बफेटले स्वास्थ्य सेवा र शिक्षामा ध्यान केन्द्रित गर्न यो फाउन्डेशन सुरु गरे । पछिल्लो पटक जस्तै यस पटक पनि बफेटले आफ्ना परिवारको परोपकारी संस्थालाई चन्दा दिइरहेका छन् । यसपटक उनले यी तीन फाउन्डेसनलाई ६.९५ देखि ६.९५ लाख सेयर दिने छन् । यी संस्थाहरूमा होवर्ड जी. बफेट फाउन्डेसन, शेरवुड फाउन्डेसन र नोभो फाउन्डेसन समावेश छन् । ९३ वर्ष पुगेका बफेट ब्लुमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार विश्वको १०औं धनी व्यक्ति हुन् र उनले आफ्नो सम्पत्तिको ९९ प्रतिशत आफ्ना छोराछोरीको परोपकारी ट्रस्टलाई दान गर्ने योजना बनाएका छन् । सन् २००६ देखि आफ्नो सम्पत्तिबाट चन्दा दिइरहेका बफेटले आफ्नो आधाभन्दा बढी सेयर बर्कशायर ह्याथवेमा दान गरेका छन् । एजेन्सी
काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
धुलिखेल । जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुग्नुभएका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार पाएका हुन् । सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए । गाउँपालिकाले आफ्ना समस्याका बारेमा बुझ्ने, भत्ता, छाता र लौरो आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको उनले सुनाए । खानीखोला गाउँपालिका–५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ । वडा नं ५ बाट एक सय नौजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकलाई सो उपहार प्रदान गरेकोे वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बताए । सो वडाबाट हरेक महिनाको एकपटक ६० वर्ष माथिका ज्येष्ठ नागरिकको घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रममार्फत नियमित स्वास्थ्य परीक्षण गर्दै आएको उनले बताए । ‘सामाजिक सुरक्षा भत्ताकार्ड’ हरेक आर्थिक वर्षमा नवीकरण गर्न वडामै पुगेर गर्नुपर्ने व्यवस्था भए पनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडा नं ५ ले घरघरमै गएर सामाजिक सुरक्षा भत्त कार्ड नवीकरण गर्दै आएको वडासचिव चण्डिका थापाले बताइन् । गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुग्ने गरेको बताए । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले विकट भूगोल भएकाले वडामै पुगेर सेवा दिने व्यवस्था गरेको बताए । वडा नं ५ पालिकाकाकै केन्द्र भएकाले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमा बैंक रहेकाले त्यहाँसम्म पुग्न अरु वडाको तुलनामा अलि सहज भएकाले कतिपयको भने सुरक्षा भत्ता बैंकबाटै वितरण थालिएको उनले बताए । गाउँपालिकाले वडा नं ४ बाट सुरु गरेको लौरो र छाता उपहार कार्यक्रमलाई सबै वडामा वितरण गरिसकेको पालिकाले जनाएको छ । गाउँपालिकामा एक हजार एक सय सातजनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।
भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर
ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुंगेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए । महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।
रोबोटबाट सर्जरी, बिएण्डबी अस्पताललाई सफलता
काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन्। रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । देशमै पहिलो रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल डा. नूतन शर्माले यो सफलतालाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भनेकी छिन् । डा. शर्माले भनिन्, ‘यो मेरो करिअरको महत्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो । त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो ।’ बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए । डा. वैद्यका अनुसार, यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत गरेको छ । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाई छ । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न । तीन सय असी डिग्रिमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकहरु बिरामीबाट संक्रमित हुने सम्भावनालाई पूरै हटाएकोले यो स्वास्थ्यकर्मीहरुका लागि पनि लाभदायक भएको डा. शर्मा दाबी गर्छिन् ।
कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड
काठमाडौं । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन् । संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देश बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ । मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् । संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
आज संसद् दिवस मनाइँदै
काठमाडौं । आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् । पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो । देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।