काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् ।
बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।
कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए ।

उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए । आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए । लोकसेवा नियमित रुपमा नखुलेको र आफूहरुको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको जानकारी दिए ।
उनले अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरु मानहानीको मुद्दामा अदालत गएको पनि बताए ।
