विकासन्युज

अर्थतन्त्र दुई वर्षदेखि निकै जटिल समस्यासँग जुधिरहेको छ

हामी विगत दुई वर्षयता निक्कै जटिल समस्यासँग जुधिरहेका छौं । अर्थतन्त्रमा संकुचन छ भने सर्वसाधारणमा निराशा व्याप्त छ । मुद्रास्फीति ४.४० प्रतिशत छ । यो कम हुँदै गएको छ । तर, अघिल्ला तीन वर्षमा करिब ७ प्रतिशत माथिको मुल्यवृद्धि भएको थियो । समग्रमा कोभिडपछि बजार भाउ निकै बढेको छ । तर, सर्वसाधारणको क्रयशक्ति सोही अनुसार बढन सकेको छैन । उद्यम व्यवसाय चल्न नसकेका कारण आम्दानी घटेको छ । नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न सकेका छैनन् । विप्रेषण आप्रवाह १० महिनामै झण्डै १२ खर्ब पुगेको छ । जुन हालसम्मकै उच्च छ । यसरी आएको रकम बैंक वित्तिय संस्थामा जम्मा भएको छ । यसले नयाँ माग सिर्जना गर्न नसक्नु हामीले सोच्नुपर्ने विषय हो । कोभिडअघि मासिक औसत १ खर्ब ६० अर्बको आयात भएकोमा अहिले एक खर्ब ३० अर्ब हाराहारी छ । आयात घटनु विदेशी विनिमय संचितिका लागि सुखद भए पनि यसले बजार चलायमान हुन नसकेको देखाएको छ । औद्योगिक कच्चा पदार्थ र मध्यस्थ वस्तुहरूको आयात पनि उत्साहजनक छैन । यसको अर्थ हो औद्योगिक गतिविधि संकुचित भैरहेका छन । उत्पादनमूलक उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेका छन् । पर्यटन आगामन बढेको छ । तर, विदेशिने विद्यार्थी र घुम्न जानेहरूबाट रकम पनि बाहिरिएको छ । तथापी विदेशी विनिमय सञ्चिति साढे १९ खर्ब हाराहारी छ । यसले हरेक महिना रेकर्ड बनाइरहेको छ । साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न यो रकम पर्याप्त छ । जबकि यस वर्षको मौद्रिक नीतिको लक्ष्य ७ महिना थियो । सोधनान्तर स्थितिमात्र नभइ चालु खाता पनि धनात्मक छ । सञ्चिति सबल हुनु राम्रो हो तर अत्यधिक सञ्चिति हुनुले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गर्दछ । यस परिप्रेक्षमा हामीले बजेटमा पनि सुझाव दियौं । हाम्रा केही माग सम्बोधन भएपनि बजार चलायमान बनाउने नीति आउन सकेनन् । यसपछिको हाम्रो अपेक्षा मौद्रिक नीतिमा हो । यसैले हामी आज भेला भएका छौं । माथिका केही तथ्यांकले मैले उदाहरण मात्रै दिन खोजेको हुँ । हामी सबै अर्थतन्त्रबारे जानकार नै छौ । अब भने धेरै ढिला भैसक्यो सुधारका उपाय अवलम्बन गरेनौ भने निराशा थप बढ्ने छ । यस्तो अवस्थामा के गर्ने त ? यो प्रश्न स्वभाविक हो । यसबारे केन्द्रिय बैंक जानकार छ । तर, पनि हामी केही सुझाव यहाँ पेस गर्न चाहन्छौं । पहिलो उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्छ । ब्याजदर अन्यभन्दा कम गर्ने विषय पहिले पनि आएको थियो । यसको कार्यान्वयनका बारेमा नीतिले बोल्नुपर्छ । मागमा आएको संकुचनका कारण उद्योगहरूको ऋण तिर्ने क्षमता कम भएको छ भने त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने हाम्रो माग हो । पर्यटन तत्काल प्रतिफल दिने क्षेत्र हो । पर्यटन पुर्वाधार र व्यवसायलाई प्रवर्द्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । यसमा कर्जा प्रवाह सहज र सुलभ गरिनु उपयुक्त हुन्छ । गत वर्षभन्दा कर्जाको व्याजदर घटेता पनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयां लगानीका योजना समेत स्थगन भैरहेका छन् । पुराना लगानीकर्ताले लगान बढाउने र नया व्यवसायी नया लगानी गर्न सकेका छैनन् । बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरहरूमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तिय संस्थाहरूलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्याले अहिले रकम प्रवाह हुन सकेको छैन । यो विषयलाई पनि नीतिले समेटनुपर्छ । अहिलेको अवस्थामा उद्योग व्यवसाय वन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिबद्धता भएका उद्योगहरू बन्द गर्न पाउने व्यवस्था गरी सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ । यसैगरी कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालो सूचीमा राख्ने व्यवस्थाले पनि व्यवसायीलाई निरुत्साहित गरेको छ । यसतर्फ पनि म गभर्नर ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । यसैगरी सेयर, घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउनेतर्फ पनि सोच्नुपर्ने हुन्छ । यसले बजार चलायमान बनाउन मदत पुग्छ । बैंक र व्यवसायी एउटै समस्यामा छौ । बैंक वित्तिय संस्थामा पनि समस्या देखिने हो कि भन्ने चर्चा हुन थालेको छ । खराब कर्जा अनुपात बढिरहेको छ । वित्तिय क्षेत्रलाई जोगाउनुपर्ने मात्र हैन अगाडि बढन पनि दिइनुपर्छ । गभर्नरज्यू र उच्च पदस्थ अधिकारीज्यूहरु सबै व्यवसायीको नियत खराब होइन । परिस्थितिका कारण समस्यामा पर्ने धेरै छन । नीति निर्माता पनि सुधारमै लागिरहनु भएको छ । तर, नतिजा आउन सकेको छैन । हामी सबै एकै डुंगामा छौ । अब हामीले समिक्षा गर्नुपर्ने बेला भैसकेको छ । विगतमा फरक परिस्थितिमा ल्याइएका नीतिहरू अहिलेको अवस्थामा सान्दर्भिक भए नभएको मुल्यांकन गरिनुपर्छ । आयात निरुत्साहित गर्ने, कर्जा नियन्त्रण गर्ने नीतिले असर अहिले सम्म कायम छ भने सुधार गर्नुपर्छ । चालु पुँजी कर्जा सम्बन्धि व्यवस्था अहिलेको परिस्थितिमा के, कति र कति मात्रामा आवश्यक छ यसबारे पनि खुला छलफल हुनु आवश्यक छ । यही हाम्रो आग्रह छ ।

कर्णालीको वार्षिक खर्च ६० प्रतिशत

कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक खर्च प्रगति ६०.३४ प्रतिशत गरेको छ । चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो । प्रदेश सरकारद्वारा चालु आवका लागि विनियोजित कूल बजेटमा रु २० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६०.३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए । जसमा चालुतर्फ नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८.३६) र पुँजीगततर्फ १० अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४.६७ प्रतिशत) खर्च भएको उनले बताए । ‘गत आव ०७९/०८० मा प्रदेश सरकारले ६७.५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो,’ उनले भने, ‘चालु आवमा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आवमा चालु खर्च ७२.४० प्रतिशत हुँदा चालु आवमा ६८.३६ प्रतिशत मात्र खर्च भएको छ ।’ नियन्त्रक मगरातीका अनुसार गत आवमा पुँजीगत खर्च प्रगति ६४.३२ प्रतिशत थियो । चालु आवमा ५४.६७ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा १५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभावलगायत कार रहेको उनले बताए ।

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिल लिमिटेडबीच साेमबार विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो । सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमूख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिल्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका हुन् । सन २००५मा स्थापना भएको जगदम्बा स्पिनिङ मिल्स लिमिटेड नेपालको प्रिमियर धागो उत्पादक कम्पनी हो । यस कम्पनीले विशेष गरेर पोलिस्टर, पोलिस्टर भिस्कोज मिश्रित र एक्रिलिक धागो उत्पादन गर्दछ । कम्पनीको रुपन्देही, कमहरियास्थित कारखाना विष्णु न्यौपानेको नेतृत्वमा रहेको सौरभ ग्रुपको एक हिस्सा हो । जगदम्बा स्पिनिङ मिल्सले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उच्च गुणस्तरका सामानहरू उत्पादन गर्दै विश्वभरि निर्यात गर्दै आएको छ । यस लगानीले जगदम्बा स्पिनिङ मिल्सलाई उत्कृष्ट धागो उत्पादकका रूपमा स्थापित गर्न र नाफा बढाउन मद्दत गर्ने विश्वास लिइएकाे छ। जगदम्बा स्पिनिङ मिल्सले निकट भविष्यमा आईपीओ ल्याउने योजना बनाएको छ जसले गर्दा कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिने बताइएकाे छ । हस्ताक्षर कार्यक्रममा बोल्दै एनआईएमबी एस क्यापिटलका प्रमूख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘उत्पादनको अधिकाशं भाग निर्यात गर्ने जगदम्बा स्पिनिङ मिलसँग आबद्ध हुन पाउँदा एनआईबीएल इक्विटी पार्टनर्स निकै खुशी छ, हामी नेपालको अर्थतन्त्रलाई बढावा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ, हामीलाई विश्वास छ कि नेपालमा जगदम्बा स्पिनिङ मिल्सजस्तो अझ धेरै संस्थाहरूको आवश्यकता छ ।’ त्यस्तै, जगदम्बा स्पिनिङ मिल लिमिटेडका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले भने, ‘एनआईएमबी एस क्यापिटल र यसको प्राइभेट इक्विटी फण्ड एनआईबीएल इक्विटी पार्टनर्स विस्तारको सम्भावना बोकेका कम्पनीहरूका लागि निजी इक्विटी लगानीको नयाँ स्राेत हो, जसले उद्यमीहरूलाई उनीहरूको व्यवसायलाई नयाँ उचाइमा लैजान मद्दत गर्छ, जेएसएम नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा छ र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा छ, जेएसएम ले सधैं उच्च–गुणस्तरको धागो उत्पादन, उन्नत प्रविधि र दिगो अभ्यासहरूमा ध्यान केन्द्रित गरेको छ, यस लगानीले कम्पनीको बृद्धिलाई अघि बढाउन, यसको उत्पादन क्षमता बढाउन र दक्षिण एसियामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ ।’

व्यवसायीको एकै स्वर : नियन्त्रणमुखी नबन्नुस्, जाँदाजाँदै खुला हृदय बनाउनुस्

काठमाडौं । उद्योगी व्यवसायीहरूले मौद्रिक नीतिका लागि विभिन्न सुझाव दिएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिमा सुझाव दिनका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले विभिन्न सुझाव दिएका छन् । उनीहरुले सस्तो ब्याजदरमा कर्जा प्रवाह हुनुपर्नेदेखि नीतिगत सुधारसम्मका सुझाव दिएका छन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत अन्य कार्यकारी निर्देशकहरु पनि पुगेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी पनि कार्यक्रममा सहभागी भएका छन् । अन्तक्र्रिया कार्यक्रममा व्यवसायी होमप्रसाद घिमिरेले राष्ट्र बैंक नियन्त्रणमुखी हुँदै गएको आरोप लगाए । उनले राष्ट्र बैंकको नियन्त्रणमुखी नीतिले व्यवसायीहरु सडकमा आएको र अब दया गरेर भए पनि राष्ट्र बैंकले खुकुलो नीति अघि सार्नु पर्ने धारणा राखे । यस्तै, इँटा उद्योगी शंकर बहादुर चन्दले निर्माण व्यवसाय ठप्प हुँदा इँटा उद्योग बन्द भएको जानकारी गराए । उनले उत्पादन भएका इँटा पनि बिक्री हुन नसकेको र सरकारले अब उद्योग नवीकरणमा सहजीकरण गरिदिनु पर्ने माग राखे । व्यवसायी उज्वल प्रसाद कसजुले बैंकमा खाता खोल्दा बैंकपिच्छे केवाईसी भर्नुपर्ने समस्या रहेकोले यसको समाधान हुनु पर्ने सुझाव दिए । नेपाल शैक्षिक परामर्श संघका अश्मिक कार्कीले ५० लाखको कर्जालाई १ करोड पुर्याउन आग्रह गरे । उनले सेवा प्रदायक कम्पनीलाई बैंकले कर्जा दिन आनाकानी गर्ने गुनासो गर्दै कर्जा तिर्न नसक्ने व्यवसायीलाई ब्याज मात्रै असुल गरि केही समय दिनुपर्ने आग्रह गरे । यस्तै, नेपाल टुर्स एण्ड ट्राभल एजेन्टका अध्यक्ष कुमारमणी थपलियाले भारतबाट पर्यटन आउँदा २५ हजारभन्दा बढी नगद ल्याउन पाउन पाउनु पर्ने व्यवस्था हुनुपर्ने बताए । उनले २५ हजारको सीमालाई २ लाख रुपैयाँको सीमा तोक्नु पर्ने धारणा राखे । उनले पर्यटनसँगै विदेशी मुद्रा ल्याउने भएकाले पर्यटन व्यवसायीलाई ब्याजदर छुटको व्यवस्था हुनु पर्ने बताए । यस्तै, व्यवसायी केशव भण्डारीले गभर्नर राष्ट्र बैंकबाट बाहिरिने बेलामा केही लचिलो नीति ल्याएर व्यवसायीलाई जोगाउनु पर्ने बताए । ‘पूर्वका कुनै एउटा व्यवसायीले गल्ति गर्यो भनेर सबैलाई एउटै खाल्डोमा हाल्नु हुँदैन, एउटा व्यवसायीको मारमा सबै व्यवसायी पर्नु हुँदैन,’ उनले भने । यस्तै व्यवसायी एलडी लामाले असारमा पनि निर्माण व्यवसायीले भुक्तानी नपाएमा बैंकको डिफल्ट थप बढ्ने बताए । ८० प्रतिशत चेक बाउन्सको मुद्दा निर्माण व्यवसायीका रहेकाले चेक बाउन्सको मुद्दामा केही सहजीकरण गर्नु पर्ने आग्रह उनको छ । व्यवसायी दिपक सापकोटाले दाल चामल उद्योगलाई १५ बर्षसम्म कर्जाको किस्ता तिर्ने गरि व्यवस्था गर्नु पर्ने धारणा राखे । म्याग्दी जिल्लाका व्यवसायी सुबिन श्रेष्ठले चालु पुँजी कर्जामा संशोधन नभएसम्म मोफसलका उद्योगी व्यवसायी समस्यामा पर्ने धारणा राखे । नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीले विदेशबाट स्वदेश फिर्ता भएका व्यक्तिलाई उद्यमी बनाउने नीति ल्याउनु पर्ने धारणा राखे । उनीहरुले कृषि कर्जामा कुनै शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने र कृषि क्षेत्र जोगाउन २ प्रतिशतमा कर्जा उपलब्ध हुनुपर्ने धारणा राखे ।

मधेस प्रदेशका माओवादी संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन दुई तिहाइ प्रदेश सभा सदस्यहरूले अविश्वास प्रस्ताव पेस गरेका छन्। मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साहविरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका हुन् । माओवादी संसदीय दलको विधानअनुसार दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ । उक्त प्रस्तावबारे पूर्व सूचना संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ । लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिएका छन् ।

सेबोनलाई सार्वजनिक लेखा समितिको प्रश्न- रिलायन्सको आधारमूल्य के आधारमा तय गरियो ?

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न दिइएको विषयमा चासो राखेको छ । समितिले रिलायन्स कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै धितोपत्र बोर्डलाई ७ दिने स्पष्टीकरण सोधेको छ । रिलायन्सको आईपीओ स्वीकृतिका क्रममा धितोपत्र बोर्डले अपनाएको प्रक्रिया तथा विधि लगायतका विषयमा ५ बुँदे विषय राखेर ७ दिनभित्र जानकारी पठाउन बोर्डले पत्राचार गरेको हो । लेखा समितिले रिलायन्सको आधारमूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? भनेर पहिलो प्रश्न सोधेको छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आइपीओ ल्याउँदा अर्थात् गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर, अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । अर्थात यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ? भनेर दोस्रो प्रश्न सोधेको छ । सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३२.९० रुपैयाँ, २०८१/८२ मा ३२/८९ र २०८२/८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो, सोको स्पष्ट जानकारी उपलब्ध गराउन समेत लेखा समितिले निर्देशन दिएको छ । रिलायन्समा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरुसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरण समेत उपलब्ध गराउन भनेको छ । यस्तै, कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक–फरक प्रतिसेयर आम्दानी (हरेक आर्थिक घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।

‘म कोट लगाउँदै चिटिक्क परेर नीति बनाउँदिन, मार्केट घुमेर निर्णय लिन्छु’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीति निर्माताहरु कोट लगाएर चिटिक्क परेर नीति बनाउँछन् भन्ने विषयको खण्डन गर्दै आफू त्यस्तो व्यवहारको नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिमा सुझाव दिनका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन् । अन्तक्रिया कार्यक्रममा सहभागी एक व्यवसायीले कोट लगाएर, चिटिक्क परेर नीति बनाउनेहरुका कारण समस्या भएको प्रश्न फ्लोरबाट गरेका थिए । सो प्रश्नको अण्डन गर्दै उनले आफू त्यस्तो व्यवहारको नभएको बताएका हुन् । ‘कोट लगाउनेले मात्रै नीति बनाउँदैनन्, आज मात्रै काठमाडौंमै सञ्चालित एउटा उद्योगमा तीन घण्टा घुमेर आएको छु, त्यो उद्योगले २ अर्ब रुपैयाँको कारोबार छु, उद्योगमा महिला दिदीबहिनीहरुले पनि काम गरिरहनु भएको थियो, म बजार घुमेर नीति बनाउँछु,’ उनले भने । यस्तै, उनले आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने साना व्यवसायीलाई बैंक्ले आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लिने गरेको जानकारी गराए । बैंकलाई पनि सोही किसिमले परिपत्र गरेको उनको भनाइ छ । ‘बैंकले ग्राहकलाई मर्का पर्ने काम गरेको छ भने अध्ययन गर्नका लागि उपभोक्ता हित संरक्षण विभाग नै बनाएर काम गरिरहेका छौं, कुनै गुनासो छ भने तत्काल राष्ट्र बैंकलाई जानकारी गराउँदा हुन्छ,’ उनले भने । उनले साना ऋणीलाई चालु पुँजी कर्जा मार्गदर्शन नलाग्ने प्रष्ट पारे । ‘चालु पुँजी कर्जा मार्गदर्शन १ करोडभन्दा मुनिको कर्जामा लाग्दैन, १ करोड ऋण भनेको धेरै हो, हामीले पनि ऋण लिन्छौं, १ करोड ऋणको किस्ता कति तिर्नुपर्छ भन्ने हामीलाई पनि थाहा छ, त्यसैले यो नीतिले साना ऋणीलाई समस्या गर्दैन,’ उनले भने । राष्ट्र बैंकले कुन कुरामा बाँधेको छ, त्यो डोरी देखाउन पनि आग्रह गरे । राष्ट्र बैंक डोरी फुकाउन तयार रहेको उनको भनाइ छ । कृषि राष्ट्र बैंकको प्राथमिकताको क्षेत्र भएकोले राष्ट्र बैंकले पनि प्रत्यक्ष लगानीको क्षेत्रका रुपमा राखेको बताए । यस्तै, उनले भारतीय पर्यटकलाई नपालमा २५ हजारको नगदको सीमा नरहेको जानकारी गराए । विगतमा ५ सय र एक हजारका नोट निरुत्साहितका लागि सो नीति बनाएको भए पनि अहिले खारेज भएपछि त्यो सीमा नभएको धारणा राखे । भारतीय पर्यटकले डिजिटल बैंकिङ तथा क्यूआरमार्फत् पनि कारोबार गरिरहेकोले नगद आवश्यक नपरेको उनको भनाइ छ । यस्तै, उनले अब छिट्टै अलि पे, लंका पेसँग सम्झौता गरेर डिजिटल क्रस ब्रोडरको व्यवस्था गर्ने बताए ।

एसइई सकेका विद्यार्थीलाई सुझाव : आफूभित्रको क्षमता पत्ता लगाउनुस्

काठमाडौं । ‘तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’ माध्यमिक शिक्षा परीक्षा (एसइई) पार गरेर कक्षा ११ र १२ को तयारी र भविष्यको योजना बुन्दै गरेका विद्यार्थीमाझ उत्प्रेरणात्मक वक्ता रञ्जित आचार्यको सल्लाह छ, ‘जसरी बेलुनभित्र रहेको शक्तिले उसलाई आकाशमा उडाउछ, त्यसैगरी तपाईभित्रको ऊर्जाले तपाईको जीवनलाई सफलतामा लानेछ, केवल तपाईले आफूभित्रको आगो बाल्न सक्नुपर्छ । त्यो आगो कहाँ छ भनेर थाहा पाउन सक्नुपर्छ ।’ उनले उत्कृष्ट हुन्छु भन्ने महत्वकाङ्क्षा बोकेर वा अरुलाई हराउन खोजेर भन्दा पनि आफैलाई प्रतिस्पर्धी ठानेर काम गरेमा हरेक समस्याभित्र समाधान भेटिने र त्यसले जुनसुकै पेसामा पनि सक्षम बनाउन सघाउने सुनाए । ‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा ‘करिअर काउन्सिलिङ’ दिँदै आचार्यले उक्त सल्लाह दिएका हुन् । कार्यक्रममा नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पढेर मात्र नहुने टिप्पणी गरे । ‘सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । जो भविष्यमा केही गर्न चाहन्छ, उसले चुनौतीमा पनि अवसर देख्छ । तर, जो अल्छी छ उसले अवसरमा पनि चुनौती देख्छ ।’ खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अमित अग्रवालले  जीवनमा हार नमानी विद्यार्थीले अध्ययनलाई निरन्तरता दिए सफलता चुम्ने आधार तय हुने बताए । ‘जे पढियो त्यही गर्नुपर्छ भन्ने छैन । शिक्षाको काम सहजताको एउटा आधार हो । हामीलाई बच्चैदेखि गरिब देश भनेर सिकाइयो, तर नेपाल गरिब देश होइन, धनी हो । अहिलेका पुस्ताले यही भावनाका साथ अध्ययनलाई अघि बढाउनुपर्छ ।’ ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेशन’का प्रमुख कार्यकारी अधिकृत खेम लकाइले संसारमा सबैभन्दा सुन्दर देशका रूपमा नेपाल रहेकाले यहाँ केही गर्न सकिन्छ भन्ने भावनाका साथ इमानदार रूपमा मेहनत गरेमा देशका लागि केही गर्न सकिने सुझाव दिए । कलाकार निशा अधिकारीले माथिल्लो शिक्षाका लागि विषय रोज्ने क्रममा अरुका कुरा धेरै नसुनेर आफ्नो रुचि र क्षमतालाई आत्मसात गरेर अघि बढ्न आग्रह गरिन् । केन्द्रविन्दु डटकमका प्रधानसम्पादक विदुर खतिवडाले शिक्षाका ज्ञानको ज्योति भएकाले यसलाई फैलाउन सकेमा विकास र समृद्धिको ढोका खुल्ने भएकाले अहिलेका पुस्ताले ज्ञानको विस्तार र अवसरको उपयोगका लागि हरदम प्रयास गर्नुपर्नेमा जोड दिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (एमाले) का सचिव योगेश भट्टराईलगायतले उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालय तथा शिक्षासेवीलाई सम्मान गरेका थिए । रासस