विकासन्युज

संस्थागत र व्यक्तिगत मुद्दतिमा १ प्रतिशतको ग्याप खारेज, व्यक्तिगत कर्जाको सीमा १ करोड रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगत तर्फको १ प्रतिशतको ग्यापलाई खारेज गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेको हो ।  ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ ।  यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।

स्थायी तरलता सुविधा र नीतिगत दरको सीमा घट्यो (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएको हो । राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । साथै ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको राष्ट्र बैंकले जनाएको छ ।   यस्तै, राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत कायम गरिएको जनाएको छ ।

टाटा ईभीको बुढानीलकण्ठ स्कुलमा ‘कार्निभल’ चित्रकला कार्यक्रम सम्पन्न

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुलमा 'कार्निभल' अन्तर–स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ । बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै कार्यक्रममा १० निजी र ६ सामुदायिक विद्यालय गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरू सहभागी भए भने १९ जना पेशेवर कलाकार उपस्थित भई विद्यार्थीलाइ मार्गदर्शन तथा प्रेरणा प्रदान गरे । चित्रकला कार्यक्रम कक्षा ५–८ र कक्षा ९–१२ गरी दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगितामार्फत विद्यार्थीहरूले वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयमा आफ्ना विचार र सिर्जनशीलता कलाका माध्यमबाट व्यक्त गर्ने अवसर पाए । साथै, कार्यक्रमलाई प्रतियोगिता र कार्यशाला दुवै स्वरूपमा सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलकी उप–प्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा भयो । सो अवसरमा प्रिन्सिपल केशर खुलालले विद्यार्थीको सिर्जनात्मकता विकासका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । पेसेन्जर सेग्मेन्ट प्रमुख सिजापतिले कला केवल मनोरञ्जन नभई सोच र दृष्टिको विस्तार गर्ने शक्तिशाली माध्यम भएको उल्लेख गरे । यो कार्यक्रम 'टाटा ईभीको' सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो, जसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई जोड्दै सकारात्मक परिवर्तन ल्याउन लक्ष्य राखेको छ । सिप्रदी ट्रेडिङ र टाटा ईभीले आगामी दिनमा यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई अझ सशक्त रूपमा अघि बढाउँदै विद्यार्थी सशक्तिकरण र सामाजिक योगदानमा निरन्तर प्रतिबद्ध रहने जनाएकाे छ ।

पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात

बनियानी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपैयाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।  गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।   चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट ५ अर्ब ४६ करोड एक लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार रुपैयाँ र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।  काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ । अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४१ लाख ३२ लाख रुपैयाँले बढी हो । चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो । प्लाइउड निर्यातमा ५२।७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा १ अर्ब २५ करोड ७२ लाख ५९ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएकामा चालु आवको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ६६ करोड २२ लाख ४१ हजार रुपैयाँले कमी हो । यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा १६ करोड ४५ लाख १२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवमा ३८ करोड ६२ लाख ६८ हजार रुपैयाँको निर्यात भएको छ । जुत अघिल्लो आवको तुलनामा २२ करोड १७ लाख ६८ हजार रुपैयाँले बढी हो । कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ । चालु आवको चार महिनामा ३७ करोड ९९ लाख १२ हजार रुपैयाँको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । अम्रिसो निर्यातमा २३।९ प्रतिशतले गिरावट आएको छ । २६ करोड २५ लाख ६३ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । अदुवारसुठो निर्यात ३।२ प्रतिशतले वृद्धि भएको छ । २४ करोड २४ लाख १६ हजार बराबरको अदुवारसुठो निर्यात भएको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६।१ प्रतिशतले वृद्धि भएको छ । चालु आवमा ११ करोड ३१ लाख ९१ हजार बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । ९ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको मुसुरो दाल निर्यात भएको थियो । चालु आवमा ३ करोड ७८ लाख ८३ हजार बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ । रासस

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २० पैसा र बिक्रीदर ११० रुपैयाँ ६७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १९ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १८ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६७ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ४८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०६  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

लप्सी किलोको ७० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ४२, आलु सेतो प्रतिकिलो रु ४० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १५०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, बन्दा (तराई) प्रतिकिलो रु ६०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १७० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १५०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १५०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १२०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ९०, पिँडालु प्रतिकिलो रु ११० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ६५०, सेलरी प्रतिकिलो रु ३२०, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ६००, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ७०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १४५, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।

एनपीएल: आज विश्राम, भोलि २ खेल हुने

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने २ खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार ४ खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । ४ खेलबाट २ खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । ४ खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ । मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजिता सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

जेनजी आन्दोलनले फाइलहरू जलेर नष्ट, ट्रेडमार्क दर्ताका लागि उद्योग विभागको आह्वान

काठमाडौं । सरकारले ट्रेडमार्क दर्ताका लागि आह्वान गरेको छ । जेनजी आन्दोलनबाट फाइलहरु जलेर नष्ट भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभाग त्रिपुरेश्वरले ट्रेडमार्क दर्ताका लागि आह्वान गरेको हो ।  भदौ ३ गते ट्रेडमार्क दर्ता सम्बन्धी सूचना जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते देशव्यापी रूपमा भएको आगजनी, तोडफोड, लुटपाटका घटनाबाट विभागको औद्योगिक सम्पत्ति शाखामा रहेका भौतिक फाइलहरू जलेर नष्ट भई असहज परिस्थिति सिर्जना भएकाले गत असोज ८ गतेबाट स्थगित गरिएको थियो । विभागमा ट्रेडमार्क दर्ताका लागि निवेदन दिएका र कागजात पूरा नभएका दरखास्तवालाहरूको हकमा यसपूर्व आवेदन गरेका सम्पूर्ण दरखास्तवालाहरूले अबको ९० दिनभित्र आवश्यक कागजात साथ राखी पुन निवेदन पेश गर्नुपर्ने विभागले जनाएको छ । अन्यथा उक्त समयभित्र निवेदन पेश नगरेका सात वर्षभन्दा अघिदेखि आवेदन भई बसेका सबै पुराना दरखास्तहरू ९० दिन पश्चात् स्वतः खारेज हुनेछन् ।  साथै, औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशित भई दाबी विरोधको उजुरी नपरेका ट्रेडमार्क दरखास्तवालाको हकमा यो सूचना प्रकाशित भएको ६ महिनाभित्र प्रमाणपत्र लिनका लागि आवश्यक कागजात सहित विभागमा निवेदन पेश गर्नुपर्नेछ । सो अवधिभित्र दरखास्त पेश नगरेमा त्यस्ता आवेदनहरू खारेज भई जाने विभागले जनाएको छ ।