विकासन्युज

होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीका अध्यक्ष थापाले बताए । काठमाडौं बुढानीलकण्ठ-६, मा अवस्थित होटेल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ । रोयल अर्किड होटल ब्राण्डअन्तर्गत ४८ भन्दा बढी स्थानहरूमा १०० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । नेपालमा यस ब्राण्डअन्तर्गत सञ्चालनमा आएको होटलमध्ये सब्रिना पहिलो हो ।

दिगोले नेपाली बजारमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने, बुकिङ खुला

काठमाडौं । विद्युतीय गाडी कम्पनी दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ । १०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ । यसैगरी ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने कम्पनीले जनाएको छ । विश्वकै सबैभन्दा ठुलो ब्याट्री निर्माता सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ । दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरू भन्दा उपयुक्त मूल्यमा र ग्राहकलाई बढी फाइदा हुने गरी यी गाडीहरू भित्राउन लागेको जनाएको छ । बजारको माग हेर्दै दसैँलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।

किन हटायो टिकटकले १६ करोड भिडियो र ९७ करोड कमेन्ट ?

काठमाडाैं । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डेटा प्वइन्ट र ट्रेन्डहरूलाई समेटेर कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ । टिकटकले पहिलो त्रैमासमा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियोहरू हटाएको छ । जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो । यी मध्येको एक महत्वपूर्ण हिस्सा १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत पहिचान गरी हटाइएको थियो भने ६० लाख ४२ हजार २८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् । यसका साथै, टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरू उल्लंघन गरेको आधारमा पहिलो त्रैमासमा ९७ करोड ६४ लाख ७९ हजार ९ ४६ भिडियो कमेन्टहरू पनि हटाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ प्रतिशत हो । त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३ अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए । उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै टिकटक आफ्नो गाइडलाइन्स विपरीतका कन्टेन्टहरू पहिचान गर्न, रिभ्यु गर्न र अड्रेस गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गरेको कम्पनीले दाबी गरेको छ। यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण र बाल यौन दुर्व्यवहार सामाग्रीको आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि लन्च गर्दैछ। यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा

दक्षिण कोरिया । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू वर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताए । सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ । सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ । नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले भने, ‘आजदेखि हडताल सुरु भएको छ, आजको आमहडताल त सुरुवात मात्र हो, हामी यहाँ किन छौं भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस् ।’ युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ । युनियनका उपाध्यक्ष ली ह्युन कुकले भने, ुके उनीहरूले यसले सामसुङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् । करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो। श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो । यससम्बन्धमा सामसुङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ । सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले एएफपीसँग भने, ‘जारी हडताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन्, समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ ।’ (एएफपी)

सेयर बजारका हटकेक, राष्ट्र बैंकभन्दा बलिया !

काठमाडौं । जुनसुकै लगानीकर्ताले प्रतिफल पाउने उद्देश्यले लगानी गर्छन् । कम्पनीले दिने प्रतिफल सबैभन्दा महत्वपूर्ण विषय हो । तर, पुँजी बजारमा अधिकांश लगानीकर्ताहरूले जोखिम मोलेरै अर्बाैं लगानी गरिरहेको देखिन्छ । मनग्य कमाउने र उच्च दरको प्रतिफल पाउने अपेक्षाले लगानीकर्ताहरूले विभिन्न कम्पनीमा आफ्नो लगानी गर्छन् । तर, पुँजी बजारमा यस्ता कम्पनी छन्, जुन कम्पनीमा लगानी गर्दा प्रतिफलको सुनिश्चितता छैन । पछिल्लो तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ वटा छन् । सूचीकृतमध्ये अधिकांश कम्पनीहरू बलियो र प्रभावकारी नियामक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त छन् । पुँजी बजारमा केही सूकीकृत कम्पनीहरूको आफ्नै नियामक नहुँदा बेलाबखत तिनीहरूको नियमनमा प्रश्न उठ्ने गर्छ । तर, राष्ट्र बैंक जस्तो प्रभावकारी नियामकबाट नियमन भइरहेका कम्पनीमा समेत लगानीकर्ताहरूले लामो समयदेखि ठूलो धोका पाउने गरेका छन् । राष्ट्र बैंकको नियमन भित्र रहेका केही विकास बैंक र वित्त (फाइनान्स) कम्पनीका लगानीकर्ताहरूले विगत लामाे समयदेखि प्रतिफल पाएका छैनन् । लाभांश कमाउने उद्देश्यले पुँजी बजारका यी कम्पनीमा लगानी गरेका लगानीकर्ताहरूले रित्तो हात बनाउनु परेको छ । लाभांशसँगै ती कम्पनीले वार्षिक रुपमा गर्नु पर्ने साधारणसभा तथा लेखापरीक्षण समेत हुन सकेको छैन । कम्पनीहरुले वार्षिकरुपमा साधारणसभा गर्नु पर्ने प्रावधान भएपनि नीतिको अटेर गर्दै राष्ट्र बैंकलाई समेत गुमराहमा राख्ने कम्पनीको संख्या लामै छ । जसले न कम्पलायन्स पालना गर्छन् नत लगानीकर्ताई प्रतिफल दिन्छन् । तर, तिनै कम्पनीको सेयर मूल्य भने उच्च छ । विगतमा संस्थागत सुशासन र खराब कर्जा अत्यधिक भएपछि समस्याग्रस्त घोषणा गरिएको कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८८ रुपैयाँ छ । यस बैंकको सेयर मूल्य विकास बैंक समूहमा उच्च हो । बैंकले एक पटक आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले सेयरधनीहरूलाई कुनै प्रतिफल वितरण गर्न सकेकाे छैन । तैपनि लगानीकर्ताहरूले बैंकको सेयर सहज रूपमा खरिदबिक्री गरिरहेका छन् । यस बैंकले आफ्नो वार्षिक साधारण सभा समेत नियमित गर्न सकेको छैन । यस विषयमा राष्ट्र बैंक समेत मौन छ । यस बैंकमा ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी र १७ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म बैंकले ८७ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ छ । चैतसम्म बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरूलाई ६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि र त्यसयता बैंकले सेयरधनीहरूलाई प्रतिफल वितरण गरेकाे कुनै तथ्याङ्क छैन । तर, बैंकको सेयर प्रतिकित्ता ४२२ रुपैयाँमा कारोबार भइरहेको छ । सेयरधनीहरूलाई प्रतिफल बाँड्न नसक्ने यस बैंकले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गर्न नसकेको देखिन्छ । गत २०८० पुस २९ गते सम्पन्न १४औँ वार्षिक साधारण सभाले एकै पटक आर्थिक वर्ष २०७७/७८, २०७९ र २०८० साल वित्तीय विवरण पारित गर्‍यो । ८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी र २० करोड ५६ लाख रुपैयाँ जगेडा कोषमा रहेको यो बैंक गत चैतमा ७ करोड ३१ लाख रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा २७ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । बैंकको प्रतिकित्ता सेयर आम्दानी ११.६८ रुपैयाँ ऋणात्मक छ भने खराब कर्जा १२.४० प्रतिशत रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकले प्रत्येक वर्ष वार्षिक साधारण सभा समयमा गर्न सकेको छैन । २०८० चैत २७ गते सम्पन्न १०औं र ११औँ वार्षिक सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित अन्य प्रतिवेदन पारित गरेको थियो । बैंकले हालसम्म २ पटक मात्रै सेयरधनीहरूलाई लाभांश बाँडेको छ । आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७८/७९ मा गरी २ पटक बैंकले समान ४/४ प्रतिशत प्रतिफल बाँडेको थियो । यसअधिका वर्ष बैंकले सेयरधनीहरूको हात रित्तो बनाएको छ । तर, बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँमा कारोबार भइरहेको छ । ५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ करोड ४७ लाख रुपैयाँ जम्मा छ । चैतसम्म बैंकले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बैंकको प्रतिसेयर आम्दानी ४.४९ रुपैयाँ छ । तर, बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरूको विगत ८ वर्षदेखि हात रित्तो राखेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १३ प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछि बैंकले निरन्तर हालसम्म कुनै प्रतिफल दिएको छैन । तर, यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको साधारण सभा समयमा अनियमित छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा २०७८ फागुन २० गते गरेको थियो । त्यसयता यस बैंकले साधारण सभा गरेको छैन । ५० करोड २८ लाख चुक्ता पुँजी र ५ करोड ३५ लाख रुपैयाँ जगेडा कोषमा सञ्चिति छ । चैतसम्म २ करोढड ८८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा २ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय स्थिति हेर्दा नाजुक छ । २६ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी र १६ करोड ८ लाख रुपैयाँ जगेडा कोषमा सञ्चिति छ । गत चैतसम्म बैंकले ४२ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । साथै बैंकको खराब कर्जा ३१.७७ प्रतिशत पुगेको छ । निर्धातिर समयभन्दा ढिलागरी बैंकले २२औँ वार्षिक साधारण सभा गरेको छ । बैंकले हालसम्म सेयरधनीहरूलाई लाभांश बाँडेको छैन । खराब वित्तीय अवस्था र लाभांश नबाँडेपनि सेयरधनीहरू भने बैंकप्रति आकर्षित देखिन्छन् । किनभने बैंकको सेयर मूल्य ५८२ रुपैयाँ रहेको छ । एक्सल डेभलपमेन्ट बैंकले विगत तीन वर्षदेखि सेयरधनीहरूलाई लाभांश बाँडेको छैन । बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ मा ८.९५ प्रतिशत लाभांश बाँडेको थियो । त्यस आर्थिक वर्षसम्म निरन्तर लाभांश बाँडेको थियो । पछिल्ला समय प्रतिफल बाँड्न छाडेको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यस बैंकले समयमा वार्षिक साधारण सभा समेत गर्न सकेको छैन । २०८१ असार २९ गते आह्वान गरेको १८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण लगायतका प्रतिवेदन पारित गर्नेछ । १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी र ७१ करोड ८३ लाख रुपैयाँ जगेडा कोष रहेको छ । चैतसम्म बैंक ५ करोड ३७ लाख रुपैयाँ खुद नोक्सानीमा छ । साथै बैंकको वितरणयोग्य नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । यस्तै प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ ऋणात्मक छ । बैंकको खराब कर्जा ७.३० प्रतिशत पुगेको छ । सिन्धु विकास बैंकले विगत ५ वर्षदेखि प्रतिफल बाँडेको छैन । बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७५/७६ मा १२.०९ प्रतिशत लाभांश बाँडेको थियो । उक्त वर्षसम्म निरन्तर लाभांश बाँडेको पनि थियो । त्यसयता बैंकले लगानीकर्ताको हात रित्तो बनाउँदै आएको छ । साथै बैंकको साधारण सभा समेत अनिश्चित छ । बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको १३औँ वार्षिक सभा गरेको छ । गत आर्थिक वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरिसकेको छ । बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र जगेडा कोष १० करोड ६९ लाख रुपैयाँ रहेको छ । चैतसम्म खुद नाफा ५ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । यस्तै बैंकको वितरणयोग्य नाफा ७ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा छ । तर, बैंकको सेयरमा लगानीकर्ताको आकर्षणभने राम्रो देखिन्छ । नेप्सेको तथ्याङ्क अनुसार सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँमा कारोबार भएको छ । फाइनान्स कम्पनी नेपाल फाइनान्सले १३ वर्षअघि आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरूलाई २३.१६ प्रतिशत लाभांश बाँडेको थियो । त्यसअघि र त्यसपछि कम्पनीले सेयरधनीहरूलाई प्रतिफल दिएको छैन । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १३ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको यस फाइनान्सले वितरणयोग्य नाफा २ करोड २१ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको चुक्ता पुँजी ७२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ४२ करोड ३९ लाख रुपैयाँ रहेको छ । कमजोर वित्तीय अवस्था र शून्य लाभांशकाबीच कम्पनीको सेयर मूल्यमा लगानीकर्ता उत्साहित भएर लगानी गरिरहेका छन् । फाइनान्सको सेयर प्रतिकित्ता ८५७ रुपैयाँमा कारोबार भइरहेको छ । बेस्ट फाइनान्सले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरूलाई २० प्रतिशत लाभांश बाँडेको थियो । सेयरधनीहरूले सो वर्षपछि प्रतिफल पाएका छैनन् । कम्पनीको वार्षिक साधारण सभा समेत अनियमित छ । कम्पनीले गत बैशाख २९ गते सम्पन्न गरेको २६औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरू मात्रै पारित गरेको छ । गत आर्थिक वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । ८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी र ५७ करोड ५६ लाख रुपैयाँ जगेडा कोष रहेको यस फाइनान्सले गत चैतसम्म ८० लाख २६ हजार रुपैयाँ नाफा गरेको छ । तर, ३० करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । फाइनान्सको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ । यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँमा कारोबार भइरहेको छ । निरन्तर प्रतिफल वितरण गर्दै आएको गुडविल फाइनान्सले पछिल्लोपटक आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत प्रतिफल बाँडेको थियो । त्यसपछिका २ वर्ष सेयरधनीहरूको हात रित्तो छ । ९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी र ८२ करोड ५८ लाख रुपैयाँ जगेडा कोष रहेको यस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ८ करोड ६४ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । साथै फाइनान्सको वितरणयोग्य नाफा ३९ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२.१९ रुपैयाँ माइनस छ भने खराब कर्जा ६.४८ प्रतिशत रहेको छ । तर, फाइनान्सको सेयर मूल्य ६३३ रुपैयाँमा कारोबार भइरहेको छ । जानकी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ मा १५.७८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछिका २ वर्ष सेयरधनीहरूको हात रित्तो छ । साथै कम्पनीको वार्षिक साधारण सभा समेत अनियमित छ । २०८० साउन १३ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गरेको छ । गत वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । फाइनान्सको ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी र २९ करोड ८६ लाख रुपैयाँ जगेडा कोष रहेको छ । गत चैतसम्म फाइनान्सले १० करोड ८६ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । यस्तै फाइनान्सको प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ ऋणात्मक छ भने खराब कर्जा २८.९१ प्रतिशत छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८०.२० रुपैयाँमा कारोबार भइरहेको छ । समृद्धि फाइनान्सले हालसम्म सेयरधनीहरूलाई प्रतिफल दिएको छैन । जबकी फाइनान्सले २०८० पुस २८ गते २२औँ वार्षिक साधारण सभा सम्पन्न गर्याे । गत चैतसम्म फाइनान्सले ६ करोड ९३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । ५ लाख ३६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको यस फाइनान्सको खराब कर्जा १७.२३ प्रतिशत पुगेको छ । फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ र जगेडा कोष २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । खराब वित्तीय अवस्था र २२औं साधारण सभासम्म पनि सेयरधनीहरूले प्रतिफल नपाउँदा लगानीकर्ताहरू भने फाइनान्सको सेयरमा आकर्षित भएर खरिदबिक्री गरिरहेका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९.७० रुपैयाँमा कारोबार भइरहेको छ । मल्टीपर्पस फाइनान्सले २ वर्षसम्म सेयरधनीहरूको गोजि रित्तो बनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले १३.६८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसयता कम्पनीले सेयरधनीहरूको खल्ती रित्तो बनाएको हो । कम्पनीको वित्तीय स्थिति र साधारण सभा नियमित छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५१७.५० रुपैयाँ रहेको छ । प्रोग्रेशिभ फाइनान्सले आर्थिक वर्ष २०७७/७८ मा ६.३१ लाभांश बाँडेको तथ्याङ्क छ । २६औँ वार्षिक सभा सम्पन्न गर्दा कम्पनीले एक पटक मात्रै प्रतिफल दिएको हो । ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी र १२ करोड ६३ लाख रुपैयाँ जगेडा कोष रहेको छ । गत चैतसम्म फाइनान्सले ५ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने ४० करोड ४३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२.९५ रुपैयाँ रहेको छ भने खराब कर्जा ९.३४ प्रतिशत रहेको छ । तर, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँमा कारोबार भइरहेको छ । गोर्खाज फाइनान्सले एकपटक मात्रै सेयरधनीहरूलाई प्रतिफल वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा ७ प्रतिशत लाभांश बाँडेको थियो । त्यसअघि र त्यसयता सेयरधनीहरूको हात रित्तो छ । फाइनान्सको साधारण सभा समेत नियमित देखिँदैन । २०८० चैत २ गते सम्पन्न २८ र २९औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वितत्तीय विवरण पारित गरेको थियो । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ र १ अर्ब २ करोड ६० लाख रुपैयाँ जगेडा कोष छ । गत चैतसम्म कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । तर, कम्पनीको वितरणयोग्य नाफा ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । फाइनान्सको खराब कर्जा १४.५० रुपैयाँ रहेको छ । फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७००.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नवलपुरमा व्यावसायिक स्याउ खेती सुरु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्रायः चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी) ले खेती गरेको हो । एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए । ‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ’, उनले भने, ‘बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ ।’ एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उनले बताए । यहाँ लगाइएको स्याउको फल पहेँलो रङ र स्वाद फुजी स्याउको जस्तै हुने उनको भनाइ छ । एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ । एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा कीटाणुरहित वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ । टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए । केराको बिरुवा प्रतिगोटा रु ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा रु एक सय ३० मा बिक्री गरिन्छ । टिस्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ५६ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १३६ को विन्दुमा अडिएको छ । यस दिन ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३ सय २४ कम्पनीको १ करोड ४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँ र सिइडीबी हाइड्रोको ९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय सस्था लिमिटेडका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले कमाएका छन् । यस्तै एनआईसी एशिया बैंक डिबेञ्चरका सेयरधनीले ६.०१ प्रतिशत, दोर्दी जलविद्युतका सेयरधनीले ५.०३ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका सेयरधनीले ४.७५ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ४.५० प्रतिशतका दरले कमाएका छन् । यस दिन सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेकाे समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । सभापति थापाकादअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताएका थिए । उनले सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने धारणा राखे । सभापति थापाले बैठकमा बैंकर्स एसाेसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए । उनले भने, ‘यो समग्र वित्तीय प्रणालीमा सहकारी क्षेत्रमा देखापरेको संकटको प्रभावसहितका विषयमा हामीले उहाँहरूसँग सुझाव माग गरेका छाैं, त्यसमा घनिभुत छलफल भएको छ, नेपाल राष्ट्र बैंकका तर्फबाट त्यहाँका विभिन्न क्षेत्रको नेतृत्व गर्नुभएका कार्यकारी निर्देशकहरूसहित गभर्नरज्यु उपस्थित हुनुभयो, उहाँले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनको लागि पाँच बुँदामा सुझाव दिनुभएको छ, सहकारीकाे समस्या समाधान गर्न पहिलादेखि नै उठ्दै आएको सेकेण्ड टायर इन्स्टीट्युशन नियामक निकाय बनाइनुपर्छ भन्ने कुरा आएको छ ।’ सभापति थापाले एउटै कर्जा सूचना केन्द्र हुनुपर्ने सुझाव आएको बताए ।