चेम्बरको आग्रह– उद्योगहरू निरुत्साहित नबनाउन निर्यात अनुदान निरन्तर राख्नुपर्छ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकारसमक्ष आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहित पदाधिकारी र कार्यसमितिको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष भेटवार्ता गर्दै निर्यातमा दिँदै आइएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो। आन्तरिक उत्पादनहरूको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको अवस्थामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्दै लगानीकर्ताको मनोबल उकास्ने गरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह गरेको छ । वर्तमान परिस्थितिमा औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकता छ ।’ जेनजीद्वारा गरिएको प्रदर्शनबाट गम्भीर रूपमा प्रभावित उद्योग तथा व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण, सहुुलियत दरमा कर्जा उपलब्धता एवं पुनर्निर्माणका क्रममा उद्यमी, व्यवसायीले आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुट, अन्तशुल्क छुटको व्यवस्था तथा द्रुतगतिमा बिमा दाबी फर्स्याैट गर्ने नीतिगत व्यवस्थाहरूको चेम्बरले स्वागत गरेको छ । यस्तै, मूल्याङ्कनका आधार कारोबार मूल्य हुनुपर्ने, ‘सन्दर्भ पुस्तिका’ हटाइनुपर्ने चेम्बरले लामो समयदेखि उठाउँदै आएको मागलाई हाल सम्बोधन गरिएको, विराटनगर भन्सार कार्यालयबाट अनलाइन मूल्याङ्कन प्रणालीको सुुरुआत गरिएकामा चेम्बरले स्वागत गरेको छ । चेम्बरले ऐन, कानुनमा स्पष्टताको अभावले दबाबमूलक ढङ्गबाट कर उठाउने प्रवृत्तिको अन्त्य गर्न सरकारसमक्ष आग्रह गरेको छ । जेनजी प्रदर्शनको मर्मअनुसार युवा उद्यमीहरूलाई छिटो र सजिलो कर्जाको पहुँच दिन तथा सीपमा आधारित व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै, व्यवसाय दर्ता, कर तथा अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी प्रक्रियालाई पारदर्शी, डिजिटलमैत्री र सरल बनाउन चेम्बरले सुझाव दिएको छ। मुलुकमा ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको भन्दै चेम्बरका अध्यक्ष अग्रवालले युवालाई रोजगारीको मूलप्रवाहमा ल्याएर आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्नेमा जोड दिए । चेम्बरका पदाधिकारीसँगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले निजी क्षेत्रमा सुरक्षाको प्रत्याभूतिसहित लगानीमैत्री वातावरण सृजना गरेर अर्थतन्त्रलाई निकास दिन आफूहरू प्रयासरत रहेको बताए । औद्योगिक तथा व्यावसायिक क्षेत्रको सुरक्षाका लागि चेम्बरले राखेको एकीकृत सुरक्षा प्रणालीको अवधारणा उपयुक्त हुने उनको भनाइ छ ।
अवैतनिक महावाणिज्यदूतले प्रयोग गर्ने सवारीसाधनको नीलो नम्बर प्लेट खारेज
काठमाडौं । सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ । अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम आज यो निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० वटाले यो सुविधा लिएका थिए । साथै नीलो नम्बर प्लेटका सवारीसाधनको दुरूपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको मन्त्रालयको भनाइ छ । हाल प्रयोगमा रहेका नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने जानकारी दिइएको छ । अवैतनिक कन्सुलेट जनरलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख/सरकार प्रमुख र परराष्ट्रमन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ ।
प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनोट विधिको लागि रास्वपाले गर्यो सुझाव कार्यदल गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिको लागि सुझाव संकलन कार्यदल गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि समेत रहनेगरी सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोविता गौतमले जानकारी दिइन् । उनका अनुसार बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक, राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न गठित संवाद समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ । बैठकले पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते चितवनमा गर्ने र त्यसको लागि केन्द्रीय सदस्य हरि ढकालको नेतृत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको पनि गौतमले बताइन् । बैठकले असोजको तेस्रो साता आएको विपद्को प्रतिकार्य, राहत र उद्धारमा भएको प्रशंसनीय कार्यका लागि धन्यवाद दिँदै पार्टीको तर्फबाट थप सक्दो प्रयास गर्ने निर्णय भएको पनि उनको जानकारी दिइन् । उनका अनुसार पार्टीले सल्लाहकार परिषद् गठनको प्रक्रिया सुरु गर्दै विभिन्न विज्ञलाई मनोनितसमेत गरेको छ ।
एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला आजबाट सुरु
काठमाडौं । नेपालको अटोमोबाइल समूह एमएडब्लु वृद्धिले शुक्रबारबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरूमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ । ग्राहकहरू दिपल, अवतार, नामी र सेरेसका ईभीमा झुमिरहेका थिए । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरहरूले पनि भीडलाई आकर्षित गरेको थियो भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका थिए । एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने सक्ने कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाइने जनाइएको छ । ग्राहकहरूले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्यांकन गराउन पनि सक्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनुहुनेछ जसबाट निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन् । काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ ।
एटीएमबाट पैसा निकाल्न कडाइ, १ लाख रुपैयाँसम्म घटाइयो सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड (डेबिट कार्ड) बाट हुने कारोबारको सीमा १ लाख रुपैयाँसम्म घटाएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्रै रकम झिक्न मिल्ने व्यवस्था गरेको हो । यसअघि एटीएमबाट प्रतिमहिना ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो । तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएपछि सीमा घटाएको हो । यस्तै, डेबिट कार्डबाट हुने कारोबारको सीमा प्रतिदिन ५० हजार रुपैयाँमा झारेको छ । यसअघि डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँसम्म झिक्न पाइने थियो । तर, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै ५० हजार रुपैयाँले कटौती गरेको हो । यस्तै, प्रतिकारोबार २० हजार रुपैयाँ कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो । डिजिटल कारोबार बढाउनका लागि डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डित बताउँछन् । ‘डिजिटललाई प्रमोट गर्नका लागि सीमा घटाइएको हो । नगदलाई कम गरौं भन्ने हो । एटीएमको कारोबार पनि घटिरहेको छ । त्यसको नगद व्यवस्थापनको लागत पनि घटाउँदै जानुपर्ने हुन्छ । एटीएमले भुक्तानी गर्दैन, नगद प्रवाह गर्ने हो,’ उनले भने । राष्ट्र बैंकको उक्त व्यवस्थाले डिजिटल कारोबारलाई प्रोत्साहित गरेर नगद कारोबारलाई निरुत्साहित गर्न खोजिएको एक बैंकरले बताए । उनका अनुसार पछिल्लो समय क्यूआर कारोबार निरन्तर बढिरहेको सन्दर्भमा नगद कारोबार घटाउन खोजिएको हो । ‘पछिल्लो समय नगदको आवश्यकता कम रहेको महशुस भइरहेको छ । सानो सानो भुक्तानी पनि क्यूआर मार्फत भइरहेको देखिन्छ । यसले नगद कारोबार घटेको भन्ने बुझिन्छ । यो शीलशीलामा एटीएमबाट नगद झिक्ने सीमा घटाएको हो,’ ती बैंकरले भने । उनका अनुसार राष्ट्र बैंकले एटीएमबाट झिक्ने नगदको सुविधा घटाउँदा बैंकको लागत पनि घट्ने भएकाले फाइदा हुनेछ । ‘एटीएममा नगद व्यवस्थापन गर्नुपर्ने हुन्छ । एटीएममा जुन पायो त्यही नोट हाल्न मिल्दैन, राम्रो नोट हाल्नुपर्ने हुन्छ । त्यो नोटलाई सर्टिङ गर्नु पर्ने मान्छे राख्नु पर्ने हुन्छ । एउटा सर्टिङ गर्नुपर्ने मान्छेले टन्न पैसा लिएको हुन्छ । अब एटीएममा नोट व्यवस्थापन गर्ने मान्छेको खर्च घट्छ,’ ती बैंकरले भने, ‘कहिलेकाहीँ विदाको दिन एटीएममा पैसा राख्नुपर्ने हुन्छ । त्यो दिनको भत्ता दिनुपर्ने हुन्छ । एउटा एटीएममा पैसा राख्न ४ जना मान्छे चाहिन्छ । ४ जना मान्छेलाई भत्ता दिनुपर्ने हुन्छ । गाडीको ड्राइभर, सेक्युरिटिको पनि भत्ता दिनुपर्ने हुन्छ । अब ठूलो लागत घट्छ ।’ डिजिटल कारोबार बढेको हुँदा ग्राहकहरुलाई त्यति असहज नहुने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको २०८२ साउनसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाका ५ हजार २६४ वटा एटीएम मेसिन सञ्चालनमा रहेका छन् । साथै, बैंकहरुले साउनसम्म १ करोड ३६ लाख ६१ हजार ८२१ वटा एटीएम (डेबिट कार्ड) जारी गरेका छन् । राष्ट्र बैंकका अनुसार २०८२ साउनमा एटीएम कार्डबाट ८५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ मात्रै कारोबार भएको देखिन्छ । २०८१ साउनमा ९१ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेपाल एसबीआई बैंकको 'एफएटीए मूल्यांकनमा मार्गदर्शन – उत्कृष्ट अभ्यासहरू' विषयक गोष्ठी सम्पन्न
काठमाडौं । नेपाल एसबीआई बैंकले 'एफएटीए मूल्यांकनमा मार्गदर्शन उत्कृष्ट अभ्यासहरू' विषयक गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालले एफएटीएफ मूल्यांकनको तयारीका क्रममा मनी लन्डरिङ ९एएमएल० र आतंकवादको वित्तीयकरण (सीएफटी) नियन्त्रणका प्रभावकारी उपायहरू तथा संस्थागत समन्वयको महत्त्वमाथि जोड दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले एफएटीए मूल्यांकन सन्दर्भमा गोष्ठीको महत्त्वप्रति प्रकाश पारिन् । कार्यक्रममा मनी लन्डरिङ अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर, विभिन्न सरकारी तथा कानून कार्यान्वयन निकायका उच्च अधिकारीहरू, राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थित थियो । गोष्ठीमा भारतीय स्टेट बैंकका पूर्व कार्यकारी श्री रामकृष्ण सुसेर्लाले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डा तथा अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो । बैंकले पछिल्ला ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ विस्तार काउन्टर, ७ प्रादेशिक कार्यालय, २० ब्रान्चलेस बैंकिङ, १२५ एटिएम र एक केन्द्रीय कार्यालयमार्फत सेवा सञ्चालन भइरहेका छन् ।
तिहारमा फूलको मूल्य नबढ्ने, व्यवसायीलाई भारतबाट आउने फूलको डर
काठमाडौं । तिहार नजिकिएसँगै किसानहरूले फूल टिप्न र माला बुन्नका लागि तयारी थालिसकेका छन् । नेपाल पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा सयपत्री फूलको मालाको तिहारको लागि मात्र ४० करोडको भन्दा बढी को कारोबार हुने अनुमान गरिएको छ। त्यस्तै सयपत्री फूलको वार्षिक कारोबार भने झन्डै ८३ करोड भन्दा बढी हुने गरेको छ। एशोसिएनले यस वर्ष पनि सोही मूल्य बराबरको फूल तथा माला बिक्री हुने अनुमान गरेको छ । एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार गत वर्षको तिहारमा ३७ कराेड रुपैयाँ बराबरकाे फूल तथा मालाको व्यावसायिक कारोबार भएकाे थियाे । उनका अनुसार वार्षिक फूलको व्यावसायिक कारोबार ४० करोडको भएपनि खपत भने त्योभन्दा बढी हुने गरेको छ । एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अधिकांश नेपालीहरूले आफ्नो लागि आफै उत्पादन गर्छन् । उनले फूल उत्पादन नहुने कोर सहरी क्षेत्रमा मात्रै फूल तथा मालाको व्यावसायिक कारोबार हुँदै आएको छ । फूलको माग ४० लाख रुपैयाँको भएपनि नेपालमा ३५ लाख रुपैयाँ बराबरको मात्रै आन्तरिक उत्पादन हुने गरेको एशोसिएनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अपुग ५ लाख रुपैयाँ पनि फूल व्यवसायीबाट ल्याएर पूर्ति गर्नसक्ने उनको भनाइ छ । त्यस्तै, अलि बढी खपत हुने मखमली हो । एशोसिएनका अनुसार वार्षिक पाँच लाख मखमली खपत हुँदै आएको छ । नेपालबाट मखमली निर्यातसमेत हुने गरेको छ । एशोसिएनका अनुसार २ लाख रुपैयाँ बराबरको माला निर्यात हुने गरेको छ । मूल्य नबढ्ने यो वर्ष फूलमालाको मूल्य नबढ्ने एशोसिएनले जनाएको छ । यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ८५ रुपैयाँ र खुद्रा मूल्य १२० रुपैयाँदेखि देखि १३० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । त्योभन्दा ठूलो मालाको भने अलि महँगो पर्न सक्छ । त्यस्तै, उपभोक्ताले मखमली ६० देखि ६५ रुपैयाँसम्म किन्न पाउने एशोसिएनले जनाएको छ । अध्यक्ष श्रेष्ठका अनुसार नेपाल फूलमा लगभग आत्मनिर्भर छ । फूलमा आत्मर्निभर हुँदै गएपछि सरकारले नै २ वर्षअघि सयपत्री फूलमा आयात प्रतिबन्ध लगाएको छ । त्यस्तै, सरकारले सयपत्री फूलमा धेरै रोगहरू फैलिएको कारण पनि सयपत्री फूल आयातमा प्रतिबन्धित लगाएको हो । तैपनि नेपालमा अवैधानिक माध्यमबाट सयपत्री फूल आयात हुँदै आएको छ । अध्यक्ष्य श्रेष्ठले प्रतिबन्धित सयपत्रीलाई अवैधानिक आयात हुनबाट रोक्नको लागि सबैको साथ जरुरी रहेको र त्यसमा सबैजना मिलेर लाग्नुपर्ने बताउँछन् । उनले देशलाई समृद्ध बनाउने एउटा सेक्टर फ्लोरी कल्चर भएको उल्लेख गर्दै त्यसमा सरकारले पनि विशेष मनन गर्नुपर्ने औंल्याएका छन् । विदेशबाट वैधानिक रूपमा सयपत्री फूल आयात गर्नुपर्ने अवस्थामा १६ किसिमको रोगहरू नभएको प्रमाणित गरेर मात्रै ल्याउन सक्ने कन्डिसन राखिएको छ । एशोसिएनका महासचिव हिरामणि शर्माले त्यस्तो कन्डिसन राखिएको भएपनि अहिलेसम्म कसैले पनि त्यसरी आपूर्ति नभएको बताए । ‘अहिलेसम्म जति पनि विदेशबाट सयपत्री फूल आयातित भएको छ, ती सबै अवैधानिक लुकिछिपी हो,’ उनले भने, ‘यसलाई रोक्न सरकारले प्रयास गर्दा पनि सफल भएको छैन ।’ अवैधानिक सयपत्री आयातमा एशोसिएनले पनि प्रयास जारी राखेको र केही हदसम्म सफल भएको महासचिव शर्माले बताए । अहिले सयपत्रीमा देखिएको अपुग पनि यदि भारतबाट अवैधानिक आयात रोक्न सक्ने हो भने गाउँघरमा किसानले उत्पादन गरेको सयपत्री बजारमा ल्याएर बेच्न सकिने र यसले किसानलाई पनि आर्थिक रुपमा फाइदा पुग्ने उनको भनाइ छ । महानगरले भोलिदेखि नै अनुगमन गर्ने काठमाडौं महानगरपालिकाले भोलिदेखि नै बजारमा फूल तथा मालाको अनुगमन गर्ने महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । अनुगमनको क्रममा प्रतिबन्धित लगाएको सयपत्री कतै बेचेको पाइएमा वा कोल्ड स्टोरमा राखिएको पाएमा कारबाही हुने उनको प्रतिबद्धता छ । ‘सूचनाको आधारमा हामी अनुगमनमा खट्छौं । सुरुमा नेपाली फूल हो कि होइन भेरिफाई गर्छौं, त्यसपछि सिद गर्ने कि उठाएर लाने निर्णय लिन्छौं ।’ पाण्डे कालोबजारी व्यापारी र विचौलियाले नै गर्ने हुँदा किसान आफैले बेच्न आग्रह गर्छन् । किसानले उत्पादन गरेको फुल बिक्रीको सहजीकरणको लागि महानगरले ३२ केन्द्र तोकेको छ । पाण्डेले महानगरले तोकिएको ठाउँमा गएर फूल तथा माला निःशुल्क बिक्री गर्न सकिने बताए । त्यस्तै, उनले किसानलाई ढुवानीको लागि समस्या भए महानगरमा समन्वय गर्नसमेत आग्रह गरे । ‘हामीले किसानले उत्पादन गरेको फुल बिक्रीमा सहज होस् भनेर काठमाडौंमा ३२ केन्द्र तोकेका छौं, आफूलाई पायक पर्ने ठाउँमा सम्पर्क गरी बिक्री गर्न सक्नुहन्छ । हाम्रो उद्देश्य व्यापरीले कालोबजारी गर्ने मौका नपाओस् र किसानले उचित मूल्य पाओस् भन्ने नै हो,’ पाण्डेले भने । प्रतिबन्धित लगाएको कुनै पनि कोल्ड स्टोरमा राखिएको छ भने महानगरले छापा मार्ने हुँदा यसमा सबै व्यवसायीलाई सतर्क हुन पनि उनले आग्रह गरे । त्यस्तै, पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनले चेतावनी दिए । उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । नेपाली फूल चिन्ने तरिका एशोसिएनका अनुसार विदेशबाट आउने फूल एउटै धागो र एउटै साइजको हुन्छ । त्यस्तै नओइलाओस् भनेर केमिकल प्रयोग गरिएको हुन्छ । नेपाली फूल मालामा भने सानो–ठूलो मिक्स भएको हुन्छ । यसरी सजिलै विदेशी फुल पहिचान गर्न सकिन्छ ।
जेनजी आन्दोलनका सहिद परिवारलाई गोल्यान ग्रुपले सहयोग गर्ने
काठमाडौं । व्यवसायिक घराना गोल्यान ग्रुपले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ । सहिदको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै मृतकका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने गोल्यान ग्रुपले सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने बताएको छ । ‘हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर हामी दुःखमा साथ दिन चाहन्छौं । यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धता हो । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो,’ गोल्याण ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने पनि बताएको छ ।