विकासन्युज

वैदेशिक रोजगारबाट फर्केका थापा बाख्रापालन गर्दै, वार्षिक ४ लाख बचत

गलकोट  । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख रुपैयाँ बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका हुन् । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक चार लाख रुपैयाँ बचत भइरहेको जानकारी दिए । चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उनले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गरे । थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । ‘आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ’, उनले भने । अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताए । ‘लगानी नहुँदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु’, उनले भने । एक वर्षभित्रै दुई सय बाख्रा पुर्याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिए । ‘आधुनिक खोर निर्माणमा १० लाख रुपैयाँ लगानी भइसक्यो’, उनले भने, ‘बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख रुपैयाँ बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।’ एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताए । पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बाताइन् । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उनको भनाइ छ । ‘बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानु भन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ’, मनरुपाले भनिन्, ‘परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।’ उनका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ । बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले एक लाख १९ हजार र जैमिनी नगरपालिकाले २३ हजार रुपैयाँ अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिए । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उनको भनाइ छ । रासस

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साेमबार नेप्से १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा कायम भएको छ । मौद्रिक नीतिको नजिकमा विकास बैंक तथा वाणिज्य बैंक दुबैको सेयर बढेको छ । वाणिज्य बैंकको सेयर सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेर १०८८.६८ बिन्दुमा कायम भएको छ । यस दिन विकास बैंकको सेयर पनि १.३१ प्रतिशतले बढेको छ । सेयर बढेसँगै सो समूह ४०५०.०१ बिन्दुमा कायम भएको छ । सोमबार सबैभन्दा धेरै फाइनान्स समूह ०.८३ प्रतिशतले घटेको छ । सूचीकृत १३ समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूह ०.२१ प्रतिशत घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा साेमबार पनि नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३२३ स्टकको २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन् । सोमबार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन् । उनले विदेशबाट स्वदेश फर्किएका नेपालीहरुले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताए । सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको जानकारी दिए । उनले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताए । म्यानपावर व्यवसायीहरुलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्न म्यानपावर व्यवसयायीको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गरे । सबै नेपालीहरुले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुश्मन कमाउने कुनै रहर नभएको बताए । नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण म्याननपावर व्यवसायीहरुले नै बनाएको भन्दै मेनपावर व्यवसायीहरुप्रति आफ्नो कुनै गुनासो र रिस नभएको जानकारी दिए । ‘नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरुले नै बनाउनु भएको हो, मेनपावर व्यवसायीहरु प्रति मेरो कुनै गुनासो र रिस राग छैन, वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर हो, सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ कारोबार भएको छ, त्यसलाई बैंकिङ कारोबारमा ल्याउने गरी नीतिमा काम गरिरहेका छौं’, उनले भने । उनले वैदेशिक रोजगारमा जाने नेपालीहरुबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भिर रुपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताए । सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे । सुचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताए । भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि जानकारी दिए । ‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरुसँग समय छ, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन, २८ जिल्लामा भदौ मसान्तसम्म पनि छुट्यो भने राज्यले तपाईलाई तपाईको अधिकारबाट वञ्चित गर्दैन’, उनले भने । गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि बताए ।

मौद्रिक नीतिबारे उद्योग संगठन मोरङको २४ बुँदे सुझाव

काठमाडौं । उद्योग संगठन मोरङले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव पेस गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागी राय सुझाव माग गरे बमोजिम संगठनले २४ वटा बुँदामा उद्योग व्यवसायका सुझावहरू पेस गरेको छ । नेपाल राष्ट्र बैक, आर्थिक अनुसन्धान विभागलाई आइतबार एक पत्र लेख्दै संगठनले यस्तो सुझाव पठाएको हो । यस्ता छन् संगठनले पेस गरेको सुझावहरू [pdf id=494263]  

‘यार्सागुम्बा’ अर्थात् महंगो जैविक कीराको खोजी

गोदावारी । हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिबद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने बताइन्छ । यार्सागुम्बाको माग विश्वका अधिकांश देशबाट हुने गरे पनि मुख्य बजार भने चीन हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा एक केजी यार्सागुम्बा लाखौं मूल्यमा बिक्री हुने गर्दछ । अधिक मागका कारण केही वर्षयता यसको संकलन एवं बिक्री वितरण कार्यमा उच्च पहाडी तथा हिमाली भेगका बासिन्दाहरू निकै आकर्षित भएका छन् । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका सहसूचना अधिकारी डा भागवत आचार्यका अनुसार नेपालमा वार्षिक न्यूनतम् तीन हजार केजी यार्सागुम्बा संकलन हुने गर्दछन् । विश्व बजारमा वार्षिक ८३ देखि एक सय ८३ मेट्रिक टन यार्सागुम्बा आपूर्ति हुने गरेकामा चीनबाट मात्र करिब ९५ प्रतिशतभन्दा बढी आपूर्ति हुने गर्दछ । ठूलो कारोवारको क्षेत्र बन्दै नेपालमा २५ जिल्लामा यार्सा संकलन भए पनि यसको व्यावसायिक संकलन बढी डोल्पा, दार्चुला, अछाम, मनाङ, रुकुम, बझाङ, हुम्लालगायत १२ जिल्लाबाट हुने गरेको पाइन्छ । विश्वमा यार्सागुम्बाको प्रजाति पाँच सयभन्दा बढी छन् भने हालसम्म यार्सागुम्बाको ११ प्रजातिका पहिचान गरिएको आचार्यको भनाइ छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७०/७१ का प्रतिवेदनअनुसार नेपालमा करिब चार अर्ब ९२ करोड रुपैयाँको यार्सागुम्बा संकलन गरिएको थियो । यर्सागुम्बाको खुल्ला बजारमा न्यूनतम् एक केजीको मूल्य ३० लाखदेखि अधिकतम् ८० लाख रुपैयाँसम्म पर्छ भने प्रतिगोटा दुई हजारदेखि पाँच हजारसम्ममा बिक्री वितरण गरिएको पाइएको छ । नेपालबाट वार्षिक पाँच हजार केजी यार्सागुम्बा निकासी हुने अनुमान गरिएको आचार्यले जानकारी दिए । खासगरी यार्सागुम्बा संकलन गर्नका लागि संरक्षण क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन कार्यालयबाट  अनुमति लिनुपर्छ । दार्चुलाको अपिनम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख (वार्डेन) विनयकुमार झाले स्वीकृत व्यवस्थापन कार्ययोजनामा उल्लेख भएबमोजिम  प्रत्येक आर्थिक वर्षमा जम्मा आठ सय ५० केजीको राजस्व लिई जिल्ला बाहिर निकासा दिने छोडपूर्जी कार्यालयले दिने गरेको जानकारी दिए । उनका अनुसार, “यार्सागुम्बा प्रतिकेजी ३१ हजार राजस्व दाखिला गरी जिल्ला बाहिर यार्सागुम्बा निकासी हुने गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म जम्मा राजस्व संकलन रकम एक करोड ८० लाख ८६ हजार आठ सय पाँच रुपैयाँ भएको छ भने गतवर्ष आवमा राजस्व रकम एक करोड ५२ लाख १६ सय २५ रुपैयाँ संकलन भएको थियो । गत वर्षभन्दा यसवर्ष आम्दानी बढेको झाले बताए । चालु आवको जेठसम्म संरक्षण क्षेत्रभित्रका यार्सा संकलन गर्न जाने सात सय पाँच रहेका छन् । संरक्षण क्षेत्रभित्रको लागि कार्ड लिएवापत पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने, जिल्लाभित्रका लागि दुई हजार र जिल्ला बाहिरका लागि रु तीन हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ । वन निर्देशनालय सुदूरपश्चिमका निर्देशक हेमराज बिष्टले दार्चुला जिल्लाको तीन देशीय नाका क्षेत्रमा यार्सागुम्बा संकलनका समयमा अन्तर्राष्ट्रिय देशबाट हजारौंको सङ्ख्यामा व्यापारी तथा यार्सा संकलनकर्ताहरू आउने गरेको जानकारी दिए । “यार्सागुम्बा टिप्न जानुभन्दा पहिला सबैले कुलदेवता तथा प्राकृतिकलाई पूजा गरेर मात्र जानुपर्ने चलन छ । यस क्षेत्रमा मन्दिरहरू हुन्छन् तर मन्दिरभित्र मूर्ति हुँदैन । त्यस्तै महिलाहरू महिनावारी हुँदा यार्सा टिप्दैनन् । त्यसबेला उनीहरुले औषधि सेवन गरेर मात्र टिप्ने गर्दछन् । महिनावारी भएको बेलामा यार्सा टिपेमा देउता रिसाउँछन् भने जनविश्वास रहेको महाकाली नगरपालिका छाप्रीमा बस्ने यार्सागुम्बा व्यापारी सन्तोष कुम्मरले भए । यार्सागुम्बा संकलनको बेला हिमाल तथा उच्च पहाडी क्षेत्रमा गाउँ नै रित्तिने गरी मानिसहरु पाटनतिर लागेका हुन्छन् । ससाना बालबालिका पनि आमाबाबुसँगै लगिएका हुन्छन् । बालबालिकाको आँखा तेजिलो हुने हुँदा छिटो यार्सागुम्बा चिन्न र टिप्न सक्छन् भनेर यार्सा संकलनमा उनीहरुलाई लैजाने गरिन्छ । घरमा बुढाबुढी र गाईवस्तु मात्रै हुन्छन् । यतिबेला वन्यजन्तु चोरी शिकारीका घटना पनि बढ्न थालेका छन् । यार्सा टिप्ने ठाउँमा प्रत्येक वर्ष आआफ्नो क्षेत्र स्थान छुट्याएको हुन्छ । कसैले पनि अर्काको स्थानमा पस्न पाउँदैन । आफ्नो पुरानै स्थानमा गएर पाल राखेर समूहमा बस्ने गर्छन् । यार्सागुम्बा भएको ठाउँमा बोटबिरुवा हुँदैन । बादल लाग्ने बित्तिकै हिउँ पर्न थाल्छ कतिपय ठाउँमा हिउँ पन्छ्याउँदै यार्सा बसेर कुट्टोले खनेर टिप्नु पर्ने हुँदा कतिपयलाई लेक लाग्ने वा अन्य बिरामी पर्ने सम्भावना पनि रहन्छ । उनीहरु लेकबाट जोगिनका लागि घरेलु औषधिको रुपमा टिमुर, डोली, मह, प्याज, गुड, लसुन लिएर जाने गर्दछन् । यार्सागुम्बाको बढ्दो संकलन तथा कारोबारसँगै उच्च पहाडी तथा हिमाली भेगमा शिक्षा, स्वास्थ्य तथा शान्ति सुरक्षा, सामाजिक विकृतिमा प्रतिकूल प्रभाव पनि पर्ने गरेको छ । कतिपय ठाउँमा विद्यालयका विद्यार्थीहरू शिक्षक कर्मचारीसमेत उल्लेख्य सङ्ख्यामा यार्साको संकलनमा जाने गर्दा जेठदेखि असोजसम्म विद्यालय नै बन्द हुने गरेको पाइन्छ । यार्साको जीवनचक्र समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाईमा यार्सागुम्बा पाइन्छ । यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो । हिमाली भेगमा हिउँ सकिएपछि वैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरू उम्रिएर फूल फुल्न थाल्छन् । त्यहीँ समयमा पुतलीहरूले फूल पार्ने गर्दछन् । पुतलीको लार्भा अवस्थामा सङ्क्रमण हुँदै पूरै शरीर नै तन्तुले भरिन्छ । बसन्त ऋतुसम्ममा यो आँख्लैआख्ला भएको लामो डाँटमा परिणत हुन्छ । यो जमिनमुनिबाट लार्भाको टाउको भएर  बाहिर अङ्कुरित हुन्छ । जमिनमुनिको भाग सुनौलो रङको दुईदेखि चार मिलिमिटर मोटो र तीनदेखि पाँच सेन्टिमिटर जति लामो  हुन्छ भने माथिको भाग चारदेखि सात सेन्टिमिटर जति खैरो रङको लामो हुन्छ । तौल ०।८ देखि ०।११ मिलिग्राम सम्मको हुन्छ । यसलाई तिब्बती भाषामा यार्चाकुन्बु भनिन्छ । ’यार’ भनेको वर्षा, ’चा’ भनेको झार,  ’कुन’ भनेको हिउँद र ’बु’ भनेको किरा हो । यार्चाकुन्बुबाट नै यर्सागुम्बा नाम रहन गएको हो भनिन्छ । यसलाई नेपालमा यर्सागुम्बा, यार्चागुम्बा, किराघाँस, जीवनबुटी,  भियाग्रा, सञ्जीवनी, किराझार आदि नामले चिनिन्छ । यार्साको बहुउपयोगिता       यर्सागुम्बा एक प्रकारको बहुपोषक भिटामिनयुक्त जडीबुटी हो । यसलाई शक्तिवर्धक र रगत बढाउने औषधिको रूपमा पनि लिइन्छ । लामो समयको बिरामीलाई तागत दिने रक्तअल्पता एवं उमेर बढ्दै गएपछि हुने समस्याको उपचारमा समेत यो प्रयोग गरिन्छ । यसमा एन्टीबायोटिक गुण पनि रहेको हुनाले छाती तथा फोक्सोको सङ्क्रमण, क्षयरोग, खोकी, रक्तचाप, कोलेस्टेरोल, यौन शक्ति बढाउने, क्यान्सर, मृगौला, कलेजो, हेपाइटिस बी, जस्ता रोगमा पनि औषधिको रुपमा सेवन गरिन्छ । यार्सागुम्बाको केही भाग धुलो बनाएर मनतातो दूध वा पानीमा मह मिसाएर रातिमा खाएमा शरिरमा रोग प्रतिरोधात्मक शक्ति पनि बढ्ने विश्वास गरिएको व्यास गाउँपालिकाका स्थानीयवासी प्रेम रोकायाले बताए । विश्व जलवायु परिवर्तनले गर्दा यार्सागुम्बाको फङ्गस उम्रनमा धेरै नै असर परेको छ । यो उम्रनको लागि बाक्लो हिउँ चाहिन्छ तर विश्व जलवायु परिवर्तनका कारण तापमान बढ्दै जाँदा हिउँ पर्ने क्रममा आएको फेरबदलले यो प्रजातिमा पनि सङ्कट परेको छ । जथाभावी यार्सा संकलन गर्ने, यार्सा टिप्न जाँदा प्लाष्टिक तथा सिसाजन्य वस्तु जथाभावी फाल्ने गर्दा पनि यष्सको उत्पादनमा क्रमशः हस आइरहेको छ । हिमाली तथा पहाडी भेगको बासिन्दाहरू बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलन गरी बिक्री वितरण गर्दा जनताको आर्थिक स्थिति, पर्यटन, होटल, बैंक तथा वित्तीय संस्थाहरू लगायतआयआर्जन तथा रोजगारका अवसरमा वृद्धि भएको पाइन्छ । हिमाली क्षेत्रका अधिकांश परिवारको वर्षभरिको जीविकोपार्जनका लागि यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी नै मुख्य आम्दानीको स्रोत रहेको छ । रासस

बर्खा लागेपछि घटे पर्यटक, जुनमा ७६ हजारले नेपाल घुमे

काठमाडौं । बर्खा मौसम सुरु भएपछि नेपाल घुम्न आउने पर्यटक घटेका छन् । सामान्यतया बर्खा मौसममा पर्यटकहरू घुम्न त्यति रुचि पनि देखाउँदैनन् । सन् २०२४ को जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटकले नेपाल घुमेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जुन महिनामा जम्मा ७६ हजार ७ सय ३६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यससँगै सन् २०२४ को ६ महिनामा नेपाल घुम्ने पर्यटककाे संख्या ५ लाख ८३ हजार १६ पुगेकाे छ । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को जुनमा ७२ हजार २ सय ५० जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२२ को सोहि अवधिमा ४६ हजार ९ सय ५७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८ सय ३५ भारतीय पर्यटकले नेपाल घुमेका छन् । त्यस्तै, अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४, बंगलादेशबाट ३ हजार ८ सय ५७, बेलायतबाट १ हजार ९ सय ६९, अष्ट्रेलियाबाट एक हजार ५ सय ८९ पर्यटक भित्रिएका छन् ।

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय, एक लाखलाई प्रत्यक्ष रोजगारी

काठमाडौं । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न आचारसंहिता बनाइ कार्यान्वयनमा ल्याएको हो । कार्यान्वयनमा आएसँगै ठमेलभित्रका होटल, रेष्टुरेन्ट, क्लब, दोहोरी, कफी सप, बर्गर हाउस, मार्ट, किराना पसल, मदिरा पसल, फलफूल पसल २४ सै घण्टा खुल्न थालेका थिए । ठमेलमा फलफूल पसल सञ्चालन गर्दैै आएका राज जयसवाल रात्रिकालीन समयमा फलफूल र जुसको राम्रो व्यापार हुने बताउँछन् । ‘दिनको तुलनामा रातको समय दोब्बर बिक्री हुँदै आएको छ,’ उनले भने । ठमेलमा मदिरा सञ्चालन गर्दै आएका राजेन्द्र श्रेष्ठले पनि आफ्नो आम्दानी विगतभन्दा दोब्बरले वृद्धि भएको बताए । रातको समयमा भोक लागेका व्यक्ति होस् या चिया कफीको पारखी हुन् ठमेल र दरबारमार्गमा सहजै भोक र प्यास मेटाउन सक्ने व्यवसायी बताउँछन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा ठमेलको रात्रिकालीन व्यवसायले विस्तारै लय लिएको बताउँछन् । ‘सुरुको समयमा ठमेलमा व्यापार व्यवसाय गर्न निश्चित समय तोकिएको थियो, २४ सै घण्टा सञ्चालन भएसँगै व्यवसायी निर्धक्क भएर व्यवसाय गर्न पाएका छन्,’ उनले भने । अध्यक्ष शर्माले अर्को सिजनमा ठमेलका अधिकाशं रात्रिकालीन सपिङ सेन्टरहरु खुल्ने र राती दुई बजेसम्म ठमेल ‘बिजनेश हब’का रुपमा चलायमान हुने बताए । ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरबेटी छन् । यस क्षेत्रले झण्डै एक लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) का अध्यक्ष सङ्घर्ष विष्ट ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्नु सकारात्मक भएको बताउँछन् ।  ‘ठमेल र दरबारमार्गभित्रको अर्थतन्त्रलाई चलायमान बनाउन यस किसिमका गतिविधिले सहयोग पुग्नेछ,’ उनले भने । रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बार अर्को पर्यटकीय सिजनबाट २४सै घण्टा सञ्चालन गर्ने अध्यक्ष विष्टको भनाइ छ । जिल्ला प्रशासनले ठमेल र दरबारमार्ग क्षेत्रलाई रात्रिकालीन समयमासमेत सुरक्षा व्यवस्था मजबुद बनाएको छ । ठमेल र दरबारमार्ग क्षेत्र सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख छ । ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबास भएकाले कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे ठमेल र दरबारमार्गको सुरक्षा अवस्थालाई मजबुद बनाइएको बताउँछन् । ‘रात्रिकालीन व्यवसायको सिलसिलामा हुनसक्ने आपराधिक गतिविधि रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ,’ उनले भने ।