विकासन्युज

चार महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब २१ करोड, कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (कात्तिक महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले ६२ अर्ब माथिको व्यवसाय आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सोमबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन कम्पनीहरूले १ करोड १४ लाख ९० हजार ४६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले कार्त्तिक महिनामा मात्रै ३ लाख १८ हजार ४०६ वटा बिमा पोलिसी जारी गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।  कार्त्तिक मसान्तसम्ममा सबैभन्दा व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले चार महिनाको अवधिमा १७ लाख ९ हजार ५२० पोलिसी बिक्री गरी १७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। दोस्रोमा नेशनल लाइफले १३ लाख ५३ हजार १८ पोलिसी बिक्री गरेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ कर्पोरेशन (एलआइसी नेपाल) ले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कार्त्तिक मसान्तसम्ममा हिमालयन लाइफले ५ अर्ब ६४ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, मेट लाइफले २ अर्ब ९ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । 

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिका आजै प्रस्तुत हुने

काठमाडौं । नेपाली कांग्रेसको सोमबार (आज) दिउँसो बस्ने केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु भएको छ ।  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा अनौपचारिक पदाधिकारी बैठक सुरु भएको हो । पार्टीभित्र चलिरहेको आगामी महाधिवेशनको तयारी र समय निर्धारणसम्बन्धी अन्तिम छलफलका लागि पदाधिकारीको बैठक आयोजना गरिएको बताइएको छ ।  बैठकमार्फत केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेन्डा र प्रस्तावहरूलाई अन्तिम रूप दिने तयारी भएको स्रोतले जनाएको छ । यसअघि लामो समयदेखि पार्टीभित्र महाधिवेशन मिति निर्धारणका विषयमा रस्साकस्सी चल्दै आएको थियो । अन्ततः शीर्ष नेतृत्वबीच पछिल्ला दिनमा भएको छलफलपछि पुस महिनाभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेको छ । आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा यही सहमतिको आधारमा महाधिवेशनको कार्यतालिका र तयारीका खाका औपचारिक रूपमा प्रस्तुत गरिने कांग्रेस नेतृत्वले जनाएको छ । संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन

सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पत्ति सिर्जना गरे पनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ । विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको बताए । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने उनको भनाइ छ । उनले भने, ‘मुलुकमा जो सुकैले सम्पत्ति सिर्जना गरे पनि कसैले हाइड्रोपावर बनायो, कसैले डिपार्टमेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो कि विदेशीले लगानी गरेको भन्ने कुरा कतिपनि मतलब राख्दैन । विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति आज हामीले प्रयोग गरिरहेका छौँ ।’ उनले सही सूचना प्रवाह नहुँदा पनि आपराधिक गतिविधिहरू बढ्ने गरेको बताए । सूचनाको गम्भीरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिए ।

महानगरका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।      उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।

शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरिएको छ । नगर शिक्षा समितिको बैठकले बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीसमेतलाई थप पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । यी सबै निर्णय आगामी पुस १ गतेदेखि लागू हुने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले जानकारी दिए । नगर शिक्षा समितिको निर्णयअनुसार नगर शिक्षण–सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षकको पारिश्रमिक, भत्ता तथा व्यवस्थापनसम्बन्धी बजेट व्यवस्थापनका लागि सिफारिस गरिने भएको छ । समितिले गुणस्तर सुधार तथा सिकाइ प्रभावकारितामा जोड दिँदै विभिन्न तहका शिक्षक तथा विद्यालय कर्मचारीको सुविधा समायोजन गरेको प्रमुख भट्टले बताए । माध्यमिक तहमा गणित तथा विज्ञान विषय अध्यापन गर्ने शिक्षकलाई मासिक रु ५०० विशेष अनुदान प्रदान गरिने निर्णय गरिएको छ । यसैगरी माध्यमिक तहका प्रधानाध्यापकको भत्तामा रु ७०० र आधारभूत तहका प्रधानाध्यापकको भत्तामा रु ५०० थप गरिनेछ । विद्यालयको प्रशासनिक कार्य प्रभावकारी बनाउन माध्यमिक विद्यालयलाई रु १५ हजार, आधारभूत तहलाई रु १० हजार प्रशासनिक खर्चका रूपमा उपलब्ध गराइने निर्णय भएको शाखा प्रमुख भट्टले बताए । उनका अनुसार बालविकास तहमा अध्यापन गर्दै आएका शिक्षकलाई थप रु सात हजार गरी रु १९ हजार, विद्यालय सहायक कर्मचारीलाई रु नौ हजार थप गरी रु २४ हजार र विद्यालय सहयोगी कर्मचारीलाई रु सात हजार थप गरी रु १७ हजार मासिक पारिश्रमिक दिने निर्णय गरिएको छ । अतिरिक्त जिम्मेवारी दिइएका बालविकास शिक्षकलाई मासिक रु दुई हजार थप अतिरिक्त रकमसमेत उपलब्ध हुनेछ । नगर शिक्षण–सिकाइ अनुदान शिक्षकको अद्यावधिक तलब–भत्ताको रकममा वृद्धि गरी निम्न माध्यमिक तहका शिक्षकलाई रु २३ हजार, माध्यमिक तहका शिक्षकलाई रु २६ हजार र साविक उच्च माध्यमिक तहका शिक्षकलाई रु २७ हजार तलब भत्ताको रकम उपलब्ध गराइने छ । तीन वटै तहका शिक्षकको तलबमा रु एक हजारले वृद्धि गर्ने निर्णय गरिएको छ । 'यो तलब–भत्ता १३ महिना बराबर उपलब्ध गराइने व्यवस्था गरिएको छ', शाखा प्रमुख भट्टले भने, 'शिक्षकलाई यसका अतिरिक्त हरेक वर्ष रु १० हजार बराबरको पोसाक खर्च उपलब्ध गराइनेछ ।' नगरपालिकामा सामुदायिक विद्यालयमा ८८ नगर शिक्षक, ६५ बालविकास केन्द्र शिक्षक, विद्यालय कर्मचारी १३ र विद्यालय सहयोगी ३३ जना कार्यरत रहेका छन् । स्वीकृत दरबन्दी प्राथमिक तहमा ७३, निम्न माध्यमिक विद्यालयमा १६, माध्यमिक तहमा आठ र उच्च माध्यमिक तहमा दुई रहेका छन् । राहत कोटा प्राथमिक तहमा ५०, निम्न माध्यमिक तहमा २५, माध्यमिक तहमा १६ र उच्च माध्यमिक तहमा आठ रहेका छन् । नगरपालिकाका कुनै पनि विद्यालयमा विज्ञान सङ्काय सञ्चालन नभएकाले, शुक्लाफाँटा–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन गर्न आवश्यक पूर्वाधार व्यवस्थापनका लागि सिफारिस गर्ने निर्णय गरिएको उनले उल्लेख गरे । नगरपालिकाभित्रका २८ सामुदायिक र २५ निजी विद्यालयमा सौन्दर्यकरणका लागि ‘फुलबारी कार्यक्रम’ अनिवार्य गर्ने निर्णय गरिएको छ । यसका लागि सम्बन्धित विद्यालयलाई पत्राचार गरिने शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले बताए । त्यसैगरी विद्यालयहरूमा नैतिक शिक्षा तथा उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गर्न नगर कार्यपालिकालाई सिफारिस गरिएको छ । विद्यालय भवनको मर्मत–सम्भारका लागि रु २० लाख विनियोजन गर्न नगर कार्यपालिकालाई अनुरोध गर्ने समितिको बैठकले निर्णय गरेको अधिकृत भट्टले बताए । विद्यालय परिसर तथा विद्यालय क्षेत्रभित्र नजिक सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले, विद्यालयमै लागुपदार्थ तथा मदिरा सेवन रोक्ने निर्देशन जारी गर्ने निर्णय गरिएको छ । यसबाहेक विद्यालय परिधिको २०० मिटर क्षेत्रभित्र मदिरा, सुर्तीजन्य तथा लागुपदार्थजन्य सामग्री खरिद–बिक्री गर्न नपाइने व्यवस्था कार्यान्वयनका लागि पनि नगर कार्यपालिकालाई सिफारिस गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षक तथा विद्यार्थीको सिकाइ वातावरण सुधार, विद्यालय प्रशासन सुदृढीकरण तथा समुदायमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यी निर्णय महत्वपूर्ण हुने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले विश्वास व्यक्त गरेका छन् । नगरपालिकामा बालविकासदेखि माध्यमिक तहसम्म गरी १४ हजार ५४३ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन् । रासस

चिनियाँ ‍कारखानामा अप्रत्याशित संकुचन

काठमाडौं । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको कारखाना गतिविधि नोभेम्बरमा अप्रत्याशित रूपमा संकुचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबार सार्वजनिक गरिएको एक निजी सर्वेक्षणले घरेलु माग कमजोर रहँदा यस्तो भएको हो । एसएन्डपी ग्लोबलले सञ्चालन गरेको रेटिङडग चीन जनरल म्यानुफ्याक्चरिङ पीएमआई नोभेम्बरमा ४९.९ मा झरेको छ, जुन रोयटर्सको सर्वेक्षणमा विश्लेषकहरूले गरेका ५०.५ को अपेक्षाभन्दा कम हो । ५० भन्दा माथिको सूचकांकले विस्तार र तलको सूचकांकले संकुचन जनाउँछ । निजी सर्वेक्षणले सामान्यतया निर्यातमुखी उद्योगहरूलाई केन्द्रित गर्ने भएकाले सरकारी सर्वेक्षणभन्दा केही सकारात्मक चित्र दिने गर्दछ । तर यसपटक सेप्टेम्बरको ५१.२ र अक्टोबरको ५०.६ बाट घटेर ४९.९ मा झरेको छ। आइतबार सार्वजनिक गरिएको सरकारी म्यानुफ्याक्चरिङ पीएमआईले पनि चीनको कारखाना गतिविधि नोभेम्बरमा लगातार आठौं महिनासम्म संकुचित भएको देखायो, सूचकांक ४९.२ रहेको छ, जुन अघिल्लो महिनाको ४९.० भन्दा अलि सुधारिएको मात्र हो । रेटिङडगको निजी सर्वेक्षणले ६५० निर्माता समेट्छ र महिनाको दोस्रो भागमा प्रतिक्रिया संकलन गर्छ भने सरकारी पीएमआईले महिनाको अन्त्यमा ३ हजारभन्दा बढी कम्पनी समेट्छ । ‘नयाँ अर्डरहरू झन्डै ठप्प भएपछि नोभेम्बरमा उत्पादन वृद्धि रोकिएको छ,’ एसएन्डपी ग्लोबल र रेटिङडगले संयुक्त विज्ञप्तिमा भनेका छन् । यद्यपि नयाँ निर्यात अर्डरहरू आठ महिनामै सबैभन्दा छिटो गतिमा बढेको उल्लेख गरिएको छ । ‘नयाँ व्यवसाय वृद्धिमा सुस्ती आएको बीच निर्माताहरूले रोजगार कटौती गरे, किनमेल घटाए र भण्डारण व्यवस्थापनमा अझ सतर्क बने,’ रेटिङडगका संस्थापक याओ यूले भने । यूका अनुसार डिसेम्बरमा कारखाना गतिविधिमा ‘कमजोर विस्तार’  हुन सक्छ, किनकि नीतिनिर्माताहरू वार्षिक करिब ५ प्रतिशत वृद्धिको लक्ष्य हासिल गर्न खोजिरहेका छन् । त्यसैगरी, निर्माण तथा सेवा क्षेत्र समेट्ने सरकारी गैर–म्यानुफ्याक्चरिङ पीएमआई ४९.५ मा झरेको छ । यो सूचकांक २०२२ डिसेम्बरयता पहिलो पटक संकुचित भएको हो । रियल स्टेट तथा आवासीय सेवा क्षेत्र कमजोर हुँदै जाँदा सूचकांक तानिएको बताइएको छ । अर्थतन्त्रमा गिरावटको संकेत विशेषगरी लामो समयदेखि चलिरहेको आवासीय संकट र कमजोर घरेलु मागका कारण यी तथ्यांकहरूले वर्षको अन्तिम त्रैमासमा अर्थतन्त्र थप कमजोर भएको संकेत दिएका छन् । ’ स्थिर पूँजी लगानी (फिक्स्ड–एसेट इनभेष्टमेन्ट) वर्षका पहिलो १० महिनामा १.७ प्रतिशतले घटेको छ । अक्टोबर महिनामा मात्र यो लगानी वर्षको तुलनामा ११.४ प्रतिशत घट्यो, जुन २०२० सुरुवातयता सबैभन्दा खराब आँकडा हो । सम्पत्ति (प्रोपर्टी) लगानी पनि पहिलो १० महिनामा १४.७ प्रतिशतले झरेको छ । औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशत बढेको भए पनि खुद्रा बिक्री लगातार पाँचौं महिनासम्म सुस्तिँदै २.९ प्रतिशतमा सीमित रह्यो । यी दुवै अगस्त २०२४ यताका सबैभन्दा कमजोर स्तर हुन् । यस्तै, चीनको निर्यात पनि अक्टोबरमा अप्रत्याशित रूपमा १.१ प्रतिशतले घट्यो । ‌ओसीबीसी बैंकका एशिया म्याक्रो अनुसन्धान प्रमुख टोमी शिएका अनुसार ताजा तथ्यांकले चीनको चौथो त्रैमासिक वृद्धि ४.८ प्रतिशतबाट झर्दै ४.५ प्रतिशतभन्दा कममा जान सक्ने देखिएको छ । उनीका अनुसार यस महिनाको पोलिटब्युरो बैठक र आगामी केन्द्रीय आर्थिक कार्य सम्मेलन (सीईडब्ल्यूसी) महत्त्वपूर्ण हुनेछन्, जसले २०२६ को आर्थिक प्राथमिकता संकेत गर्नेछ । अमेरिकासँगको तनाव केही कम अक्टोबर अन्त्यमा दक्षिण कोरियामा राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएपछि अस्थायी व्यापार समझदारी बनेसँगै दुई देशबीचको तनाव केही कम भएको छ । सम्झौताअनुसार अमेरिका चीनका निर्यातमाथिका उच्च ट्यारिफ कम गर्न तयार भएको छ । त्यसैगरी, चीनले अवैध फेण्टानिल व्यापार नियन्त्रण गर्ने, रेयर अर्थहरूको निर्यात नियन्त्रण स्थगित गर्ने, अमेरिकी सोयाबिन खरिद पुनः सुरु गर्ने जनाइएको छ। अमेरिकाले एक वर्षका लागि बन्दरगाह शुल्क स्थगित गर्ने तथा केही चिनियाँ कम्पनीहरूलाई प्राविधिक प्रतिबन्धबाट तात्कालिक रूपमा रोक्ने पनि स्वीकारेको छ। यद्यपि बैंक अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार व्यापार युद्धमा आएको आरामले अनिश्चितता केही कम भए पनि घरेलु उपभोग र लगानी कमजोर भएको कारण मागमा ठोस सुधार छिट्टै आउन नसक्ने देखिन्छ । उनीहरूका अनुसार आगामी वर्ष पनि चीनमा मुद्रास्फीति जोखिम कायम रहनेछ किनकि समग्र माग लामो समयसम्म सुस्त रहने संकेत छ । २०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?

मनाङमा ६१ मेगावाटको नारखोला हाइड्रो बन्ने, ५ बैंकको ९.६३ अर्ब रुपैयाँ लगानी

काठमाडौं । सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मेगावाटको नारखोला जलविद्युत् आयोजना निर्माण गरिने भएकाे छ । विभिन्न बैंक तथा  वित्तीय संस्थाहरूले लगानीमा आयोजना निर्माण गरिने नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछानेले जानकारी  दिए । मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको हो । आयोजनाको प्रवर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ । यसअघि नै विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ । साथै कुमारी बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक र मुक्तिनाथ विकास बैंकले ऋण लगानी गर्ने भएका छन् । सोमबार नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा हस्ताक्षर  गरेसँगै वित्तीय व्यवस्थापन टुंगिएकाे हाे । नारखोला जलविद्युत् आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवर्क्सका संरचनाहरू नार्पा भुमी गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत् गृहमा नार्पा भूमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्गमार्फत पेनस्टक पाइपको प्रयोग गरी विद्युत् गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेशनमा जोडिने छ । आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रूपैयाँ रहने बताइएकाे छ । जसमा बैंकहरूको कर्जा ९ अर्ब ६३ करोड रूपैयाँ र स्वपुँजी ३ अर्ब २१ करोड रूपैयाँ रहेको छ । स्वपुँजीमा सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । आयोजनाले ३ वर्षभित्र विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य लिएकाे छ ।

संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सी पछि अन्ततः १५ औं महाधिवेशनको मोडेल टुंगिन लागेको  छ । नेता डा. शेखर कोइरालाले अघि सारेको संक्षिप्त महाधिवेशन प्रस्तावलाई नै अन्तिम सहमति मिलेको एक शीर्ष नेताले जानकारी दिए ।  सभापति शेरबहादुर देउवाले सक्रिय पहल गरेपछि पार्टीभित्र उत्पन्न महाधिवेशन सम्बन्धी विवाद अन्ततः किनारा लागेको हो । यसअघि स्थापना पक्ष र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह फागुन २१ गते हुने आमनिर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडानमा थियो । तर, महामन्त्री गगन थापा पक्ष भने विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनअघि नेतृत्व चुन्नुपर्नेमा जोड दिइरहेको थियो । यता डा. कोइरालाले दुबै धारबीच मध्यमार्ग प्रस्तुत गरेका थिए । विशेष महाधिवेशनमा गए पार्टी फुट्न सक्ने जोखिम औंल्याउँदै उनले निर्वाचनअघि नेतृत्व परिवर्तनका लागि संक्षिप्त महाधिवेशन नै उपयुक्त हुने तर्क अघि सारेका थिए । अन्ततः यही मोडेल स्वीकारिएपछि सहमति जुटेको एक नेताले जानकारी दिए । नेपाली कांग्रेसमा १५ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक निरन्तर चल्दै आएको थियो । पार्टीका एक नेताले २५ दिन लामो बैठकसँगै कांग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकको लम्बाइलाई पनि हराएको भन्दै टिप्पणी गरेका थिए । लामो छलफलपछि महाधिवेशनलाई दुई चरणमा सम्पन्न गर्ने सहमति बनेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार निर्वाचनअघि तीन तहका अधिवेशन हुनेछन् ।  पौष मसान्तसम्म वडा अधिवेशन, माघको पहिलो साताभित्र क्षेत्रीय अधिवेशन र दोस्रो सातामा केन्द्रीय महाधिवेशन हुने गरी सहमतिको तयारी गरिएको ती नेताले जानकारी दिए । यस्तै, निर्वाचनपछि तीन तहका अधिवेशन हुनेछन् । ती नेताका अनुसार पालिका अधिवेशन, प्रदेश क्षेत्रीय अधिवेशन र प्रदेश महाधिवेशन निर्वाचन पछि गरिने छन् । फागुनमा हुने आम निर्वाचनपछि दोस्रो चरणका सबै संरचनागत अधिवेशन सम्पन्न गर्ने तयारीमा पार्टी अघि बढेको ती नेताले जानकारी दिए । ‍कांग्रेसमा शेखर समूहले ल्यायो ‘मध्यमार्गी’ प्रस्ताव हल्ला धेरै र प्रक्रिया शून्यको ‘विशेष महाधिवेशन’