विकासन्युज

नेपाल एसबिआई बैंकले मनायो ३१औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंकले ३१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारे चर्चा गरे । उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिए । प्रमुख सञ्चालन अधिकृत यादवेद्र कान्तले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन : सांसद गैरे

काठमाडाैं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताए । प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि आराेप लगाए ।  उनले बहुमत गुमाएपछि सरकारमा एक सेकेन्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गरे । उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनै पनि योजना कामयाव हुन नसकेको बताए ।

प्रतिफल शून्य, सेयर मूल्य छोइनसक्नु

काठमाडौं । आधारभूत र प्राविधिक विश्लेषण गर्न नसक्नेका लागि जोखिमको क्षेत्र हो सेयर बजार । तर, पनि लगानीकर्ताले लाखौं/करोडौं लगानी गरेर सेयर बजारमा त्यो जोखिम मोल्छन् । तर, सेयर मूल्य बढ्यो भने नाफा कमाउँछन्, घट्यो भने पुर्पुरोमा हात लगाउँदै सेयर बजारलाई सराप्छन् । अहिलेसम्मको उदाहरण हेर्दा सेयर बजारबाट कमैले कमाएका छन् । धेरैले गुमाएका छन् । अधिकांशले नबुझेरै लगानी थुपारिरहेका छन् । लगानी नाफाकै लागि गर्ने भए पनि अन्ततः सबैले घाटा खाएको समाचार सुनिन्छ । त्यो घाटा खानुको एउटै कारण हो कम्पनी । कम्पनीको कस्तो हो ? त्यसको स्ट्रेन्थ के हो ? त्यसको विगत, वर्तमानर भविश्य कस्तो हुन्छ भन्ने विषयको विश्लेषण नगरेरै धेरै लगानीकर्ताले अन्धाधुन्द लगानी गर्छन् । पछिल्लो तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ छ । सूचीकृत कम्पनीहरूमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । यी मध्ये कुनै यस्ता कम्पनी छन् जसको कुनै हैसियत छैन । अर्थात् ती कम्पनीले न विगतमा लाभांश प्रदान गरेका छन् नत आगामी दिनमा लाभांश दिन सक्ने सामथ्र्य देखिन्छ । तर, तिनै कम्पनीको सेयर मूल्य छोइनसक्नु छ । बजारमा उच्च रुपमा तिनै कम्पनीको कारोबार भइरहेको छ । आज हामीले यो सामग्रीमा त्यस्ता कम्पनीको विषयमा चर्चा गरेका छौं । राष्ट्रिय बीमा कम्पनी बजारमा बढी सेयर मूल्य भएको कम्पनीका रूपमा राष्ट्रिय बीमा कम्पनी परिचित छ । उच्च मूल्य हुने कम्पनीका रूपमा तेस्रो नम्बरमा छ राष्ट्रिय बीमा कम्पनी । नेप्सेका अनुसार आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ हजार १११ रुपैयाँमा कारोबार भएको छ । ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् १६ हजार ५२४ रुपैयाँ र न्यूनतम १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको देखिन्छ । कम्पनीको साधारण सेयर मात्र नभई संस्थापक सेयर मूल्य पनि उच्च छ । संस्थापक सेयरको मूल्य प्रतिकित्ता १० हजार २३० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य उच्च भएपनि प्रतिफल भने शून्य छ । यस कम्पनीले प्रत्येक वर्ष सेयरधनीहरूको हात रित्तो बनाएको छ । यस कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा ११४.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश पाउने अपेक्षामा रहेका लगानीकर्ताहरू त्यसयता निराश छन् । यस कम्पनीका सेयरधनीहरूले तत्काल प्रतिफल पाउने अवस्था पनि देखिँदैन । किनभने विगत लामो समयदेखि कम्पनीले आफ्नो लेखापरीक्षण गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०७२/७३ सम्मको मात्रै वार्षिक र लेखापरीक्षक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको छ । त्यसयताको कम्पनीको लेखापरीक्षण तथा वार्षिक साधारणसभा हुन सकेको छैन । राष्ट्रिय बीमा कम्पनीले कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते साविक बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण)बाट निर्जीवन बीमकको इजाजतपत्र प्राप्त गरी साउन १८ गतेदेखि व्यवसाय सञ्चालन गरेको हो । हाल यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. शिवहरि श्रेष्ठ कार्यरत छन् । कम्पनीको साधारणसभा समेत गर्न नसकेको, लामो समयदेखि लाभांश पनि दिन नसकेको यस कम्पनीको सेयर मूल्य नेप्सेमा उच्च हुनुलाई धेरैले आश्चर्य मानेका छन् । यद्यपि, लगानीकर्ताहरु कम्पनीको सम्पत्ति धेरै रहेको र सो अचल सम्पत्ति बिक्री नै गरे पनि धेरै कमाउन सक्ने भएकोले सेयरमूल्य उच्च रहेको धारणा राख्छन् । विशाल बजार पुँजी बजारमा बढी सेयर मूल्य भएको अर्को कम्पनी हो विशाल बजार । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ५० रुपैयाँ छ । ५२ सातामा यस कम्पनीको सेयर मूल्य अधिकतम् ४ हजार ५३९ रुपैयाँ र न्यूनतम ३ हजार ३४१ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्यांकबाट देखिन्छ । सेयर बजारमा यस कम्पनीको उच्च मूल्य भएपनि प्रतिफल शून्य छ । यस कम्पनीबाट पनि सेयरधनीहरूले हालसम्म प्रतिफल पाएका छैनन् । कम्पनीले विगत लामो समयदेखि लेखापरीक्षण पनि गर्न सकेको छैन । कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसयता कम्पनीको कुनै तथ्याङ्क नै लगानीकर्ताहरूको पहुँचमा छैनन् । कम्पनीको सेयर स्वामित्वका विषयमा विवाद हुँदा अदालतमा मुद्दा विचाराधीन छ । तर, लगानीकर्ताको आकर्षण भने यही कम्पनीमा छ । समाज लघुवित्त एक वर्षअघि समाज लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७२ रुपैयाँ थियो । दोस्रो बजारमा अधिकांश कम्पनीको पहिलो कारोबार अंकित मूल्यभन्दा बढीमा नै हुने गरेको छ । तर, समाज लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ७२ रुपैयाँमा भयो । तर, पछिल्लो तथ्याङ्क अनुसार यस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन लघुवित्त वित्तीय समूहमा सबैभन्दा धेरै हो । २ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरूलाई १५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । त्यसयता लघुवित्तले लगानीकर्ताको हात रित्तो बनाएको छ । चैतसम्म लघुवित्तले खुद नाफामा २२ लाख ९८ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । साथै प्रतिसेयर आम्दानी १०.०६ रुपैयाँ ऋणात्मक छ । लघुवित्तका अधिकांश सूचक नकारात्मक छन् । अधिकांश सूचक नकारात्मक भएकै कारण आउँदो वर्ष पनि लाभांश दिन नसक्ने करिब पक्का छ । तर, यही लघुवित्तको मूल्य बजारमा उच्च छ । कुथेली बुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचिकृत जलविद्युत कम्पनीहरूमध्ये सबैभन्दा उच्च मूल्य भएको हाइड्रोमा कुथेली बुखरी स्मल कम्पनी पर्छ । नेप्सेमा आइतबारको तथ्याङ्क अनुसार कम्पनीको सेयर मूल्य १ हजार ४३० रुपैयाँमा छ । ५२ सातामा कम्पनीको सेयर मूल्य अधिकतम् १ हजार ७३० रुपैयाँ थियो भने न्यूनमत मूल्य ४७९ रुपैयाँ थियो । वि.सं २०८० भदौ ३ गते नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको छ । गत चैतसम्म कम्पनीले २ करोड ४२ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१.२३ रुपैयाँ रहेको छ । यसपटक सेयरधनीहरूलाई लाभांश वितरण नगरे पनि आगामी वर्षमा भने कम्पनीले प्रतिफल भने दिन सक्ने देखिन्छ । एलआईसी नेपाल पुँजी बजारमा जीवन बीमा कम्पनीहरूमा ‘हटकेक’का रूपमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपाललाई लिइन्छ । पुँजी बजारमा सूचीकृत जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य भएको कम्पनी एलआईसी नेपाल हो । असार २३ गतेको तथ्याङ्कलाई आधार मान्दा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३८५ रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्ष (५२ हप्ता)मा कम्पनीको सेयर मूल्य अधिकतम १ हजार ६५५ रुपैयाँ पुगेको छ भने न्यूनतम मूल्य १ हजार २३९.७० रुपैयाँ थियो । नेप्सेका अनुसार अधिकांश बीमा कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा कम छ । तर, विगत ४ वर्षदेखि सेयरधनीहरूको हात रित्तो बनाएको एलआईसी नेपालको सेयर मूल्य भने १ हजार बढी छ । अन्तिम पटक कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता सेयरधनीहरूले कम्पनीबाट लाभांशको स्वाद चाख्न पाएका छैनन् । तर, विगतका वर्षको नाफा जगेडा कोषमा राखेकाले आगामी वर्षमा कम्पनीले सेयरधनीहरूलाई लाभांश दिन सक्नेछ । मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा महँगो मूल्य भएका कम्पनीहरूमध्ये मुक्तिनाथ कृषि कम्पनी हो । हालै सर्वसाधारणलाई सेयर जारी गरेर नेप्सेमा सूचीकृत भएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३२२ रुपैयाँ रहेको छ । सेयर मूल्य उच्च भएपनि यस कम्पनीले सेयरधनीहरूलाई कुनै प्रतिफल दिन सकेन । ७० करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको तथ्याङ्क अनुसार २ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी ४.०५ रुपैयाँ मात्रै छ । कालिञ्चोक दर्शन होटल तथा पर्यटन समूहको सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी कालिञ्चोक दर्शन हो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । २०८० चैतमा नेप्सेमा सूचीकृत यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै प्रतिफल दिएन । गत चैतसम्म कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५८ लाख रुपैयाँ सञ्चित छ । चन्द्रागिरि हिल्स होटल तथा पर्यटन समूह चन्द्रागिरि हिल्सको सेयर मूल्य प्रतिकित्ता ८८३ रुपैयाँ रहेको छ । ५२ हप्ताको अवधिमा कपनीको सेयर मूल्य अधिकतम १ हजार ५२० रुपैयाँ र न्यूनमत मूल्य ७६० रुपैयाँ थियो । १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १२ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चैतसम्मको विवरण अनुसार म्पनीले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३८ रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताको रोजाईमा परेको यस कम्पनीले सेयरधनीहरूलाई प्रतिफल दिन भने अझै केही समय लाग्ने देखिन्छ ।

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले बुझाए राजीनामा

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र नेतृत्वमा रहेको बागमती सरकारबाट एमाले बाहिरिएको हो । सोमबार बिहान समर्थन फिर्ता लिएसँगै एमालेबाट मन्त्री रहेका ५ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् । एमालेबाट सरकारमा आर्थिक मामिलामन्त्रीमा जगन्नाथ थपलिया, उद्याेग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए । एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेकामुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतको मिति भने तय भएको छैन ।

ग्लोबल आइएमई बैंक र नास-आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास-आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास(आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीका तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रूपमा रहेको र ग्लोबल आइएमई बैंक पनि सदैव राज्यप्रति उत्तदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता अघि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरूका बारेमा समेत बताए । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुंगा सावित हुने पोखरेलले उल्लेख गरे । यस दिगो साझेदारी सम्झौताअन्तर्गत ग्लोबल आइएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूका लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने जनाइएको छ ।

सिन्धु विकास बैंकको अध्यक्षमा २ साता पनि टिकिनन् निभा, दामोदर सुवेदी चयन

काठमाडौं । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भइन् । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गर्याे । राजेन्द्र कुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसअघि बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ थिए । तर, २ साता नपुग्दै सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई हटाएर अर्काे व्यक्तिलाई अध्यक्ष बनाएको छ । बैंकको असार २२ गते बसेको ४३३औँ बैकठले दामोदर प्रसाद सुवेदीलाई बैंकको अध्यक्ष बनाउने निर्णय गरेको छ । सुवेदी कर्मचारी संचय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् ।

दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा ५७३ मिलिमिटर वर्षा मापन

सुदूरपश्चिम । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा नदीमा डुबेर आइतबार साँझ सोही ठाउँका १८ वर्षीय अजय राना वेपत्ता भएका छन् । नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको प्रहरीले खोजी गरिरहेको छ । यस्तै आइतबारनै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी नजिकै रहेको चौदर नदीमा डुबेर बेपत्ता भएका छन् । नदीमा माछा मार्न गएको बेला चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले खोजी गरिरहेको छ । शनिबार डडेलधुरा पर्शुराम नगरपालिका–३ का ५६ वर्षीय नवराज पनेरुको पहिरोमा पुरिएर मृत्यु भएको थियो । गाउँ नजिकैको भातगडा भन्ने ठाउँमा रहेको खानेपानीको मुहान सरसफाइ गर्ने क्रममा माथिबाट खसेको पहिरोमा परी पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । अविरल वर्षासँगै ती दुई जिल्लाका विभिन्न नदी र खोलाको जल सतह बढेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना गरेको छ । सबैभन्दा बढी वर्षा मापन जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले वर्षा मापन भएको कञ्चनपुरको दोधार चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षाको मापन गरिएको थियो ।’ अति भारी वर्षापछ दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ । धनगढीमा गएको १२ घण्टामा एकसय ८४.७ मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गरे । दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्वा सूचना दिन यन्त्र गए रातिको बाढीले बगाएको छ ।

सम्पदा लघुवित्तले असार ३० गतेदेखि कारोबार सुरु गर्ने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि कारोबार सुरु गर्ने भएको छ । साधना लघुवित्त र सबैको लघुवित्त संस्था एक आपसमा मर्ज भई आगामी असार ३० गतेदेखि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । नेपाल राष्ट्र बैंकले सम्पदा लघुवित्त वित्तीय संस्थालाई अनुमति दिएको हो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । यस्तै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् । एकीकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेशन गर्नुपर्ने भएकाले असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द रहने संस्थाले जनाएका छन् । साधना र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो भने गत बैशाख १२ गते अन्तिम सम्झौता भएको थियो । दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ ।