काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ । शुक्रबारका लागि निर्धारण भएको प्रधानको संसदीय सुनुवाइ स्थगित भएको हो ।
उजुरीकर्ताले उठाएका विषयमा थप अध्ययन गर्नुपर्ने भएपछि प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको हो । बिहीबार समितिले सुनुवाइअघि उजुरीकर्तासँग छलफल गरेको थियो । प्रधानविरुद्ध ४ वटा उजुरी परेको छ ।
आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् ।
उजुरीकर्तासँगको छलफलपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाले बताए ।