विकासन्युज

जाम्बियामा कोभिड-१९ का सङ्क्रमित बढे

काठमाडौं । जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्य मन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७० नमूना परीक्षणमा दुई दशमलव चार प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । अघिल्लो महिना एक दशमलव पाँच प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मासेबोले भने, ‘देशका १० मध्ये छ प्रान्तमा कोरोन सङ्क्रित भेटिएका छन् । जसमध्ये लुसामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।’ उनका अनुसार यस वर्ष जनवरीदेखि जुनसम्म मुलुकभर चार हजार सात सय ७० कोरोना सङ्क्रमित भेटिएका छन् । जाम्बियाले पनि चिसो र सुक्खा अवस्थाका कारण श्वासप्रश्वास र इन्फ्लुएन्जा जस्ता रोगमा बृद्धि भएको उल्लेख गरेको छ । मन्त्रालयले भाइरस र अन्य रोगहरु पत्ता लगाउन सक्रिय रहेको जनाएको छ ।

देशका समस्याहरु सम्बोधन गर्न कांग्रेस र एमाले एक भयौँ : सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक भएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए । वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको जानकारी दिए । उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरु एक भएका जानकारी दिए । ‘हाम्रो देशमा सबैलाई जिम्मेवारी दिउँ भन्ने मानसिकता छ । यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्व दिनुपर्छ । विकास निर्माणमा जुन अस्थिरता आएको छ, समयमा सम्पन्न नहुने जस्ता समस्या छन्, त्यो समस्या नहोस् र जनताले देख्ने गरी काम गर्ने जिम्मेवारी लिनुपर्छ भन्ने हाम्रो भनाइ छ । काम पहिल्यै भइसकेको हुन्छ, तर त्यसको बिल जुटेर सम्बन्धित मन्त्रालयबाट अर्थ मन्त्रालयमा आइपुग्दा अन्तिम समयमा हुने प्रचलन छ’, उनले भने । उनले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँड हुने बताए ।

रेडक्रसमा ठूलो आर्थिक घोटाला भएको निष्कर्ष, जग्गा खरिदमा अनियमिततादेखि कर छलिसम्म

काठमाडौं । रेडक्रसमा आर्थिक घोटाला भएको निष्कर्ष निकालिएको छ । नेपाल रेडक्रसमा भएको नीतिगत तथा आर्थिक अनियमितताको सम्बन्धमा छानबिन गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषदबाट गठित समितिले प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक घोटाला भएको निष्कर्ष निकालेको हो । संजयकुमार साह संयोजक रहेको समितिले रेडक्रसममा जग्गा तथा स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेको छ भने सरकारलाई बुझाउनु पर्ने कर समेत नतिरेको प्रतिवेदनमा उल्लेख छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल रेडक्रस सोसाइटीको निर्वाचनका सम्बन्धमा विभिन्न मितिहरूमा अदालतहरुबाट आदेशहरू जारी भएको सम्बन्धमा दुई समूहले समानान्तर कार्य समिति गठन गरेको तथा नेपाल रेडक्रस सोसाइटीको आधिकारिक कार्य समितिका सम्बन्धमा विवाद रहेकोले नेपाल रेडक्रस सोसाइटीले विपत् व्यवस्थापनमा खेल्नुपर्ने प्रभावकारी भूमिकामा चूक्नुका साथै मानवीय सेवामा असर परेको देखिन्छ उल्लेख छ । तालुकदार निकाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन गर्ने कार्यादेशसहित नयाँ तदर्थ कमिटि गठन गरि अगाडि बढ्न सिफारिस प्रतिवेदनमा उल्लेख छ । यस्तै, रक्तसञ्चार केन्द्रमा गुणस्तरीयताको विषयमा गम्भीर समस्याहरू देखिएको प्राविधिक प्रतिवेदन तथा छानबिन समितिको सुझाव, सिफारिस अनुसार अविलम्ब कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रक्त संकलन तथा वितरण मानव स्वास्थ्यको लागि अत्यन्तै संवेदनशील विषय भएकोले प्राविधिक प्रतिवेदनहरुले औंल्याएका समस्याहरु सार्वजनिकीकरण नगरी गोप्य राखी कार्यान्वयन गर्न पनि समितिले सुझाव दिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भक्तपुरको जग्गा खरिद सम्बन्धी कारोबारमा संस्थालाई प्रत्यक्ष नोक्सानी परेको कुल रकम २ करोड ९ लाख ५८ हजार ८ सय ९२ रुपैयाँ देखिएकोले जग्गा खरिदको लागि नीति तयार पार्नेदेखि खरिद कार्यमा संलग्न निर्णयाधिकारीलाई कानून बमोजिम कारवाही गर्नु पर्ने सुझाव पनि समितिले दिएको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटीले विभिन्न व्यक्ति, फर्म, संस्थाहरुसँग वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन, आर्थिक नियमावली, कर्मचारी नियमावली लगायतको पूर्ण परिपालना गरेको नपाइएकोले संस्थाभित्र अनिवार्य आर्थिक, प्रशासनिक नियमावलीहरुको पूर्ण पालना गराउन कानुन बमोजिम असुलउपर गरी कारवाही गर्न सिफारिस गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको भक्तपुर स्थित केन्द्रिय गोदामघरको प्रयोजनका लागि विभिन्न १३ किसिमका उपकरणहरु आपूर्तिका लागि खरिदमा संस्थालाई प्रत्यक्ष हानी नोक्सानी भएकोले सम्बन्धित कर्मचारी तथा पदाधिकारीलाई कानून बमोजिम कारवाही गर्न सिफारिस गरिनु पर्ने प्रतिवेदनमा उल्लेख छ । रेडकक्रसको घरजग्गा भाडा लगाउँदा नियमानुसार भाडावालासँग करार सम्झौता अनुसार बिलम्व शुल्क नलिएकोले यसबाट भएको हानी नोक्सानीको यकिन गरी सम्बन्धित निर्णयाधिकारीलाई कानुन बमोजिम कारवाहीका लागि सिफारिस गर्नु पर्ने सुझाव प्रतिवेदनमा छ । बहाल कर बुझाउने सम्बन्धमा घर वहाल कर तिरेको अभिलेख नपाइएकोले यसबाट नेपाल सरकारलाई आर्थिक हानी नोक्सानी पुगेको र नियमानुसार घर बहाल कर, सम्पत्ति कर, मालपोत कर जस्ता कर असुली तथा कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन पनि प्रतिवेदनमा उल्लेख छ । बाँकी बक्यौता उठाउन नसकेको सम्बन्धमा घरजग्गा भाडा वापत यसै प्रतिवेदनमा उल्लेखित बक्यौता रकम अविलम्ब असुलउपर गर्नु पर्ने प्रतिवेदनमा भनिएको छ ।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयरमा लाग्यो सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.७९ अंकले बढेको छ । मंगलबारको कारोबारमा परिसूचक ०.७३ प्रतिशतले बढेर २ हजार १ सय ५२.१४ अंकमा पुगेको छ । विभिन्न ३ सय १६ कम्पनीका ११ लाख ६६ हजार १ हजार २ सय ८ कित्ता सेयर ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ । यस दिनको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७९ र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य ५.४७, नेपाल फाइनान्सको ४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य ३.९० प्रतिशतले घटेको छ ।

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् । मंगलबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए । उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए । संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए । मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सिमित गर्ने प्रयासमा लागेको जानकारी दिए । ‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरुले नै सार्वजनिक गरिसक्नुभएको छ । बरु अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो, उहाँहरुले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ’, उनले भने । मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्नेकुरा गौण विषय रहेको बताए ।

अवरूद्ध भएको सात दिनपछि हवाई उडान सञ्चालन

मुगु । मुगुस्थित रारा विमानस्थलमा मंगलबारदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरु मुगुमै बस्न बाध्य थिए । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध हुँदै आएको थियो । ‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो’, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् । एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्याएको बताए । ‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ, नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु, अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल’, उनले भने । अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले जानकारी दिए ।

दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन् : सांसद खान

काठमाडौं । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दबाब दिए । ‘स्वास्थ्य मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु, उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरुलाई चाहिएको ठाउँमा पुर्याउन आवश्यक रहेको छ, दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन्’, उनले भने । सांसद खानले २०४८ सालदेखि स्वास्थ्य दरबन्दी नखुलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।