कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबारर सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यसभन्दा अगाडि पनि बैंकको अध्यक्ष थिए । वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।
सुरु भयो राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शितलनिवासमा सुरु भएको छ । जेनजी आन्दोलनपछिको अवस्था र आगामी निर्वाचनबारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । उक्त बैठकमा ठूला दलका दोस्रो तहका नेताहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले विकासन्युजलाई जानकारी दिइन् । उनका अनुसार नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा बैठकमा उपस्थित रहेका छन् । त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महासचिव शंकर पोखरेलले बैठकमा भाग लिएका छन् । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन बैठकमा उपस्थित रहेको खड्काले जानकारी दिइन् ।
राष्ट्र बैंकले रद्द गर्याे दुई कम्पनीको अनुमतिपत्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा कम्पनीको अनुमतिपत्र रद्द गरिएको छ । राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायक र फस्ट पे टेक्नोलोजी प्रालिको भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र रद्द गरेको जनाएको हो । राष्ट्र बैंकका अनुसार प्रभु टेक्नोलोजीलाई विसं २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो । तर, भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नवीकरण नगरिएको हुँदा कम्पनीको अनुमति पत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, फस्ट पे टेक्नोलोजीलाई विसं २०७६ फागुन १३ मा भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्रदान गरिएको थियो । भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम रद्द भएको राष्ट्र बैंकले जनाएको छ । यी दुई कम्पनीसँग कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
खुल्यो बिपी राजमार्ग
काठमाडौं । काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरीपेक्षण तथा अनुगमन कार्यालय काठमाडांैका प्रमुख शुभराज न्यौपानेले बताए । अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो। यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिएका थिए ।
जेनजी आन्दोलनमा ३ सय बढी नेताको घरमा आगजनी र तोडफोड, कुन पार्टीलाई कति क्षति ?
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राजनीतिक पार्टी र शीर्ष नेताहरूका घरमा गरिएको आगजनी तथा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयदेखि शीर्ष नेताहरुका घरमा आगजनी र तोडफोड गरेका हुन् । नेकपा एमालेका महासविच शंकर पोखरेलका अनुसार जेनजी आन्दोलनमा पार्टीको एउटा केन्द्रीय कार्यालय, ७ वटा प्रादेशिक कार्यालय र ६४ वटा जिल्ला कार्यालयमा क्षति पुगेको छ । साथै, जेनजीहरु आन्दोलनकारीहरुले एमाले पार्टीका १५८ जना भन्दा बढी शीर्ष नेताको घरमा आगजनी र तोडफोड गरिएको उनले बताए । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाका अनुसार जेनजी आन्दोलनबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला पार्टी कार्यालयमा क्षति पुगेको छ । राष्ट्रियस्तरका १२५ जना नेता तथा कार्यकर्ताको घर तथा निवास जलाइएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयसहित ३१ वटा पार्टी कार्यालय र १८ जना शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेतृ रेखा यादवका अनुसार जसपा पार्टी कार्यालयमा क्षति नपुर्याएपनि केन्द्रीय कार्यालयमा रहेका सबै सामानहरु बाहिरि निकालेर सबै जलाइएका छन् । जसपा पार्टी कार्यालय भाडामा सञ्चालन भइरहेको थियो । जसपाका शीर्ष नेताहरुमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रावत र सुनिता शाहको घरमा आगजनी गरिएको उनले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीका अनुसार जेनजी आन्दोलनबाट रास्वपाको डडेल्धुरा र नुवाकोट जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेर सामानहरू जलाइएका छन् भने अर्घाखाँची कार्यालयमा होडिङ बोर्ड तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य हरिप्रसाद पराजुलीका अनुसार नेकपा एस पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ भने १० वटा जिल्ला पार्टी कार्यालयमा तोडफोड गरिएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित ११ जना शीर्ष नेताको घरमा आगजनी तथा तोडफोड गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राम प्रकाश चौधरीका अनुसार पार्टीका कुनै पनि कार्यालयमा क्षति भएको छैन । तर, शीर्ष नेताहरूमा शरतसिंह भण्डारीको घरमा भने आगजनी गरिएको उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता गोपाल दाहालका अनुसार राप्रपा पार्टीको सुर्खेत, दाङ, चितवन, कञ्चनपुर जिल्ला पार्टी कार्यालय जलाइएका छन् भने केन्द्रीय कार्यालयमा सामान्य क्षति पुर्याएको छ । पार्टीको कोशी प्रदेश सांसद सविना बजगाईं, लुम्बिनी प्रदेश सांसद मेनुका खाँण र दमक नगरपालिकाका मेयर राम कुमार थापाको घरमा आगजननी गरिएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा आगजनी र तोडफोड गरिएको छ । सम्बन्धित सामग्री : जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० कार्यालय ध्वस्त जेनजी आन्दोलनले एमालेलाई ३ अर्बको क्षति, ९४ कार्यालयमा आगजनी जेनजी आन्दोलनमा माओवादीका ३१ कार्यालयमा आक्रमण हुँदा १५ करोडको क्षति
जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बीमा दाबी, डेढ अर्ब भुक्तानी
काठमाडाैं। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन् । प्राधिकरणका अुनसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमाबाट कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ । तथ्यांकअनुसार कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रूपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २४ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको तथ्यांक प्राधिकरणमा प्राप्त भएको जनाएको छ । यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ भने दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् । आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् । यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको प्राधिकरणले जनाएकाे छ । अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा बसेको उक्त साधारणसभामा सञ्चालक समिति, सेयरधनी तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस निर्णयअनुसार कम्पनीले सेयरधनीहरूलाई कुल ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा ४२ लाख ६३ हजार १५७ रुपैयाँ ८९ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ । नबिल इन्भेष्टमेन्टले हालसम्म लगानी व्यवस्थापन, पोर्टफोलियो म्यानेजमेन्ट, मर्चेन्ट बैंकिङ, म्युचुअल फण्ड सञ्चालन लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आगामी वर्षहरूमा पनि लगानीकर्ताको हितमा अझ प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
स्टार्टअप वर्ल्ड कप २०२५ का लागि नेपाली स्टार्टअप सिलिकन भ्यालीतर्फ
काठमाडौं । स्टार्टअप वर्ल्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपालका विजेता डिएल सर्फका संस्थापक अर्जुन घिमिरे अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका छन् । स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुपले संयुक्त रूपमा आयोजना गरेको नेपालकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतियोगिताको विजेता बनेको डिएल सर्फले अब विश्वका १०० देशका स्टार्टअप च्याम्पियनसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछ । घिमिरेले अक्टोबर १७ देखि २२ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा भाग लिनेछन् । प्रतियोगिताको विजेताले एक मिलियन अमेरिकी डलर ९नेरु १४ करोड ४० लाख बराबर० पुरस्कार पाउनेछ । बिहीबार स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल च्याम्पियन अर्जुन घिमिरेलाई बिदाई गरे । हालसम्म स्टार्टअप हब नेपालले पाँच नेपाली स्टार्टअपलाई विश्वकै प्रतिष्ठित सिलिकन भ्यालीसम्म पुर्याउन सफल भएको आयोजकले जनाएको छ । यस वर्ष पनि डिएल सर्फले विश्व स्तरमा नेपाली नवप्रवर्तनको झण्डा फहराउने अवसर पाएको छ । स्टार्टअप वर्ल्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्ससँग सम्बन्धित पिगासस टेक भेन्चरले गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले नवप्रवर्तक उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी र सञ्जाल विस्तारको अवसर प्रदान गर्छ । वर्ल्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत यो प्रतियोगिता नेपालमा भित्र्याएको हो ।