विकासन्युज

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।  बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।  बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।  नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । नीति तथा कार्यक्रम पारित प्रक्रियामा नेकपा एमाले भने सहभागी भएन । 

बैंकरहरूको पक्राउले समग्र बैंकिङ क्षेत्रमा नकारात्मक सन्देश गयो : प्रचण्ड श्रेष्ठ

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बैंकरहरूको पक्राउले समग्र बैंकिङ क्षेत्रमा नकारात्मक सन्देश गएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कानुनी प्रक्रियाको सम्मान गर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘सजाय हुनुपर्छ, तर विना ठोस आधार बैंकर पक्राउ गर्दा कर्जा असुली र कर्मचारीको मनोबलमा गम्भीर असर पर्छ ।’ अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा केही कमजोरी र अस्वस्थ प्रतिस्पर्धा भएको स्वीकार गर्दै अहिलेको समयमा सबैमा एक किसिमको त्रासको वातावरण रहेको औंल्याए । त्यसैगरी, वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले देशको वर्तमान आर्थिक अवस्था र युवा पलायनको मुद्दालाई प्रमुखताका साथ उठाएका छन् । उनका अनुसार २० लाख नेपाली मध्यपूर्वमा रहेको अवस्थामा नयाँ पुस्तालाई विदेशिनबाट रोक्नु नै ठूलो चुनौती हो। उनले सरकारले राखेको १०० बिलियन डलरको अर्थतन्त्रको लक्ष्य सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्र  हतोत्साहित नभई उत्साहित हुनुपर्ने बताए । उनका अनुसार अहिलेकै अवस्थामा नयाँ विदेशी लगानी आउन कठिन छ बरु भइरहेका लगानीकर्ता पनि बाहिरिने जोखिम बढेको छ । बैंकिङ क्षेत्रमा ७ सय अर्ब लगानीयोग्य रकम रहेकाले यसलाई परिचालन गर्ने वातावरण आगामी बजेटले निर्माण गर्नुपर्नेमा उनको जोड छ । बैंकहरूको पुँजीमा दबाब बढ्नुको कारण कडा नियामकीय व्यवस्था रहेको उपाध्यायले जानकारी दिए । १ वर्षभित्रै शतप्रतिशत प्रोभिजन गर्नुपर्ने बाध्यताले समस्या ल्याएको उनको तर्क छ । उनले भने, ‘रोग लागेका बेला कडा औषधि मात्र होइन, न्युट्रिसनको पनि आवश्यकता पर्छ ।’ त्यस्तै, महासचिव मनोज कुमार गोयलले नेपालको सबैभन्दा व्यवस्थित र गर्व गर्न लायक बैंकिङ क्षेत्र अहिले बदनामीको घेरामा परेकोमा चिन्ता व्यक्त गरे । ‘बैंकिङ अभ्यास गर्दा पनि पेनाल्टी खानुपर्ने अवस्था छ,’ गोयलले भने, ‘ऐन र कानुनहरू यति कडा वा अस्पष्ट छन् कि अनुहार देखाउने अवस्था छैन ।’ उनले कुनै क्षेत्र ध्वस्त भएर बैंक खराब भएको नभई परिस्थिति र नीतिगत कारणले समस्या उत्पन्न भएको स्पष्ट पारे।

सुशासन र निष्पक्ष कर्मचारी प्रशासनका लागि ट्रेड युनियन खारेज गरिएको अर्थमन्त्रीको दावी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउनका निम्ति अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पारेका छन् । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  उनले सेवा प्रवाह र सुशासनलाई नतिजामुखी बनाउन निजामती तथा सरकारी सेवामा सुधार आवश्यक रहेको बताए ।  अर्थमन्त्रीले ट्रेड युनियन खारेज गर्ने विषय समग्र श्रमिक आन्दोलनविरुद्ध नभएको जिकिर गर्दै यसको ऐतिहासिक भूमिका र महत्त्वलाई सरकारले स्वीकार जिकिर गरे । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई लिएर उठेका आशंकाप्रति स्पष्टता दिँदै यो विषय पार्टीको घोषणापत्र र नीतिगत प्रतिबद्धताअनुसार नै अघि बढाइएको जानकारी दिए । उनले भने, ‘निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियन को खारेजी गर्ने भनेर नीति तथा कार्यक्रममा राखेका छा । समग्र ट्रेड युनियन मुभमेन्टलाई नै निषेध गर्ने, यसको ऐतिहासिक महत्वलाई खारेज गर्ने नियतले यो आएको होइन ।’ वाग्लेले ट्रेड युनियन आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान दलविहीन छुट्टै युनियनको गठन गर्नेगरी गृहकार्य गर्ने समेत बताए ।  

किसानलाई बाँदरबाट मुक्ति दिलाउन ‘टास्क फोर्स’ गठन गर्ने तयारी

काठमाडौं । देशभर बढ्दै गएको बाँदर–मानव द्वन्द्व र कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि सरकारले ‘टास्क फोर्स’ गठन गर्ने भएको छ ।  वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको पहलमा शुक्रबार मन्त्रालयमा भएको उच्चस्तरीय छलफलले यस्तो निष्कर्ष निकालेको हो । खेतबारी, मानव बस्ती र वन क्षेत्र आसपास बढ्दो बाँदरको समस्यालाई वैज्ञानिक र व्यावहारिक ढंगले समाधान गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच गम्भीर छलफल भएको छ ।  मन्त्री चौधरीले अब परम्परागत शैलीभन्दा पनि विज्ञहरूको प्राविधिक टोलीमार्फत यो समस्याको दीर्घकालीन समाधान खोजिने जानकारी दिइन् । छलफलमा केन्द्रले नीति बनाउने र स्थानीय तहले त्यसलाई प्रत्यक्ष कार्यान्वयन गर्ने मोडालिटी, वन्यजन्तु विशेषज्ञ, संरक्षणविद् र कृषि वैज्ञानिकहरू सम्मिलित टोली निर्माण गर्ने र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गर्ने विषयमा छलफल भएको थियो । छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, प्रतिनिधिसभा सदस्य सागर ढकाल, वन मन्त्रालयका सह-सचिवहरूलगायतको उपस्थिति थियो । 

टिकटकबाट महिलालाई ब्ल्याकमेल गरेर पैसा माग्ने युवक पक्राउ

काठमाडौं । टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर महिलालाई ब्ल्याकमेल गर्ने र आर्थिक पैसा लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला, रोशी गाउँपालिका वडा नं. ११ स्थायी ठेगाना भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । डर-त्रास देखाई उनले पीडितबाट अनुचित रूपमा आर्थिक लाभ समेत लिएको र भिडियो बाहिर ल्याइदिने भन्दै धम्की दिने गरेको ब्यूरोले जनाएको छ ।  पीडित महिलाले दुःख हैरानी दिई ब्ल्याकमेल गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात (७) दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले यस घटनाका सम्बन्धमा थप विस्तृत अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ । 

जीवन बीमा कम्पनीहरूबाट बीमितले लिए १ खर्ब ऋण, कुन कम्पनीबाट कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई १ खर्ब बढी रुपैयाँ ऋण वितरण गरेका छन् । बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आव २०८२/८३ को तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीहरूबाट १ खर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरेका हुन् । गत आवको यही अवधिमा कम्पनीहरूले ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ ऋण दिएका थिए । गत आवको तुलनामा कम्पनीहरुबाट बीमितलाई प्रवाह गरेको ऋण ५.३२ प्रतिशतले वृद्धि भएको छ ।  जीवन बीमा कम्पनीमा बीमा गरेका बीमितहरूले बीमा कम्पनीहरूबाट आफूले तिरेको बीमा शुल्कको सरेण्डर भ्यालुको आधारमा ऋण लिन सक्ने व्यवस्था रहेको छ । बीमितहरूले दैनिक जीवनमा कुनै आर्थिक संकट आएको खण्डमा आफूले बीमा गरेको कम्पनीबाट व्यवस्था भए बमोजिम र आवश्यक भए अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । चैत्रसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले धितोलेख बीमा कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीले प्रवाह गर्ने कर्जा घटेको छ । अघिल्लो आवमा कम्पनीले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा कम्पनीले प्रदान गरेको बीमालेख धितो कर्जा ०.५८ प्रतिशतले घटेको छ । दोस्रो धेरै बीमितलाई ऋण दिने बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) रहेको छ । उक्त कम्पनीले चैत्रसम्ममा बीमितलाई २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले बीमितलाई २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ बीमालेख धितो प्रदान गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले बीमितलाई दिएको ऋण ६.३९ प्रतिशतले घटेको छ । तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब २५ करोड ७७ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको धितोलेख कर्जा ८.९० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीले  बीमितलाई १२ अर्ब १७ करोड ४२ लाख रुपैयाँ प्रवाह गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले ८ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बीमितलाई बीमा कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा कम्पनीको ऋण प्रवाह १०.३१ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीले ७ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यस्तै, एशिएन लाइफले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ८३ करोड रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । गत आवको तुलनामा एशिएन लाइफको ३.८६ प्रतिशत, सूर्य ज्योति लाइफको १६.८३ प्रतिशत, राष्ट्रिय जीवन बीमाको २ अर्ब ५३ करोड रुपैयाँ, सानिमा रिलायन्सको २६.४१ प्रतिशत बीमालेख धितोकर्जा बढेको छ ।  त्यसैगरी, मेट लाइफले चैत्रसम्ममा बीमितलाई १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । गत आवको तुलनामा कम्पनीले प्रवाह गर्ने बीमालेख धितो कर्जा ३.१९ प्रतिशतले घटेको देखिन्छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। चैत्रसम्ममा प्रभु महालक्ष्मीले १ अर्ब ४५ करोड रुपैयाँ, आईएमई लाइफले १ अर्ब २३ करोड रुपैयाँ, सिटिजन्स लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सन नेपाल लाइफले ७९ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफ ६३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बीमितले आफ्नो जीवन बीमालेखमा जम्मा भएको समर्पण मूल्य (सरेन्डर भ्यालु) वा नगद मूल्यको आधारमा बीमा कम्पनीबाट कर्जा प्राप्त गर्न सक्छन् । बीमा कम्पनीहरूले सामान्यतः बीमालेखको समर्पण मूल्यको निश्चित प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गर्छन् ।

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले विश्वविद्यालयको दैनिक कार्यसञ्चालनका लागि बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।  बज्राचार्य डिपार्टमेण्ट अफ आर्किटेक्चर एण्ड अर्वान प्लानिङ्गमा कार्यरत उनलाई तत्कालिन सरकारले २०८१ मंसिरमा डीन नियुक्त गरेको थियो ।   गत वैशाख १७ गते तत्कालिन उपकुलपति प्रा.डा. दीपक अर्यालले राजीनामा दिएसँगै उपकुलपति पद रिक्त थियो । नयाँ उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन भई आवेदन समेत माग भइसकेको छ ।    

नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक टेकबहादुर बोहरा पदमुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक टेक बहादुर बोहरालाई सञ्चालक समिति सदस्यबाट हटाइएको छ ।  नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट वैशाख २८ गते प्राप्त निर्देशनअनुसार बोहरालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३) को खण्ड (ग) तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ङ) बमोजिम पदमुक्त गरिएको कम्पनी सचिव राजेश श्रेष्ठले बताए ।  राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने क्रममा लघुवित्त संस्थाको वैशाख ३० गते बसेको सञ्चालक समितिको ३९१औँ बैठकले बोहरालाई सञ्चालक पदबाट हटाउने निर्णय गरेको श्रेष्ठको भनाय छ । संस्थाले अबदेखि बोहरा सञ्चालक पदमा नरहेको जानकारी गराएको हो ।