लक्ष्मी स्टील्सले ८.५० प्रतिशत लाभांश बाँड्ने, पुस ६ गते चौथो सभा
काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ८.५० प्रतिशतका दरले हुन १५ करोड ३० लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ६ गते रजिष्टर्ड कार्यालय तिनकुने, काठमाडौंमा दिउँसो ३ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथै, आधारभुत सेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।
विजय लघुवित्तले ४ लाख ६६ हजार कित्ता एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विजय लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति दिएको हो । बोर्डले मंसिर १४ गते लघुवित्तलाई अनुमति दिएको जनाएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरमा ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्नेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
साँगा-धुलिखेल सडक: डेढ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन हुने
काठमाडौं । अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक खण्ड स्तरोन्नति अन्तर्गत साँगा-धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा रोकिएको काम सञ्चालन हुने भएको छ । करिब डेढ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन हुने भएको हो । आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतबीच काम सञ्चालन गर्ने सहमति भएको हो । अब कामले निरन्तरता पाउने बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । उनले सूर्यविनायक-धुलिखेल सडक आयोजनाअन्तर्गत साँगा-धुलिखेल सडकखण्डको ‘डिजिटल’ नापी नक्सा लागू भइसकेकाले सोही नक्सालाई आधार मानी सडक सीमाक्षेत्र कायम गर्ने तथा रेखाङ्कन गरी अवरुद्ध निर्माण खुलाउने निर्णय गरिएको जानकारी दिए । बैठकमा सडक सीमाभित्र ‘डिजाइन स्ट्यान्डर्ड’ नघट्ने गरी निर्माण अघि बढाउने निर्णय भएको जनाइएको छ । कार्यक्रममा सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगरप्रमुख शाक्य, उपप्रमुख विमला सापकोटालगायत विभिन्न वडाका वडाध्यक्ष, सरोकारवाला स्थानीय, काभ्रे उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, जिल्लास्थित नापी कार्यालयका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधिको उपस्थिति थियो । स्थानीयले नगरमा अरनिको राजमार्गले ओगटेको सबै स्थानमा एकरुपता कायम गरी काम अघि बढाउनुपर्ने र ढलको व्यवस्थापन गर्नुपर्ने विषयमा नगर र आयोजनासँग माग गरेका थिए । यसैबीच अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडक खण्ड स्तरोन्नति अन्तर्गत पहिलो खण्ड साँगा-धुलिखेल सडक विस्तारको समयसीमा तीन हप्ता बाँकी छ । सम्झौताअनुसार बाँकी २ हप्ताको म्याद रहँदा ४० प्रतिशत विस्तार अधुरो छ । ३ वर्षमा सम्पन्न गर्ने गरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सम्म पहिलो खण्ड साँगा-धुलिखेल ८ किलोमिटर सडक विस्तार विसं २०७९ मङ्सिर २७ गते सम्झौता भएको थियो । उक्त सडक खण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्रै काम भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब १ किलोमिटर सडक कालोपत्र भएको छ भने पुलबजार-जनागाल क्षेत्रमा कालेपत्र भइरहेको छ । आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको २ खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ । साँगा-धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र सूर्यविनायक-साँगा खण्डमा भने ४२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले जानकारी दिए । उनका अनुसार सूर्यविनायक-साँगा खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी रहेकाले भत्काउने प्रक्रियामा रहेको छ । सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्य अन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ । ‘दुवै खण्डमा विस्तार गर्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ,’ महतोले भने ।
२५ वर्ष अगाडि कुमारी घरबाट चोरिएको पुरातात्त्विक वस्तु बेलायतबाट फिर्ता
काठमाडौं । पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्त्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा विसं २०५७ मा कुमारी घरबाट चोरी भएको थियो । बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको हो । प्रतिस्थापन अगाडि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रकृया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधानअनुसार सो सम्पदा ल्याइएको पुरातत्व विभागकी अधिकृत सरिता सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालबाट चोरिएका विभिन्न मूर्तिहरू, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि प्रकृया अघि बढाइन्छ । विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमूना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कला शैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ । कला क्षेत्रको विकासमा गर्विलो इतिहास बोकेको सम्पदा संरक्षणले समग्र राष्ट्रको गौरव बढाएको अधिकृत सुवेदीले बताए ।
डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर १.४४ रुपैयाँ घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५.६२ रुपैयाँ बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
स्मार्ट उर्जा प्रविधिमा चीनको प्रभाव विश्वभर बढ्दै
काठमाडौं । डिजिटल प्रविधिहरूले उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउँदै विश्वव्यापी उर्जा प्रणालीलाई अधिक दक्ष, दिगो र बौद्धिक बनाइरहेको छ । उक्त जानकारी ‘विश्व इन्टरनेट अफ थिङ्ग्स’ सम्मेलन सन् २०२५ मा विशेषज्ञहरूले दिएका थिए । सम्मेलन नोभेम्बर २८-२९ मा बेइजिङमा आयोजना गरिएको थियो । सम्मेलनमा बोल्दै,सम्मेलन कार्यसमिति उपाध्यक्ष हे कियाङले डिजिटल उर्जा क्रान्ति अब उर्जा डिजिटल अर्थतन्त्रको मुख्य इन्जिन बनेको बताए । ठूलो डाटाले प्रणाली सञ्चालनमा स्पष्टता ल्याउँछ भने कृत्रिम बुद्धिमत्ता (एआई) ले निर्णय क्षमतासहित प्रणालीलाई बौद्धिक बनाउँछ । ब्लकचेन प्रविधिले वितरण उर्जा कारोबारमा सुरक्षा सुनिश्चित गर्दछ । यी सबै प्रविधिहरू इन्टरनेट अफ थिङ्ग्समार्फत जडान भएर एकीकृत डिजिटल पारिस्थितिकी तन्त्र बनाइरहेका छन् । चीन सूचना सङ्घको उर्जा कार्य समिति निर्देशक वाङ योङ्गजिएले प्रविधि मेलमिलापले दुर्गम क्षेत्रमा पनि उर्जा अनुगमन सम्भव भएको बताए । उनले भने, ‘हरित सङ्क्रमणको पहलले १३५ भन्दा बढी देशलाई कार्बन शून्यतामा प्रतिबद्ध बनाएको छ । चीनको विश्वव्यापी मागसँग मेल केवल प्राविधिक निर्यात मात्र होइन, विश्व उर्जा व्यवस्थापनको पुनःसंरचना पनि हो ।’ चीन सरकारले सेप्टेम्बर २०२५ मा जारी गरेको नीति अनुसार सन् २०२७ सम्म एकीकृत उर्जा-कृत्रिम बुद्धिमत्ता नवाचार प्रणाली स्थापना गर्ने र सन् २०३० सम्म विश्वस्तरीय कृत्रिम बुद्धिमत्ता प्रयोग हासिल गर्ने लक्ष्य राखेको छ । कृत्रिम बुद्धिमत्ता अहिले उर्जा उत्पादन र उपभोगको पूर्वानुमान, बुद्धिमानी व्यवस्थापन, नवीकरणीय उर्जा केन्द्रको दोष पत्ता लगाउने र सञ्चालन सुधारका क्षेत्रमा प्रयोग भइरहेको छ । तर यस क्षेत्रमा अझै प्राविधिक चुनौती समस्या बनेका छन् । वाङले भने, ‘पुराना प्रणाली आधुनिक उपकरणसँग मिल्न नसक्ने, सीमा-पार कारोबारमा डाटाको जोखिम रहने र केही बजारमा स्थानीय सहयोगको अभावले नाफा सीमित हुने देखिन्छ ।’ उनले समाधानको रूपमा कृत्रिम बुद्धिमत्ता प्लेटफर्म निर्माण गर्न सुझाव दिनुभएका छन् । यसले साना तथा मध्यम उद्योगहरूको विश्वव्यापी विस्तारलाई सहयोग गर्नेछ । ‘बौद्धिक रूपमा अन्तरजोडिएको नयाँ अर्थतन्त्र, नयाँ युगको स्मार्ट समाज’ भन्ने विषयमा आयोजित सम्मेलनमा ८० भन्दा बढी देशका अधिकारी, विशेषज्ञ र व्यवसाय प्रतिनिधिहरू सहभागी भएका थिए । उहाँहरूले इन्टरनेट अफ थिङ्ग्सले विश्वव्यापी दिगो डिजिटल रूपान्तरणमा कसरी योगदान पु¥याउन सक्छ भन्ने विषयमा छलफल गरेका थिए ।
एसिसी यू-१९ प्रिमियर कप स् नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू-१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।
नगरपालिको छोरीलाई मुद्दती खाता उपहार, २ हजार ५०० रुपैयाँ खातामा जम्मा
काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खोलिदिन सुरु गरेको थियो । चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । प्रत्येक छोरीलाई २ हजार ५०० रुपैयाँका दरले नगरपालिकाको तर्फबाट खातामा रकम जम्मा गरेर खाता उपहार प्रदान गरिएको प्रमुख शर्माले बताए । उक्त मुद्दती खातामा चक्रीय ब्याज आउने गरी बैंकसँग समन्वय गरिएको छ । ‘छोरीको भ्रूण हत्या रोक्न, छोरी प्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रकृतिको विकास गर्न यो कार्यक्रम ल्याइएको हो,’ प्रमुख शर्माले भने । उनका अनुसार गत वर्ष निर्देशिका बनाउन समय लाग्दा केही छोरीहरू छुटेका समेत छन् । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि यता जन्मेका नगरका सबै छोरीको मुद्दती खाता खोलिने उनले बताए । छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावक समेतलाई उक्त खातामा दक्षअनुसार रकम जम्मा गर्न अनुरोध गर्दै आएको छ ।