काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशको स्थायी आवासीय अनुमतिपत्र (पीआर) लिएको व्यक्तिलाई नियुक्ति रोक्ने गरी कानुनी व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ ।
विदेशको पीआर लिएकाहरू सार्वजनिक पदमा बहाल रहेको भेटिएको भन्दै समाचार प्रकाशित भएपछि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाइ यस्तो निर्देशन दिएको हो ।
सरकारबाट नियुक्ति हुनुपर्ने व्यक्तिको हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गर्दाका बखत त्यस्ता व्यक्तिले विदेशी नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र लिए नलिएको यकिन गर्न स्वघोषण अनिवार्य रूपमा पेस गर्न लगाउन निर्देशनमा भनिएको छ ।
अन्य सार्वजनिक निकायका हकमा पनि सोहीबमोजिम कानुनी व्यवस्था गर्ने गराउने व्यवस्था गर्न अख्तियारले निर्देशन दिएको छ ।