विकासन्युज

आपसी समन्वयका कारण विपद्‌मा पनि यसरी सम्भव भयो दूरसञ्चार सेवा

काठमाडौं । निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित भयो । खासगरी मुलुकका मध्यभागदेखि पूर्वोत्तर क्षेत्र वर्षाबाट बढी प्रभावित भए । बाढीपहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । अलपत्र यात्रु गन्तव्यमा अझै पुगिसकेका छैनन् भने सबै सडकमा पूर्ण रुपमा यातायात सञ्चालन गर्न अझै केही दिन लाग्ने सरकारले बताइसकेको छ ।देशको विषम परिस्थितिमा पनि दूरसञ्चार क्षेत्रले भने निरन्तर सेवा दिन सक्यो । बाढीपहिरोका कारण दूरसञ्चारका पूर्वाधारमा धेरै क्षति हुँदा पनि निरन्तर सेवा सञ्चालन भयो । नेपाल टेलिकमका सहप्रवक्ता नवीन मिश्र जनशक्तिको निरन्तरको खटाइ र पूर्वतयारीका कारण निर्वाध सेवा प्रवाह सम्भव भएको बताउँछन् । विशेषगरी मधेस र कोशी प्रदेशमा कम्पनीको सेवा बढी प्रभावित भयो । 'भारी वर्षा, बाढीपहिरो तथा डुबानका कारण मुलुकभर नेपाल टेलिकमका एक हजार १५० वटा टावरमा क्षति भयो । मधेसमा करिब ३०० वटा टावरमा क्षति भयो', उनले भने । धेरै ठाउँमा विद्युत् आपूर्तिमा अवरोध हुँदा समस्या भएको थियो । सहप्रवक्ता मिश्रका अनुसार नेपाल टेलिकमले विपत्तिका बेला काम गर्न मुलुकभर ‘इन्टिग्रेटेड मेन्टिनेन्स युनिट’ नै राखेको छ । सोही टोली जस्तोसुकै परिस्थितिमा पनि कार्यक्षेत्रमा परिचालन हुन तयारी अवस्थामा हुन्छन् । गत असोज १८ र १९ गते कोसी र मधेस प्रदेशका करिब पाँच लाख उपभोक्ता प्रभावित भएका थिए । कोसी प्रदेशको इलाममा भने दुई दिनसम्म सेवा प्रभावित भए पनि अन्य क्षेत्रमा भने लामो समयसम्म सेवा अवरुद्ध हुन नपाएको उनको भनाइ छ । निजी क्षेत्रको टेलिकम सेवाप्रदायक एनसेलका अनुसार बाढीपहिरो तथा डुबानका कारण कम्पनीका करिब ४०० टावरमा क्षति भएको छ । समस्या भएका ठाउँ पहिचान गरेर सेवा सञ्चालन भइसकेको एनसेलको भनाइ छ । विद्युत्का कारण इलामका केही स्थानमा समस्या रहे पनि अहिले सबै स्थानमा सेवा सञ्चालन भइसकेको छ । 'समस्या हामीलाई पनि परेको थियो तर हामीले अहोरात्र खटिएर तत्कालै सेवा सञ्चालन गर्न सफल भयौँ । अहिले कतै पनि एनसेलको सेवामा समस्या भयो भनेर गुनासो आएको छैन', एनसेलले भनेको छ । दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिरहेको चिनियाँ कम्पनी हुवावेका अनुसार सरकारले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि यसको तयारी सुरु भइसकेको थियो । गत वर्ष पनि भारी वर्षापछि बाढी र पहिरोका कारण ठूलो क्षति भएकाले हुवावेले आफ्नो क्षेत्राधिकारभित्र पूर्वतयारी सुरु गरिसकेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि त्यसअघि नै टेलिकम कम्पनीहरुलाई उच्च सतर्कता अपनाउन र आपत्कालीन समयमा सेवा निरन्तरताको सुनिश्चित गर्नका लागि आग्रह गरिसकेको थियो । विपद्मा कस्ता समस्या आउँछन् ? प्राकृतिक विपत्तिका बेला सेवा प्रवाह गर्ने प्रमुख उपकरण टावरलगयतमा अवरोध हुन्छ । बाढीपहिरोमा फाइबर वा ‘माइक्रोवेभ लिङ्क’ काट्दा वा सडक बगाउँदा टावरको सञ्जाल विच्छेद हुन्छ । केही टावर डुबानमा पर्छन् वा बिजुलीका खम्बा ढल्दा वा लाइन क्षतिग्रस्त हुँदा विद्युत् आपूर्ति बन्द भएर पनि सेवा अवरुद्ध हुन्छ । कहिलेकाहीँ हुरी, बाढीपहिरोले ठूलोमात्रामा फाइबर केबल विच्छेद गरिदिन्छ । रूख ढल्दा वा पहिरो खस्दा हावामा तन्काइएका फाइबर केबलहरू चुँडिन्छन् । सो अवस्थामा पनि सेवा अवरुद्ध हुन्छ । त्यस्तै, सडक भासिँदा वा जमिन तलमाथि हुँदा पनि भूमिगत फाइबर चुँडिने वा भाँचिने हुन्छ जसका कारण केबल ज्वाइन्ट (स्प्लाइस पोइन्ट र इन्क्लोजर) नष्ट हुन्छन् । जसले गर्दा सेवा अवरुद्ध हुन्छ । त्यसबाहेक विद्युत् आपूर्तिका समस्या भएर पनि सेवा अवरुद्ध हुन्छ । ‘ब्याकअप ब्याट्री वा डिजेल जेनेरेटर’ क्षतिग्रस्त हुन सक्छन् वा इन्धन पुनःभरण पहुँच नहुँदा प्रयोग गर्न नसकिने अवस्था आउँछ जसका कारण सेवा सञ्चालन गर्न ढिला हुन्छ । हालैको बाढीपहिरोमा सडक नै बगाएको वा अवरुद्ध भएका कारण सेवा पुनःसुरु गर्न ढिला भएको छ । फिल्ड इञ्जिनियरले अवरुद्ध वा डुबान भएका सडक, ढलेका पुल वा पहिरोका कारण क्षतिग्रस्त स्थानमा पुग्न कठिनाइ हुन्छ । कसरी हुन्छ सेवा सञ्चालन ? टेलिकम सेवाप्रदायकले देशका सबै क्षेत्रमा अहोरात्र सेवा प्रवाह भइरहेको छ कि छैन भनेर अनुगमन गरिरहेका हुन्छन् । सोअन्तर्गत पूर्वसूचना र निगरानी लिने काम पनि हुन्छ । यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा ‘नेटवर्क’ निगरानी बढाइएको थियो । यसरी उच्च जोखिम हुने क्षेत्र पहिचान गरिन्छ । यस्तो अवस्थामा टेलिकम सेवाप्रदायकले आपत्कालीन संयन्त्र परिचालन गर्छन् र कुनकुन स्थानमा फाइबर काटिएको छ, टावर भत्किएको छ वा बिजुली अवरुद्ध भएको छ त्यसको जानकारी फिल्ड इञ्जिनियर तुरुन्त दिइन्छ । त्यसपछि अवरुद्ध भएको स्थानमा ‘ब्याकअप पावर’ र उपकरणको अवस्था कस्तो छ सोको जानकारी गराइन्छ । ‘ब्याट्री, जेनेरेटर र स्पेयर पार्ट’हरू स्थानीयस्तरमै तयारी अवस्थामा राखिन्छन् । सेवा अवरुद्ध भएको स्थानमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र समुदायसँग सहकार्य गरी प्रभावित क्षेत्रमा मर्मत गरिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा एनसेल र नेपाल टेलिकमजस्ता सेवाप्रदायकले एकापसमा समन्वय गरी नेटवर्क निरन्तरता सुनिश्चित गर्छन् । यी प्रयासले बाढीपहिरो र भूकम्पजस्ता विपद्का बेला पनि नेपालमा सञ्चार सेवा निरन्तर सञ्चालन राख्न मद्दत पुर्याउँछन् । दूरसञ्चार उपकरण तथा सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक हुवावेले नेपाल टेलिकम र एनसेललाई प्रविधि र स्थलमै जनशक्ति उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेको जनाएको छ । सेवा प्रदायकसँग नजिकबाट सहकार्य गर्दै, हुवावेले देशभर आफ्ना प्राविधिक टोली निरन्तर खटाइ काम गरेको जनाएको छ । हुवावेका अनुसार कम्पनीले सञ्चालन गरेको नेटवर्क ‘एस्युरेन्स’ प्रणालीमार्फत लगातार निगरानी गरिएको थियो । ‘सिग्नल ड्रप’ वा ‘फाइबर कट’को सङ्केत ‘पिङ टेस्ट’, ‘अलार्म निगरानी’ र ‘अप्टिकल डायग्नोस्टिक्स’जस्ता उपकरण प्रयोगगरी तत्कालै पहिचान गरिएको थियो । फलस्वरुप ‘फाइबर कट’ विद्युत् अवरोध र सडक अवरुद्धजस्ता चुनौतीमा पनि आफूहरुले तत्काल सेवा प्रवाह गर्न सफल भएको उनीहरुको भनाइ छ । रासस

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् ।      हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

साढे ४ लाख घुससहित विद्यालयका प्रधानाध्यापक पक्राउ

काठमाडौं । रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक साढे चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई पर्साको वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार प्रधानाध्यापक प्रसादले शिक्षक आवश्यक भनी खुलाइएको विज्ञापनमा एक जनाले मात्रै रीतपूर्वक दरखास्त दिएको अवस्थामा पनि बिचौलिया अरविन्द प्रकाश साहमार्फत साढे चार लाख रुपैयाँ घुस लिएका थिए । घुस लिइसकेको अवस्थामा दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको छ ।

राहतदेखि पुनःनिर्माणसम्मको काम सरकारको प्राथमिकतामा छ : मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, 'सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।' रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुग्नुभएका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ ।

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । गत पुस २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा खोजबिन समितिका सदस्य महेन्द्र थापाले सो प्रतिवेदन हस्तान्तरण गरेका थिए। विसं २०८० जेठ १७ गते मन्त्रिपरिषद्बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुङ्गेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ वटा क्याम्पसका जग्गाको अवस्था, दुरूपयोग र उपयोगका लागि समाधानका उपायसमेत सुझाएको थियो । समितिले जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिएको थियो ।   

नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।  उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।  

प्रधानमन्त्री र जेनजी समूहबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन  र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा जारी छलफलमा प्रधानमन्त्री कार्की मन्त्री र जेनजी समूहका प्रतिनिधि सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुङ्गानालगायत  सहभागी छन् । छलफलमा  सुशासन, संविधान संशोधनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिले आफ्ना धारणा प्रस्तुत गरेका छन् । आगामी निर्वाचनमा केन्द्रित भएर  विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेताबीच शुक्रबार राष्ट्रपति भवनमा छलफल भएको थियो । युवाहरूको आन्दोलनपछि जेनजी समूहका प्रतिनिधिसँग राष्ट्रपति भवनमा पहिलोपटक छलफल भएको हो ।   

राष्ट्रपतिसँग वार्तामा सहभागी हुन नपाएको भन्दै शीतल निवास अगाडि जेनजी युवाको नाराबाजी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी युवाहरुको टोलीबीच भइरहेको छलफलमा सहभागी हुन नपाएका केही युवाहरुले शीतल निवास अगाडि विरोध प्रदर्शन गरेका छन् । शीतल निवास बाहिर भेला भएका युवाहरुले आफूहरुलाई वार्तामा सहभागी नगराएको भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले ‘सबै प्रतिनिधिलाई समावेश गर’ भन्ने माग गर्दै चर्को नाराबाजी गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसहित जेनजी युवाहरूसँग आज बिहान शीतल निवासमा छलफल आयोजना गरेका हुन् । छलफलमा सुदन गुरुङ नेतृत्वको टोलीमात्र प्रवेश पाएपछि अन्य समूहका युवाहरु असन्तुष्ट बनेका हुन् । शीतल निवास बाहिर अहिले ठूलो संख्यामा जेनजी युवा जम्मा भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन र युवाहरुलाई सम्झाउन प्रयास गरिरहेको छ । राष्ट्रपतिसँगको छलफलमा सुरुवाती रूपमा १७ जना प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेर २० जनाभन्दा बढी पुगेको एक जेनजी अगुवाले बताएका छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र जिम्मेवार शासनको मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते देशव्यापी आन्दोलनमा उत्रिएका थिए। सो आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । आन्दोलनपछि जेनजी युवाहरुको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन्। उनलाई आगामी फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचन तयारीका विषयमा जेनजी युवासँग परामर्श गर्न आजको वार्ता आयोजना गरिएको हो । तर जेनजी समूहभित्र नै औपचारिक प्रतिनिधित्वबारे विवाद रहँदै आएको छ ।