विकासन्युज

‘युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले सोमबार लघु साना तथा घरेलु उद्योगको विकासका लागि सुझावसहितको दिएको ज्ञापनपत्र बुझ्दै उनले उद्यमशीलताको विकासले युवालाई विदेश पलायन हुनबाट रोक्न सहयोग पुग्ने बताएका हुन् । ‘अहिले युवामा देखिएका निराशलाई चिरेर आशा जगाउनु सरकारको प्रमुख लक्ष्य हो, यसमा सबैको साथ र सहयोग आवश्यक छ, उद्योग मन्त्रालयले उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको छ,’ मन्त्री भण्डारीले भने । विभागका प्रमुख उर्मिला थपलियाले मुलुकको आर्थिक विकासका लागि साना, मझौला तथा घरेलु उद्योगलाई अगाडि बढाउनुपर्ने बताइन् । उनले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ ले कर्जा आवेदकबाट नवीन पद्धतिको अपेक्षा गरेको देखिए पनि त्यस्तो पद्धतिको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्नुपर्ने बताइन् । विभागले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा आगामी मौद्रिक नीतिमार्फत वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निश्चित प्रतिशत स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग लक्षित हुनुपर्ने व्यवस्था गर्न माग गरेको छ । विद्यालयदेखि विश्वविद्यालयस्तरसम्म स्टार्टअप र उद्यमशीलतासम्बन्धी पाठ्यक्रम तर्जुमा, आइटी क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न र गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नका लागि नेपालका स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगबाट उत्पादन हुने वस्तु तथा सेवाको निकासीलाई सहज बनाउनसमेत विभागले सरकारसँग माग गरेको छ । स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगको विकासलाई गति दिन त्यस्ता उद्योग दर्ता र सञ्चालनमा समन्वयका लागि समर्पित विशेष निकायको स्थापना गर्नुपर्ने, ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८०’ ले परिकल्पना गरेको ‘स्टार्टअप बोर्ड’ लाई स्टार्टअप क्षेत्रमैत्री बनाउन युवा स्टार्टअप उद्यमीको उल्लेख्य प्रतिनिधित्व हुनेगरी नीतिगत पुनःसंरचनासहित अविलम्ब गठन गर्नुपर्ने विभागको माग छ ।

पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी गर्ने

पाटन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनीका साथै विमर्श सभा हुने भएको छ । कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा भोली मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा स्व. कोइरालासँग जोडिएका तस्बिर, वृत्तचित्र प्रदर्शनीका साथै विमर्श सभा हुने जानकारी दिइएको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रदर्शनीमा विभिन्न समयमा पत्रकारले कैद गरेका एक सय ५१ भन्दा बढी तस्बिर राखिने जानकारी दिए । ‘केन्द्रीय कार्यालयको सभाहलमा हुने प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँग सम्बन्धित तस्बिरहरू रहनेछन्, ती तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछिको शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिबिम्वित गर्नेछन्,’ उनले भने । शान्ति तथा विकास निर्माणको चरणमा विकास पूर्वाधार निर्माणका सन्दर्भ, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’ का बारेमा तस्बिरले प्रष्ट पार्ने विश्वकर्माले बताए । पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने प्रदर्शनीको प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तित्वले अवलोकन गर्ने जानकारी दिँदै उनले त्यसअवसरमा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग र फोटो पत्रकारितास् जोखिम र अनुभव विषयमा विमर्शसभा हुने बताए । ‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वगृहमन्त्री तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवाली वक्ता रहने र उक्त सत्रको सहजीकरण डा. गेजा शर्मा वाग्लेले गर्ने जनाइएको छ । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार ‘समुन्नतिको दोस्रो जग’ विषयक विमर्शमा डा. अच्युत वाग्ले, डा हरि शर्मा र डा मञ्चला झाले विमर्श गर्ने र डाक्टर विश्व पौडेलले सहजीकरण गर्नेछन् । यस्तै ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयक विमर्शमा गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेले विमर्श गर्नेछन् भने पत्रकार सुधीर शर्मा र जगत नेपालले सहजीकरण गर्नेछन् । प्रदर्शनी र विमर्शसभाका साथै कार्यक्रममा स्व. कोइरालासँग जोडिएका सन्दर्भमा वृत्तचित्रसमेत प्रदर्शनी गरिने छ । विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरेका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री भएका थिए । विसं २००४ मा विराटनगर भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहेका थिए । विसं १९८१ असार १८ गते जन्मिएका उनको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२आंं स्थापना दिवस तथा ३०औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा साेमबार उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे । मन्त्री अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराए । ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु, मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्,’ उनले भने । भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरे । उनले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रूपमा २ खर्ब १ अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट संकलन भइरहेको तथ्यांक प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रूपमा गहिरो अध्ययन गरिरहेको बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राखे ।

मुक्तिनाथ क्यापिटल र यात्रीबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच सम्झौता भएको छ । यात्री सुइट्स एण्ड स्पाले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेको छ । ठमेल अवस्थित यस होटलको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।

काञ्जीरोवा नेसनल माध्यामिक विद्यालय २७औं वर्षमा प्रवेश

काठमाडौं । काञ्जीरोवा नेसनल माध्यामिक विद्यालय २७औं वर्षमा प्रवेश गरेको छ । विंस. २०५५ सालमा स्थापना भएको काठमाडौं डोन बोस्को उच्च माध्यामिक विद्यालयको नाम परिवर्तन गरी काञ्जीरोवा नेसनल माध्यामिक विद्यालयमा रूपान्तरण गरिएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । बालबालिका केन्द्रित शैक्षिक अभ्यासद्वारा युगसापेक्ष, अनुसन्धानमूलक र व्यावहारिक बन्न उनीहरूलाई प्रेरित गर्नु विद्यालयको उद्देश्य रहेको विद्यालयले बताएको छ । साथै, विद्यार्थीलाई मानवीय मूल्य, मान्यता, खुलापन एवम् विविधताको बोधसहित सचेत र असल बन्न अग्रसर गराउनु रहेको पनि विद्यालयको भनाइ छ । २७औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विद्यालयले सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभ चिन्तकप्रति आभार व्यक्त्त गरेको छ । त्यस्तै, विद्यालयको सञ्चालक सदस्यहरुमा अम्बिकाप्रसाद पौडेल, केदार कार्की, रत्नबहादुर खड्का, राजेन्द्रविक्रम पौडेल, महेन्द्र खनाल र रन्जित थापा रहेका छन् ।

हवाई टिकट विक्रेता ट्राभलमाथि कानुनी धरपकड अस्वीकार्य : नाट्टा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेता ट्राभल एजेन्सीमाथि कानुनी धरपकड गरेको भन्दै ध्यानाकर्षण गराएको छ । मन्त्रालयमै बसेको छलफलमा नाट्टाका अध्यक्ष कुमारमाणि थपलियाले वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेतामाथि टिकट बिक्री गरेकै भरमा स्पष्ट अध्ययन नै नगरी कसैले भनेको भरमा व्यवसायीहरूलाई आतंकित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए । श्रममन्त्री अर्यालले जवाफमा यस्तो प्रकृतिका घटनाहरू निराकरणका लागि प्रतिबद्धता जाहेर गर्दै तत्काल वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयहरूमा परिपत्र जारी गरी यस्ता प्रकृतिका विषयहरूमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसगँ सोधपुछ, छानबि तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताए । उनले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरूले समेत आधारभुत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिए । भेटका क्रममा नाट्टा अध्यक्षसहितको कार्यसमिति टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रथा प्रवर्द्धनका लागि ७ बुँदे सुझाव पनि पेस गरेको थियो ।

सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायण पुगे अदालत, भन्छन् : सरकारले गलत गर्‍यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारकाे निर्णयविरुद्ध सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले सेबाेन अध्यक्ष नियुक्तिकाे प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् । अध्यक्षकाे लागि सर्टलिष्टमा परेका श्रेष्ठले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै रिट दायर गरेको बताएका छन् । ‘महान्यायाधिवक्ताको कार्यालयले पनि अहिलेकै प्रक्रियालाई अगाडि बढाउन सकिने राय दिएको छ, सरकारले त्यो विकल्प हुँदा हुँदै रद्द गर्‍यो, जुन गलत हो, म न्यायका लागि अदालत पुगेको हुँ, अन्तिम चरणमा आएर प्रक्रिया रद्द गर्न पाइँदैन, भर्खरै रिट दायर गरेर आएको छु,’ उनले विकासन्युजसँग भने । सरकारले नयाँ प्रक्रिया सुरु गर्‍यो भने तपाईंको सहभागिता रहन्छ वा हुँदैन भन्ने प्रश्नमा उनले त्यस विषयमा आफूले कुनै कुरा नसोचेको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको अध्यक्ष सिफारिस समितिले सरकारकाे सल्लाहमा अध्यक्ष चयन प्रक्रिया रद्दको निर्णय गरेको थियो । सर्टलिष्टमा परेका ५ जनामध्ये २ जनामात्र अन्तर्वार्तामा उपस्थित भएपछि अध्यक्ष सिफारित समितिले प्रक्रिया रद्द गरेको हो । त्यसअघि अन्तवार्तामा २ जना मात्रै उपस्थित भएपछि सिफारिस समितिले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले धेरै अंक हुने एक जना थप गर्ने वा नयाँ प्रक्रियामा जान सकिने सुझाव दिएपछि प्रक्रिया नै रद्द गरिएकाे थियो । अध्यक्षका लागि श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा.नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईंको नाम सर्टलिष्टमा थियो ।

यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘त्यस्तो त लाग्दैन मलाई, यो वर्ष बनिन्छ जस्तो छैन ।’ देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।