काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।
एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्याएको बताए ।
‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ, नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैं यी ठूला पार्टीहरुसँगै छु, अहिले वर्तमान प्रधानमन्त्रीले बुझनु भएन खेल’, उनले भने ।
अध्यक्ष केसीले कांग्रेस एमाले सत्ता समिकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले जानकारी दिए ।