विकासन्युज

समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई अनुसन्धानमा सघाउन छानबिन समितिको निर्देशन

काठमाडौं । सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकहरुलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो । समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समन्वय गर्न र समितिको सम्पर्कमा आएर अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गर्ने निर्णय भएको बताए । उनले भने, ‘आज हामीले महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीहरुसँग छलफल गर्‍यौँ, महालेखाको ६०औं र ६१औं प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याका बारेमा उल्लेख भएको छ, २०७५ सालदेखि नै महालेखका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखापरेका समस्याहरुका सन्दर्भमा उल्लेख भएको पाइन्छ, यद्यपि महालेखाको सिधै कार्यक्षेत्र सहकारी संस्थासँग जोडिँदैन, नियमनकारी निकाय छ, तर त्यसलाई चाहिने श्रोत, साधन, जनशक्ति छैन, वित्तीय विषय हेर्नुपर्ने छ, प्रशासनिक जनशक्ति छ, न्युन जनशक्ति छ, कानून बमोजिमका संयन्त्र बनेका छैनन्, यस्ता समस्याहरूले सहकारी नियमन कमजोर भएको पाइएको छ ।’ बैठकले समितिको कार्यक्षेत्रमा परेका २९ वटा सहकारीहरूका विषयमा छलफल गर्दै ती सहकारीका सञ्चालकहरूलाई समितिको अनुसन्धानमा सहभागी भएर सहयोग गर्न आग्रह गरेको छ ।

नेप्से दोहोरो अंकले बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर दुई हजार एक सय १९.६९ अंकमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार छ सय ७९ कित्ता सेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० रूपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन १.७५, जलविद्युत् ०.२२, लगानी १.८९ र जीवन बीमा १.९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त ०.२१, म्युचुअल फन्ड ०.२४, निर्जीवन बीमा ०.५८, व्यापार ०.४८ र व्यापार समूह ०.१५ प्रतिशतले बढेको छ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तीस करोड नौ लाख चार हजार छ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता सेयर किनबेच भएको छ ।

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिएका थिए ।

मनसुन भित्रिएको २५ दिनमा ८ करोडको क्षति, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्याधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए । मनसुन भित्रिएको २५ दिनमा ८ करोड बढीको क्षति विज्ञ उप्रेतीकाअनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाख भन्दा बढीको हानी नोक्शानी भएको छ । त्यस्तै भरी वर्षा सुरु हुनु भन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आागमी तीन महिनाभित्र नेपालमा विपद्बाट ठूलो नोक्शानी हुने देखिएको बताए । मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् । ‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो, मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठूलो हानी नोक्शानी गरेको छ, हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ, ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ’, उनले भने । आगामी तीन महिनामा नेपालमा अत्याधिक वर्षा हुने विज्ञ उप्रेतीले असारमा औषत भन्दा कम पानी पर्दाको क्षति ठूलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठूले क्षति हुने निश्चित रहेको जानकारी दिए । नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको बताए । मनसुनको न्युनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरुलाई सचेत गराउन आवश्यक रहेको जानकारी दिए । ‘मनसुनको पूर्वसन्ध्यामै ८ करोडको क्षति भयो भने बढी वर्षा हुने तीन महिनामा कति क्षति हुन्छ, अब आउने तीन महिना बढी जोखिमपूर्ण छ, हामी विकासमा काम गर्दैछौँ, नेपाल धनी देश होइन, भनेपछि हामीले २५ दिनमा ८ करोडको क्षति व्यहोर्नु भनेको हाम्रो लागि ठूलो क्षति हो, त्यो ८ करोडमा हामी अर्को विकासको योजनामा काम गर्नसक्थ्यौँ’, उनले भने । न्युनचापीय रेखा नेपाल नजिक, आइतबारसम्म भारी वर्षा हुने विज्ञ उप्रेतीले मनसुनको न्युनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपाउन आग्रह गरे । उनले पोखरा, काठमाडौं, सुदूरपश्चिममा दीपायल, कोशी प्रदेशका केही भूभागमा अत्याधिक वर्षा हुने बताए । भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको जानकारी दिए । ‘पोखराको वरपर, सुदूरपश्चिममा दीपायलदेखि त्यो स्थानमा, काठमाडौं वरपर, कोशी प्रदेशका केही भूभागमा आइसोलेटेड हेभी रेनफल हुने धेरै भारी वर्षा हुने सम्भावना पनि छ भने केही ठाउँमा मध्यम वर्षा र केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, जुन ठाउँमा भारी वर्षा हुन्छ, त्यो ठाउँको थ्रेसहोल्ड त्यहाँको भूबनावटले थेग्ने भन्दा बढी भयो भने त्यहाँ पहिरो जाने हुन्छ’, उनले भने । पानी पर्ने तरिकामा परिवर्तन भयो विज्ञ उप्रेतीले पछिल्ला केही दिन यता पार्नी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताए । एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरु डराउने गरेको उल्लेख गरे । आगामी दिनमा पनि सिमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन आग्रह गरे । तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको बताए । क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुने र विपद्बाट हुने क्षति न्युनिकरण गर्न सकिने जानकारी दिए । ‘आगामी दिनमा पनि सिमित क्षेत्रमा मात्रै धेरै वर्षा हुने सम्भावना रहेको छ, भारी वर्षा भएको क्षेत्रमा बढी जोखिम हुनसक्नेछ, तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको छ, संवेदनशील क्षेत्रलाई जोगाउने कुरामा पनि बढी ध्यान दिनुपर्छ । साथै जुन ठाउँमा बढी पानी पर्दैछ, त्यो क्षेत्रलाई निर्धारण गरी सोहीअनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुन्छन्’, उनले भने । भौतिक संरचना जलवायुमैत्री बनाउनु पर्छ, तत्काल काम रोक्नुपर्छ निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरुः जस्तै उर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरु बनाउँदा दीर्घकालीन रुपमा सोचेर बनाउनुपर्ने बताए । भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट,रडहरु बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए । उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए । ‘एउटा ५ वर्षमा एक पटक आउने बाढी, १० वर्ष वा १५, २०, ५० वा सय वर्षमा जुन बाढीको रिटर्न पिरियटलाई ख्याल गरेर पहिला प्लानिङमा पनि कस्तो खालको जोखिम आउनसक्छ, १० वर्षमा, १५ वर्षमा र २० वर्षमा भन्ने एउटा योजना चाहियो, त्यसलाई अलिकति बाढीको जोखिम हुने क्षेत्र, बाढीको जोखिम हुने औषत रैथाने ज्ञानबाट पनि थाहा हुन्छ’, उनले भने । उनले नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीले बताए । बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको जानकारी दिए ।

पीआर लिएकालाई नियुक्ति रोक्ने कानुन बनाउन अख्तियारको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको व्यक्तिलाई नियुक्ति रोक्ने गरी कानुनी व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ । विदेशको पीआर लिएकाहरू सार्वजनिक पदमा बहाल रहेको भेटिएको भन्दै समाचार प्रकाशित भएपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाइ यस्तो निर्देशन दिएको हो । सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र लिए नलिएको यकिन गर्न स्वघोषण अनिवार्य रूपमा पेस गर्न लगाउन निर्देशनमा भनिएको छ । अन्य सार्वजनिक निकायका हकमा पनि सोहीबमोजिम कानुनी व्यवस्था गर्ने गराउने व्यवस्था गर्न अख्तियारले निर्देशन दिएको छ ।

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताएका छन् । रामेछापको मन्थली नगरपालिकाले बिहीबार यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताए । ‘विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान संख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छ,’ उनले भने । मन्त्री तामाङले नागरिक उड्डयन प्राधिकरणलगायत कार्यालयको बजेट निर्माण हुने क्रममा रहेकाले उक्त विमानस्थल प्राथमिकतामा राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । ओझेलमा परेका देशभरिका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने मन्त्री तामाङले बताए । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नयाँ पूर्वाधार निर्माणका कारण मौलिक परम्परा र सम्पदा मासिँदै गएको बताए । उनले पर्यटकीय क्षेत्रको विकास र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकार लागेको उल्लेख गरे । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र मन्थलीको विकासमा बागमती प्रदेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थलीलाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न खोजेको बताए । उनले खुम्बु क्षेत्रको प्रवेशद्वार मन्थली विमानस्थल, खाँडादेवी, शैलुङ र कालिञ्चोकमा जाने पर्यटकलाई मन्थलीसँग जोड्न गाउँपालिकाले काम गरिरहेको उल्लेख गरे । नेपालको बाटो हुँदै भारत–चीन जोड्ने ‘मिड प्वाइन्ट’का रूपमा रहेको मन्थलीले सुनकोशी मरिण डाइभर्सन, साहित्यिक पर्यटन, कृषि तथा वन पर्यटन, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत लाभ लिन खोजेको नगरप्रमुख श्रेष्ठले बताए ।

होस्टल : सुविधा सम्पन्न एक सुरक्षित घर

एसईईको नतिजा प्रकाशन भएसँगै गाउँ छोडेर विद्यार्थी सहर पस्न थालेका छन् । आ-आफ्नो योजना अनुसार विषय छनोट गर्दै पढ्न सहर पसेका विद्यार्थी कोही कोठा भाडामा लिएर बस्छन् भने धेरै जसो छात्रावास (होस्टल)मा पनि बस्ने गर्छन् । विद्यार्थीहरूकै लागि विभिन्न ठाउँमा छात्र अथवा छात्रावासहरू सञ्चालनमा आएका छन् । घर छोडेर बाहिर बस्दा अझ होस्टेलमा बस्दा विद्यार्थी र अभिभावकहरूले धेरै कुरामा ध्यान दिनुपर्छ । विद्यार्थीका लागि होस्टल राम्रो र सुरक्षित ठाउँ हो । तर, यति हुँदा हुँदैपनि कहिलेकाहीँ नराम्रा दुर्घटना भएका समाचारहरू पनि सुन्नमा आउँछन् । होस्टलमा बस्दा विद्यार्थीलाई सजिलो भएपनि धेरै कुरामा ध्यान आवश्यक हुन्छ । यहाँ रहँदा विद्यार्थीले नियम कानुनमा बस्नुपर्छ । होस्टल र विद्यार्थीले तिर्ने शुल्क हेरर विद्यार्थीले पाउने सेवा सुविधा छुट्टाछुट्टै हुन्छन् । होस्टलमा बसेका विद्यार्थीले खाना पकाउन पर्दैन, लुगा पनि धुन पर्दैन । यो भनेको उनीहरूका लागि पढ्न प्रयाप्त समय हुनु हो । होस्टलमा बस्ने, खाने, लुगा धुने सबै सुविधा एउटै छतमा पाउँछन् । सुरक्षा पनि पाउँछन् । कोठामा एक्लै बस्नु भन्दा साथीहरूसँग होस्टेलमा बस्दा सुरक्षित पनि भइन्छ । विद्यार्थीले के कुरामा ध्यान दिने ? हामी जोकोही पनि अनुशासनमा बस्नुपर्छ । अझ विद्यार्थीको लागि अनुशासन महत्वपूर्ण हुन्छ । कुनै संघ संस्थामा जोडिँदा व्यक्ति त्यहाँको नियम कानुन अनुसार रहनुपर्छ । होस्टलको हकमा पूर्प-पश्चिम, उत्तर-दक्षिणका विद्यार्थीहरू मिलेर एउटै कोठामा बस्नुपर्छ । त्यसका लागि व्यक्ति मिलनसार हुनुपर्छ । होस्टलको आचारसंहिता अनुसार यहाँ बस्ने विद्यार्थीले साथीहरू ल्याउन र होहल्ला गर्न मिल्दैन । होस्टलमा अरुको कोठामा जान समेत पाइँदैन । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बाहिर जाने काम परे जानकारी गराइ निस्कन मिल्ने भएपनि राति भने निस्कन मिल्दैन । यस्तो नियम सबै होस्टलमा हुन्छ । तर, अहिलेका विद्यार्थीलाई नियममा बस्न मन पर्दैन । उनीहरू स्वतन्त्र हुन मनपर्छ । आफूले मन लागेका ठाउँ जाने, काम गर्ने गरिरहेका विद्यार्थीलाई होस्टलमा बस्न गाह्रो हुन्छ । यस्तै विद्यार्थीले धुम्रपान, मध्यपान गर्न मिल्दैन । तर, आजभोलिका बालबालिका विद्यालयमै हुँदा चुरोट, ई-सिगरेटको लतमा फसेका हुन्छन् । यस्ता विद्यार्थीहरू एउटा नियममा बाँधेर राख्न होस्टललाई पनि चुनौती हुन्छ । होस्टलमा बस्न विद्यार्थीले यस्ता कुरामा सुधार गर्नुपर्छ । पारिवारिक वातावरण हुनुपर्छ विद्यार्थी बस्ने होस्टलमा पारिवारिक वातावरण हुनुपर्छ । जहाँ बस्दा विद्यार्थीलाई घरमै बसे जस्तो महसुस गरोस् । यसका लागि होस्टलले विद्यार्थीका कुरा सुन्ने, समस्या पर्दा सहयोग गर्नेदेखि विभिन्न चाडपर्वमा रमाइलो गर्ने वातावरण बनाउनुपर्छ धेरैजसो होस्टलमा यो गरिन्छ पनि । यस्तो गर्दा बच्चाहरूलाई घरबाट टाढा भएको महसुस हुँदैन । यहाँ पूर्वपश्मिका, फरक जातजाती, धर्म र संस्कृतिका विद्यार्थी एउटै कोठामा बस्नुपर्छ । त्यसो हुँदा एक जातीले अर्को जातीको धर्म संस्कृति पनि जान्ने र बुझ्ने मौका हुन्छ । यसले पनि विद्यार्थीको सिकाइमा धेरै ठूलो प्रभाव पार्छ । होस्टल सञ्चालकहरूले पनि सबै विद्यार्थीहरूलाई एकनासको व्यवहार गर्नुपर्छ । यस्तो व्यवहार वातावरण भए विद्यार्थीलाई पनि सहज हुन्छ भने सञ्चालकहरूलाई पनि सजिलो हुन्छ । समयको बचत होस्टलमा बस्दा विद्यार्थीको समयको बचत हुन्छ । पढाइको लागि घर छोडेर बाहिर आएका विद्यार्थीलाई एकातिर पढाइको चिन्ता अर्कोतिर कतिबेला खाना पकाउने, लुगा धुने र सरसफाइ गर्ने भन्ने पीर हुन्छ । होस्टलमा बस्दा यस्ता कुराको चिन्ता लिनु पर्दैन । पढाइको लागि धेरै समय पाउन सक्छ । घर छोडेर आइसकेपछि सबै काम विद्यार्थी आफैले गर्नुपर्ने हुन्छ । कतिपय विद्यार्थीलाई यति गर्न गाह्रो हुन्छ । सीमित स्रोत साधनमा सबै कुरा राम्रा छन् । होस्टलमा बस्दा नियममा बाँधिनु पर्छ घरमा बस्दा जस्तो स्वतन्त्र हुँदैन । यो एउटा विद्यार्थीका लागि आवश्यक पनि हो । होस्टलमा बस्न विभिन्न ठाउँबाट विद्यार्थी आउँछन् । एउटै कोठामा धेरै जनाले मिलेर बस्नुपर्छ । विभिन्न परिवेशबाट आएका विद्यार्थी एउटै ठाउँमा बस्दा रुम सेयरिङ गर्न पनि सिक्छन् । यो पनि एउटा सिकाइ हो । यहाँ विद्यार्थीले सेयरिङ, केयरिङ सबै कुरा सिक्छन् । विद्यार्थी होस्टलमा बस्दा धैर्य गर्न, सहकार्य गर्न सिक्छन् भने अर्कोलाई सम्मान गर्न, एउटा अनुशासित भएर बस्न सिक्छन् । कतिपय विद्यार्थीहरू अलग परिवेशबाट आएर पनि होस्टलमा बस्दा निकट भइसकेका हुन्छन् । यतिसम्म पनि हुन्छ कि होस्टल बाहिर गएपनि पनि उनीहरूको सम्बन्ध सधैं निकट हुन्छ, यो पनि विद्यार्थीको लागि राम्रो सिकाइ हो । आजभोलि प्रायः परिवारमा आमाबुवा छोराछोरी मात्र हुन्छन् । अझ कतिपय दम्पतीको एक्लो बच्चा हुन्छ । यस्तो परिवारमा बसेको बच्चा होस्टेलमा बस्दा उसलाई समुदायसँग घुलमिल हुन पनि सजिलो हुन्छ । एक अर्काको सम्मान गर्न सिकाइ हुन्छ । घरमा आमाबुवाले सिकाउन नसक्ने कुरा पनि होस्टलमा बस्दा विद्यार्थीले सिकेका हुन्छन् । यसले विद्यार्थीको व्यक्तिगत रुपमा पनि परिर्वतन ल्याउँछ । कक्षामा गएर विद्यार्थीले पाठ्य पुस्तकमा लेखेका कुरा पढ्छन् भने होस्टलमा बस्ने धेरै विद्यार्थीले व्यवहारिक कुरा पनि सिक्छन् । होस्टलमा बस्दा केटाकेटी बिग्रन्छन् ? होस्टलमा बस्दा विद्यार्थीको सिकाइ बढ्छ भने कतिपय केटाकेटी होस्टेलमै बसेर बिग्रेको अथवा नराम्रा दुर्घटना भएको कुरा पनि सुन्नमा आउँछ । यसको मतलब यस्ता घटना हुँदैन भन्ने होइन । कहिँलेकाहीँ यस्ता घटना पनि हुन्छन् । तर, यस्ता घटना हुन नदिन कसले के गर्नुपर्छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । यस्ता घटना हुनुमा विद्यार्थी, सञ्चालक सबैको दोष हुन्छ । होस्टल केटा र केटीका लागि छुटछुट्टै हुन्छन् । एउटा होस्टेलमा ४०/५० जना विद्यार्थी हुन्छन् । यसमा सबै विद्यार्थी राम्रा हुन्छन् भन्ने पनि हुँदैन, सबै नराम्रा हुन्छन् भन्ने पनि मिल्दैन । कहिलेकाँही एक दुई जना विद्यार्थीले गरेको गल्तिले पनि होस्टेललाई हेर्ने नजर नराम्रो भइदिन्छ । अनेक थरिका विद्यार्थी आएर कहिलेकाहीँ घटनाहरु पनि हुन्छन् । यसमा सबैले सहकार्य गरेर लाग्नुपर्छ । कतिपय विद्यालयल सञ्चालनमा ल्याएका होस्टलमा स-साना बालबालिकालाई पनि राख्ने गरिन्छ । सानैदेखि होस्टलमा राख्नु राम्रो होइन एसईईपछि होस्टलमा बस्दा राम्रै भएपनि सानै उमेरदेखि बालबालिकालाई अभिभावकबाट टाढा राख्नु भने त्यति राम्रो होइन । बालबालिकालाई समय दिन नसक्ने कतिपय व्यस्त दम्पति सानै उमेरमा छोराछोरीलाई होस्टलमा राख्ने गर्छन् । यसरी राखिएका बालबालिकामा कहिलेकाँही नराम्रो घटना भएको पनि सुन्ने गरिन्छ । केही समय अगाडि चितवनमा एउटी छात्राले आत्हत्या गरेको घटना बाहिर आएको थियो । यसमा सम्बन्धित अभिभावक र सञ्चालकसँगै राज्यले पनि ध्यान दिनुपर्छ । तर, एसईई दिइसकेका विद्यार्थी वा प्लसटु सकेका विद्यार्थीका लागि भने होस्टल उपयुक्त मानिन्छ । कुनै होस्टलमा यस्ता घटना हुन नदिन यस सँग सम्बन्धित संघ संस्थाले कडा एक्सन लिनुपर्छ । कतिपय होस्टलमा बस्ने विद्यार्थीलाई मानसिक समस्या देखिन्छ । यही समस्याका कारण पनि कहिलेकाहीँ नराम्रा घटना भएको सुन्नमा आउँछ । कहिलेकाहीँ चोरी भएका घटनाहरू पनि आउँछन् । यस्ता घटनाहरु भइरहँदा कहिँलेकाहीँ सञ्चालकलाई घटना बारे थाहा नै हुँदैन । कहिलेकाहीँ सबैभन्दा इमान्दार र राम्रो भनिएको विद्यार्थीले पनि होस्टलमा बसेर आत्महत्या गरिरहेका हुन्छन् । यस्ता विषयमा ध्यान दिनुपर्छ । मानसिक स्वास्थ्य समस्याका विषयलाई पनि होस्टल सञ्चालकले ध्यान दिनुपर्छ । जाडो महिनामा हुने ग्यास गिजर पड्किने घटना पनि कहिलेकाँही होस्टेलमा हुन्छन् । होस्टलले के गर्ने ? केटाकेटी जहिले पनि आफू स्वतन्त्र हुन चाहन्छन् । कसैलाई रोकतोक मन पर्दैन । तर, पनि होस्टल सञ्चालकहरूले पनि यस्तो बेला आफ्नो विद्यार्थीको अवस्था के छ उनीहरू के गरिरहेका छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । होस्टलमा रहेका सबै विद्यार्थीलाई एउटै व्यवहार गर्नुपर्छ । कसैलाई समस्या छ भने सोध्नुपर्छ । कहिलेकाँही परिवारलाई सेयर गर्न नसक्ने कुराहरू पनि विद्यार्थीले गर्न सक्छन् । यस्ता कुरा सञ्चालकहरूले अभिभावकको भूमिका निर्वाह गर्ने गरि सुनिदिनुपर्छ । सञ्चालकले कहिलेकाहीँ अभिभावक र विद्यार्थीको समन्वय गर्ने भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । विद्यार्थीले के गर्ने ? होस्टलमा बस्ने विद्यार्थीले होस्टलको नियममा बस्नुपर्छ । राति महत्वपूर्ण काम नपरी बाहिर निस्कनु हुँदैन । जानै परे नियमअनुसार फर्म भरेर जानुपर्छ । बाहिर निस्कन परे जानकारी गराउने गर्नुपर्छ । कुनै पनि होस्टलको आफ्नै नियम हुन्छ । त्यही परिधिभित्र रहेर विद्यार्थीले बस्नुपर्छ । नियम अलि कडा गर्दा बच्चाहरूलाई मन पर्दैन । कहिलेकाँही तलमाथि केही भयो भने सञ्चालकहरूमाथि नै प्रश्न उठ्छ । बच्चाहरूलाई अनुशासनमा राख्न सक्नु ठूलो कुरा हो । यो धेरै गाह्रो हुन्छ । तर, पनि राख्नुपर्छ । दिउँसो बाहिर जाने छुट हुन्छ । बिहान ७ बजेदेखि साँझ ७ सम्म आउन जान जान दिन्छ । तर, रातिको हकमा आवतजावत गर्न मिल्दैन । होस्टलमा बस्ने विद्यार्थीले यस्तो मानसिकता चाहिँ राख्नुपर्छ । अनुगमन हुनुपर्छ कतिपय बनाएका नियम कानुन सबै होस्टलमा लागु नभएको पनि हुन सक्छ । यसका लागि सम्बन्धित निकायले बेलावखत अनुगमन गर्न आवश्यक छ । धेरै होस्टल दर्ता बिनै सञ्चालनमा आएका हुन्छन् । त्यस्ता होस्टलले विद्यार्थीलाई सेवा दिन भन्दा पनि व्यापारिक प्रयोजनाका लागि सञ्चालन गरिरहेका हुन्छन् । काठमाडौं उपल्यकामा पनि दर्ताबिना धेरै होस्टल सञ्चालनमा आएको कुरा सुनिन्छ । यस्तो बेला विद्यार्थी अभिावकले ध्यान दिनुपर्छ । कुनैपनि अभिभावले आफ्ना बच्चाहरूलाई होस्टलमा राख्नुअघि र विद्यार्थी आफूले आउनु अघि होस्टल दर्ता भएको हो वा होइन भन्ने कुरा पत्ता लगाउन आवश्यक छ । यदि यो कुरामा ध्यान दिइएन भने पनि जोखिमपूर्ण घटनाहरू पनि हुन सक्छन् । उपत्यका लगायत विभिन्न सहरमा सञ्चालनमा आएका होस्टल सबै विद्यार्थीका लागि मात्र छैनन् । कतिपय होस्टल पर्यटकका लागि कतिपय विद्यार्थीका लागि गरेर विभिन्न खालका होस्टलहरू सञ्चालनमा छन् । अभिभावकको भूमिका घरपरिवारमा बस्दा आफ्नो बच्चाको हेरबिचार कति गरिन्छ, त्यस्तै आवश्यक हेरविचार आफ्नो बच्चा होस्टलमा छ भनेपनि अभिभावकले गर्नुपर्छ । समयमा खाना खाए नखाएको, समयमै होस्टल आए नआएको, उसको पढाइ लगायतका सबै विषयमा टाढा भएपनि अभिभावकले फोन, फेसबुकजस्ता सामाजिक सञ्जालबाट नियमित सम्पर्कमा रहनुपर्छ । बिरामी हुँदादेखि खानपानसम्मको केयर अभिभावकले राख्नुपर्छ । होस्टल एउटा विद्यार्थीका लागि राम्रो ठाउँ हो । जसले बस्न खान सही वातावरण दिन्छ । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । समाजले हेर्ने नजर पनि राम्रो बनाउनुपर्छ । (होस्टल एसोशिएसन नेपालकी अध्यक्ष सुनिता लाकौलसँग इन्द्रसरा खड्काले गरेकाे कुराकानीमा आधारित)