विकासन्युज

पीआर लिएकालाई नियुक्ति रोक्ने कानुन बनाउन अख्तियारको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको व्यक्तिलाई नियुक्ति रोक्ने गरी कानुनी व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ । विदेशको पीआर लिएकाहरू सार्वजनिक पदमा बहाल रहेको भेटिएको भन्दै समाचार प्रकाशित भएपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाइ यस्तो निर्देशन दिएको हो । सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र लिए नलिएको यकिन गर्न स्वघोषण अनिवार्य रूपमा पेस गर्न लगाउन निर्देशनमा भनिएको छ । अन्य सार्वजनिक निकायका हकमा पनि सोहीबमोजिम कानुनी व्यवस्था गर्ने गराउने व्यवस्था गर्न अख्तियारले निर्देशन दिएको छ ।

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताएका छन् । रामेछापको मन्थली नगरपालिकाले बिहीबार यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताए । ‘विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान संख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छ,’ उनले भने । मन्त्री तामाङले नागरिक उड्डयन प्राधिकरणलगायत कार्यालयको बजेट निर्माण हुने क्रममा रहेकाले उक्त विमानस्थल प्राथमिकतामा राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । ओझेलमा परेका देशभरिका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने मन्त्री तामाङले बताए । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नयाँ पूर्वाधार निर्माणका कारण मौलिक परम्परा र सम्पदा मासिँदै गएको बताए । उनले पर्यटकीय क्षेत्रको विकास र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकार लागेको उल्लेख गरे । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र मन्थलीको विकासमा बागमती प्रदेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थलीलाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न खोजेको बताए । उनले खुम्बु क्षेत्रको प्रवेशद्वार मन्थली विमानस्थल, खाँडादेवी, शैलुङ र कालिञ्चोकमा जाने पर्यटकलाई मन्थलीसँग जोड्न गाउँपालिकाले काम गरिरहेको उल्लेख गरे । नेपालको बाटो हुँदै भारत–चीन जोड्ने ‘मिड प्वाइन्ट’का रूपमा रहेको मन्थलीले सुनकोशी मरिण डाइभर्सन, साहित्यिक पर्यटन, कृषि तथा वन पर्यटन, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत लाभ लिन खोजेको नगरप्रमुख श्रेष्ठले बताए ।

होस्टल : सुविधा सम्पन्न एक सुरक्षित घर

एसईईको नतिजा प्रकाशन भएसँगै गाउँ छोडेर विद्यार्थी सहर पस्न थालेका छन् । आ-आफ्नो योजना अनुसार विषय छनोट गर्दै पढ्न सहर पसेका विद्यार्थी कोही कोठा भाडामा लिएर बस्छन् भने धेरै जसो छात्रावास (होस्टल)मा पनि बस्ने गर्छन् । विद्यार्थीहरूकै लागि विभिन्न ठाउँमा छात्र अथवा छात्रावासहरू सञ्चालनमा आएका छन् । घर छोडेर बाहिर बस्दा अझ होस्टेलमा बस्दा विद्यार्थी र अभिभावकहरूले धेरै कुरामा ध्यान दिनुपर्छ । विद्यार्थीका लागि होस्टल राम्रो र सुरक्षित ठाउँ हो । तर, यति हुँदा हुँदैपनि कहिलेकाहीँ नराम्रा दुर्घटना भएका समाचारहरू पनि सुन्नमा आउँछन् । होस्टलमा बस्दा विद्यार्थीलाई सजिलो भएपनि धेरै कुरामा ध्यान आवश्यक हुन्छ । यहाँ रहँदा विद्यार्थीले नियम कानुनमा बस्नुपर्छ । होस्टल र विद्यार्थीले तिर्ने शुल्क हेरर विद्यार्थीले पाउने सेवा सुविधा छुट्टाछुट्टै हुन्छन् । होस्टलमा बसेका विद्यार्थीले खाना पकाउन पर्दैन, लुगा पनि धुन पर्दैन । यो भनेको उनीहरूका लागि पढ्न प्रयाप्त समय हुनु हो । होस्टलमा बस्ने, खाने, लुगा धुने सबै सुविधा एउटै छतमा पाउँछन् । सुरक्षा पनि पाउँछन् । कोठामा एक्लै बस्नु भन्दा साथीहरूसँग होस्टेलमा बस्दा सुरक्षित पनि भइन्छ । विद्यार्थीले के कुरामा ध्यान दिने ? हामी जोकोही पनि अनुशासनमा बस्नुपर्छ । अझ विद्यार्थीको लागि अनुशासन महत्वपूर्ण हुन्छ । कुनै संघ संस्थामा जोडिँदा व्यक्ति त्यहाँको नियम कानुन अनुसार रहनुपर्छ । होस्टलको हकमा पूर्प-पश्चिम, उत्तर-दक्षिणका विद्यार्थीहरू मिलेर एउटै कोठामा बस्नुपर्छ । त्यसका लागि व्यक्ति मिलनसार हुनुपर्छ । होस्टलको आचारसंहिता अनुसार यहाँ बस्ने विद्यार्थीले साथीहरू ल्याउन र होहल्ला गर्न मिल्दैन । होस्टलमा अरुको कोठामा जान समेत पाइँदैन । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बाहिर जाने काम परे जानकारी गराइ निस्कन मिल्ने भएपनि राति भने निस्कन मिल्दैन । यस्तो नियम सबै होस्टलमा हुन्छ । तर, अहिलेका विद्यार्थीलाई नियममा बस्न मन पर्दैन । उनीहरू स्वतन्त्र हुन मनपर्छ । आफूले मन लागेका ठाउँ जाने, काम गर्ने गरिरहेका विद्यार्थीलाई होस्टलमा बस्न गाह्रो हुन्छ । यस्तै विद्यार्थीले धुम्रपान, मध्यपान गर्न मिल्दैन । तर, आजभोलिका बालबालिका विद्यालयमै हुँदा चुरोट, ई-सिगरेटको लतमा फसेका हुन्छन् । यस्ता विद्यार्थीहरू एउटा नियममा बाँधेर राख्न होस्टललाई पनि चुनौती हुन्छ । होस्टलमा बस्न विद्यार्थीले यस्ता कुरामा सुधार गर्नुपर्छ । पारिवारिक वातावरण हुनुपर्छ विद्यार्थी बस्ने होस्टलमा पारिवारिक वातावरण हुनुपर्छ । जहाँ बस्दा विद्यार्थीलाई घरमै बसे जस्तो महसुस गरोस् । यसका लागि होस्टलले विद्यार्थीका कुरा सुन्ने, समस्या पर्दा सहयोग गर्नेदेखि विभिन्न चाडपर्वमा रमाइलो गर्ने वातावरण बनाउनुपर्छ धेरैजसो होस्टलमा यो गरिन्छ पनि । यस्तो गर्दा बच्चाहरूलाई घरबाट टाढा भएको महसुस हुँदैन । यहाँ पूर्वपश्मिका, फरक जातजाती, धर्म र संस्कृतिका विद्यार्थी एउटै कोठामा बस्नुपर्छ । त्यसो हुँदा एक जातीले अर्को जातीको धर्म संस्कृति पनि जान्ने र बुझ्ने मौका हुन्छ । यसले पनि विद्यार्थीको सिकाइमा धेरै ठूलो प्रभाव पार्छ । होस्टल सञ्चालकहरूले पनि सबै विद्यार्थीहरूलाई एकनासको व्यवहार गर्नुपर्छ । यस्तो व्यवहार वातावरण भए विद्यार्थीलाई पनि सहज हुन्छ भने सञ्चालकहरूलाई पनि सजिलो हुन्छ । समयको बचत होस्टलमा बस्दा विद्यार्थीको समयको बचत हुन्छ । पढाइको लागि घर छोडेर बाहिर आएका विद्यार्थीलाई एकातिर पढाइको चिन्ता अर्कोतिर कतिबेला खाना पकाउने, लुगा धुने र सरसफाइ गर्ने भन्ने पीर हुन्छ । होस्टलमा बस्दा यस्ता कुराको चिन्ता लिनु पर्दैन । पढाइको लागि धेरै समय पाउन सक्छ । घर छोडेर आइसकेपछि सबै काम विद्यार्थी आफैले गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीलाई यति गर्न गाह्रो हुन्छ । सीमित स्रोत साधनमा सबै कुरा राम्रा छन् । होस्टलमा बस्दा नियममा बाँधिनु पर्छ घरमा बस्दा जस्तो स्वतन्त्र हुँदैन । यो एउटा विद्यार्थीका लागि आवश्यक पनि हो । होस्टलमा बस्न विभिन्न ठाउँबाट विद्यार्थी आउँछन् । एउटै कोठामा धेरै जनाले मिलेर बस्नुपर्छ । विभिन्न परिवेशबाट आएका विद्यार्थी एउटै ठाउँमा बस्दा रुम सेयरिङ गर्न पनि सिक्छन् । यो पनि एउटा सिकाइ हो । यहाँ विद्यार्थीले सेयरिङ, केयरिङ सबै कुरा सिक्छन् । विद्यार्थी होस्टलमा बस्दा धैर्य गर्न, सहकार्य गर्न सिक्छन् भने अर्कोलाई सम्मान गर्न, एउटा अनुशासित भएर बस्न सिक्छन् । कतिपय विद्यार्थीहरू अलग परिवेशबाट आएर पनि होस्टलमा बस्दा निकट भइसकेका हुन्छन् । यतिसम्म पनि हुन्छ कि होस्टल बाहिर गएपनि पनि उनीहरूको सम्बन्ध सधैं निकट हुन्छ, यो पनि विद्यार्थीको लागि राम्रो सिकाइ हो । आजभोलि प्रायः परिवारमा आमाबुवा छोराछोरी मात्र हुन्छन् । अझ कतिपय दम्पतीको एक्लो बच्चा हुन्छ । यस्तो परिवारमा बसेको बच्चा होस्टेलमा बस्दा उसलाई समुदायसँग घुलमिल हुन पनि सजिलो हुन्छ । एक अर्काको सम्मान गर्न सिकाइ हुन्छ । घरमा आमाबुवाले सिकाउन नसक्ने कुरा पनि होस्टलमा बस्दा विद्यार्थीले सिकेका हुन्छन् । यसले विद्यार्थीको व्यक्तिगत रुपमा पनि परिर्वतन ल्याउँछ । कक्षामा गएर विद्यार्थीले पाठ्य पुस्तकमा लेखेका कुरा पढ्छन् भने होस्टलमा बस्ने धेरै विद्यार्थीले व्यवहारिक कुरा पनि सिक्छन् । होस्टलमा बस्दा केटाकेटी बिग्रन्छन् ? होस्टलमा बस्दा विद्यार्थीको सिकाइ बढ्छ भने कतिपय केटाकेटी होस्टेलमै बसेर बिग्रेको अथवा नराम्रा दुर्घटना भएको कुरा पनि सुन्नमा आउँछ । यसको मतलब यस्ता घटना हुँदैन भन्ने होइन । कहिँलेकाहीँ यस्ता घटना पनि हुन्छन् । तर, यस्ता घटना हुन नदिन कसले के गर्नुपर्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । यस्ता घटना हुनुमा विद्यार्थी, सञ्चालक सबैको दोष हुन्छ । होस्टल केटा र केटीका लागि छुटछुट्टै हुन्छन् । एउटा होस्टेलमा ४०/५० जना विद्यार्थी हुन्छन् । यसमा सबै विद्यार्थी राम्रा हुन्छन् भन्ने पनि हुँदैन, सबै नराम्रा हुन्छन् भन्ने पनि मिल्दैन । कहिलेकाँही एक दुई जना विद्यार्थीले गरेको गल्तिले पनि होस्टेललाई हेर्ने नजर नराम्रो भइदिन्छ । अनेक थरिका विद्यार्थी आएर कहिलेकाहीँ घटनाहरु पनि हुन्छन् । यसमा सबैले सहकार्य गरेर लाग्नुपर्छ । कतिपय विद्यालयल सञ्चालनमा ल्याएका होस्टलमा स-साना बालबालिकालाई पनि राख्ने गरिन्छ । सानैदेखि होस्टलमा राख्नु राम्रो होइन एसईईपछि होस्टलमा बस्दा राम्रै भएपनि सानै उमेरदेखि बालबालिकालाई अभिभावकबाट टाढा राख्नु भने त्यति राम्रो होइन । बालबालिकालाई समय दिन नसक्ने कतिपय व्यस्त दम्पति सानै उमेरमा छोराछोरीलाई होस्टलमा राख्ने गर्छन् । यसरी राखिएका बालबालिकामा कहिलेकाँही नराम्रो घटना भएको पनि सुन्ने गरिन्छ । केही समय अगाडि चितवनमा एउटी छात्राले आत्हत्या गरेको घटना बाहिर आएको थियो । यसमा सम्बन्धित अभिभावक र सञ्चालकसँगै राज्यले पनि ध्यान दिनुपर्छ । तर, एसईई दिइसकेका विद्यार्थी वा प्लसटु सकेका विद्यार्थीका लागि भने होस्टल उपयुक्त मानिन्छ । कुनै होस्टलमा यस्ता घटना हुन नदिन यस सँग सम्बन्धित संघ संस्थाले कडा एक्सन लिनुपर्छ । कतिपय होस्टलमा बस्ने विद्यार्थीलाई मानसिक समस्या देखिन्छ । यही समस्याका कारण पनि कहिलेकाहीँ नराम्रा घटना भएको सुन्नमा आउँछ । कहिलेकाहीँ चोरी भएका घटनाहरू पनि आउँछन् । यस्ता घटनाहरु भइरहँदा कहिँलेकाहीँ सञ्चालकलाई घटना बारे थाहा नै हुँदैन । कहिलेकाहीँ सबैभन्दा इमान्दार र राम्रो भनिएको विद्यार्थीले पनि होस्टलमा बसेर आत्महत्या गरिरहेका हुन्छन् । यस्ता विषयमा ध्यान दिनुपर्छ । मानसिक स्वास्थ्य समस्याका विषयलाई पनि होस्टल सञ्चालकले ध्यान दिनुपर्छ । जाडो महिनामा हुने ग्यास गिजर पड्किने घटना पनि कहिलेकाँही होस्टेलमा हुन्छन् । होस्टलले के गर्ने ? केटाकेटी जहिले पनि आफू स्वतन्त्र हुन चाहन्छन् । कसैलाई रोकतोक मन पर्दैन । तर, पनि होस्टल सञ्चालकहरूले पनि यस्तो बेला आफ्नो विद्यार्थीको अवस्था के छ उनीहरू के गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । होस्टलमा रहेका सबै विद्यार्थीलाई एउटै व्यवहार गर्नुपर्छ । कसैलाई समस्या छ भने सोध्नुपर्छ । कहिलेकाँही परिवारलाई सेयर गर्न नसक्ने कुराहरू पनि विद्यार्थीले गर्न सक्छन् । यस्ता कुरा सञ्चालकहरूले अभिभावकको भूमिका निर्वाह गर्ने गरि सुनिदिनुपर्छ । सञ्चालकले कहिलेकाहीँ अभिभावक र विद्यार्थीको समन्वय गर्ने भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । विद्यार्थीले के गर्ने ? होस्टलमा बस्ने विद्यार्थीले होस्टलको नियममा बस्नुपर्छ । राति महत्वपूर्ण काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे नियमअनुसार फर्म भरेर जानुपर्छ । बाहिर निस्कन परे जानकारी गराउने गर्नुपर्छ । कुनै पनि होस्टलको आफ्नै नियम हुन्छ । त्यही परिधिभित्र रहेर विद्यार्थीले बस्नुपर्छ । नियम अलि कडा गर्दा बच्चाहरूलाई मन पर्दैन । कहिलेकाँही तलमाथि केही भयो भने सञ्चालकहरूमाथि नै प्रश्न उठ्छ । बच्चाहरूलाई अनुशासनमा राख्न सक्नु ठूलो कुरा हो । यो धेरै गाह्रो हुन्छ । तर, पनि राख्नुपर्छ । दिउँसो बाहिर जाने छुट हुन्छ । बिहान ७ बजेदेखि साँझ ७ सम्म आउन जान जान दिन्छ । तर, रातिको हकमा आवतजावत गर्न मिल्दैन । होस्टलमा बस्ने विद्यार्थीले यस्तो मानसिकता चाहिँ राख्नुपर्छ । अनुगमन हुनुपर्छ कतिपय बनाएका नियम कानुन सबै होस्टलमा लागु नभएको पनि हुन सक्छ । यसका लागि सम्बन्धित निकायले बेलावखत अनुगमन गर्न आवश्यक छ । धेरै होस्टल दर्ता बिनै सञ्चालनमा आएका हुन्छन् । त्यस्ता होस्टलले विद्यार्थीलाई सेवा दिन भन्दा पनि व्यापारिक प्रयोजनाका लागि सञ्चालन गरिरहेका हुन्छन् । काठमाडौं उपल्यकामा पनि दर्ताबिना धेरै होस्टल सञ्चालनमा आएको कुरा सुनिन्छ । यस्तो बेला विद्यार्थी अभिावकले ध्यान दिनुपर्छ । कुनैपनि अभिभावले आफ्ना बच्चाहरूलाई होस्टलमा राख्नुअघि र विद्यार्थी आफूले आउनु अघि होस्टल दर्ता भएको हो वा होइन भन्ने कुरा पत्ता लगाउन आवश्यक छ । यदि यो कुरामा ध्यान दिइएन भने पनि जोखिमपूर्ण घटनाहरू पनि हुन सक्छन् । उपत्यका लगायत विभिन्न सहरमा सञ्चालनमा आएका होस्टल सबै विद्यार्थीका लागि मात्र छैनन् । कतिपय होस्टल पर्यटकका लागि कतिपय विद्यार्थीका लागि गरेर विभिन्न खालका होस्टलहरू सञ्चालनमा छन् । अभिभावकको भूमिका घरपरिवारमा बस्दा आफ्नो बच्चाको हेरबिचार कति गरिन्छ, त्यस्तै आवश्यक हेरविचार आफ्नो बच्चा होस्टलमा छ भनेपनि अभिभावकले गर्नुपर्छ । समयमा खाना खाए नखाएको, समयमै होस्टल आए नआएको, उसको पढाइ लगायतका सबै विषयमा टाढा भएपनि अभिभावकले फोन, फेसबुकजस्ता सामाजिक सञ्जालबाट नियमित सम्पर्कमा रहनुपर्छ । बिरामी हुँदादेखि खानपानसम्मको केयर अभिभावकले राख्नुपर्छ । होस्टल एउटा विद्यार्थीका लागि राम्रो ठाउँ हो । जसले बस्न खान सही वातावरण दिन्छ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । समाजले हेर्ने नजर पनि राम्रो बनाउनुपर्छ । (होस्टल एसोशिएसन नेपालकी अध्यक्ष सुनिता लाकौलसँग इन्द्रसरा खड्काले गरेकाे कुराकानीमा आधारित)

सवा करोड नेपाली विदेशिएपछि घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकि गत वर्षको सोही अवधिमा भने छ खर्ब ४४ अर्ब छ करोड रुपैयाँ बराबरको आयात भएको थियो । चालु आवको ११ महिनामा मात्रै गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १५ प्रतिशत अर्थात् ९२ अर्ब रुपैयाँले आयात खुम्चिएको छ । मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा धेरै योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयले चालु आवको जेठ मसान्तसम्मको अवधिमा एक खर्ब ४१ अर्ब ३० करोड रुपैयाँ रकममात्र राजस्व संकलन गरेको छ । जबकि कार्यालयले गत वर्षको सोही अवधिमा भने एक खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । कार्यालयले गत आवको तुलनामा चालु आवको सोही अवधिमा ४० करोड ५७ लाख रुपैयाँ रकम राजस्व घटेको छ । आयातमुखी अर्थतन्त्रमा निर्भर नेपालको राजस्व संकलन प्रणालीमा प्रत्यक्ष असर देखा पर्न थालिसकेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आवमा आयात खुम्चिएसँगै राजस्व संकलनमा पनि प्रभाव देखिन थालेको बताउँछन् । ‘औद्योगिक कच्चा पदार्थको आयात घटेसँगै राजस्व संकलनमा असर देखिएको छ । खासगरी क्रुड आयलको कच्चा पदार्थको आयात घटिरहेको छ । विगतका वर्षमा जस्तै सवारीसाधनको पनि आयात उत्साहजनक देखिएको छैन’, उनले भने, ‘एकातर्फ आयात खुम्चिरहेको छ, अर्कोतर्फ समग्रमा मुलुकको अर्थतन्त्र नै सुस्ताएको कारणले पनि औद्योगिक गतिविधि कम हुँदा राजस्वमा असर देखिएको हो ।’ नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डा सुबोधकुमार गुप्ताले अर्थ मन्त्रालयले हरेक वर्ष बजेट निर्माण गर्दा राजस्व संकदन गर्ने रकम वास्तविकभन्दा पनि अनुमानको भरमा लक्ष्य निर्धारण गर्ने भएकाले लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेको बताउँछन् । ‘बजेट बनाउँदा रहेक वर्ष २०–२५ प्रतिशत राजस्व बढ्ने उल्लेख गरिएको हुन्छ । वैज्ञानिक ढंगले राजस्व बढ्छ कि बढ्दैछ भनेर कुनै अध्ययन गरिएको हुँदैन । यसले गर्दा लक्ष्यअनुसारको राजस्व संकलनमा सधैँ कमजोरी देखिँदै आइरहेको छ’, उनले भने, ‘राजस्व बढाउने उद्देश्य मात्रै राखिने गर्छ तर मुलुकभित्रको व्यापारिक तथा औद्योगिक उत्पादन घटिरहेको र उद्योगी–व्यापारी र सर्वसाधारणले कर तिर्न नसकिरहेको अवस्थामा ख्याल गर्ने गरिदैन ।’ अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले मधेस प्रदेशका करिब ६० प्रतिशत उपभोक्ताले सीमावर्ती भारतीय बजारबाटै उपभोग्य सामग्री खरिद गर्ने भएकाले पनि राजस्व संकलनमा प्रत्यक्ष असर पार्ने गरेको दाबी गर्छन् । ‘मधेस प्रदेशका अधिकांश उपभोक्ताले जन्मदेखि मृत्यु संस्कारसम्मका सबै गतिविधिमा सीमावर्ती भारतीय सहरबाटै खाद्यान्नदेखि रासन खरिद गर्दै आइरहेको छन्’, उनले भने, ‘एकातर्फ भारतको सीमावर्ती जिल्लामा रहेका बजार नेपाली उपभोक्ताकै कारणबाट चल्दै आइरहेका छन् भने अर्कोतर्फ नेपालका उद्योगी–व्यवसायीले पनि घुमाउँरो शैलीमा तस्करीका सामान बिक्री वितरण गर्दै आइरहेका छन् । यसको प्रभाव सरकारले ठूलो मात्रामा राजस्व गुमाउँदै आइरहेको छ ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लामा ११ महिनाकै अवधिमा मात्रै अवैध चोरी तस्करी तथा बिलबिजनक नभएका ७७ करोड रुपैयाँभन्दा बढी मूल्यका मालसमान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले पनि चालु आवको ११ महिनाको अवधिमा भन्सार छली तथा बिलबिजकअनुसार नभएका ४९ करोड ३२ लाख ४७ हजार नौ सय ५० रुपैयाँ मूल्यपर्ने सामान बरामद गरेको छ । यसमा भन्सारी छली गरेका सात करोड २४ लाख ४४ हजार दुई सय ९२ रुपैयाँ मूल्यका समान छन् । सोही अवधिमा बिलबिजकअनुसार नभएको  सामान भने ४२ करोड आठ लाख १३ हजार छ सय ५८ रुपैयाँ मूल्य पर्ने समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारती प्रहरीको सक्रियताको कारणले चोरी तस्करी गर्नेबाट ठूलो परिणामको सामान बरामद गरिएको दाबी गर्छन् । ‘खुला सीमानाकाका बाबजुद पनि चोरी तस्करी नियन्त्रणका कामलाई उच्च प्रथामिकतामा राख्दै आइरहेका छौँ’, उनले भने, ‘विगत वर्षको तुलनामा यो वर्ष अवैध सामान पक्राउ गर्ने क्रम ह्वात्तै बढेको हो ।’ सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आवको साउनदेखि जेठसम्मको अवधिमा भन्सार करिब २७ करोड ५० लाख रुपैयाँ मूल्य पर्ने भन्सार छली गरेका तथा बिलबिजक नभएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले गत आबभन्दा चालु आवको ११ महिनाको अवधिमा तीन करोड सात लाख ३५ हजार नौ सय ४१ मूल्य पर्ने सामान तथा उपकरण बरामद गरेको छ । सशस्त्र प्रहरी गणका गणपति राधेश्याम धिमालले पर्सा जिल्लामा नेपाल–भारत खुला सीमानाका भएकाले दुवै मुलुकमा चोरी तस्करी निमिट्यान्न पार्न नसकिए पनि नियन्त्रण गर्ने प्रयास जारी राखेको बताउँछन् । भन्सार विभागले कार्यालयलाई चालु आवमा दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ । तर, कार्यालयले हालसम्म कुल लक्ष्यको ५७ दशमलव ७१ प्रतिशत राजस्वमात्रै संकलन गरेको छ । सूचना अधिकारी कर्णले भन्सार विभागले दिएको राजस्व संकलन गर्न दिएको लक्ष्य ६२ देखि ६५ प्रतिशतको हाराहारीमा संकलन हुने दाबी गरे । सुक्खा बन्दरगाहको पनि राजस्व उत्साहप्रद छैन  वीरगञ्ज भन्सार कार्यालयको मात्रै होइन, चालु आवको ११ महिनाको अवधिमा सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जको पनि राजस्व संकलन उत्साहप्रद छैन । कार्यालयले चालु आवको ११ महिनाको अवधिमा भन्सार विभागले दिएको कुल लक्ष्यको ६६ दशमलव ४४ प्रतिशत अर्थात् ४३ अर्ब आठ करोड ८६ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि भन्सार विभागले कार्यालयलाई ६५ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयका अनुसार यो वर्ष कुल राजस्व सङ्कलन गर्ने लक्ष्यको ७५ प्रतिशत हासिल हुने अपेक्षा गरिएको छ । गत आवमा भन्सार विभागले कार्यालयको लागि ६७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले वर्षभरिमा नै कुल लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गर्न सकेको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवमा समग्र वैदेशिक व्यापार घटेकाले पनि राजस्व संकलन उत्साहप्रद नभएको बताए । ‘सवारीसाधन आयात भएर धेरै राजस्व संकलन हुने गथ्र्यो । तर, यो वर्ष सवारीसाधनको आयात खासै बढ्न सकेको छैन’, उनले भने । भारतबाट सोझै सुक्खा बन्दरगाह कार्यालयमा कार्गो रेलबाट सामान आउने भएकाले यहाँ चोरी तस्करी हुने सम्भावना न्यून रहेको उनको भनाइ छ । बरुवालले भने, ‘यो वर्ष कार्गो रेलबाट सामान ल्याउने क्रम पनि घट्दो क्रममा रहेको छ । पहिला दैनिक तीनवटा कार्गो रेलबाट सामान भित्रिने गथ्र्यो तर अहिले एउटा वा दुई वटा कार्गो रेलले मात्रै सामान ल्याउने गरेको छ ।’ केन्द्रीय सदस्य गुप्ता अहिले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्न  राज्यले औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने नीति अघि सार्नुपर्ने बताउँछन् । ‘अहिले मुलुकको अर्थतन्त्रमा गम्भीर संकटको असर देखिरहेको छ । यो संकटमोचन गर्ने खालको मौद्रिक नीति ल्याएर हल गर्न जरुरी भइसकेको छ’, उनले भने, ‘सरकारले मुलुकभित्र औद्योगिक गतिविधि बढ्नुपर्छ । मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सामान विदेशमा पनि निर्यात हुनुपर्छ भन्दै आइरहेको छ तर सो लगानीमैत्री वातावरण बनाउन भने सरकार चुकेको देखिन्छ ।’ मुलुकको अर्थतन्त्र शिथिलताको कारणले औद्योगिक कच्चा पदार्थ र खाद्यान्नलगायत आयातमा गिरावट आएसँगै राजस्व संकलनमा पनि प्रत्यक्ष प्रभावित हुँदै आइरहेको उनको भनाइ छ । ‘मुलुकको अर्थतन्त्र निकै जर्जर अवस्थाबाट गुज्रिराखेको छ । अहिले विद्युत्भार कटौतीको कारण उद्योगधन्दा १२–१६ घण्टा बन्द हुने अवस्थामा छन् । औद्योगिक कच्चा पदार्थको आयात घटेसँगै राजस्व संकलनमा पनि असर देखापरेको हो’, उनले भने, ‘अहिले अर्थतन्त्रमा देखिएको समस्या तत्कालै सम्बोधन नगर्ने हो भने आगामी वर्षमा राजस्व झनै घट्ने देखिन्छ ।’ पछिल्लो समय आयात घट्नुमा देशको कुल जनसङ्ख्यामध्ये एक करोड २० लाखभन्दा धेरै नागरिक विदेशी मुलुकमा अध्ययन वा रोजगारीको कारणले पलायन भएकाले पनि मुलुकभित्र खपत गर्ने वातावरणमा कमी आएको छ । रासस

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाइ स्थगित

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ । शुक्रबारका लागि निर्धारण भएको प्रधानको संसदीय सुनुवाइ स्थगित भएको हो । उजुरीकर्ताले उठाएका विषयमा थप अध्ययन गर्नुपर्ने भएपछि प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको हो । बिहीबार समितिले सुनुवाइअघि  उजुरीकर्तासँग छलफल गरेको थियो । प्रधानविरुद्ध ४ वटा उजुरी परेको छ । आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । उजुरीकर्तासँगको छलफलपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाले बताए ।

आँखुखोला जलविद्युतले पायो हकप्रद सेयर निष्कासन अनुमति

काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

बाँकेमा अभियुक्त समाउन प्रहरीले गोली चलायो

काठमाडौं । बाँकेमा अभियुक्त समाउन प्रहरीले गोली चलाएको छ । प्रहरीले डुडुवा गाउँपालिका-६ शिखनपरुवामा चोरी मुद्दामा ६ वर्ष सजाय पाएका सरमानसिंह सरदारलाई गोली हानेर पक्राउ गरेको हो । अभियुक्त सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् भने स्थानीय ३० वर्षीय नानक सिंह शिख र सरदारलाई गोली लागेको छ । उनीहरूको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ । सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए । उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए । आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए । लोकसेवा नियमित रुपमा नखुलेको र आफूहरुको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको जानकारी दिए । उनले अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरु मानहानीको मुद्दामा अदालत गएको पनि बताए ।