काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।
उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गरे । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गरे ।
उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसिन हुनुहुन्छ, कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस् । तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना दिनुपर्छ ।’
प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए