विकासन्युज

सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो ।’ सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएकोमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए । ‘नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो रु सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला,’ उनले भने । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढे मात्रै स्वभाविक हुने बताए । सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।

समता घरेलु लघुवित्तमा गाभियो मनकामना स्मार्ट, एकीकृत वित्तीय कारोबार सुरु

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको छ । गाभिए पश्चात दुवै संस्थाले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेश स्तरको लघुवित्त संस्था हो । नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग पुर्याउन दुई संस्थाबीच गत भदौ ७ मा गाभ्नेरगाभिने निर्णय भएको थियो । समताले मनकामनालाई १ः१ सेयर स्वाप रेसियोमा गाभेको हो । एकीकृत कारोबारपश्चात संस्थाको बनेपामा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ९९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए । संस्थाको चुक्तापूँजी जारी हुन लागेको एफपीओसहित ५९ करोड ९० लाख ९० हजार ७ सय २८ रुपैयाँ पुगेको छ । संस्थाले ८१ हजार ५ सय ३६ सदस्यहरुलाई वित्तीय सेवा पुर्याएको र ४ अर्ब ३८ करोड ९० लाख कर्जा लगानी तथा १ अर्ब ४० करोड ५१ लाख रुपैयाँ बचत संकलन भएको पनि डा. घिमिरेले बताए । दुवै संस्थालाई एकीकृत कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंकबाट २०८१ जेठ २९ गते, नेपाल धितोपत्र बोर्डबाट २०८१ असार ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८१ असार ११ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो । समता घरेलु लघुवित्त संस्था लि। बिगतमा दुई वटा संस्था गाभिएर बनेको संस्था हो भने मनकामना स्मार्ट लघुवित्त पनि दुई वटा संस्था गाभिएर बनेको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाका अध्यक्ष डम्बरमणि थेबे लिम्बुको अध्यक्षता र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यको प्रमुख आतिथ्यतामा भएको एकीकृत कारोबार शुभारम्भ समारोहमा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादव, पूर्व अध्यक्ष बसन्तराज लम्साल, गाभिने संस्था मनकामना स्मार्ट लघुवित्तका अध्यक्ष अजय गोयनका, संयुक्त प्राप्ति समितिका संयोजक हरिबहादुर भण्डारी लगायतले शुभकामना दिएका थिए । समारोहमा दुवै संस्थाका सञ्चालक, सेयरधनी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू लगायतको उपस्थिति थियो ।

राकुराले ल्यायो ‘म्याजिक नट’ टि-ब्याग

काठमाडौं । राकुराले आज आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसन चिया उत्पादनहरू सार्वजनिक गरेको छ। राकुराले आफ्नो ‘म्याजिक नट’ टि-ब्याग सार्वजनिक गरेको हो । यो विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ‘ट्यान्डेम एयर(नटेड’ प्रविधि प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ । यो नयाँ गैर–ताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि–ब्याग हुनेछ । उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानीकारक पदार्थहरू छैनन्) ले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्ने र विश्वकै पहिलो ओकेसीओएमपीओएसटी प्रमाणित, घरमै कम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउने कम्पनीको भनाइ छ । म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता नवीनताहरू पनि समावेश छन्, जसले गैर–जीएमओ कपास र हानिकारक रसायनहरू नभएको सुनिश्चित गर्दछन्, साथै अपडेट गरिएको इजी-होल्ड ट्यागहरू समात्न बढी आरामदायक छन् र फुड ग्रेड कागज र मसीबाट बनेका छन् । चिया उद्योगमा ५ दशकभन्दा बढीको अनुभवमा आधारित, राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरुलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि घोषणा गरेको छ। कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा सुधार गरेको छ, जुन विश्वकै सबैभन्दा ठूलो चियाको कलेक्सनमध्ये एक हुनेछ। राकुराको टि(ब्यागहरू अब ताजा प्याकहरूमा आउनेछन्( अलग रुपमा बेरिएको, वातावरण मैत्री र खाद्य सुरक्षित फोइल कागजका खामहरू र एफएससी प्रमाणित दिगो स्रोत प्याकेजिङमा प्याक गरिनेछ, जसले यसलाई यस्तो प्रविधि प्रयोग गर्ने विश्वकै पहिलो चिया कम्पनीहरूमध्ये एक बनाउँछ। राकुरा अब विश्वका पहिलो खाद्य कम्पनीहरूमध्ये एक बनेको छ जसले जीवाणु र एलर्जेन मुक्त चिया(ब्यागिङ सुविधा दिनका लागि जलवायु(नियन्त्रित अवस्थाअन्तर्गत क्लिन(रूम प्रोटोकलहरू पालना गर्दछ । आफ्नो नेक्स्ट जेनेरेशन ब्लु प्रिन्टको लन्चसँगै, राकुराले सन् २०३० सम्म वा सोभन्दा चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता पनि जनाएको छ र आफ्नो सापेक्ष ऊर्जा र प्लास्टिक प्रयोग घटाउने प्रक्रिया सुरु गरिसकेको छ । ‘हामीले नेपालको चिया उद्योगको लागि सधैँ नयाँ आयाम खोल्ने इतिहास राखेका छौँ र फेरि पनि नेपालको चियाको लागि नयाँ युगको सुरुवात गरेका छौँ’, राकुराका प्रबन्धनिर्देशक नीराज राठीले भने, ‘हामीले ड्रइङ बोर्डमा फर्केर, पछिल्ला केही वर्षमा हाम्रो उत्पादन लाइनका हरेक कुराहरुलाई नियालेका छौं र हामीले विश्वमा सर्वोत्तम कसरी दिन सक्छौं भनेर अनुसन्धान गरेका छौँ । हामी हाम्रो नयाँ पुस्ताका उत्पादनहरूलाई विश्वकै सबैभन्दा स्वस्थ र वातावरणमैत्री भनेर भन्दै छौँ किनभने विश्वमा अरू कुनै चिया उत्पादन छैन जसमा एकै प्याकमा हाम्रा उत्पादनमा भएका सबै नवीनताहरू छन् ।’ आफ्नो नयाँ पिडीका उत्पादनहरूबाट सुरु गरेर, सबै राकुरा उत्पादनहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका छन् । राकुरा टि–ब्यागहरू अब छुट्टाछुट्टै रूपमा यसको ताजा प्याकहरूमा बेरिएर आउने कम्पनीले जनाएको छ । राकुरा नेक्स्ट जेनेरेशन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीहरूमा उपलब्ध हुनेछ, जसको मूल्य भेरियन्टको आधारमा प्रति प्याकेट १७९ रुपैयाँदेखि २७९ रुपैयाँसम्म हुनेछ । यी चियाहरू आउँदो हप्तादेखि काठमाडौंका सबै प्रमुख पसलहरू, मार्टहरू र सुपरमार्केटहरूमा खरिदको लागि उपलब्ध हुनेछन् र एक महिनाभित्र देशभर उपलब्ध हुन्छ । अनलाइन उपलब्धता आउँदो महिनाहरूमा सुरु हुनेछ ।

बिलबीजक नभएको १ करोड ८९ लाखको सामान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले बिलबीजक नभएको १ करोड ८९ लाख ५० हजार छ सय २२ रुपैयाँ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्‍याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए । प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो ।

सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’

काठमाडौं । कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन बजारमा ल्याएको सीजीले जनाएको छ । उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजी मार्फत सहजै सुकाउन मिल्ने कम्पनीको भनाइ छ । सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । जुन बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सीजी स्टोरहरू वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

महेश बर्तौलाको चुनाैती- कुन-कुन फाइल कसरी खोल्नुपर्ने हो, खोल्नुस्

काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए । उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरे । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे । उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसिन हुनुहुन्छ, कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस् । तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना दिनुपर्छ ।’ प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए

विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यस लगत्तै सरकारमा गठबन्धनका दल काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको थियो । तर, विश्वासको मत लिएपछि जनमत पार्टीका मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी भएको छैन । कांग्रेसले जनमत पार्टीलाई सहमतिअनुसार विश्वास गरेर विश्वासको मत दिए पनि जनमत पार्टीले धोखाधडी गरी विश्वासको वातावरण कायम राख्न नसकेको आरोप कांग्रेस र लोसपा सांसदहरूको छ । सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी अघि बढाइसकेको छ । सो तयारी स्वरूप साेमबार बिहान जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रूपमा छलफल समेत गरेका छन् । छलफलमा जसपा, एमाले र लोसपाले कांग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न सुझाव दिएको छ । मन्त्रालय बाँडफाँडमा जनमत केन्द्रिय नेतृत्वको प्रदेशमा हस्तक्षेपका कारण सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले बताए । कांग्रेस स्राेतअनुसार विश्वासको मत लिनुअघि एमालेको मन्त्रालय यथावत रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएको अर्थ मन्त्रालय, उर्जा, सिंचाई तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रलाय र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आन्तरिक सहमति भएको थियो । विश्वासको मतपछि मन्त्रालय बाँडफाँडका लागि शनिबार बेलुकादेखि आइतबार बेलुकासम्म पटक पटक बैठक बस्यो । कांग्रेसले आफूले पाउने मन्त्रालयमा अडान रह्यो भने लोसपाले दुईवटा मन्त्रालय पाउने अडान राखेका थियो । आइतबार दिनभरिको समर्थनपछि साँझ मन्त्रालय बाँडफाँडको काँग्रेससँग सहमति भई लिखित सम्झौता भइरहेको क्रममा मुख्यमन्त्री सिंहले अर्थमन्त्रालय आफूले नै राख्ने माथिबाट निर्देशन आएको भनेपछि सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता यादवले बताए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थालेको हो ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासा उनले सबै दलले आफ्नै नेतृत्व स्वीकर गरिसकेको बताए । सहमतिअनुसार नभए नयाँ सरकारको पहल थाल्ने उनकाे भनाइ छ ।

हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए । तर, हाल उनी नकपा एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष छन् । त्यस्तै, मद्दा दायर भएका अन्यमा इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकाया रहेका छन्। गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको अख्तियारको आरोप छ । अख्तियारले उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपौयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।